प्रकाशित मिति : २२ असार २०८३, सोमबार
अमेरिकाको स्थापनाको २५०औँ वर्षगाँठको अवसर पारेर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले सरकारी कागजात, मुद्रा र सार्वजनिक संस्थाहरूमा ‘ट्रम्प ब्रान्ड’ समावेश गर्ने आक्रामक अभियान सुरु गरेको छ। यस कदमले अमेरिकी नागरिक र राजनीतिज्ञहरूलाई स्पष्ट रूपमा दुई ध्रुवमा विभाजन गरिदिएको छ।
ट्रम्पले ‘ट्रुथ सोसियल’ मार्फत अमेरिकाको २५०औं वर्षगाँठका लागि एक विशेष संस्करणको राहदानी सार्वजनिक गरेका छन्। यस पासपोर्टको भित्री पृष्ठमा राष्ट्रपति ट्रम्प ओभल अफिसको ‘रेजोल्युट डेस्क’ मा उभिएको तस्बिर छ, जसको पृष्ठभूमिमा अमेरिकी स्वतन्त्रताको घोषणापत्रको पाठ र ट्रम्पको हस्ताक्षर राखिएको छ। अमेरिकी इतिहासमा जीवित राष्ट्रपतिको तस्बिर पासपोर्टमा राखिएको यो पहिलो पटक हो।
यो पासपोर्ट लिन अतिरिक्त शुल्क लाग्ने छैन, तर यसको वितरण सीमित छ। वासिङ्टन पासपोर्ट एजेन्सीबाट मात्रै जुलाई ६ देखि यसका २५,००० देखि ३०,००० प्रतिहरू भौतिक रूपमा वितरण गरिँदैछ। स्टेट डिपार्टमेन्टका अनुसार अनलाइन, हुलाक वा विदेशस्थित दूतावासहरूबाट यो विशेष पासपोर्ट प्राप्त गर्न सकिने छैन।
अमेरिकी ‘कमिसन अफ फाइन आर्ट्स’ ले सर्वसम्मत रूपमा २४ क्यारेटको सुनको सिक्कामा ट्रम्पको आकृति राख्ने डिजाइन स्वीकृत गरेको छ। जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा छाप्न नपाइने संघीय कानुन भए पनि अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो विशेष अधिकार प्रयोग गरी यो स्मारक सिक्का टकमरी गर्ने बाटो खोलेका हुन्।
यो निर्णयविरुद्ध ओरेगनका एक अवकाशप्राप्त वकिलले संघीय अदालतमा मुद्दा दायर गरेका थिए, तर अदालतले उक्त मुद्दा खारेज गरिदियो। सिक्का छाप्ने विभागले केवल ४७ वटा यस्ता सिक्का छाप्ने योजना बनाएको छ। प्रत्येक सिक्कामा १९.७ औंस सुन हुनेछ र लिलामीमा यसको मूल्य करिब ९०,००० डलर पर्ने अनुमान गरिएको छ।
अब बजारमा आउने १०० डलरको नयाँ नोटमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर समावेश गरिने भएको छ। अर्थ मन्त्रालयका अनुसार यो नोट यसै वर्षको ग्रीष्मकाल सम्ममा सर्वसाधारणको प्रयोगमा आउनेछ।
यसैगरी, जुलाई २ देखि यस वर्षको अन्त्यसम्म जन्मिने बच्चाहरूले ‘फ्रीडम २५०’ ब्रान्डिङ भएको सामाजिक सुरक्षा कार्ड पाउनेछन्। ‘फ्रीडम २५०’ ट्रम्प समर्थित एक गैर-सरकारी संस्था हो।
फ्लोरिडा संसद्ले ‘पाम बीच अन्तर्राष्ट्रिय विमानस्थल’ को नाम परिवर्तन गरी ‘राष्ट्रपति डोनाल्ड जे. ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राख्ने विधेयक स्वीकृत गरेको छ। विमानस्थलतर्फ जाने राजमार्गका संकेत बोर्डहरू परिमार्जन भइसकेका छन्। फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जुलाई ९ मा यसलाई आधिकारिक रूपमा अपडेट गर्नेछ भने अगस्ट १८ देखि विमानस्थलको कोड पिबीआइ बाट बदलिएर डिजेटी कायम हुनेछ।
वासिङ्टन डीसीका प्रमुख संघीय भवनहरूमा ट्रम्पको तस्बिर भएका तीन तला उचाइका विशाल ब्यानरहरू झुण्ड्याइएका छन्। होमल्यान्ड सेकुरिटीको अगाडि जर्ज वासिङ्टनको ब्यानरसँगै ट्रम्पको ब्यानर राखिएको छ, जसमा ट्रम्पको चुनावी नारा ‘अमेरिका फर्स्ट’ लेखिएको छ। यसैगरी श्रम मन्त्रालयमा थिओडोर रुजवेल्टसँगै र जस्टिस डिपार्टमेन्टको अगाडि ‘मेक अमेरिका सेफ अगेन’ नारासहित ट्रम्पको तस्बिर राखिएको छ।
विपक्षी डेमोक्र्याटहरूले यसको कडा विरोध गरेका छन्। सिनेटर बर्नी स्यान्डर्सले यसलाई अहंकारको पराकाष्ठा भन्दै राष्ट्रपतिको आत्म-प्रशंसाका लागि गरिने यस्ता नामकरण रोक्न ‘स्टप एक्जिक्युटिभ रिनेमिङ फर भ्यानिटी एन्ड इगो एक्ट’ प्रस्ताव गरेका छन्, यद्यपि यो संसद्बाट पारित हुने सम्भावना न्यून छ।
ट्रम्पको दोस्रो शपथ ग्रहणको तीन दिनअघि सार्वजनिक गरिएको यो क्रिप्टोकरेन्सीको मूल्य सुरुमा बढे पनि, जुन महिनाको एक प्रतिवेदन अनुसार यसमा लगानी गर्ने झण्डै १० लाख मानिसले कुल ३.८१ अर्ब डलर गुमाएका छन्।
फेब्रुअरी २०२५ मा सुरु गरिएको यस द्रुत स्थायी बसोबास कार्यक्रम अन्तर्गत आप्रवासीहरूले १५,००० डलर प्रक्रिया शुल्क र सरकारलाई १० लाख डलर वित्तीय उपहार दिएर ईबी-१ वा ईबी -२ भिसा पाउन सक्छन्।सर्वसाधारणलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन यो कुपनमा आधारित वेबसाइट सुरु गरिएको हो, जहाँ ८०० भन्दा बढी औषधिहरूमा छुट उपलब्ध छ।
गत डिसेम्बरमा ‘केनेडी सेन्टर’ को बोर्डले यसको नाम परिवर्तन गरी ‘ट्रम्प केनेडी सेन्टर’ राखेको थियो। तर, जोन एफ. केनेडीको स्मारकका रूपमा रहेको भवनमा ट्रम्पको नाम थप्नु गैरकानुनी भएको भन्दै संघीय अदालतले आदेश दिएपछि जुन २०२६ मा ट्रम्पको नाम अंकित बोर्ड हटाइएको छ।
यो व्यापक ब्रान्डिङ अभियानले अमेरिकी समाजमा ठूलो मतभेद सिर्जना गरेको छ। विशेषगरी पैसामा राष्ट्रपतिको हस्ताक्षर राख्ने कुरामा आम नागरिक असन्तुष्ट देखिन्छन्। हालै गरिएको ‘इकोनोमिस्ट/युगोभ’को मतसर्वेक्षण अनुसार ५९ प्रतिशत अमेरिकीहरूले नोटमा ट्रम्पको हस्ताक्षर राख्ने कार्यको विरोध गरेका छन् भने मात्र २४ प्रतिशतले यसको समर्थन गरेका छन्।
