सम्बोधन प्रिय बंगालीलाई


झट्ट कोर्दा नबल्ने सलाई झैं ओसिएका छन् दिनहरू, झरीले । लाग्छ, यी दिनले अझै बर्को ओढ्नेछन् झरीको । बंगलादेश यात्रा थालनी गर्दा झरीमय थियो दिन ।

यात्राअघिका केही बंगलादेश–नोस्टाल्जिया छन् मसँग । सेतो भुइँमा छन्– नीला, हरिया, गुलाबी फूल र पात पेन्ट गरिएका सुनौलो घेरायुक्त सेरामिकका कप–प्लेटका सिट । छन्– चित्ताकर्षक बुट्टा भरिएका जुटको गलैंचा, कलात्मक चित्र भएको भित्ते फ्रेम, पित्तलको ब्रान्डी सेट र त्यो राख्न बनाइएको काठको खुट्टामाथि बुट्टा कुँदिएको पित्तलको ट्रे । बंगलादेशको मेडिकल कलेजमा एमबीबीएस कोर्स पढिरहेका दाजु छुट्टीमा नेपाल आउँदा त्यो पित्तलको ट्रे लिएर आउनुहुन्थ्यो ।

मेरो कलिलो मस्तिष्कमा ऊबेलै बंगलादेशप्रति नजानिंदो आकर्षण पैदा गराएका दाजुले गर्ने बंगलादेश वर्णनले । दाजुले सुनाउने रेल र समुद्रको कथाले म रोमाञ्चित हुन्थें । कल्पनामा आउँथे/जान्थे– समुद्रको छालमा हेलिंदै ह्वेल र डल्फिनसँगै बीसौं फिट माथि हावामा बयली खेल्दै पुनः समुद्रको आलिङ्गनमा आफू खसेको । आनन्दको अनुभूतिले मेरा आँखा लोलाउँथे ।

बुझ्ने हुँदै गएपछि जब लाहुरेका छोराछोरी साथी बने, बंगलादेशले हृदयमा ओगटेको स्थानलाई विस्तारै हङकङ र सिंगापुरको मोहले विस्थापित गर्‍यो । र, बंगलादेशप्रति झण्डै विकर्षण पैदा भयो । संसारका सात देश भ्रमण गरिसक्दा पनि मेरो शहरबाट १४२.९ कि.मी. मात्रै दूरीको बंगलादेश जाने रहर पलाएन ।

चाहे देश होस् वा व्यक्ति मोहको धागोलाई समयको घामपानीले कमजोर पार्दोरहेछ । कुनै बेलाको मेरो सपनाको देश, समुद्री छालले किनारमा छोडिएका सम्झनाका मस्तिष्कबाट सम्पूर्ण रूपमा मेटिइसकेको थियो ।

तर, यसपटक म बंगलादेश यात्रा गर्दैथिएँ, झरीले पखालिएर । कान्छी छोरीलाई एमबीबीएस भर्ना गराउन रहरले होइन बाध्यताले बंगलादेश जाँदैथिएँ । असुरक्षा, भय र शंकाले घेरिएर एउटा अत्यन्तै अस्तव्यस्त, अव्यवस्थित र असुरक्षित ठानिएको मुलुकतर्फ गइरहेकी थिएँ ।

***

म र मेरी दिदी थियौं, छोरी पुर्‍याउन जाँदैथियौं बंगलादेश । काँकडभिट्टाको इमिग्रेसनको कर्मचारीले भने, ‘बाबाचाहिं जानुपर्थ्यो नि ! तपाईंहरू दुवै महिला मात्रै पो जान लाग्नु भो !’ तिनले त्यसो भन्दा आत्मविश्वासको बिरुवा पुर्लुक्क ढल्न खोज्यो । तर, छोरीको एमबीबीएस पढ्ने रहरको वेग पछ्याउँदै झन्झटिलो मानिएको नेपाल–बंगलादेश यात्रा गर्दैथियौं, नेपालबाट भारतहुँदै । रानीगञ्ज पुगेर इमिग्रेसन प्रक्रिया पूरा गर्नु थियो ।

त्यसैले काँकडभिट्टाको इमिग्रेसनको काम सकेर हामी भारतको इमिग्रेसनका निम्ति रानीगञ्ज इमिग्रेसनमा गयौं, फोटो र थम प्रिन्ट दिनुपर्ने थियो । फोटोको लागि राखिएको क्यामेरा अघिल्तिर पन्ध्र मिनेट उभिंदा पनि इमिग्रेसनका कर्मचारीले मतिर ध्यानै दिएनन् । ती त मोबाइलमा फ्रि फायर खेल्नमा मस्त थिए । बल्ल–बल्ल काम सुरु त गरे, तर उनको आँखा मोबाइलकै स्क्रिनमा टाँस्सिइरहेको थियो । फ्रि फायर समर्पित योद्धाबाट काम गराएर हामी भारत–बंगलादेश सिमानामा पुग्यौं ।

भारततर्फको सिमानालाई च्याङ्ग्राबन्द भनिंदोरहेछ । त्यहाँ हामीले भारु दिएर टाँका साट्यौं । टाँका साटिदिने मानिसले हाम्रो पासपोर्ट लियो र एउटा फुच्चेको हातमा हाम्रो पासपोर्ट थमाएर भन्यो, ‘यो केटासँग जानुस् इमिग्रेसनका लागि ।’ तर, केटो हलको ढोका बाहिर उभिइरह्यो । हामी पासपोर्ट लिएर भित्र गयौं र इमिग्रेसनको काम सकेर आयौं । हामीलाई हलको गेटसम्म पुर्‍याएबापत हामीले जनही भारु २०० त्यो मानिसलाई बुझाउनुपर्ने भयो । मैले प्रतिवाद गरें, ‘यस्तो चलन संसारैभर कहीं छैन, किन दिने ?’ तर, उसले भन्यो, ‘नदिए कामै हुँदैन ।’

गलत कामको घोर विरोध गर्ने मेरो विद्रोही छवि त्यहाँ आगोको रापले वाष्प बनेर विलाएको पानी झैं भयो । चुपचाप ६०० भारु त्यहाँ बुझाएर बंगलादेशतर्फको सिमाना बुढीमारी पुग्यौं । त्यहाँ पनि जनही २०० टाँकाको रोगबाट बच्न सकिएन । ‘बिल दिनुस् न त’ पनि भनें, इमिग्रेसन कर्मचारीलाई, तर उसले भन्यो, ‘बिल दिने चलन छैन पैसा चाहिं बुझाउनै पर्छ ।’ अझै दुई अफिसमा काम थियो । काम सकिंदा दिउँसोको झण्डै तीन बजिसकेको थियो ।

***

अब असलमा हाम्रो बंगलादेश–यात्रा आरम्भ भयो । ट्याक्सीवाला र बस एजेन्टको घेराबन्दी तोडेर बल्लबल्ल एउटा ट्याक्सीमा सवार भई गन्तव्यतिर लाग्यौं । ३७ लाख ३४ हजार २९७ जनसंख्या भएको बोगरा शहर धरानबाट ४०७.५ कि.मी. दूरीमा छ । बंगलादेशको निकै पुरानो यो शहरको नामकरण ब्रिटिश शासनकालमा सन् १८२१ मै भएको थियो । बंगलादेशको उत्तर–पश्चिममा पर्ने यो शहर कारटोक नदीको किनारमा अवस्थित छ । एन्टी ब्रिटिश मुभमेन्टका नेता महम्मद अलि बोगराको सम्झनामा यस शहरको नामकरण गरिएको हो ।

बोगरातर्फको यात्रामा देखियो– सडकको दुवै किनारामा देखिएको मनोरम दृश्य । आँखाले भ्याइन्जेलसम्मको हरियो फाँट, लटरम्म फलेका आँप, टुप्पोदेखि भुईंसम्म फलेका कटहरका रूखहरू, हरिया पातमाथि टुसुक्क राखिदिए झैं राता–राता लिच्चीका अनगिन्ती दाना बोकेर लस्करै उभिएका रूखहरू । लाग्यो, बंगलादेशको माटोलाई यहाँका जनताले मिहिनेतको पसिनाले सिंचेका छन् ।

बाटोमा ठाउँ–ठाउँमा स–साना बजारसँग पनि बेला–बेला जम्काभेट भइरहेको थियो । बजारहरू देख्दा घरी सुनसरीको झुम्का बजार, घरी मोरङको दुहबी र घरी झापाको दमक छिचोल्दै गरे झैं आभास हुन्थ्यो । बंगाली भाषामा लेखेर पसलमाथि झुन्ड्याइएका बोर्डले मात्रै ‘हामी बंगलादेशमा छौं’ भन्ने अनुभूति गराउँथ्यो । हाम्रा लागि केही असजिलो थियो त्यो, बंगाली बोर्डहरू पढ्नु, बंगाली भाषा नजान्नु ।

