वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय 

वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय 


२१ असोज, काठमाडौं । २०७० सालतिर एउटा गाडी किनेर काठमाडौं बूढानीलकण्ठका सूर्य स्याङ्तान फाट्टफुट्ट सामान बोक्ने काम गर्दै आएका थिए । जेनतेन पेशा चलेकै थियो । तर, सरकारी सामान ओसारपसार गर्ने काम मिले सजिलो हुने र नियमित आम्दानी पनि हुन्छ भन्ने सुनेकाले उनी बेलाबखत पत्रपत्रिकातिर आँखा पनि डुलाइरहन्थे ।

एकदिन तामाङको आँखा वैदेशिक रोजगार बोर्डले निकालेको एउटा विज्ञापनमा पर्‍यो । बोर्डले ‘विदेशबाट आउने शव ढुवानीका लागि आवेदन दिन’ सूचना निकालेको थियो । तामाङले पनि ‘बुद्धछाप ढुवानी सेवा’ दर्ता गरे र तुरुन्तै आवेदन दिए ।

‘अलिक अनौठै काम लाग्यो । तर पनि निवेदन हालें । जीवनमा यसरी शव बोक्दै हिंड्नुपर्ला भन्ने त लागेको थिएन’ तामाङले अनलाइनखबरसँग भने, ‘तर टेन्डर नै परेपछि सम्झौता गरेर काम गर्न थालियो ।’

उनको ‘बुद्धछाप ढुवानी सेवा’ले २०७२ सालमा पहिलो पटक विदेशबाट आएको शव बोकेको हो । ‘त्यसयता त कति बोकियो, बोकियो नि ! यस्सो सामान्य हिसाब गर्दा मात्रै पनि एकहजार भन्दा बढी शव हाम्रो कम्पनीले बोकेछ’, उनी भन्छन् ।

यसरी शव बोक्न काम पाउन पनि सजिलो छैन । वैदेशिक रोजगार बोर्डले वर्षेनि नयाँ टेन्डर आह्वान गरेर विदेशबाट नेपाल भित्रिने शव सम्बन्धित व्यक्तिका घरसम्म पुर्‍याउने सेवा दिंदै आएको छ । पछिल्लो वर्ष ४ वटा कम्पनीले शव ढुवानीको काम गर्दै आएका छन् । त्यसमध्ये तामाङको ‘बुद्धछाप ढुवानी सेवा’ पुरानो र अनुभवी कम्पनीका रूपमा दरिइसकेको छ ।

‘हेर्दा गाडीमा शव बोकेर घरमा पुर्‍याइदिने काम त हो नि भन्ने हुन्छ । तर, यो एकदमै झन्झटिलो काम हो । बोर्डले जिम्मा लगाएपछि परिवारको जिम्मा नलगाउँदासम्म घामपानी भन्न पाइन्न’ स्याङ्तान भन्छन्, ‘त्यसमाथि लाश बोक्ने गाडीमा काम गर्ने मान्छे पाउन पनि गाह्रो छ । हम्मेसी कसैले यो काम गर्न आँट पनि गर्दैनन् ।’

स्याङ्तानसँग अहिले मालसामान ओसारपसार गर्ने समेत गरेर ६ वटा गाडी छन् । ‘पूरा व्यवसाय नै यही हो त भन्दिनँ । तर, आफ्नो सम्झौता अनुसारको जिल्लाका मान्छेको घटना घट्यो भने पार्टटाइम जस्तो यो काम गरिरहेका छौं’ स्याङ्तान भन्छन्, ‘पहिले पहिले अर्कै कुरा थियो । तर, अहिले त शव बोक्दाबोक्दै सामान्य जस्तै भइसक्यो ।’

सांस्कृतिक मान्यतामा परिवर्तन

वैदेशिक रोजगारीका कारण कतिपय सांस्कृतिक मान्यतामा परिवर्तन आएको स्याङ्तानको अनुभव छ । पहिले पहिले आफन्तबाहेक अरूले शव छुनुहुँदैन भन्ने कठोर मान्यता थियो । तर, वैदेशिक रोजगारको आकार बढ्दै गएसँगै यो संस्कार फेरिंदै गएको छ । उनी भन्छन्, ‘पहिले पहिले अरूले शव नछुने, नबोक्ने भन्थे होला ! अब विदेशबाट शव आउँदा त कसले कसलाई नछुनु भन्ने हो र ?’

नछुनु मात्रै होइन, शव साटफेर भएर एउटाको सद्गत अर्कोले गरेको उदाहरण पनि छ । उनका भनाइमा, घटना दुई वर्षअघिको हो । त्यतिबेला झापा जानुपर्ने शव अर्घाखाँची पुगेको थियो भने, अर्घाखाँची जानुपर्ने शव झापा । ‘अझ शव फेरबदल भएर दलितको शव गैरदलितको घरमा र गैरदलितको शव दलितको घरमा समेत पुगेको थियो । लफडै भयो नि !’ उनी भन्छन् ।

कतारमा एकै समयमा एउटै अस्पतालबाट नेपाल पठाइएका उक्त शव त्यहाँबाटै फरक ‘कोडिङ’ भएका कारण फेरबदल भएको स्याङ्तान बताउँछन् । ‘हामीले खोलेर हेर्ने भन्ने हुँदैन । नाम अनुसारकै ठाउँमा पुर्‍याउने हो । झापामा दलितको घरमा बाहुनको शव राति पुगेछ ।

१५ वर्षअगाडि विदेश गएको मान्छे भएकाले राम्रोसँग नहेरी राति नै काम (दाहसंस्कार) भयो’ उनी भन्छन्, ‘तर, अर्घाखाँचीमा एक वर्षअगाडि मात्रै गएको मान्छेको परेछ । उनीहरूले चिने ।’ पछि वैदेशिक रोजगार बोर्ड, विभाग लगायत अन्य प्रशासन मिलेर क्षतिपूर्ति दिएपछि विवाद साम्य भएको स्याङ्तान बताउँछन् ।

रेमिट्यान्स र शव : दुवै बढ्दै

नेपालमा प्रति वर्ष विप्रेषणको बढ्दै जाँदा नेपाल भित्रिने श्रमिकको शव संख्या पनि बढ्दै गएको छ । पछिल्लो पाँच वर्षमा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ ।

कोभिडको समयमा वैदेशिक रोजगारी कटौती भएर रेमिट्यान्स घट्ने अनुमान थियो । आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्समा सामान्य कमी आए पनि त्यसयता भने निरन्तर बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोडको रेमिट्यान्स आएको थियो । आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको तुलनामा ९.८३ प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स आएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४.८ प्रतिशतले वृद्धि भएर १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स आएको थियो । आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले वृद्धि भएर १२ खर्ब ४० अर्ब ६९ करोड पुग्यो । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स आएको छ ।

यसैगरी पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्क केलाउँदा नेपाल ल्याइएका शवहरूको संख्या पनि बढ्दो क्रममा देखिन्छ । २०७६/७७ मा ६६८ वटा शव ल्याइएकोमा २०७७/७८ मा ७७० वटा शव ल्याइएको थियो । यस्तै २०७८/७९ मा यो संख्या ७९५ थियो भने २०७९/८० मा यो संख्या ८१९ पुग्यो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ यो संख्या ९६५ पुगेको थियो ।

संकटमा समेत नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्समा योगदान दिने ठूलो संख्या नेपालबाट बाहिरिएको अदक्ष जनशक्ति हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुुसार बितेको तीन वर्षमा २१ लाख ८२ हजार श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । त्यसमध्ये उच्च दक्ष जनशक्तिको संख्या केवल १ हजार मात्रै छ ।

अहिले वैदेशिक रोजगार बोर्डसँग सम्झौता गरेर ४ वटा कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका शव मुलुकका विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेका छन् ।

यो तीन आर्थिक वर्षमा वैदेशिक रोजगारमा गएका कुल संख्यामध्ये अदक्ष जनशक्ति मात्रै ६ लाख ३० हजार थिए । अर्थात्, वैदेशिक रोजगारमा गएका मध्ये ठूलो संख्याका श्रमिकले सामान्य सीप समेत जानेका हुँदैनन् ।

यसरी सुखी र खुसी जीवनयापन र भविष्यको सपना साँचेर वैदेशिक रोजगारमा गएका युवाहरू कफनमा शव बनेर फर्किरहेका छन् । त्यो पनि सानो संख्यामा होइन । वैदेशिक रोजगार बोर्डका अनुसार दैनिक सरदर ७ जना माथिको संख्यामा श्रमिकको शव नेपाल भित्रिन्छ ।

बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै विदेशमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि ३ करोड ४१ लाख रुपैयाँ खर्च भएको थियो । ‘शवको संख्या अनुसार कहिले खर्च धेरै कहिले थोरै हुन्छ । शव धेरै भएको वर्ष औसत ३ करोड रुपैयाँ खर्च भएको देखिन्छ’, बोर्ड प्रवक्ता ढकाल भन्छन् ।

अहिले वैदेशिक रोजगार बोर्डसँग सम्झौता गरेर ४ वटा कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका शव मुलुकका विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेका छन्। बोर्डका अनुसार, अहिले बुद्धछाप ढुवानी सेवा सहित आरडी ढुवानी सेवा, सेती गणेश ढुवानी सेवा र सेती गणेश सप्लायर्सले शव ढुवानी गरिरहेका छन् ।

ती कम्पनीसँग बोर्डले बढीमा एक वर्षसम्मको सम्झौता गरेर शव गाउँघरसम्म पुर्‍याउने काम गरिरहेको छ । ४ वटा कम्पनीलाई छुट्टाछुट्टै जिल्ला तोकेर जिम्मेवारी दिइएको छ । ‘आफ्नो सम्झौता अनुसारका जिल्लासँग सम्बन्धित शव आयो भने पुर्‍याउने काम सम्बन्धित कम्पनीको हुन्छ’, वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकाल भन्छन् ।

बोर्डले ती कम्पनीसँग एउटा शव बोकेको २ हजार रुपैयाँदेखि ७२ हजार रुपैयाँसम्म भुक्तानी दिंदै आएको छ । बोर्डले काठमाडौं उपत्यकामा सबैभन्दा कम र सुदूरपश्चिम, कर्णाली प्रदेशका दुर्गम जिल्लामा शव पुर्‍याएको अधिकतम भुक्तानी दिंदै आएको छ ।

‘टेन्डर प्रक्रियाबाटै हामीले कम्पनी छनोट गर्ने हो । उहाँहरूले आफ्नो भागमा परेको जिल्लामा तोकिएको मूल्यमा शव ढुवानी गर्नुपर्ने हुन्छ’, बोर्डका प्रवक्ता ढकाल भन्छन्, ‘शव बोक्ने काममा सितिमिति अरूले आँट गर्दैनन् । प्रायः एउटै कम्पनी दोहोरिरहेको देखिन्छ ।’

बोर्डका अनुसार पछिल्लो ५ आर्थिक वर्षमा मात्रै बोर्ड मार्फत ४ हजारभन्दा बढी शव व्यवस्थापन भएको छ । ‘यो तथ्यांक भनेको बोर्ड मार्फत भएका मात्रै हुन् । त्यसबाहेक केहीले भने आफ्नै तरिकाले शव ढुवानी गर्दै आउनुभएको छ’, प्रवक्ता ढकाल भन्छन् ।

बोर्डले विदेशमा मृत्यु भएकाहरूको शव आफन्तको गाउँ–ठाउँमा पुर्‍याउने गर्नुका साथै आर्थिक सहायता पनि दिंदै आएको छ । गत आर्थिक वर्षमा मात्रै बोर्डले ८० करोड रुपैयाँभन्दा बढी रकम क्षतिपूर्तिमा खर्च गरेको थियो । यसबाहेक शव ढुवानीमा लाग्ने खर्च पनि छँदैछ ।

वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय 

बोर्डले श्रम स्वीकृति लिएकाहरूको विदेशमा मृत्यु भएमा ७ लाख रुपैयाँ र नेपालमा मृत्यु भएमा २५ हजार रुपैयाँ क्षतिपूर्ति दिंदै आएको छ । ‘नेपाल फर्किइसकेको अवस्थामा पनि श्रम स्वीकृतिको म्याद सकिएको एक वर्षभित्र मृत्यु भएमा उहाँहरूलाई क्षतिपूर्ति दिने व्यवस्था छ । त्यही व्यवस्था अनुसार पनि क्षतिपूर्ति दिनुपर्दा रकम धेरै देखिन गएको हो’, बोर्ड प्रवक्ता ढकाल भन्छन् ।

बोर्डका अनुसार श्रम स्वीकृति लिएर गएकामध्ये आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएका कुल १ हजार ३४६ श्रमिकले ज्यान गुमाए । ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेशिया र खाडी राष्ट्रहरूमा काम गर्न जानेहरू छन् । खाडी राष्ट्र कतार, साउदी, यूएई, कुबेत, ओमानमा श्रमिकको मृत्युदर धेरै छ ।

यसरी ज्यान गुमाउने मध्ये कतिको शव ढिलो आउने, कतिको उतै सद्गत हुने र कतिको परिवारको पहलमा आफैं ल्याउने हुनाले ज्यान गुमाउने र नेपाल भित्रिने शवको तथ्याङ्क फरक–फरक देखिन आउँछ ।

नेपालबाट वर्षेनि ठूलो संख्यामा अदक्ष श्रमिकहरू विदेश जाने भएकोले पनि मृत्युदर बढी रहेको वैदेशिक रोजगार मामलाका जानकारहरू बताउँछन् । ‘धेरैले त बोर्डबाटै क्षतिपूर्ति सहित निःशुल्क शव ढुवानी हुन्छ भन्ने पनि थाहा पाएका हुँदैनन् । त्यसैले हामीकहाँ जानकारी थोरै आउँछ’, ढकाल भन्छन् ।

सजिलो छैन शव ढुवानीको काम

स्याङ्तानका अनुसार शव ढुवानीको जिम्मेवारी लिन सजिलो भने छैन । बोर्डले खबर गरेर सम्बन्धित ठाउँमा शव पुर्‍याउने जिम्मेवारी दिइसकेपछि त्यसअवधिमा आइपर्ने सबै समस्यासँग आफैं जुध्नुपर्ने हुन्छ ।

लामो समयदेखि शव बोक्दै आएकाले आफूहरूलाई सामान्य लाग्ने भए पनि यस्तो काम गर्न कम्पनीमा कर्मचारी राख्न मुस्किल हुने स्याङ्तान बताउँछन् । उनका अनुुसार, कम्पनीमा काम खोज्दै गाडी चालकहरू आए पनि ‘शव बोक्ने काम’ भन्ने सुन्ने वित्तिकै उनीहरू हच्किने गर्छन् ।

‘विदेशबाट प्रायः राति शव आउँछन् । बोर्डबाट जतिबेला पनि फोन आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्ने हुन्छ’ स्याङ्तान भन्छन्, ‘चालक पाउनै गाह्रो हुन्छ । यो (शव बोक्ने) काम भनेपछि उहाँहरू सुरुमै डराउँछन् ।’

शव ढुवानी बापत चालकले पनि अतिरिक्त सुविधा माग गर्ने भएकाले अहिले आफूहरू ‘घाटा’मै काम गरिरहेको स्याङ्तानको भनाइ छ । ‘बोर्डले जिम्मा लगाइसकेपछि घामपानी भन्न पाइन्नँ । सम्बन्धित जिल्लामा पुगिसकेपछि शव बुझेको कागजपत्र पाउनुपर्छ । त्यो नपाउँदासम्म हामीले काम गरेको अर्थ नै हुँदैन’ उनी भन्छन्, ‘कुनै कुनै ठाउँमा लफडा परेर ३/४ दिन गाडीमै शव राखेर पर्खिनुपरेको पनि छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School