विश्वकप फुटबल: इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

विश्वकप फुटबल: इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो

फोटो : रासस

सह-आयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित इङ्ग्ल्यान्डले मेक्सिकोको यात्रा समाप्त पारिदिएको हो।

मेक्सिकोको अज्टेका स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्‍यो।

इङ्ग्ल्यान्डको जितमा जुड बेलिङ्घमले खेलको २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारी केनले ६०औँ मिनेटमा एक गोल थपेका थिए। मेक्सिकोका तर्फबाट जुलियन क्विनोनेसले ४२औँ र राउल हिमेनेजले ६९औँ मिनेटमा गोल गरे।

खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाएका थिए। फलस्वरूप, इङ्ग्ल्यान्ड खेलको ५५औँ मिनेटदेखि १० खेलाडीमा सीमित बनेको थियो।

खराब मौसमका कारण यो खेल तयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। मेक्सिकोले भीएआर समीक्षापछि पेनाल्टीको अवसर पाएको थियो, जसमा राउल हिमेनेजले गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्‍याए पनि टोलीलाई बराबरी गराउन सकेनन्।

यो पराजयसँगै मेक्सिको, क्यानडापछि प्रतियोगिताबाट बाहिरिने दोस्रो आयोजक देश बनेको छ। अब अर्को सह-आयोजक अमेरिकाले क्वार्टरफाइनल प्रवेशका लागि बेल्जियमको सामना गर्नेछ।

जितसँगै क्वार्टरफाइनल पुगेको इङ्ग्ल्यान्डले अब आउँदो शनिबार मियामीमा नर्वेको सामना गर्नेछ।





Source link

Leave a Comment