हुन त यात्रामा जहिले पनि मलाई लाग्छ, यही यात्रा मेरो अन्तिम यात्रा हुनसक्छ त्यसैले । अक्सर यात्रामा निस्किनुअघि प्रियजनलाई खबर गर्छु र पुगेको सूचना दिन्छु । यसपालि लाग्यो, अब कुनै पनि क्षण मेरो मुढो भएको रगताम्मे शरीर मेरो आफन्तजनलाई कुरेर लडिरहेको हुनेछ ।

त्यहाँको समय नेपालभन्दा १५ मिनेट अघि कुद्थ्यो । रंगपुर पुग्दा साँझ पाँच बजिसकेको थियो । बोगरा पुग्न अझै तीन घण्टा लाग्थ्यो । रंगपुर शहरबाट हाइवे सुरु भएको थियो । हामी तीन अब फराकिलो सडकमा गुडिरहेका थियौं, तर बाटो बन्दै थियो । ठाउँ–ठाउँ भत्किएका, खाल्डो परेका सडकले दक्षिणएशियाको सडकको विशेषता सम्झाउँथ्यो । बनिसकेर पनि प्रयोगमा ल्याउन बाँकी लमतन्न सडकहरूमा सुकाइएका बिस्कुन र परालले मलाई धरानका भित्री सडकमा पाल विछ्याएर बिस्कुन सुकाउने चलनको सम्झना गरायो ।

धरानका भित्री सडकमा बिहेघरको केही फिट दायाँ–बायाँर्फ केही भाग ओगटेर बाँसको ढाट लगाउने र सडकको त्यो भाग बिहे प्रयोजनलाई प्रयोग गर्नु सामान्य मानिन्छ । यहाँ चाहिं त्यस्तो गर्छन् कि गर्दैनन् होला बंगालीहरू ? मन उडेर धरान पुग्यो ।

बोगरा पुग्न धेरै बाटो छिचोल्नै बाँकी थियो । तर, साँझ झमक्कै ढल्किंदै थियो । घामले दैनिक कर्तव्यबाट विश्राम लिंदै थियो । पश्चिम आकाशमा छेलिंदै–छेलिंदै आफ्नो रंग र तेज गुमाएको सुन्तला रंगको डिनरप्लेट जस्तै घाम अन्ततः आकाशमै विलय भयो । लाग्यो दिनभरिको थकानले चुर भएर डङ्ग्रङ्ग पल्टिएर आँखा चिम्म गर्‍यो घामले । तर, उसले विश्राम लिए पनि हामीले यात्राबाट विश्राम लिने बेला आएकै थिएन ।

एकैछिनमा हामी अन्धकारको साम्राज्यमा प्रवेश गरिसकेका थियौं । घामको उज्यालोले मनको उज्यालो कायम राख्न धेरै सहयोग गर्दाेरहेछ क्यार । अन्धकारमा एकअर्काको मनको उज्यालो मुहारमा प्रतिबिम्बित छ कि छैन ? देख्न पनि असमर्थ थियौं हामी । अन्ततः राति करिब ८ बजे ड्राइभरले हामीलाई टी.एम.एस.एस. मेडिकल कलेजको भवन अगाडि पुर्‍याए । र, गल्र्स होस्टलमा हामीलाई छोडेर बिदा लिए । बाटोमा ड्राइभरले हाम्रो निकै राम्रो ख्याल गरेका थिए । उनी मात्र होइन रिक्सावाला, चियावाला, पानपसले र भेट भएका जति बंगाली थिए तिनीहरू सहयोगी स्वभावका भेटिए ।

***

जेठ २२ गते छोरीको ह्वाइटकोट सेरोमनीमा भाग लिन कलेज गयौं । त्यहाँ उपस्थित सम्पूर्ण महिलाको पहिरन हाम्रो भन्दा निकै फरक थियो । प्रायःले हिजाब लगाएका थिए र आफ्नो शिर ढाकेका थिए । त्यहाँको महिलाको प्रमुख पहिरन कुर्ता–सुरुवाल रहेछ, त्यो पनि पूरा बाहुला भएको । जुत्ता पनि क्लोज शु नै रहेछ, सल अनिवार्य । शलमाथि पछ्यौरा, जसलाई शिर ढाक्न प्रयोग गरिंदोरहेछ ।

