रेमिट्यान्स र व्यावसायिक ऋणमा हुने ‘शोषण’ विरुद्ध अमेरिकामा ‘आफ्नो’ का संस्थापक जय अग्रवाल



प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

रेमिट्यान्स र व्यावसायिक ऋणमा हुने ‘शोषण’ विरुद्ध अमेरिकामा ‘आफ्नो’ का संस्थापक जय अग्रवाल

जय अग्रवाल अमेरिकी सेनाका पूर्वअधिकारी, सीएफए चार्टरहोल्डर तथा ‘आफ्नो’ र ‘अमेरिकन बिजनेस लोन्स’का संस्थापक हुनुहुन्छ । नेपालमा जन्मिएर अमेरिकाको सैन्य सेवाबाट खारिनुभएका जयको व्यक्तित्वमा सैन्य अनुशासन, गहिरो विश्लेषणात्मक क्षमता र मानवीय संवेदनाको दुर्लभ मिश्रण पाइन्छ । उहाँले अभाव र वित्तीय अशिक्षालाई नजिकबाट भोग्नुभएको छ । कसरी शोषणकारी ऋण प्रणालीले मानिसहरूलाई कहिल्यै नसकिने चक्रमा फसाउँछ भन्ने बुझ्नुभएको छ । उहाँ र उहाँको टोलीले आफ्नो करिअर नै यसको विकल्प निर्माण गर्न खर्चिएको छ ।

उहाँहरूको एउटै दृढ विश्वास छ– वित्तीय प्रणालीले सधैं हुनेखानेहरूलाई मात्र साथ दिन्छ । सम्झौतामा के लेखिएको छ भन्ने नबुझ्ने व्यवसायी, घरमा २० डलर पठाउँदा पनि बढी शुल्कको मारमा पर्ने आप्रवासी र वर्षौंको बचतबाट पनि उचित लाभ लिन नसकेका श्रमजीवी परिवारका लागि जय र उहाँको टोलीले हरेक दिन काम गरिरहेका छन् । उहाँको भिजन, संघर्ष र आगामी योजनालाई नजिकबाट बुझ्न हामीले उहाँलाई केही प्रश्न सोधेका छौं ।

तपाईंलाई ‘आफ्नो’ सुरु गर्न के कुराले प्रेरित ग¥यो ?
मैले देखेको छु कि कसरी वित्तीय अशिक्षा र शोषणकारी ऋण प्रणालीले मानिसहरूलाई ऋणको चक्रमा फसाउँछ ? मैले यो पनि देखेको छु कि सम्पत्ति कुनै ‘ह्याक’ वा जादुले होइन बरु सही संरचना र पहुँचबाट निर्माण हुन्छ । ‘आफ्नो’को जन्म यही असमानता हटाउन भएको हो ।

एक सीएफए चार्टरहोल्डर र सेनाको पूर्वअधिकारीको रूपमा मैले वर्षौंसम्म वित्त क्षेत्रमा काम गर्दा त्यस्ता धेरै मानिसहरू भेटेको छु जो एउटा तलबबाट अर्को तलबको पर्खाइमा बाँचिरहेका छन् । उनीहरू नबुझेका शुल्कद्वारा शोषित भएका छन् र उनीहरूलाई सधैं परनिर्भर बनाइराख्न डिजाइन गरिएका वित्तीय उत्पादनहरूको जालमा फसेका छन् ।

‘आफ्नो’को अवधारणालाई मूर्त रूप दिने विशेष क्षण तब आयो जब मैले आप्रवासीहरूले घरमा थोरै रकम पठाउँदा पनि बढी शुल्क तिर्नुपरेको देखें । आमाको औषधिका लागि ५० डलर पठाउने विद्यार्थीले ५,००० डलर पठाउने व्यवसायीको तुलनामा बढी प्रतिशत शुल्क तिर्नुपर्छ । यो कुनै संयोग होइन । यो जानाजानी गरिएको विभेदपूर्ण डिजाइन हो । यो गलत छ ।

