प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

न्युयोर्कको क्विन्सस्थित ज्याक्सन हाइट्स केवल एउटा व्यापारिक क्षेत्र मात्र होइन, यो संसारभरका सपना, संघर्ष र संस्कृतिहरूको संगमस्थल हो । यही व्यस्त र बहुसांस्कृतिक वातावरणबीच रोजवेल्ट एभिन्यूमा टाँसिएको एउटा साइनबोर्डले अमेरिकामा रहेका नेपालीलाई आफ्नै गाउँघर, परम्परा र पहिचानको सम्झना दिलाउँछ— नेपाल ज्वेलरी एन्ड रिपेयर इंक । यस व्यवसायका सञ्चालक दिनेश सेन्चुरी केवल सफल व्यवसायी मात्र होइनन्, उनी नेपाली मौलिक सीप, परम्परा र कलालाई सात समुद्रपार स्थापित गर्ने साहसी यात्रु हुन् । उनको कथा केवल व्यापारको सफलता होइन, संघर्ष, धैर्य र आफ्नो पहिचान जोगाउने दृढ अठोटको कथा हो ।
दिनेश सेन्चुरीको यात्रा नेपालको एउटा सानो गाउँको सुनचाँदी कार्यशालाबाट सुरु भएको हो । बाल्यकालदेखि नै उनले पुख्र्यौली पेसाका रूपमा सुनचाँदीको मिहिन काम सिक्ने अवसर पाए । औंलाले सुनलाई आकार दिँदै गर्दा उनले केवल गहना मात्र बनाइरहेका थिएनन्, उनी आफ्नो भविष्यको सपना पनि गढिरहेका थिए । उनी ठूला अवसरहरूको खोजीमा अमेरिका पुगे । तर, अमेरिका आइपुग्नु सफलता होइन । संघर्षको सुरुवात थियो । भाषा, संस्कृति, आर्थिक चुनौती र अपरिचित वातावरण सबै कुरा नयाँ थिए ।
‘सुरुका दिनहरू निकै गाह्रो थिए’, उनी सम्झन्छन्, ‘काम गर्ने प्रणाली, खर्च र कमाइको सन्तुलन मिलाउन धेरै संघर्ष गर्नुप¥यो । कहिलेकाहीं त यहाँ टिक्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लाग्थ्यो ।’ तर, उनको सबैभन्दा ठूलो पुँजी पैसा होइन, सीप थियो । पुख्र्यौली कलाले उनलाई हार मान्न दिएन ।
अमेरिका आएपछि सुरुका दिन कस्ता थिए ?
अमेरिका आउनु आफैंमा ठूलो संघर्ष थियो । यहाँ आइसकेपछि नयाँ वातावरणमा घुलमिल हुन समय लाग्यो । सुरुमा ग्यास स्टेसनमा काम गरे— सामान मिलाउने, सरसफाइ गर्ने र क्यासियरको कामसम्म । त्यहींबाट जीवनको नयाँ अध्याय सुरु भयो ।
त्यसपछि सुनचाँदी व्यवसायतर्फ कसरी मोडिनुभयो ?
नेपालमै म धेरै वर्ष सुनचाँदीको कालीगढ र डिजाइनरका रूपमा काम गर्थें । मनभित्र सधैं एउटा चाहना थियो– नेपाली परम्परागत गहनाहरू विदेशमा बस्ने नेपालीसम्म पु¥याउने । आफ्नो संस्कृति खोज्दा उनीहरूलाई कठिन नहोस् भन्ने सोचले व्यवसाय सुरु गर्ने प्रेरणा दियो ।
व्यवसाय कहिले सुरु गर्नुभयो ?
सन् २०२१ मा कोभिड महामारीपछि सानो लगानी र सानो स्थानबाट सुरु गरें । सुरुका साढे दुई वर्ष निकै चुनौतीपूर्ण थिए ।
ती दिन कत्तिका कठिन थिए ?
विदेशी भूमिमा व्यवसाय सुरु गर्नु निकै जटिल हुन्छ । ब्रान्ड दर्ता, महँगो भाडा, बिमा, बिजुली खर्च र कानुनी प्रक्रिया सबै कुरा मिलाउन ठूलो संघर्ष गर्नुप¥यो ।
तपाईंको सफलताको मुख्य आधार के हो ?