म होटलबाट कलेज पुग्दा छोरी हलमा बसिसकेकी थिई । ऊ कहाँ छे ? म खोजिरहेकी थिएँ । ऊ आफ्ना साथीहरूसँग अगाडिपट्टिको थर्ड रोमा थिई । उसको पहिरनले उसलाई ठम्याउनै गाह्रो भो । कलेजमा ड्रेस–कोड रहेछ । घुँडाभन्दा निकै लामो कुर्ता, पञ्जावी सुरुवाल (स्ट्रेट सुरुवाल, लेगिन्स लाउन नपाइने) सल र घुँडा भन्दा तलको सेतो एप्रोनमा थिई ऊ । जुत्ता पनि कलेज शु । हत्केला र अनुहार बाहेक सबै छोप्नुपर्ने रहेछ ।

कार्यक्रम सकिएपछि कलेजले कार्यक्रममा उपस्थित सबैलाई बिहानको खानाको व्यवस्था गरेको थियो । बिर्यानी, कबाब, कोरमा र कस्मिरी चिया त्यहाँको मुख्य भोजन रहेछ । हामीले पनि बिर्यानी र कबाब खायौं । मेरो प्लेटमा बिर्यानी निकै धेरै थियो । केही खाना प्लेटमै छाडें । अघिल्लो दिन परिचय भएकी बंगाली महिला मेरैछेउ थिइन् । उनले खाना फ्याल्न दिइनन्, बरु मैले नखाएपट्टिबाट खाना आफ्नो प्लेटमा राखिन् र खान थालिन् । मलाई अचम्म मात्रै होइन, अप्ठ्यारो पनि लाग्यो । उनले भनिन्– बंगलादेशमा जुठो खानु सामान्य हो र यसलाई आत्मीयताको सूचक मानिन्छ ।

मिहिनेती बंगालीहरूप्रति सम्मान लाग्यो, जो रातको एक बजे आफ्ना फुड स्टल सुरु गर्दै थिए । तिनको कडा परिश्रमप्रति नतमस्तक हुँदै भित्रैबाट सम्मानभाव आइरहेको थियो ।

सन् १९७४ मा भोगेको चरम अनिकालले बंगालीहरू खाना फाल्नुलाई खराब संस्कृति मान्दा रहेछन् । खानापछि चिया पिउने मन भयो । दिदी र म कलेजछेउको चियापसलमा गयौं । वरपर अन्य स–साना पसल थिए । ती पसलेको मुहारमा आत्मीयताको आभा थियो । तिनको व्यवहारमा प्रेमको अनुभूति थियो । त्यही आत्मीयता र प्रेमको पोल्टामा मेरी मुटु, मेरी छोरीलाई राखेर हामी भोलिपल्ट बेलुका ढाकातर्फ लाग्यौं ।

***

ढाका बसस्टप पुग्नुअघि त्यहाँको कुख्यात ट्राफिक जामको साक्षी हुने अवसर प्राप्त भयो । लाग्थ्यो, जाम भएको बेला आफू चढेको सवारी साधन छोडिराखेर कुनै काम गरिसकेर आइन्जेलसम्म जाम खुलेको हुँदैन । जाममा परेकै बेला एउटा भाइ ठेलामा सिसाको बक्सामा सर्वत बेचिरहेको देखे । सुन्तला रंगको सर्वतमा सेता मसिना दाना तैरिरहेका थिए । मलाई त्यो सर्वत खाउँ–खाउँ लाग्यो र ‘एक गिलास सर्वत देउ न’ भनेर नेपालीमै मागें, हातले इशारा गर्दै । एउटा एक्स्ट्रा गिलास पनि मागें । दिदी बहिनीले सर्वत पियौं । त्यसलाई कोक्मा सर्वत भन्दो रहेछ । गर्मीबाट बच्न यो सर्वत पिउने चलन रहेछ त्यहाँ ।

सर्वत मिठो लागेर ‘मिष्ठी छ’ भनेको त उसले ‘चिनी देउ’ बुझेछ । ऊ एक चम्चा चिनी बोकेर पो आयो । हतार–हतार इशाराले ‘दामी छ’ भने अनि ऊ ‘भालो भालो’ भन्दै हाँस्यो ।

