म पनि गौशाला–२६

म पनि गौशाला–२६
अहिले सामाजिक सञ्जालमा धेरैले यो गौशाला–२६ भनेको को ? चिन्न पाए हुन्थ्यो भन्ने आशय राखेका पोस्ट धेरै देखिन्छ। नेपालको सामाजिक–आर्थिक परिवेशमा महिलासँग जोडिएका सवालले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा समाजमा बहसको ठाउँ पाउने भनेको पानीको फोको जस्तो लाग्छ मलाई। त्यसैले गौशाला–२६ सँग जोडिएका सवाल पनि स्वतः हराएर जानेछन्।

अहिले केही दिन ‘राष्ट्रिय गहना’ले उन्मुक्ति पाएको उन्मादमा अरू धेरै त्यस्तै प्रकारका अपराध गर्नेहरू भित्र उन्मुक्ति पाइने भयो भनी जन्म ाएको प्रमादको स्थितिमा गौशाला–२६ को पीडा, उनलाई पर्ने प्रभाव अनि देशभर ‘यहाँ न्यायको अभाव छ’ भनी गएको सन्देश, त्यसबाट भोलि लाखौं बालबालिकामा पर्नसक्ने प्रभावका सम्बन्धमा हेक्का कसले पो राख्छ ? बरू गौशाला–२६ सँग जोडिएको फैसलाले मभित्र एउटा रिक्तता, तिक्तता अनि आफूभित्र सदियौंदेखि दबेर बसेको सत्यताले गहिरो गरी घच्घच्याएको महसुस गरेकी छु। अनि ती सबै गौशाला–२६ लाई चिन्न आतुर जमातलाई चिच्याएर भन्न मन लागेको छ–आऊ, म तिमीलाई मेरो आफ्नै अनुहारमा गौशाला–२६ को हुन् भनी देखाउँछु।

म १२ वर्ष पुगेको पनि थिइनँ होला, बस्तीपुरमा रहेका मालिकका छोराहरूको बिगबिगीले हामीले पोखरीमा नुहाउन पसेका बेला भोगेका यौन दुव्र्यवहार अनि त्यसपछि फेरि ‘आफैँ उत्ताउला भएर पोखरीमा नुहाउन गएका हुन्’ भन्नेजस्ता विभिन्न उपमा सुन्दै, पूरै दोषको भारी बोक्दै घर फर्किएका ती दिन सम्झन्छु। म १३ वर्ष पनि पुगेकी थिइनँ। आफ्नै गाउँको एक सामन्त केटाले ‘यौनसम्पर्क राख्न देऊ’ भनी गरेको प्रस्ताव अनि मैले नमानेका कारण गाउँभर गरिएको बदनामी, ‘बारुलो’ भनी राखिएको उपनाम अनि त्यसपछि गाउँमा मलाई गरिने व्यवहार सम्झें।

मेरै गाउँमा एक किशोरीलाई गाउँको मालिकको छोरोले बोकाएको गर्भ घरमै सुडेनी बोलाएर पतन गर्न लगाउँदा अत्यधिक रक्तश्राव भएर मृत्यु भएकी दौतरीलाई सम्झें। यतिले मात्रै नपुगेर तिनी दलित र गरिब भएका कारण मालिक पुत्रको कर्तुत जोगाउन भोलिपल्ट मालिक भनिनेहरूद्वारा उनका बुबालाई केही पैसा दिइ गाउँ कटाएको घटनाको साक्षी भएको क्षण सम्झें। त्यो स्थितिमा केही गर्न नसकेर छट्पटाहटका कारण मभित्र जन्मेको रिस, पीडा र विद्रोह सम्झें। ती घटना मभित्र गडेर बसेका कारण अहिलेसम्म पनि कहिलेकाहीँ मध्यरातमा खलखली पसिना आएर बिउँझिने स्थिति सम्झें अनि मैले मेरो आफ्नै अनुहारमा गौशाला–२६ को अनुहार देखें।

