श्रीलंकामा वामपन्थी राष्ट्रपति : जनताले रोजे पूर्ण परिवर्तन


६ असोज, काठमाडौं । वामपन्थी नेता अनुरा कुमारा दिशानायके (एकेडी) नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरि रहेकाहरुलाई रोकेर दिशानायकेलाई राष्ट्रपति चुन्ने श्रीलंकाली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे परिवारको शासन अन्त्य गरेको थियो । प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनु परेको थियो भने उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भाग्न बाध्य भए । त्यसपछि संसदले ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई नयाँ राष्ट्रपति बनायो ।

त्यसबेला अधुरो रहेको शासन सत्तामा परिवर्तनको चाहना श्रीलंकाली नागरिकले शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन मार्फत पूरा गरे ।

नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति विक्रमासिंघे आफैं मैदानमा उत्रिएका थिए । उनी युनाइटेड नेशनल पार्टीका हुन्, तर अरुको समर्थन जुटाउन स्वतन्त्र उम्मेदवार बने ।

संकटको बेला शासन सत्ता सम्हालेका उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग नयाँ आर्थिक सहायताका लागि सहमति जुटाएका थिए । श्रीलंकाको अर्थतन्त्रलाई फेरि लयमा फर्काउन आफूले गरेको प्रयासलाई पूर्णता दिन उनले मत मागेका थिए ।

राष्ट्रपतिका अर्का उम्मेदवार सजीथ प्रेमदासा पनि राजनीतिक घरानाकै हुन् । श्रीलंकाका तेस्रा राष्ट्रपति रणसिंघे प्रेमदासाका छोरा उनी विपक्षी दलका नेता हुन् ।

तर चुनावमा बाजी मारे, दिशानायकेले । उनी न कुनै राजनीतिक घरानाका हुन्, न राजधानी कोलम्बोका ।

श्रीलंकाको नेशनल पिस काउन्सिलका निर्देशक डा. जेन परेरा भन्छन्, ‘मानिसहरुले पूर्ण परिवर्तन चाहे । मुख्य कुरा भ्रष्टाचार अन्त्य होस्, पछिल्लो ७५ वर्षमा शासन सत्तामा रहेकाहरु जानुपर्छ र नयाँ आउनुपर्छ भन्ने भावना देखियो ।’

पछिल्ला महिनाहरुमा भएका मत सर्वेक्षणहरुले पनि अरु उम्मेदवार भन्दा एकेडी अगाडि देखिएका थिए । मत गणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले अन्तिम गणना सकिंदा उनी ४२.३१ प्रतिशत मतका साथ पहिलो स्थानमा रहे । उनलाई पछ्याइरहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाए । निवर्तमान राष्ट्रपति विक्रमासिंघेले मात्र १७.२७ प्रतिशत मत पाउँदा महिन्दा राजापाक्षेका छोरा नमलले जम्मा २.५७ प्रतिशत मत पाए ।

श्रीलंकामा राष्ट्रपति चुनिन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएपछि निर्वाचन आयोगले दोस्रो चरणको मत गणना गर्ने भयो, जसमा दिशानायके र प्रेमदासा मात्र उम्मेदवार रहे । श्रीलंकाको इतिहासमा पहिलो पटक भएको दोस्रो चरणको मत गणनाबाट दिशानायके राष्ट्रपति निर्वाचित भएका छन् ।

विगत बिर्सिएर रोजेको परिवर्तन

कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञानमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध भएका थिए ।

जेभीपीले १९७१ र १९८० को दशकको अन्त्यमा श्रीलंकामा हिंसात्मक विद्रोह गरेको थियो । १९८८–१९८९ मा राष्ट्रपति जेआर जयवर्धने र आर प्रेमदासाको शासन सत्ता ढाल्न भन्दै गरेको विद्रोह श्रीलंकाको इतिहासमा सबभन्दा रक्तपातयुक्त थियो ।