बोल्ने भाषा फरक भए पनि मुस्कानको भाषा, आँखामा छचल्किएको आत्मीयताको भाषा त आखिर सबैतिर एकै हुँदोरहेछ । सर्वत खाइनसक्दै जाम खुल्यो । हतार–हतार पैसा र गिलास भाइलाई थमाएँ । बस चढेर ढाकातर्फको यात्रा सुरु गर्दा जीवनको गाडी कुनै पनि बेला कहीं पनि रोकिन सक्छ भन्ने अनुभूति भयो । जब बस ड्राइभरले थिच्न मिल्ने जति एक्सिलेटर थिचेर गाडी अगाडि बढायो, लाग्यो यो नै मेरो जीवनको अन्तिम यात्रा हो, मेरो जीवन यात्रा यही बिरानो भूमिमा टुंगिनेछ ।

हुन त यात्रामा जहिले पनि मलाई लाग्छ, यही यात्रा मेरो अन्तिम यात्रा हुनसक्छ त्यसैले । अक्सर यात्रामा निस्किनुअघि प्रियजनलाई खबर गर्छु र पुगेको सूचना दिन्छु । यसपालि लाग्यो, अब कुनै पनि क्षण मेरो मुढो भएको रगताम्मे शरीर मेरो आफन्तजनलाई कुरेर लडिरहेको हुनेछ । ईश्वरलाई प्रार्थना गरें– एकै झट्कामा मेरो इहलीला समाप्त गरिदेऊ, अधकल्चो शरीरसँगको नारकीय जीवनमा नअल्झाऊ । फेरि मनले भन्यो– यो त अल्लाहको भूमि हो । अल्लाहलाई त्यही कुराको निम्ति बिन्ती गर्ने तरिका जानिनँ ।

ढाका पुग्न केही किलोमिटर मात्रै बाँकी हुँदा ट्राफिक जाम सुरु भयो र बस रोकियो । झ्यालबाट देखें, इट्टा बोकेको ट्रकमा इट्टाको चाङमाथि आफूले लगाएको कमिजको सिरानी हालेर एउटा भाइ गहिरो निन्द्रामा छ । अर्को ट्रकमा गोरुहरू लोड गरिएको छ । गोरुहरू उभिएको सानो स्थानमा एउटा मानिस मुस्किलले उभिइरहेको छ ।

जाम खुलेर गाडीले गति लिन थाल्यो । सबै गाडी एकअर्कालाई जित्ने होडबाजीमा चर्काे हर्न बजाइरहेका थिए । गाडीको तीव्र गति र चर्काे हर्नले होला, निदाउन पटक्कै सकिरहेकी थिइनँ । बाटोमा एकैपटक सयौंको संख्यामा निर्माण सामग्री, सामान बोकेका ट्रकको लस्कर थियो । ढाकाको उच्चतम जनघनत्व थेग्ने अथक् प्रयासमा लागे जस्ता देखिन्थे ती । ट्राफिक जामका कारण ५/७ कि.मी.को दूरी पार गर्न हामीलाई झण्डै एक घण्टा लाग्यो । ढाकाको खाल्सी बसस्टप ओर्लंदा रातको एक बजेको थियो । तर, बाटोमा चहलपहल उस्तै थियो ।

हामीसँगै गएकी एक बहिनी भन्दै थिइन्, ढाकामा मान्छे सुत्दैनन् । मिहिनेती बंगालीहरूप्रति सम्मान लाग्यो, जो रातको एक बजे आफ्ना फुड स्टल सुरु गर्दै थिए । तिनको कडा परिश्रमप्रति नतमस्तक हुँदै भित्रैबाट सम्मानभाव आइरहेको थियो । त्यहाँबाट ट्याक्सी लिएर दिदीसँग ढाकास्थित नेपाली दूतावासतर्फ लाग्यौं ।

आजको रात यात्रा आरम्भ गरेको त्यो दिन झैं झरीले आकाशमा बर्को ओढेको थिएन । रात ओस्सिएको थिएन । झट्ट मस्तिष्कमा विचार पलायो– सुन्दर हुनेवाला छ भोलिको बिहान, जीवनजत्तिकै सुन्दर !



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School