विदेशको चक्करमा ठक्कर खाएपछि फुर्‍याे पशुपालनको ‘आइडिया’


बागलुङ नगरपालिका-५ मालिका साविक मालिका गाविस-५ भेडिखाल्टाका नन्दलाल सापकोटा अहिले बागलुङ नगरपालिका-४ उपल्लाचौरमा बसोबास गर्छन्। धन कमाउनका लागि दुई पटक भारत पुगेका उनी तेस्रो मुलुक पुग्नका लागि झण्डै एक वर्ष काठमाडौं पनि धाए। तर, उनको विदेश जाने भिजा आएन।

यो बीचमा उनले बागलुङ बजारमा पसल र होटल पनि सञ्चालन गरे। विदेश जाने भूतले छोएको बेला उनले होटल बेचेका थिए। विदेशको चक्करमा हन्डर खाएपछि उनले अहिले उपल्लाचौरमा सापकोटा एकीकृत कृषि तथा पुशपंक्षी फर्म मार्फत गाई भैंसी पालन गरेर दुध उत्पादन र विक्री गर्दै आएका छन्।

विदेशको चक्करले ठक्कर दिएपछि उनी २०६७ सालमा गाउँ फर्केर पशुपालनमा लागेका हुन्। उनी भन्छन्, ‘दुई पटक भारतको मेघालय गएको थिएँ, त्यहाँ नेपालीले गाई पालेको देखेँ, फर्केर आएपछि होटल र पसलमा पनि गरेँ, विदेश जान्छु भनेर होटल बेचेर एक वर्ष काठमाडौं धाएँ, त्यो बेलाको एक लाख रुपैयाँ उडाएँ। यी सबै कुराले पछि मलाई गाउँ फर्केर पशुपालन गर्ने ज्ञान दियो।’

गाउँघरमा जन्मे हुर्केको भएपछि कृषि पशुपालन त पुर्ख्यौली पेसा नै थियो। सापकोटाले त्यही पशुपालनलाई व्यावसायिक बनाउने योजनाका साथ बजार नजिकै झरेका थिए।

‘पहिले गाउँमा मोटरबाटो थिएन, दुध उत्पादन गरेर बजारसम्म पुर्‍याउन कठिन थियो, यहाँ भएपछि बजार नजिक भयो भनेर म यहाँ झरेको थिएँ,’ उनी भन्छन्, ‘सुरुमा पाँच वटा भैंसीबाट दुध उत्पादनको काम सुरु गरेको थिएँ। अहिले गाई भैंसी गरेर ४५ वटा जति छन्। दैनिक दुई सय लिटर दुध उत्पादन हुन्छ।’

२०६७ साल फागुनमा बजार नजिक झरेर पाँच वटा भैंसीमा झण्डै सात लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उनको पशुपालन व्यवसायमा अहिले करोड माथिको लगानी पुगेको छ। ‘सुरुमा पाँच लाख रुपैयाँबाट यो काम थालेको थिएँ, अहिले मेरो लगानी करोड माथि पुगेको छ, वार्षिक पचास/साठ्ठी लाखको कारोबार गर्छु,’ उनी भन्छन्।

सापकोटाले उत्पादन गरेको दुध सिधै ग्राहक कहाँ पठाउँछन्। ‘मैले दुई जना स्टाफ राखेर सिधै ग्राहकसम्म दुध पुर्‍याउने गरेको छु। बागलुङ बजारमै दुध खपत हुन्छ। माग राम्रो छ,’ सापकोटाले भने, ‘ग्राहकको चाहाना अनुसार गाईको मात्रै, गाई भैंसीको मिसाएर र भैंसीको मात्रै गरेर तीन प्रकारको दुध दिन्छौं। मूल्य पनि गाईको मात्रै दूधलाई १२० रुपैयाँ, मिसाएको दुध १३० र भैंसीको मात्रै दूधलाई १४० मा विक्री वितरण हुन्छ। ग्राहक सन्तुष्ट छन्।’

सापकोटाले पाडापाडी पनि हुर्काउँछन् र विक्री गर्ने गरेका छन्। उनले भने, ‘मैले केवल दुध मात्रै बेच्दिन गाई भैंसी र पाडापाडी पनि बेच्छु, त्यही भएर पनि मेरो गोठमा गाई भैंसी घटबढ भइरहन्छन्।’ 

दुध उत्पादनका लागि होलिस्टीन र जर्सी गाई छन् भने क्रस मुर्रा र स्थानीय जातका भैंसी पालेका छन्। दुध उत्पादनका हिसाबले गाईले बढी दुध दिने भए पनि ग्राहकको रोजाइमा भैंसीको दुध पर्ने गरेको उनका अनुभव छ।

‘अहिले ७ वटा गाई र १८ वटा भैंसीले दुध दिन्छ। दुइटा भैंसीले दिने दुध गाईले एकै पटकमा दिन्छ। तर, हाम्रा ग्राहक गाइको भन्दा भैंसीको दुध बढी मन पराउने छन्,’ सापकोटाले भने। एउटा गाईले एक पटकमा १४ लिटरसम्म र भैंसीले ८ लिटरसम्म दुध लिने गरेको उनी बताउँछन्।

गाईले अलि लामो समयसम्म दुध दिने र भैंसीको दुध चार महिनापछि घट्ने गरेको उनका अनुभव छ। अहिले उनको फर्ममा चार जना कर्मचारी कार्यरत छन्।

