प्रकाशित मिति : १५ असार २०८३, सोमबार

फोटो :एपी/रासस
चार पटकको विश्वविजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै जर्मनी अन्तिम ३२ को चरणबाटै बाहिरिएको हो। जर्मनीलाई पाखा लगाउँदै पाराग्वे भने अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा भएको राउन्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो। विश्वकप इतिहासमा पहिलो पटक युरोपेली टोलीलाई नकआउट चरणमा हराउँदै पाराग्वेले नयाँ इतिहास रचेको छ।
उता बलियो दाबेदार मानिएको जर्मनीको यात्रा भने दोस्रो चरणबाटै टुङ्गिएको छ। पाराग्वेका लागि जोसे कानालेले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।
जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो। त्यस्तै, जर्मनी विश्वकप इतिहासमा पेनाल्टी सुटआउटमा पराजित भएको पनि यो नै पहिलो पटक हो। यसअघि सन् २००२ मा जापान र कोरियामा संयुक्त रूपमा आयोजित विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि सो हारको बदला समेत लिएको छ।
पाराग्वेले अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्वविजेता बनेको छ। यसअघि अर्को पूर्वविजेता उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ।