विद्रोहीहरुले राजनीतिक विरोधी मात्र होइन, बुद्धिजीवी, कलाकार, ट्रेड युनियनमा आवद्ध भएकाहरुको समेत हत्या गर्‍यो । विद्रोह दबाउन सरकारले चलाएको कारबाहीमा पनि कम्तीमा ६० हजार मानिस मारिए । जेभीपीका संस्थापक रोहाना विजेविरा समेत कारबाहीमा मारिएका थिए ।

जेभीपी हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि दिशानायके पोलिटब्यूरो सदस्य बने । सन् २००० मा सांसद र २००४ मा छोटो समयका लागि मन्त्री समेत बने । २०१४ मा जब उनी जेभीपीको प्रमुख बने, त्यसयता उनले आफ्नो दललाई विगतको हिंसात्मक आन्दोलनबाट टाढा राख्न खोजेका छन् ।

२०१४ मे मा पार्टीको नेतृत्वमा आएपछि उनले पार्टीले विगतमा गरेको हिंसाप्रति माफी मागेका थिए । जेभीपीका कुनै नेताले हिंसाका लागि माफी मागेको त्यो नै अन्तिम पटक थियो । किनकि पार्टीकै केही नेता र वामपन्थीहरुले चर्को आलोचना गरेपछि दिशानायके विगतको विषयमा निकै सतर्क हुने गरेका छन् । उनले कैयौं पटक खेद व्यक्त गरेका छन्, माफी मागेका छैनन् ।

श्रीलंकामा अहिले पनि त्यो विद्रोह घाउ बाँकी छ । तर जनताले जेभीपीको रक्तपातपूर्ण विगतभन्दा दिशानायकेको भ्रष्टाचार अन्त्य गर्ने वर्तमानको नाराले मन जितेको छ ।

भ्रष्टाचार अन्त्यको एजेण्डा

आरागालया (सिंहाली भाषामा यसको अर्थ संघर्ष हुन्छ) भनेर चिनिने २०२२ जुलाइको आन्दोलनको नेतृत्व आफूले गरेको भनेर कुनै पनि दलले औपचारिक रुपमा दाबी गरेन, तर आन्दोलनमा जेभीपीले महत्वपूर्ण भूमिका खेलेको थियो । दैनिक प्रदर्शन आयोजना गर्‍यो, आम अड्ताल आह्वान गर्दै सडकमा पाल टाँगेर बस्यो ।

हजारौं जनता सडकमा आएपछि तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे मन्त्रिपरिषदका सदस्यहरुले राजीनामा दिन बाध्य भए भने उनका भाइ गोटाबाया देश छाडेर सिंगापुर पुगे । त्यहींबाट पद त्यागे ।

हालै बंगलादेशमा पनि सडक आन्दोलन चर्किएपछि त्यहाँका तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । आन्दोलनकारी विद्यार्थीहरुको मागअनुसार सेनाले अन्तरिम सरकार बनायो, संसद भंग भयो ।

तर श्रीलंकामा भने संसद कायमै रह्यो । त्यही संसदबाट रनिल विक्रमासिंघे राष्ट्रपति बने । उनले बहुमत पाउनका लागि राजापाक्षेको पार्टीको समर्थन लिए । सेना परिचालन गरेर प्रदर्शनकारीहरुलाई सडकबाट हटाए ।

राजापाक्षे हटेको र नयाँ सरकारले इन्धनका साथै अत्यावश्यक सामग्रीहरुको कमी हटाउन प्रयास गरेपछि प्रदर्शनकारीहरु पनि आफ्नो घर फर्किए ।

तर जति समय बित्दै गयो, विक्रमासिंघेप्रति मानिसहरुको आक्रोश बढ्दै गयो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग नयाँ आर्थिक सहायताका लागि सहमति गरेका उनको सरकारले कर बढाएको छ र, राज्यको तर्फबाट दिइने अनुदान सहायता कटौती गर्‍यो । खासगरी इन्धन र विद्युतको सहायता कटौती हुँदा निम्न र मध्यमवर्गीय परिवार नराम्रोसँग प्रभावित भए ।

अनि राजापाक्षे परिवारमाथि कुनै कारबाही भएन । जबकि आम मानिसले श्रीलंकाको आर्थिक संकटका लागि राजापाक्षे परिवारलाई जिम्मेवार मानेका थिए र उनीहरुमाथि कारबाही होस् भन्ने चाहेका थिए ।