तर, रकम पठाउनु (मनी ट्रान्सफर) त सुरुवात मात्र हो । ‘आफ्नो’को परिकल्पना एउटा पूर्ण वित्तीय सुस्वास्थ्य प्रणाली (फाइनान्सियल वेलनेस इकोसिस्टम) निर्माण गर्नु हो । जसले केवल सिकाउने मात्र होइन, प्रयोगकर्ताको तर्फबाट काम पनि गर्छ । जस्तै– स्वचालित रूपमा ऋणको पुनःसंरचना गर्ने र बचतलाई स्वतः सही ठाउँमा लगानीमा रूपान्तरण गर्ने । जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूका लागि अहिलेसम्म कसैले इमानदारीपूर्वक काम गरिदिएको छैन । हामीले ‘आफ्नो’लाई त्यही अवस्था बदल्नका लागि निर्माण गरेका हौं ।

तपाईं कमर्सियल लेन्डिङ (व्यावसायिक ऋण)को क्षेत्रमा किन प्रवेश गर्नुभयो ?
किनभने यो क्षेत्र यसरी बिग्रेको छ कि यसले व्यवसायीहरूलाई अर्बौंको घाटा पु¥याइरहेको छ । यसबारे कसैले इमानदारीपूर्वक कुरा गर्दैन । व्यावसायिक ऋण लिने अनुभव अत्यन्त अस्पष्ट छ । धेरैजसो व्यवसायीहरूले ऋणदाता वा ब्रोकरसँग सम्झौता गर्दा ‘डीएससीआर’, ‘फिक्स्ड बनाम ब्रिज लोन’ वा ‘प्रिपेमेन्ट पेनाल्टी’जस्ता प्राविधिक शब्दहरू र तिनले पार्ने दीर्घकालीन प्रभाव बुझेकै हुँदैनन् । ब्रोकरहरू यी कुरामा पोख्त हुन्छन् तर ऋण लिनेहरू अनभिज्ञ । यो खाडल संयोगवश भएको होइन । बजार यसैमा फस्टाउँछ ।

हामी यस क्षेत्रमा केवल लगानी (फन्डिङ)का लागि मात्र आएका होइनौं । बरु एउटा भरपर्दो र सक्रिय मार्गदर्शन (प्रोएक्टिभ गाइडन्स) प्रदान गर्न आएका हौं ।

तपाईंले बजारमा कस्तो रिक्तता देख्नुभयो ?
मैले दुईवटा मुख्य रिक्तता देखें । पहिलो, व्यावसायिक ऋणमा । साना व्यावसायिक भवन, गोदाम वा अफिसका मालिकहरूलाई ठूला बैंकहरूले वास्ता गर्दैनन् । ब्रोकरहरूले उनीहरूको अनभिज्ञताको फाइदा उठाउँछन् । उनीहरूका लागि इमानदारीपूर्वक काम गर्ने कोही थिएन ।

दोस्रो, वित्तीय सुस्वास्थ्यमा । धेरैजसो प्लेटफर्महरूले मानिसलाई केवल औजारहरू (टुल्स) दिन्छन् र उनीहरूले आफैं काम गरून् भन्ने आशा राख्छन् । तर, जसलाई यसको बढी आवश्यकता छ उनीहरूसँग समय र ज्ञानको अभाव हुन्छ । ‘आफ्नो’ले मानिसलाई सिकाउने मात्र होइन, उनीहरूको तर्फबाट सही वित्तीय निर्णय लिने काम गर्छ ।

‘आफ्नो’ले नेपाली डायस्पोरालाई कसरी सहयोग गर्छ ?
नेपाली डायस्पोराले कडा परिश्रम गर्छ । उनीहरूले वार्षिक ११ अर्ब डलरभन्दा बढी रेमिट्यान्स पठाउँछन् । जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २६ प्रतिशतभन्दा बढी हो । उनीहरू नयाँ देशमा जीवन बनाउँदै पुरानो देशमा आफ्नो परिवार सम्हालिरहेका छन् । तर, वित्तीय प्रणालीले उनीहरूलाई सधैं ठगेको छ– सानो रकम पठाउँदा पनि चर्को शुल्क लिएर ।

