प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

फिफा विश्वकप २०२६ को विजेता टोलीले ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) पुरस्कार प्राप्त गर्ने भएको छ।उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर (३३ मिलियन डलर) हात पार्नेछ। पुरस्कार राशिको विवरण सार्वजनिक भएपछि विजेता, उपविजेतादेखि छनोट भएका सबै टोलीले पाउने नगद रकम प्रष्ट भएको हो।
यस पटक पुरस्कारको राशि अघिल्लो कतार विश्वकपको भन्दा बढेको छ। कतार विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिनाले ४२ मिलियन डलर र उपविजेता बनेको फ्रान्सले ३० मिलियन डलर प्राप्त गरेका थिए।
उपाधिको होडमा यस पटक साविक विजेता अर्जेन्टिना र स्पेन रहेका छन्। इङ्गल्यान्डलाई सेमिफाइनलमा हराउँदै अर्जेन्टिना र फ्रान्सलाई पराजित गर्दै स्पेन उपाधि नजिक पुगेका हुन्। फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजेदेखि (स्थानीय समय अनुसार १९ जुलाई दिउँसो ३ बजे) अमेरिकाको न्युजर्सीमा सुरु हुनेछ।
तेस्रो स्थान हासिल गर्ने टोलीलाई २ करोड ९० लाख अमेरिकी डलर (२९ मिलियन डलर) र चौथो हुने टोलीलाई २ करोड ७० लाख अमेरिकी डलर (२७ मिलियन डलर) प्रदान गरिनेछ। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६-४ गोलको अन्तरले पराजित गर्दै इङ्गल्यान्डले तेस्रो स्थान सुरक्षित गरिसकेको छ।
क्वार्टरफाइनलसम्म पुगेर पाँचौँदेखि आठौँ स्थानमा रहने टोलीहरूले १ करोड ९० लाख अमेरिकी डलर (१९ मिलियन डलर) प्राप्त गर्नेछन्। यो राशिको पुरस्कार पाउने देशहरूमा स्विट्जरल्यान्ड, नर्वे, बेल्जियम र मोरक्को रहेका छन्।
अन्तिम १६ सम्म पुगेका नवौँदेखि १६औँ स्थानमा रहने टोलीहरूले १ करोड ५० लाख अमेरिकी डलर (१५ मिलियन डलर) पुरस्कार पाउनेछन्। यस सूचीमा क्यानडा, पाराग्वे, संयुक्त राज्य अमेरिका, पोर्चुगल, ब्राजिल, मेक्सिको, कोलम्बिया र इजिप्ट रहेका छन्।
समूह चरण पार गर्न नसके पनि १७औँदेखि ३२औँ स्थानमा रहने टोलीहरूलाई १ करोड १० लाख अमेरिकी डलर (११ मिलियन डलर) प्रदान गरिनेछ। चर्चित टोली केप भर्डे यही समूहमा रहेकाले उसले ११ मिलियन डलर पुरस्कार पाउनेछ। यो समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, जर्मनी, स्विडेन, सेनेगल, बोस्निया तथा हर्जेगोभिना, अस्ट्रिया, क्रोएसिया, जापान, आइभोरी कोस्ट, इक्वेडर, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अल्जेरिया, घाना, अस्ट्रेलिया र केप भर्डे रहेका छन्।
यस्तै, ३३औँदेखि ४८औँ स्थानमा रहने टोलीहरूले ९० लाख अमेरिकी डलर (९ मिलियन डलर) पुरस्कार प्राप्त गर्नेछन्। यस सूचीमा दक्षिण कोरिया, चेकिया, कतार, स्कटल्यान्ड, हैटी, टर्की, कुरासाओ, ट्युनिसिया, इरान, न्युजिल्यान्ड, उरुग्वे, साउदी अरेबिया, इराक, जोर्डन, उज्बेकिस्तान र पनामा समावेश छन्।
विश्वकपमा सहभागिता जनाउने सबै ४८ टोलीलाई नै प्रदर्शनका आधारमा पुरस्कार वितरण गरिने व्यवस्था गरिएको फिफाले जनाएको छ।