विसङ्गत विदेश

विसङ्गत विदेश


म अहिले अमेरिकाको न्युयोर्कमा छु। साँच्चै भन्नु पर्दा मलाई यो सहरको सबैभन्दा राम्रो र बस्नलायक ठाउँ कुइन्स लाग्छ। हुन त अमेरिकामा रहेका एकथरी नेपालीलाई यो सहर मन पर्दैन। आफूलाई ठुलो र मै हुँ मान्ने नेपालीहरू अरू औसत देखिने नेपालीलाई मानिस नै होइनन् भन्ने ठान्छन्। त्यस्ता नेपालीका लागि यो कुइन्स एरिया राम्रो छैन। उनीहरूलाई यो ठाउँ मन पर्दैन। उनीहरूको यो एरियासँगको सम्बन्ध मःमः खाने र केही आवश्यक नेपाली सामान किन्नुपर्दा मात्र रहन्छ कि भन्ने मलाई लाग्छ। यहाँका सडकहरू अलिक बढी फोहोर छन्। ती फोहोर सडकले मलाई काठमाडौंका सडकको याद दिलाउँछन्। यहाँको सडकबाट आएको गन्धले मलाई मेरो देशका सडकहरूको गन्ध सम्झन बाध्य बनाउँछ। यद्यपि मलाई यो ठाउँ मन पर्छ। मलाई यहाँ बसेर आफ्नो मेहनतले पसिना बगाएर श्रम गर्ने नेपाली मन पर्छ। पसिना र मेहनतप्रतिको सम्मान झल्किने अनुहार र व्यवहार मन पर्छ।

भनिन्छ, उमेर र अनुभवसँगै मानिसको हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै जान्छ। सायद मलाई पनि अहिले त्यस्तै भएको हुनसक्छ। म अमेरिका आउन थालेको लगभग २४ वर्ष भएछ। तर यसपालिको बसाइमा मैले कुइन्सको अर्को पाटो बुझ्ने मौका पाएकी छु। सन्तानले अमेरिका हेर्न बोलाएका छन् भनी गर्वका साथ नेपालबाट यहाँ ल्याइएका आमाबुबा देख्ने र तिनले यहाँ भोगेको स्थिति सुन्ने मौका मिलेको छ। देशबाट लाखौं रूपैयाँ खर्च गरी गैरकानुनी बाटो प्रयोग गर्दै यहाँ आएका र यहाँ आउँदा लागेको ऋण तिर्दै आफ्नो जीवन अगाडि बढाउने क्रममा उठाइएका जोखिम अनि आफ्नै आमाबुबामाथि गरिने व्यवहारलाई नजिकबाट नियाल्ने अवसर मिलेको छ।

हुन त उमेर पुगेकी महिलालाई हेर्ने दृष्टिकोण हामी नेपालीहरूको कस्तो छ भन्ने नबुझेकी त होइन। तर पनि ‘पढेलेखेका मानिसको सोच अलिकति फरक हुन्छ होला नि’ भन्ने भ्रम यसपालि अमेरिकी भिसा लिने क्रममा मज्जैले टुटेको छ। म अहिले एउटा अनुसन्धानको सिलसिलामा अमेरिका आएकी छु। त्यसैले यसपालिको मेरो भिसा पहिलेभन्दा फरक प्रकारको छ। म जे–वान भिसा लिएर अमेरिकामा प्रवेश गरेँ। प्रवेश गर्नुपूर्वको मेरो अनुभव यहाँ साझा गर्न चाहन्छु।

म जतिखेर भिसा लिनका लागि अमेरिकी दूतावासमा लाइनमा बसेकी थिएँ, त्यो बेला त्यहाँकी एउटी कर्मचारीले जे–वान भिसा लिनेहरू को–को हुनुहुन्छ? भन्दै एक छेउमा उभिन अनुरोध गरिन्। म पनि जे–वान भिसा लिनेहरूको लाइनमा उभिएँ। उनी मेरो नजिक आइन् र भन्न थालिन्– यो लाइन जे–वान भिसा लिनेको लागि हो। म त्यही भिसा लिन आएकी हुँ भनेँ। तर तिनले मेरो कुरा पत्याइनन्।