हामीले ‘आफ्नो’को केन्द्रमा यही समुदायलाई राखेका छौं । हामीले ‘फ्ल्याट फी’ (एउटै शुल्क)को व्यवस्था गरेका छौं । जसले थोरै पैसा पठाउनेलाई दण्डित गर्दैन । कुनै विज्ञापनबिना नै १५० भन्दा बढी प्रयोगकर्ताहरूले हामीलाई विश्वास गर्नुभयो । किनकि, हामीले उनीहरूलाई सम्मानका साथ व्यवहार ग¥यौं । आमाको औषधिका लागि ५० डलर पठाउने नेपाली विद्यार्थीले पनि ५,००० डलर पठाउनेले जत्तिकै सम्मान र सेवा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अमेरिकन बिजनेस लोनले कसरी उद्यमीलाई मद्दत गर्छ ?
हामी ऋण लिनेहरूलाई ग्राहक मात्र होइन, पार्टनरका रूपमा व्यवहार गर्छौं । हामी देशभरका १५० भन्दा बढी ऋण कार्यक्रमहरू र ७०० भन्दा बढी साझेदारहरूसँग मिलेर काम गर्छौं । ताकि प्रत्येक व्यवसायका लागि सबैभन्दा उपयुक्त समाधान फेला पार्न सकियोस् । हामी ऋण मात्र स्वीकृत गर्दैनौं बरु ऋणका सर्तहरूलाई सरल भाषामा बुझाउँछौं । कहिले ऋणको पुनःसंरचना (रिफाइनान्स) गर्दा फाइदा हुन्छ भन्नेबारेमा सल्लाह दिन्छौं ।

यसको केही मापनयोग्य प्रभाव छ ?
‘अमेरिकन बिजनेस लोन्स’ले धेरै राज्यहरूमा सेवा दिइरहेको छ । जसमा सानादेखि स्थापित व्यवसायीहरू समेटिएका छन् । ‘आफ्नो’ले अहिलेसम्म कुनै सार्वजनिक मार्केटिङबिना नै २०० भन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा दिइसकेको छ । विगत तीन वर्षदेखि हामी कुनै बाह्य लगानीबिना नै आफ्नो उद्देश्यमा अडिग छौं । हाम्रा लागि गर्वको कुरा कारोबारको अंक होइन बरु ती २०० भन्दा बढी मानिसहरूको विश्वास हो । जसले आफ्नो मेहनतको कमाइ हामीलाई सुम्पनुभयो ।

‘आफ्नो’ र अन्य मनी ट्रान्सफर सेवाहरूबीच के फरक छ ?
हाम्रा प्रतिस्पर्धीहरू केवल कारोबारमा आधारित प्लेटफर्म हुन् । जसले थोरै पैसा पठाउनेबाट बढी प्रतिशत शुल्क लिन्छन् । ‘आफ्नो’ तीन कारणले फरक छ । पहिलो, नैतिकता । हाम्रो ‘फ्ल्याट फी’ केवल व्यापारिक निर्णय होइन । यो एक नैतिक अडान हो । दोसो हो प्रविधि । रकम पठाउनु सुरुवात मात्र हो । हाम्रो लक्ष्य स्वचालित वित्तीय निर्णय लिने प्रणाली हो । तेस्रो हो समान पहुँच । हामी एक वित्तीय सल्लाहकारले धनी ग्राहकका लागि जसरी काम गर्छ त्यसरी नै सबैका लागि काम गर्छौं ।


नेपाली डायस्पोरालाई सहयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ ?

यो केवल महत्त्वपूर्ण मात्र होइन, यो त हाम्रो अस्तित्वको कारण हो । म नेपाल पशुपतिनाथको पावन भूमिबाट आएको हुँ । उहाँको आशीर्वादबिना हाम्रो कुनै पनि काम सुरु हुँदैन ।

तीन वर्षअघि हामीले योभन्दा सजिलो काम रोज्न सक्थ्यौं । तर, हामीले यो समुदाय रोज्यौं किनभने यो समुदाय यसको हकदार छ । हामी यहाँ छौं र हामी हार मान्दैनौं । किनभने, यो समुदाय हार नमान्ने साथीको हकदार छ ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment