सवारी साहित्य र सार्वजनिक स्थानमा महिला सुरक्षा 

सवारी साहित्य र सार्वजनिक स्थानमा महिला सुरक्षा 


‘चरीकोट मैनापोखरी जिरी, आमा लगे भाडा लाग्छ छोरी लगे फिरी

बुढा उता अरबको खाडीमा, बुढी मस्त दशचक्के गाडीमा

घर बसे आर्थिक चाप, विदेश गए श्रीमती टाप्’

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अक्सर देखिने सायरी हुन्, यी । सायरी, कविता, गजलको आफ्नै महत्व छ । तर त्यसलाई व्यक्त गर्ने समय र स्थान अनुकूल हुनुपर्दछ ।

प्रायः सार्वजनिक स्थल र सवारीमा महिला लक्षित गजल, सायरीहरू पढ्न–देख्न पाइन्छ । किन महिलालाई होच्याएर लेखिएका हुन्छन् प्रायः सवारी साहित्य ? यसले एकातिर महिलाको सम्मानमा आँच पुर्‍याउँछ भने अर्कोतिर यस्ता सायरी पढ्न कम्तीमा २५–३० सेकेन्ड लाग्छ । यसले कतै सवारी चालकको ध्यान अर्को सवारीमा लेखिएको गजल सायरीमा अडिंदा दुर्घटना हुनसक्ने जोखिम बढेको त छैन ? के यो महिलाको मात्रै सरोकारको विषय हो ?

किन लेखिन्छन् सवारीमा यस्ता आपत्तिजनक गजल र साहित्यहरू ? कति आवश्यक छ सवारी साहित्य ? यसले मनोरञ्जनमा कति टेवा पुर्‍याएको छ ? फेरि आवश्यक नै हो भने महिला लक्षित सायरी मात्रै किन लेखिन्छन् ? के महिलाहरू सार्वजनिक सवारी साधनमा यात्रा गर्दैनन् ? के उनीहरूले आफू विरुद्धका यस्ता अभिव्यक्ति महसुस गर्दैनन् ? सार्वजनिक सवारी मात्र होइन, सार्वजनिक स्थलहरूमा समेत यस्ता महिला लक्षित संवेदनशील सायरीहरू लेखिएको तथा त्यस्तै खालका होर्डिङ बोर्डहरू प्रशस्त देख्न पाइन्छ ।

प्रश्न उठ्छन्, के महिलाहरू विज्ञापनका साधन हुन् ? अथवा घर धान्ने र खुसी साट्ने साधन मात्रै हुन् ! महिला खेलौना हुन् या मनोरञ्जनका साधन ? प्रश्न अनुत्तरित छन् । अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भए तापनि त्यो अभिव्यक्ति अपमानको हतियारमा परिणत हुनु दुर्भाग्य हो ।

सार्वजनिक यातायात सबै यात्रुहरूको लागि समावेशिता, सम्मान र सुरक्षालाई बढावा दिने ठाउँ हुनुपर्छ । सार्वजनिक सवारी र स्थानहरूमा हुने हिंसा कुनै पनि समाजमा व्यक्तिको सुरक्षा र कल्याणलाई असर गर्ने एउटा महत्वपूर्ण मुद्दा हो । यस्ता महत्वपूर्ण ठाउँहरूमा महिला सुरक्षाका विषय,  सामाजिक दायित्व र भूमिकाका बारेमा उल्लेख गर्नुपर्नेमा महिलाका फिगर, यौन र माया–प्रेम झल्काउने सायरीहरू भेटिन्छन् । यसले महिलाको नजिकमा रहेका पुरुषहरूमा नकारात्मक सोच बढ्नुका साथै महिलालाई भावनात्मक हानि पुग्छ । अपमान र शक्तिहीनताको भावना बढाउँछ ।

सार्वजनिक जीवनमा सहभागिताका लागि महिला सुरक्षा पूर्वशर्त हो । सुरक्षित तवरबाट आवतजावत गर्न सकिने तथा सार्वजनिक ठाउँहरूमा आक्रमण र दुव्र्यवहारको खतरा नभइकन निर्धक्कसाथ संलग्न हुनसक्ने अवस्थासँग सार्वजनिक सहभागिता निर्भर रहन्छ । महिलाहरूको सार्वजनिक जीवन घरबाट बाहिर निस्केपछि हुने यात्राबाटै असहज बनिदिन्छ ।