निरन्तर मेहनत । सुरुका वर्षहरूमा दिनको १५–१६ घण्टा स्टोरमै बिताएँ । बिहानदेखि रातिसम्म काम गर्थें । अझै पनि कम सुत्छु । तर, आफ्नो कामप्रति सन्तुष्ट छु ।
सबैभन्दा ठूलो चुनौती के थियो ?
बजारमा विश्वास जित्नु । सुरुमा स्टोरबारे कसैलाई जानकारी थिएन । भाडा, बिल र व्यक्तिगत खर्च धान्न गाह्रो हुन्थ्यो । कहिलेकाहीं ऋण लिएर पनि व्यवसाय बचाएँ । तर, बिस्तारै समुदायको विश्वास बढ्दै गयो । अहिले न्युयोर्क मात्र होइन, अमेरिकाभरबाट अनलाइन, टिकटक र इन्स्टाग्राममार्फत अर्डर आउँछन् ।
अहिले बजारमा धेरै प्रतिस्पर्धा छ । यस्तोमा ग्राहक तपाईंको स्टोरमा किन आउने ? तपाईंको विशेषता के हो ?
हामीकहाँ ग्राहक किन आउने भन्ने कुरामा मलाई गर्व लाग्छ । विगत तीन वर्षदेखि उत्कृष्ट सेवा दिने प्रयास गरेको छु । कतिपय साना मर्मत कार्य त शुल्क नलिई सेवाका रूपमा गरिदिएको छु । ग्राहकको विश्वास नै मेरो सबैभन्दा ठूलो पुँजी हो ।
नेपाली समुदायले विशेषगरी २२ वा २४ क्यारेटको सुन खोज्छन् । शुद्धताको ग्यारेन्टी कसरी दिनुहुन्छ ?
म १८–२० वर्षदेखि यस क्षेत्रमा काम गरिरहेको डिजाइनर भएकाले विभिन्न क्यारेटबीचको फरक स्पष्ट देखाउन सक्छु । हामी ग्राहककै अगाडि परीक्षण गरेर शुद्धता प्रमाणित गर्छौं । २४ क्यारेट सुनमा शतप्रतिशत फिर्ता सुविधा पनि दिन्छौं ।
ग्राहकले पछि सुन बेच्न चाहे उचित मूल्य पाउँछन् ?
अवश्य । बजार मूल्यअनुसार पुनः बिक्री सम्भव हुन्छ । केही ग्राहकले सुरुमा किनेको सुन बेचेर घर वा जग्गा किन्नेसम्मको लाभ पाउनुभएको छ ।
तपाईंकोमा कस्ता डिजाइन उपलब्ध छन् ?
२४ र २२ क्यारेटका नेपाली परम्परागत गहना, सांस्कृतिक डिजाइन तथा हीरा जडान गरिएका गहना उपलब्ध छन् । ग्राहकले फोटो देखाएमा त्यस्तै डिजाइन तयार पार्न पनि सक्छौं ।
लगानीका लागि सुन किन्ने सही तरिका के हो ?
लगानी मात्रका लागि बार गोल्ड उपयुक्त हुन्छ । तर, पारिवारिक प्रयोजनका लागि २४ क्यारेट गहना पनि राम्रो लगानी हो । सही व्यवसायीसँग सल्लाह गरेर किन्नु उत्तम हुन्छ ।
चाँदीमा लगानी कस्तो देख्नुहुन्छ ?
पछिल्ला महिनाहरूमा चाँदीको मूल्यवृद्धि दर उल्लेखनीय देखिएको छ । त्यसैले ठूलो लगानीकर्ताका लागि चाँदी पनि राम्रो विकल्प बन्न सक्छ ।
डिजिटल गोल्ड र भौतिक सुनमध्ये कुन राम्रो ?
नेपाली समाजमा भौतिक सुनको महत्त्व बढी छ । यसलाई प्रयोग, उपहार वा परिवारमा बाँड्न सकिन्छ । जुन डिजिटलमा सम्भव हुँदैन ।
भविष्यका योजना के छन् ?
अहिले हाम्रो सामान अमेरिकाका ५० वटै राज्यमा पुगिसकेको छ । आगामी दिनमा अझ ठूलो स्थानमा व्यवसाय विस्तार गर्ने योजना छ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)