जेल उनको दोस्रो घर बनेको थियो, प्रहरी वृत्त सोह्रखुट्टेको हिरासत उनको नियमित ठाउँ बन्यो । उनका हातका सुईको निशानले भरिएका हुन्थे । हजारौंपटक सुईले घोचिएको हातका नशामा स्लाइन चढाउन समेत ठाँउ हुँदैनथ्यो ।
काठमाडौं । जीवन निष्पट अँध्यारो थियो सञ्जीव क्षेत्रीको । लागूऔषधले उनको शरीर र स्नायुतन्त्रलाई क्रमशः गलाउँदै थियो । ब्राउन सुगर, टिडिजेसिक, हेरोइन विना उनी असह्य छटपटीमा रहन्थे ।
जब लागूपदार्थ खरिदका लागि गोजीमा सुक्को हुँदैन थियो, एक–दुई सयका लागि जे पनि गर्न तयार हुन्थे । कैयौं रात सडकमा बिताए ।
पैसाको जोहो हुने सजिलो बाटो खोज्न थाले । सुरु–सुरुमा ग्याङ मिलेर ट्याक्सी लुट्न थाले । काठमाडौंका विभिन्न क्षेत्र कालीमाटी, नयाँबजार, गोंगबु उनका अपराधको साक्षी बने । जेल उनको दोस्रो घर बनेको थियो, प्रहरी वृत्त सोह्रखुट्टेको हिरासत उनको नियमित ठाउँ बन्यो ।
उनका हातका सुईको निशानले भरिएका हुन्थे । हजारौंपटक सुईले घोचिएको हातका नशामा स्लाइन चढाउन समेत ठाँउ हुँदैनथ्यो ।
‘मेरो सबैभन्दा बहुमूल्य समयमा कहाँ हरायो, मलाई थाहा नै भएन,’ उनले गहिरो पीडाभाव पोख्दै भने ।
अनि चट्याङ पर्यो
एक दिन केमिकलयुक्त ड्रग्स लिन सञ्जीव काठमाडौंको एक गल्लीमा पुगेका थिए । त्यसबेला त्यहाँ लागूपदार्थ नियन्त्रण र काउन्सिलमा काम गर्ने एक संस्थाका मानिससँग भेट भयो । उनीहरूले रगत परीक्षण गर्न अनुरोध गरे । तर सञ्जीवले पैसा दिने भए मात्रै जान्छु भने । किनकि त्यसबेला पैसा सबथोक थियो । पैसा भएपछि अर्को एक डोज लिने आशमा मनले जे पनि गर्न तयार हुन्थ्यो । तर परीक्षण गरेपछि संक्रमित पुष्टि भएको थाहा भयो ।
पोजिटिभ देखिएपछि संस्थाका मानिसले काउन्सिलिङ पनि गरे । तर उनी मान्न तयार भएनन् । कोठामा पुगेपछि भने उनी झस्याङ्ग भए । शरीरमा रगतसरी ड्रग्स दौडिन्थ्यो । आजभन्दा झण्डै २५ वर्षअघिको त्यस क्षण उनी नशा छोड्न सक्ने अवस्थामा थिएनन् ।
संक्रमित भएको थाहा भएपछि उनी झन् झन् नशामै डुब्न थाले । ‘यसै–उसै संक्रमण भइसक्यो भन्ने मानसिकता भयो । झन् लतमा डुब्दै गए,’ उनी सुनाउँछन् ।
अंग्रेजीमा राम्रै भएकाले ठमेलमा पर्यटकसँग कुराकानी गरेर केही पैसा पाउँथे । दार्जीलिङमा हुँदा पर्यटनसम्बन्धीको पढाइले उनलाई यसमा सहज बनायो । पर्यटकहरुबाट उनले ठमेलमा सजिलै तरिकाले पैसा पाउन थाले । त्यसले थप ड्रग्स खरिद गर्न थाले । त्यसबेला आफूलाई एचआईभी भयो भन्ने कुरा बिर्सेर मन अत्याएनन् ।
‘गल्ली-गल्लीमा फालिएका खिया लागेका सिरिन्जले संक्रमण भयो,’ सञ्जीव सम्झिन्छन्, ‘त्यसबेला संक्रमित भएको थाहा घरपरिवार, साथीभाइले छुँदा पनि संक्रमण सर्छ भन्ने खालको व्यवहार गरे ।’
संक्रमण भएको थाहा पाएपछि त्यस संस्थाले आश्रय पनि दियो । तर चार महिना बसे । त्यसबेला लत केही कम गर्दै गएका थिए । जब संस्थाबाट बाहिरिए, उही लत बढ्यो । उनी पुनः सडकमा आए ।
थाहै नपाई दलदलमा
कक्षा ७ पढ्दै गर्दा साथीहरुमाझ कुनै दिन एक खिल्ली चुरोट सल्काए । बाल जिज्ञासाले एक सर्को धुवाँ अनुभव गर्यो । चुरोटको धुवाँसँगै उनको जिन्दगीको बाटो अर्कैतिर मोडियो । घर, परिवार र आफन्तबाट बिस्तारै उनलाई टाढा बनायो ।