‘तपाईंले सायद कुरा बुझ्नुभएन। यो लाइन बि–वान भिसा लिनेका लागि होइन, जे–वान भिसाको लाइन हो। अमेरिकामा गएर अनुसन्धान गर्नेको लाइन हो’ भन्दै भन्न थालिन्। म पनि अनुसन्धान गर्न नै अमेरिका जान लागेको हो भनेँ। उनले मेरो कुरा नपत्याएको भावमा मलाई तलदेखि माथिसम्म हेरिन्। उनको आँखामा झन्डै ६५ वर्ष पुग्न लागेकी नेपाली महिला अनुसन्धाता नभई आफ्ना नातिनातिना हेर्न जाने नै हो भन्ने भाव स्पष्ट देखिन्थ्यो।

म आएको एक महिना भइसकेको छ। मैले यहाँ भेट्ने नेपालीको आँखामा पनि त्यही भाव देखिरहेकी छु। अचम्मै लाग्छ, हामी त्यही नेपाली हौं, जो पढाइलाई उमेरले छेक्दैेन भन्छौं, लेख्छौं अनि भाषण पनि गर्छौं। तर यथार्थमा यस्ता कुरा हामी पचाउन सक्दैनौं कि भन्ने लाग्छ। कि पढ्ने, अनुसन्धान गर्ने काम सीमित उमेर र स्तरसम्म मात्रै गर्न मिल्ने मान्छौं किन? मैले अझै बुझ्न सकेकी छैन। मेरो यो व्यक्तित्वले एकातिर कुइन्समा रहेका केही आमाबुबाको स्थिति बुझ्न सहज भएको छ भने अर्कातिर मेरो अनुसन्धानले खोजेको सूचना प्राप्त गर्न गाह्रो पनि पारेको छ।

अहिले यहाँको मौसम गर्मी छ। गर्मी भएकाले यहाँका सामुदायिक पार्कहरूमा बिहान र बेलुका नेपाली आमाबुबाहरू भेटिन्छन्। उनीहरू नेपाली पहिरन लगाएर आएका हुन्छन्। यसरी परम्परादेखि लगाइरहेको नेपाली भेषभूषामा देख्दा मन फुरुङ्ङ हुन्छ। यहाँ रहेका नेपालीहरूलाई भेट्ने र उनीहरूलाई बुझ्ने अवसर मलाई यही सामुदायिक पार्कले दिएको छ।

नेपालमा देखिने पितृसत्तात्मक संरचना यी पार्कमा आउने नेपालीहरूमा पनि स्पष्ट देखिन्छ। पुरुषहरू नेपाली टोपीमा सजिएर आउँछन्। कुनामा भेला हुन्छन् र उनीहरूको गफ सुरु हुन्छ। यसरी गफ गर्ने भएकाले छिटै साथी बनाउने गर्छन् पुरुषहरू। नेपालमा भन्दा फरक यति छ कि यहाँ उनीहरूले नेपालको तुलनामा अलिक बढी काम गर्छन्। कसैको हातले घरपालुवा कुकुरको डोरी समातेका हुन्छन् भने कसैको आँखाले आफ्ना नातिनातिना कहाँ छन् भनी हेरिरहेका हुन्छन्।

पार्कमा आउने महिलाहरू पनि समूहमै बस्छन्। उनीहरू पनि कतिपय आफ्नै भेषभूषामा सजिएका हुन्छन् भने कतिपयले पश्चिमा पहिरन लगाएका हुन्छन्। यी महिलाका कतिपय आँखाले पनि नातिनातिनाले के गर्दैछन् भन्ने ध्यान दिइरहेका हुन्छन् भने कतिपयले आफ्नो साथमा भएको गुडाउन मिल्ने कोक्रोमा बच्चाको ख्याल गरिरहेका हुन्छन्।

महिलाहरूमा हिन्दी, अङ्ग्रेजी भाषामा पहुँच नभएको कारण उनीहरूको साथी भने नेपाली मात्रै देखिन्छन्। पुरुषहरू देशको राजनीतिबारे कुरा गर्छन्। यसबाहेक कसले कति कमाउँछन्? छोराछोरी के काम गर्छन्? आम्दानी के छ? कहिले स्वदेश फर्किने? भन्नेजस्ता यावत् विषयमा कुरा गर्छन्। महिलाहरू भने बुहारीले के गर्छे? छोरीले के गर्छे? खाना के पकाएर आएको? के पकाउने? जस्तो पितृसत्ताले स्थापित गरेको भूमिकामा केन्द्रित हुन्छन्। यसो भनौं सबै कुरा यथावत छ। विकसित मुलुकमा आए तापनि न कुरा गर्ने विषयवस्तुमा परिवर्तन छ, न त भूमिका नै।