उनी आफै पनि गाई भैंसीको स्याहारमा खटिन्छन्। अनि परिवारमा श्रीमती र छोराले पनि साथ दिएका छन्। ‘चार जनालाई खाना बस्न दिएर २०/२२ हजार तलब दिएर राखेको छु,’ उनले भने,‘ म र मेरो श्रीमती अनि छोरा पनि यसैमा लागेका छौं। छोराले पनि कृषि विषय पढेका छन्।’

कामदारको समस्याले गर्दा उनलाई फर्म विस्तारमा अप्ठ्यारो परेको छ। ‘काम गर्ने मान्छे पाउनै कठिन छ, जो कोही गाइभैंसीको स्याहार कामका लागि तयार हुँदैनन्,’ उनी भन्छन्, ‘कामदार पाउने हो भने मैले दुई सय गाइभैंसी पुर्‍याउने सोच थियो। व्यवस्थापन मिलाउन सकिन्छ तर कामदारको भर भएन। बिहानसम्म ठिक भएको मान्छे दिउँसो छोडेर हिँड्दिन्छ। अर्को पाउन सजिलो छैन।’

सापकोटाका तीन वटी छोरीको बिहे भइसकेको छ। छोराले रामपुर कृषि क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन्। अहिले ५८ वर्षका पुगेका सापकोटाले छोरालाई पनि सानैबाट यही पेसामा संलग्न बनाए।

उनी भन्छन्, ‘सरहरुले कम्तीमा परीक्षाको दिन त दुध बेच्न नपठाउनु भन्नुहुन्थ्यो, मेरो आफ्नै समस्या थियो, एक महिनालाई मान्छे कहाँ खोज्नु। परीक्षाको बेलामा पनि बिहानै दुध पुर्‍याउन गएर पढेको हो। छोराले सानैबाट मलाई साथ दिएको छ।’

उनले दुध मात्रै होईन गाईभैंसीबाट उत्पादित मल पनि विक्री वितरण गर्ने गरेका छन्। ‘सुन्तला खेती गर्ने, किवी खेती गर्ने, तरकारी खेती गर्नेले लैजान्छन्, मल पनि हिउँद लागेपछि खोसाखोस हुन्छ,’ उनले भने।

उत्पादन लागत बढेका कारण दूधबाट ठूलो आम्दानी भने नहुने गरेको उनी सुनाउँछन्। ‘घर परिवार चलाएकै छ, छोराछोरी पढाइयो, दुई चार पैसा चाहिँदा अप्ठ्यारो परेको छैन, मन लागेको खान पाइएको छ, चाहेको ठाउँमा जान पाइएको छ,’ उनी भन्छन्, ‘तर ठूलो मुनाफा हुँदैन। महँगीले उत्पादन लागत निकै बढेको छ। चार पाँच वर्षदेखि दुधको मूल्य बढेको छैन।’

दैनिक १० हजार बराबर त दानाकै लागि मात्रै खर्च हुने उनी बताउँछन्। केही जग्गा भाडामा र केही आफ्नै गरेर २५ रोपनी जति जग्गामा उनले घाँस खेती गरेका छन्। 

दाना भने पुरै बाहिरबाट किनेर ल्याउनुपर्छ। ठूलो मूल्य तिरेर ल्याएको गाई भैंसीको बिमा गर्दा कम रकमका मात्रै बिमा हुने गरेको उनको गुनासो छ।

‘जोखिम कम होस् भनेर पशु बिमा त गरेको छु, तर साढे दुई लाख हालेर ल्याएको भैंसीको जम्मा एक लाखको बिमा हुन्छ,’ उनले भने, ‘खै सरकारी नीति नियम के हो ? मैले मेसो पाएको छैन।’

राज्यको निकायबाट धेरथोर अनुदान सहयोग मिलेको उनी बताउँछन्। पहिले पशु सेवा कार्यालय थियो, त्यहाँबाट पनि केही सहयोग पाएँ, स्थानीय सरकारले पनि केही सहयोग गरेको छ,’ उनले भने, ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले यस पटक चार लाख रुपैयाँ अनुदान दियो। मलाई ठुलै राहत भयो।’

उक्त अनुदानबाट प्राप्त सहयोगले सोलार जडान, मलखानको सुरक्षाका लागि टनेल राख्ने, गोठको छानाको जस्ता फेर्ने, घाँस काट्ने कोठा निर्माण र केही काउ म्याट तथा चार हजार लिटरको ट्याङ्की निर्माणसँगै ताराबार गरेको उनले सुनाए।

कुल आठ लाख लागतको कार्यक्रममा ५० प्रतिशत कार्यालयले अनुदान दिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका कार्यालय प्रमुख अर्जुन प्रकाश सुवेदीले बताए।

‘सरकारको भैंसी तथा राँगा प्रवर्द्धन कार्यक्रम मार्फत उहाँलाई हामीले सहयोग गरेका हौं,’ उनले भने,‘ किसान र कार्यालयको पचास पचास प्रतिशत लागत साझेदारीमा अनुदान उपलब्ध हुन्छ। हामीले चार लाख दिँदा उहाँले थप चार लाख आफूले लगानी गरेर काम गर्नुभएको छ।’

आगामी दिनमा मासु निर्यात गर्ने योजना अन्तर्गत नेपाल सरकारले यो कार्यक्रम ल्याएको उनले बताए।

प्रकाशित: ३ श्रावण २०८३ २१:३२ आइतबार





Source link

Leave a Comment