इलामको फिक्कलमा जन्मिएका सञ्जीवको हुर्काइ र पढाइ मावलीघर दार्जीलिङमा भयो । १३ वर्षको उमेरमा आमाको घाँटीको क्यान्सरले निम्त्याएको बिरानोपनले जीवनलाई अर्को बाटोतिर मोड्यो । बुबाले दोस्रो विवाह गरे ।
आमाबाबुको मायाको खोजीमा भौतारिएका उनलाई गाँजाको एक सर्कोले लागूपदार्थको लतमा पुर्याटयो । नशाको दलदलमा भासिएको जीवनले एचआईभी संक्रमणसम्मको बाटो पहिल्यायो ।
समयले बाँच्ने रहर दियो
बाँचेर पनि बचाउन नसकेका अमूल्य समयले उनलाई पुन: बाँच्ने रहर दिन थालेको छ । ‘जीवनको सबैभन्दा अमूल्य समय समेत कहाँ गयो थाहा नै भएन,’अनुभव सुनाउँदै सञ्जीव भन्छन्, ‘जीवनले एक कठिन मोड लिएको थियो । अब बचेको समयलाई सही सदुपयोग गर्दै अघि बढ्नेछु ।’
संक्रमणले पराजय निम्त्याउने होइन, नयाँ जीवन सुरूवात गर्ने उनी बताउँछन् । हरेक चुनौतीलाई सामना गर्ने उनको सकारात्मक दृष्टिकोणले समाजले एचआईभी संक्रमितप्रतिको सोच बदल्नुपर्ने बताउँछन् ।
****
सञ्जीवले जीवनको झण्डै चार दशक कठिन र विडम्बनापूर्ण यात्रा गरे । शिक्षा पाएर उन्नत सपना देख्नुपर्ने प्रतिभाशाली युवक लागूपदार्थको जालोमा फसेका थिए । शैक्षिक र बौद्धिक क्षमताका युवकको जीवनमा प्रारम्भिक चोटहरू गहिरा थिए । आमाको दुःखद् मृत्यु र बाबुको दोस्रो विवाह । यी घटनाले उनको मनमस्तिष्कमा गहिरो कमजोरी निम्त्यायो ।
१२–१३ वर्षको कलिलो उमेरमा चुरोट सेवनबाट सुरु भएको उनको यात्रा क्रमशः लागूपदार्थतर्फ बढ्यो । साथीहरूको कुसंगतले उनलाई ब्राउन सुगर र अन्य हानिकारक पदार्थतर्फ धकेल्यो । तैपनि, पढाइप्रतिको लगाव भने कायमै थियो ।
पढाइमा भने गम्भीर सञ्जीवले दार्जीलिङको नर्थ प्वाइन्टबाट अंग्रेजी विषयमा स्नातक तह उत्तीर्ण गरे । त्यसपछि भविष्यको खोजीमा उनी काठमाडौं आइपुगे । उनलाई नयाँ वातावरण र नयाँ चुनौतीहरू पर्खिरहेका थिए । काठमाडौंमा आएपछि जागिर र नयाँ परिवेशले उनलाई थप जटिल परिस्थितिमा पुर्याायो ।
काठमाडौं आएपछि नयाँ जागिरसँगै लागूऔषधका नयाँ पार्टनर पनि भेटिए । दार्जीलिङ छँदै ब्राउन सुगरसम्मको सेवनको लतमा परिसकेका थिए ।
ब्राउन सुगरको लतलाई निम्त्याउन गाँजा खोज्दै भाडाको साइकलमा सहरका डाँडाहरू चहार्न थाले । कुलतको मात्रा बढ्दै गएपछि आश्रय दिने दिदीसँगको साथ छाडे, जागिर छोडे ।
त्यसपछि उनले केही समय काठमाडौंको निजी स्कुलमा पढाए । उनको शिक्षण शैलीले विद्यार्थी र स्कुल प्रशासनलाई आकर्षित गर्योद । तर लागूपदार्थको लतले उनको पेशागत जीवनलाई निरन्तर चुनौती दिइरहेको थियो ।
‘ड्रग हन्टिङ’का लागि सहरका कुना–कुनामा भौतारिने, कक्षामा समयमा पुग्न नसक्ने अवस्थाले अन्ततः उनलाई स्कुल त्याग्न बाध्य बनायो ।
‘लागूपदार्थ सेवन नगरी जागर नै नचल्ने थियो । आँखाभरि आँसु, नाकबाट पानी चुहिरहने थियो,’ ती दिन सम्झिंदै सञ्जीव भन्छन्, ‘शिक्षक भएरै यस्तो गतिविधि गरिहेको छु भन्ने हीनताबोध पनि भयो । समस्या बढेपछि स्कुल छोडें ।’
लागूपदार्थको सेवनकै कारण उनलाई एचआईभी संक्रमण समेत भयो । सुरूमा मीठो लाग्ने यो चीज उनको जीवनमा क्रमशस् विषमा परिणत भयो । जीवनलाई विनाशतर्फ धकेल्दै गयो ।
उनको अनुभवमा पहिला लागूपदार्थ सेवन रहरमा बित्यो । ‘नसायुक्त ट्याबलेट खाएपछि मानिसलाई चिटिक्क राख्ने मान्छे, शरीरमा नयाँ लुक्स दिने इच्छा लाग्ने रहेछ,’ उनी भन्छन्, ‘सुरुवाती चरणमा लागूपदार्थ स्वाद मीठो लाग्छ । तर बिस्तारै यसले विष निम्त्याउँदो रहेछ ।’
अनि बाटो मोडियो
उनलाई जीवनदेखि घृणा जागिसकेको थियो । मनमतिष्कले छोड्नुपर्ने बताइरहेको थियो तर शरीरले नशाको माग गरिरहेको हुन्थ्यो । एक दिन सडकबाट एक युट्युब च्यानलले उनको जीवनकथा बाहिर ल्याइदियो । त्यसमा आफू सुध्रिन चाहेको बताए । सामाजिक सञ्जालमा आएको प्रक्रियाले उनले जीवनमा पुनः आशाको किरण देखे ।
मस्त नशामा डुबिरहेको बेलामा जिन्दगीबारे नसोचेका होइनन्, तर सबै बाटो बन्द भयो जस्तो लागिरहन्थ्यो । तर जीवन रहेसम्म अनेक बाटा खुल्ला हुँदा रहेछन् । त्यसपछि उनी एचआईभी संक्रमितको उपचार सहयोग तथा रोकथामका लागि काम गर्ने संस्था ‘सुरुवात’सँग जोडिए । त्यहाँ जोडिएपछि उनको जीवनको कठिन बाटो सहजतातिर मोडियो ।
सञ्जीवन आठ वर्षअघिदेखि नशामुक्त जीवन बिताइरहेका छन् । ‘प्रायस् मानिस एचआईभीले मर्दैन । त्यसको सोचाइले मर्ने हुन्,’ उनी भन्छन् ।
एचआईभी संक्रमित भएपछि उनले विवाह गरेका थिए । उनका श्रीमती र बालबच्चालाई संक्रमण देखिएको छैन । औषधि सेवन गरिरहेका हुनाले कसैलाई पनि संक्रमण देखिएको छैन । उनी त कुलतबाट बाहिर निस्किएका छन् । त्यससँगै अन्य संक्रमितलाई पनि कुलतबाट बाहिर ल्याउने प्रयासमा जुटेका छन् ।
अहिले उनी विभिन्न स्कुल-कलेजमा दुर्व्यसनीबारे सचेतना कक्षा दिन पुग्छन् । संस्थाले गरेको कार्यक्रममा काउन्सिलिङ गर्न पुग्छन्, लागूपदार्थको आफ्नो अनुभव सुनाउँदै बुझाउने कोसिस गर्छन् ।
‘जीवनमा जे कर्म गर्यो, त्यही प्रतिक्रिया आउने रहेछ,’ उनी भन्छन्, ‘जे–जे भोगियो, त्यसलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने रहेछ ।’
सञ्जीव अहिले सामान्य मानिस जस्तै जीवन बाँचिरहेका छन् ।
‘एचआईभी संक्रमित भनेर मनमा केही कुरा राख्दिनँ । केही गर्न सक्छु भन्ने सोचाइ लिएर अगाडि बढिरहेको छु,’ उनी भन्छन् ।
समाजमा अझै पनि एचआईभी संक्रमितलाई हेर्ने नजर फरक छ । उनी सुनाउँछन्, ‘एचआईभी संक्रमण हुँदैमा जिन्दगीको अन्त्य होइन, नयाँ सुरूवात हो ।’
उनलाई दुई दशकअघिको घटना अझै याद छ- ‘टेकु अस्पतालमा एचआईभी संक्रमितलाई भर्ना लिनुपर्दा चिकित्सक चार हात पर हुन्थे । बेड पाउनै मुस्किल हुन्थ्यो ।’
तर अहिले वातावरण फेरिएको छ । चिकित्सक पनि मायाप्रेम दर्शाएर नै उपचार गरिहेका हुन्छन् । ‘तर समाजमा एचआईभी सम्बन्धी जनचेतनाको जगाउनुपर्ने छ । प्रजनन्, यौन स्वास्थ्यको बारेमा बुझाउन जरूरी छ,’ उनी भन्छन् ।
जीवन के रहेछ ? एचआईभी संक्रमित सञ्जीव क्षेत्रीको सरल जवाफ छ- ‘जिन्दगी एक बारी जस्तो रहेछ । जे रोप्यो त्यही उम्रिने ।’
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
(क्षेत्रीको तस्वीर उनकै अनुमतिमा सार्वजनिक गरिएको हो ।)