कहिलेकाहीं यस्तै स्थितिले फाइदा पनि पुर्‍याउँछ भन्ने अनुभव मलाई भएको छ। त्यसैले सबै कुरामा नकारात्मक दृष्टिकोण र बुझाइ पनि राख्न सक्नुहुने रहेछ। म पहिलो दिन यो पार्कमा पुगेको बेला दोलखा निवासी दाजु भन्न सुहाउने उमेरका एक जनासँग भेट भयो। उनले मलाई टेलिभिजनमा देखेका रहेछन्। त्यसैले चिनजान गर्न आए। सामान्य छलफलपश्चात् हामी छुट्टियौं।

म भोलिपल्ट फेरि पार्क गएँ। पार्कमा नियमित आउने महिलाहरूले ती नेपाली दाजुकै कारण मलाई चिनिसकेका रहेछन् भने केही महिलासँग म आफैंले पनि कुरा गरिसकेकी थिएँ। मेरो लुगा लगाइ, कपालको स्टाइल र मेरो अनुहार हेरेर मलाई नेपाली हो भनी कसैले पनि पत्याएका थिएनन्।

मैले नेपाली भाषामै कुरा गर्दा पनि ‘यति राम्रो नेपाली बोल्न कहाँ सिकेको’ भनी सोधिरहेका थिए। पछि ती नेपाली दाजुको सहयोगले सबैले मलाई नेपाली भनी पत्याए। तर उनीहरूको बुझाइ भने नातिनातिना स्याहारसुसारका लागि उनीहरूजस्तै गरी यहाँ आएकी हुँ भन्ने रह्यो।

महिला र पुरुष दुवैको मलाई एकै किसिमको प्रश्न थियो–छोराकोमा आउनु भएको कि छोरीकोमा? नातिनातिना हुनेवाला हुन् कि कति महिनाका भए? उनीहरूको यस्तो बुझाइलाई चिर्न अनि हजुरआमाभन्दा अर्को पहिचान पनि हुनसक्छन् भन्ने बुझाउन मैले धेरै समय खर्चिनुपर्‍याे। यसो भनौ सकस पर्‍यो । उनीहरू अझै पनि दुविधामै छन्। अमेरिकी दूतावासजस्तो ठाउँमा काम गर्ने महिला त दुविधाग्रस्त थिइन् भने यी हाम्रा सरल नागरिकलाई के दोष दिनु?

जे भए पनि यहाँ आउने नेपाली महिलाहरूलाई मसँग दुःखका कुरा गर्न सकिन्छ भन्ने एकप्रकारको मानसिकता बनिसकेको छ भने मसँग एउटा विश्वास स्थापित भएको छ। यसले मलाई अत्यन्तै खुसी बनाएको छ। मैले उनीहरूलाई विश्वासको वातावरण प्रदान गर्न सकेकै भएर होला, आजकल मकहाँ आमाहरू आउँछन्। मनका कुरा खोल्छन् अनि मज्जाले धक फुकाएर रुन्छन्।

यही सिलसिलामा म्याग्दीबाट अमेरिका आई छोराबुहारीसँग कुइन्समा बस्दै आएकी एक महिलाको कुरा साझा गर्न चाहन्छु। उनी भन्छिन्– ‘डाक्टरसाप, मलाई सुगर छ, प्रेसर पनि छ। औषधी खाइरहेकी छु। एकदमै प्यास लागेको छ, पानी खान पाए हुन्थ्यो।’

उनको यस्तो स्थिति देख्दा ‘बर्मा गए कर्मसँग नेपाल गए कपालसँग’ भन्ने त नेपाली उखान याद आयो। यहाँ पनि आखिर उही रहेछ, मैले गरेको काम यहाँ पनि सुरु गर्नुपर्ने जस्तो देखियो भन्ने सोच्दै मैले नजिकको पसलबाट पानी ल्याएँ अनि उनको हातमा राखिदिएँ। आँखाभरि आँसु पारिन् र भन्न थालिन्– ‘म यहाँबाट कहिले नेपाल जान पाउने होला? यहाँ आएको दुई वर्ष भयो। बुहारी मसँग बोल्दिनन्। छोरोले ‘मेरो कागज बनाउँदा उनको आमाको कागज बनाउन नसकेको हो’ भन्ने बुहारीको बुझाइ छ। यसकारण उनी मलाई देख्न सक्दिनन्।