यही बेला दिशानायके र उनको दल भीजेपीले सामाजिक न्याय र भ्रष्टाचार विरोधी नारा दियो । विद्रोहपछि पनि राजनीतिक संस्कारमा कुनै परिर्वतन नआएको प्रति निराश नागरिकलाई गोलबद्ध गर्दै भीजेपी प्रमुख राजनीतिक शक्तिका रुपमा उदायो ।

सेन्टर फर पोलिसी अल्टरनेटिभ्सका कार्यकारी निर्देशक पाकियासोथी साराभानमटूका अनुसार शासनमा बदलाव देशको आम भावना थियो र उनीहरुले दिशानायकेलाई आफूहरु मध्ये एक माने ।

‘उनको अभियानको मुख्य मुद्दा भ्रष्टाचार विरोधी छँदै थियो’ उनले अलजरिजारसँग भनेका छन्, ‘सबभन्दा महत्वपूर्ण उनी कुनै वंशका थिएनन्, कोलम्बोका पनि होइनन् । त्यसैले उनलाई हामीमध्येकै एक माने ।’ अर्थात् १९४८ मा स्वतन्त्र भएयता युनाइटेड नेशनल पार्टी (यूएनपी) र श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी), उनीहरुले नेतृत्व गरेको गठबन्धनको वरिपरि घुमेको शासन सत्ता दिशानायकेलाई सुम्पिए ।

बल्ल सुरु हुनेछ चुनौती

श्रीलंकाली सञ्चारमाध्यमहरुका अनुसार नवनिर्वाचित राष्ट्रपति दिशानायकेले सम्भवतः भोलि सोमबार शपथ लिनेछन् । तर उनको कार्यकाल सहज भने हुने छैन ।

श्रीलंकामा वामपन्थी राष्ट्रपति : जनताले रोजे पूर्ण परिवर्तन

श्रीलंकाको अर्थतन्त्र अहिले पनि समस्यामै छ । दिशानायकेले आईएमएफसँग पुनः सम्वाद गर्ने बताएका छन् । विक्रमासिंघे सरकारको नीतिका कारण सबभन्दा बढी आर्थिक संकटमा परेकाहरुलाई राहत दिने वचन दिएका छन् ।

श्रीलंकाका लागि नेपाली पूर्वराजदूत एवं अर्थशास्त्री विश्वम्भर प्याकुरेल भन्छन्, मानिसहरुको अपेक्षा धेरै छ, तर आईएमएफले यति कडा शर्तहरु राखेको छ कि त्यो पूरा गर्न सहज छैन ।’

घरेलु राजनीति पनि उनको अनुकूल छैन । २२५ सदस्यीय संसदमा उनको दलको जम्मा ३ जना छन् । दिशानायकेले चुनावी अभियानका क्रममा तत्काल संसद भंग गर्ने बताएका थिए । तर सरकार गठन विना संसद भंग पनि सहज छैन ।

यही संसदबाट बन्ने सरकार दिशानायकेको अनुकूल बन्ने सम्भावना देखिंदैन ।

साथै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बाइपास गरेर जाने अवस्था पनि संविधानले नदिएको भन्दै प्याकुरेल भन्छन्, ‘कस्तो मन्त्रिपरिषद् बन्छ, संसदको चुनावमा उनको दलको बहुमत आउँछ कि आउन्न भन्नेले धेरै अर्थ राख्छ ।’

भारत, चीन अमेरिकाको तीव्र भूराजनीतिक प्रतिस्पर्धाका बीच कूटनीतिक सम्बन्ध बनाउनुपर्नेछ । त्यसैले ६ देखि १२ महिना राष्ट्रपति दिशानायकेका लागि चुनौतीपूर्ण हुने श्रीलंकन विश्लेषकहरु बताउँछन् । साराभानमटू भन्छन्, ‘यदि ठूला माछालाई जेलमा हाल्न सकेनन् भने उनलाई समस्या हुनसक्छ ।’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School