सवारीको क्षमता भन्दा बढी यात्रुहरू बोकेर हिंड्ने हुँदा त्यस्ता सवारीमा यात्रा गर्दा भीडको बहानामा महिलाका अङ्गमा हेर्ने, छुने र अश्लील शब्दको प्रयोग गर्ने यात्रु भेटिन्छन् । कतिपयले विभिन्न बहाना बनाएर र फकाएर महिला वा किशोरीलाई बसबाट ओराली अन्यत्र लगेर समेत हिंसा गरेको पाइन्छ भने कतै सवारी साधनभित्रै यौन हिंसा भएका घटनाहरू सुन्न पाइन्छ ।

किन पुरुषले आफ्नो पुरुषत्व भनेको महिला माथिको अतिक्रमण हो भनिठान्छन् ? विभिन्न घटना, परिघटनाबाट कहींकतै पुरुषहरू पनि महिलाहरूबाट पीडित भएका देखिन्छन् । महिलाका लागि बलिया कानुन बनेका छन् जसको आडमा यदाकदा महिलाहरूले घरपरिवार र मायाको नाउँमा सम्बन्धमा रहेकालाई त्रसित बनाउने, बार्गेनिङ गर्ने, सामान्य घटनाक्रमलाई असामान्यीकरण गरी पीडक बनेका पनि उदाहरण देख्न पाइन्छ ।

यस्तोमा पुरुषहरू पनि सचेत हुनुपर्ने हो । किन एउटा टचको लागि जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् ? किन रूप र महिलाहरूको शरीरप्रति लालायित बनी आफू को हो भन्ने कुराको हेक्का पनि राख्न सक्दैनन् पुरुषहरू ?

सार्वजनिक सवारीमा यात्रा गर्दा होस् या सार्वजनिक स्थलमा हुने गरेका यस्ता दुव्र्यवहारको धेरै महिलाले मूल्य चुकाउनुपरेको हुन्छ । महिलामैत्री समाज बनेकै छैन । हिंसा प्रभावितहरूले उजुरी गर्ने निकायहरूको अभावमा आफूमाथि भएको हिंसाको बारेमा बोल्ने वा त्यसको समाधानका लागि सम्भावनाको खोजी गर्न समेत अनेक अवरोध र व्यवधान व्यहोर्ने गरेका छन् ।

भएका उजुरी सुन्ने निकाय पनि महिलामैत्री नहुँदा यस्ता अमानवीय हिंसाको कमैले मात्र प्रतिकार गर्न सकेका हुन्छन् भने अझ निकै न्यून घटना मात्र प्रहरी समक्षमा पुगेका हुन्छन् र प्रहरी समक्ष पुग्दा पनि यस्ता घटनाको प्रमाण नहुँदा यतिकै सेलाएको देखिन्छ । तसर्थ, महिला विरुद्ध हुने हिंसाको गुनासो गर्ने महिलामैत्री उत्तरदायी संयन्त्र वा उजुरी गर्ने निकायहरूलाई थप संवेदनशील बनाउन जरूरी छ ।

नेपालमा सार्वजनिक स्थानमा महिला सुरक्षाको विषयले स्थान पाउन सकेको छैन । महिलामाथि हुने यस्ता हिंसालाई दिगो मानव विकासको प्रमुख बाधकको साथै लैङ्गिक समानता हासिल गर्ने बाटोमा गम्भीर अवरोधका रूपमा स्वीकार गर्नुपर्छ । परम्परागत रूपमा महिलाहरू घरधन्दा र परिवारको रेखदेखमा घरको चौघेराभित्र सीमित रहँदै आए । त्यसैले सार्वजनिक स्थलमा महिलाको उपस्थिति कम र पुरुषको वर्चस्व बढी हुन्छ । यस्तो अभ्यास पनि महिला हिंसाको प्रमुख स्रोत र कारण बन्ने गरेको छ । त्यसको प्रतिकार गर्न नसक्दा सार्वजनिक स्थलमा असुरक्षित महसुस गरी टाढै रहँदै आएका महिलाहरू व्यवस्था परिवर्तनसँगै पुरुषहरू समान सार्वजनिक जीवनमा सक्रिय देखिन थालेका छन् । योसँगै हिंसाका विरुद्ध बलियो गरी आवाज पनि उठ्न थालेको छ ।

सार्वजनिक स्थानमा हुने हिंसाको बारेमा छलफल भए पनि त्यस्ता घटनाउपर न्यायिक निकायमा उजुरी गर्ने, घटनाको छुट्टै अभिलेखीकरण गर्ने, तथ्याङ्क संकलन र विश्लेषण गर्ने परिपाटी नेपालमा देखिएको छैन । सार्वजनिक रूपमा हुने हिंसालाई हिंसाको रूपमा स्वीकार नगरी सामान्य घटनाको रूपमा लिने गरिएको छ । फलतः त्यस्ता घटनाहरू धेरै सामान्यीकरण हुने र अभिलेखमा नआउने अवस्था छ । समग्रमा भन्ने हो भने सार्वजनिक स्थलमा महिलामाथिका हिंसाका घटनाको न्यायोचित सम्बोधन हुनसकेको छैन ।

विश्व बैंकले सन् २०१९ मा गरेको सर्वेक्षणले मेक्सिको सिटीका २१ प्रतिशत महिलाले सार्वजनिक यातायातमा यौन हिंसाको अनुभव गरेको पाइएको थियो । नेपालमा महिला पुनस्र्थापना केन्द्र ओरेकले गरेको एक अध्ययनले ४० प्रतिशत महिलाले आफूमाथि सार्वजनिक स्थलमा हिंसा भएको प्रतिक्रिया दिएका थिए भने १० प्रतिशतले बाटो, ९ प्रतिशतले शैक्षिक संस्था, ७ प्रतिशतले भीडभाड, ६ प्रतिशतले एकान्त ठाउँमा आफूमाथि हिंसा भएको बताएका थिए । त्यस्तै ५ प्रतिशतले बजार वा अन्य सार्वजनिक स्थल, ४ प्रतिशतले स्वास्थ्य संस्था, ३/३ प्रतिशतले वित्तीय संस्था र होटल, २ प्रतिशतले कार्यस्थल र ११ प्रतिशतले खेल मैदान, पार्क, पसलमा हिंसामा परेको बताएका थिए ।

यस्ता हिंस्रक व्यवहारको निगरानी र रोकथाम गर्न बढी भीड हुने सार्वजनिक स्थान र सवारी साधनमा सीसीटीभी क्यामेरा जडान गर्ने, संवेदनशील क्षेत्रमा उज्यालोको व्यवस्था गर्ने, उच्च जोखिम हुने क्षेत्रमा सुरक्षा अधिकारीहरूको उपस्थिति बढाउने जस्ता काम गर्नुपर्छ ।

त्यस्तै, जनचेतना अभियानहरू चलाउने, पीडितहरूलाई परामर्श र कानुनी सहायता गर्ने र सार्वजनिक स्थानमा अश्लील र उत्तेजित पार्ने खालका शब्द तथा प्रतिबिम्ब राख्नेहरूलाई कानुनी दायरामा ल्याउन जोड दिनुपर्छ । हिंसाका घटनाहरू छिटो रिपोर्टिङ गर्न मोबाइल एपहरूको विकास गर्ने जस्ता उपायहरू अवलम्बन गरी यस्ता घटनालाई सहज न्यूनीकरण गर्न सकिन्छ ।

महिलामाथि हुने सबैखाले हिंसाको समग्र अवस्थाको बारेमा एकीकृत तथ्याङ्क राख्ने संयन्त्रको अभावका कारण वास्तविक अवस्थाको विश्लेषण गर्न र सोही बमोजिम हिंसा सम्बोधनका लागि उचित कदम चाल्न कठिन भएको अवस्था छ । यसर्थ महिलामाथि हुने हिंसाको राष्ट्रिय तथ्याङ्क व्यवस्थापन प्रणालीको स्थापना गर्न जरूरी देखिन्छ ।

आज पनि पुरुषको तुलनामा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाले समाज प्रताडित छ । महिलाले घरभित्र र बाहिर आफूलाई सुरक्षित महसुस गर्ने वातावरण बन्नुपर्छ । तीनै तहका सरकारले महिला अधिकार र सुरक्षाका बारेमा चासो दिनुपर्छ भने कानुनले दिएका हकका बारेमा महिलालाई सुसूचित गराउनु आम नागरिकको कर्तव्य हो । महिलामाथि हुने हिंसा बारे जानकार वा सचेत महिलाहरूले अझ बढी जिम्मेवारी निर्वाह गर्नुपर्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School