मेरा दुइटी नातिनी छन्। ठुली मसँग बोल्दिन। ऊ नेपाली बोल्न पनि जान्दिन। कान्छी सानै छे। सानै भएको कारणले पनि होला, मसँग ऊ अलिअलि बोल्छे। आफूले भात नपकाइ खान पाइँदैन। बेलाबेलामा मेरो सुगर बढेर बेहोस हुन्छु। औषधी त गरिरहेकै छन् तर खै लाग्दैन। डाक्टरले चिन्तो नगर्नू भन्छन् तर कसरी चिन्ता नगर्नु? यहाँ बस्न मन छैन, जान दिँदैनन्। नेपालमा पनि आफूलाई माया गर्ने छोरीका श्रीमान्ले कागज नलिई नआउनु भन्छन्।

मेरो कागज भयो भने मैले छोरीलाई बोलाउन मिल्छ रे। के गर्नु, आफू २७ वर्षकी हुँदा बुढा बिते। बुढा बित्दा यो छोरो २६ दिनको थियो। अहिले यसलाई छोडेर जान पनि मन लाग्दैन, फेरि मलाई बस्न पनि मन छैन। कहिलेकाहीं छोराले राम्रोसँग बोलिदियो भने मन खुसी हुन्छ। अनि म एक दिन छोरो राम्रोसँग बोल्यो भन्ने सम्झिँदै केही दिन खुसी भएर बस्छु।’

भावुक बनेकी मैले उनलाई सोधें– ‘यो दुई वर्षमा कतै घुम्न जानुभएको छ त ?’ जवाफमा उनले भनिन्– ‘गएकी छु म्याडम। यहाँ वरपरका यस्तै दुईचारवटा पार्कमा गएकी छु। छोरो बिहान ६ बजे घरबाट निस्कन्छ। बुहारी ८ बजेसम्म निस्किसक्छे।

बेलुका ८ बजेभन्दा पहिले कोही आउँदैनन्। के गर्नु, बिचराहरूले पनि ऋण तिर्नुछ। कहीं घुम्न जान पाउँदैनन्। उनीहरू नगए आफू एक्लै जाने कुरा भएन। जे होस्, उनीहरूको कागज बनेको छ, काम गर्न पाएका छन्, यसैमा खुसी मान्नुपर्छ।’ यी महिलाले मलाई यी सबै कुरा भनिसक्दा उनको चोलो आँसुले भिजिसकेको थियो तर दुई वर्षसम्म गाँठो परेको मन पुकाएर उनी खुसी देखिन्थिन्। म भने हतप्रभ भएँ। अब यिनलाई कसरी सहयोग गर्ने भन्ने सोचमा डुब्न थालें।

यो एक महिनामा मैले यस्ता जीवनकथा दर्जनौं भेटाइसकेकी छु। अँध्यारो र निन्याउरो अनुहारमा केही पुरुषहरू पनि यस्तै कुरा साझा गर्न बिस्तारै मेरो नजिक आउन थालेका छन् तर सेयर भने गरिसकेका छैनन्। सायद उनीहरूलाई झट्ट मन खोल्न गाह्रो भएको होला। बिस्तारै यो गाह्रोपन हलुङ्गिँदै जानेछ भन्ने विश्वास छ मलाई।

विश्वासका बाजुद मेरो मनभित्र एउटा प्रश्न अझ गहिरिँदै जान थालेको छ। आखिर कहिलेसम्म निश्चित उमेर पुग्दै गएका महिलाले नातिनातिना हेर्न मात्रै सक्ने ? घरमै बस्नुपर्ने ? घुम्न, डुल्न, नयाँ ठाउँ जान अरूकै भर पर्नुपर्ने? उमेर ढल्कँदै गएपछि अरूमै आश्रित हुनुपर्ने समूह हुन् भन्ने मान्यता भइरहनुपर्ने? अनि कहिलेसम्मै औसत नेपाली युवाले आफ्नै जीवनअघि बढाउन, ऋण तिर्न कानुनी तथा गैरकानुनी बाटो अपनाएर विदेशमा बस्नुपर्ने? आफ्नै आमाको मन दुखाउने अवस्था को सिर्जना गर्नुपर्ने? आखिर कहिलेसम्म हाम्रो सोच र अवस्था दुवैमा परिवर्तन हुने, आखिर कहिलेसम्म?



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School