म कलेज पढ्दै गरेकाबेला नमिता/सुमिता काण्ड भयो। उक्त काण्डमा दुवै किशोरीले मृत्यु स्वीकार्न बाध्य भएको हुनाले उनीहरूको परिचय लुकाउनुपरेन। तर मृत्युपछि पनि तिनकाबारे उछालिएका कुराले आफ्ना छोरीहरू गुमाएको पीडा खप्न बाध्य आमाबुबालाई बाँच्न भने सहज थिएन भन्ने उदाहरण हामीसँग प्रशस्तै छन्। उक्त घटना गराउने तत्कालीन अधिराजकुमारका अघि/पछि लाग्नेहरूले तिनै किशोरीहरूको दोष देखेका थिए र आफ्नो स्वार्थ पूरा गरेका थिए। यी सबै घटना देखेकी मलाई भन्न मन लाग्यो–‘के तिमीहरूलाई अझै देखाउन बाँकी छ र गौशाला–२६ को अनुहार ? खोइ, मेरो आँखा नै ठीक नहोला, त्यसैले त म यहाँ न्यायालयमा पैसासँग साटिएका सबै मुद्दामा गौशाला–२६ देख्छु। निर्मला पन्त, बिन्दु ठाकुरलगायत सयौं बालिकाको क्रन्दनमा देख्छु।

मैले चिनेको एउटा परिवार छ, जहाँ सात भाइ छन्, ती सबै पढे/लेखेका छन्। दुईजना डाक्टर, दुईजना इन्जिनियर, एकजना न्यायाधीश, अर्को कृषि वैज्ञानिक त अर्को बैंकको म्यानेजर। तीमध्ये एकजनाले आफ्नै फुपूकी छोरीसँग, अर्कोले नजिकको नाता पर्ने दाइकी छोरीसँग सम्बन्ध राखेर ती महिलालाई मानसिक पीडाबाट गुज्रन बाध्य बनाए। अर्कोकी छोरीले बाबुले यौन शोषण गर्‍यो भन्ने मुद्दा हालेकै कारण विदेशमा काम गरिरहेको अवस्थामा छोरीलाई विदेशमै छाडी भागेर देश फर्कनुपर्‍यो भने अर्को, समाजमा प्रतिष्ठित नाम भएकै व्यक्तिकी छोरीले मलाई बाबुले यौन शोषण गर्‍यो भनिरहेकी छिन्। प्रमाणको अभाव, कानुनको अपर्याप्तता, समाजले उल्टै पीडित/प्रभावितलाई नै दोष दिनेजस्ता यावत् कुराले यी कुनै घटनामा पीडित/प्रभावितले न्याय पाएको अवस्था छैन। पीडित/प्रभावितहरू गुमनाम जीवन बिताउन बाध्य छन्। न्यायका लागि पहल गर्दा आफैँ अपमानित भएर भोगेका पीडाका साथमा बाँचिरहेका छन्।

प्रभावितका लागि न्याय गर्न अघि बढेका उक्त घरका सबै महिला गम्भीर मानसिक पीडा र समस्याबाट आक्रान्त छन्। पुरुषहरू भने अर्को विवाह गरी खुसी जीवन बिताइरहेका छन्। ती पुरुषका धेरै साथीलाई त्यो घरभित्रका पुरुषले गरेको अपराधबारे थाहा छ तर उनीहरूमध्ये कसैले पनि ती पुरुषविरुद्ध बोल्न सकेका छैनन् किनभने तिनलाई भोलि आफ्नो पोल खुल्छ भन्ने डर छ। मलाई यी सबै घटनाका प्रभावित महिला पात्रहरूका अनुहार गौशाला–२६ लाग्छ भने यो घटनासँग संलग्न सबै पुरुष र केही पितृसत्तात्मक सोच भएका महिलासमेत गौशाला–२६लाई गौशाला–२६ बनाउने राष्ट्रिय गहना।

त्यसैगरी, द्वन्द्वकालमा बिना कुनै अपराध यौन दुव्र्यवहार खप्नुपरेका महिला, तिनको बलिदानका कारण सत्तामा रमिरहेका नेता तथा सदनमै काम गर्ने सभामुखबाटै पीडित बनाइएकी भनिएकी तर पितृसत्ताको दबाबका कारण पटक–पटक बयान फेर्न बाध्य रोशनी हुन् वा डिआइजी श्रीमान्बाट टुक्रा–टुक्रा पारी काटिएर मर्न बाध्य महिला हुन्, सबैमा म गौशाला–२६ कै अनुहार देख्छु। अचम्म लाग्छ मलाई, यी सामाजिक सञ्जालमा छरपष्ट गौशाला–२६ को अनुहार हेर्न चाहने मानिस र अदालतले सफाइ दिएको व्यक्तिलाई ‘राष्ट्रिय गहना’ भन्दै बधाई दिने नेताहरूको बोली र व्यवहार देखेर। आखिर कहिले यिनले मैलेजस्तै पितृसत्ताको पीडाबाट दबाइएका आफ्ना आमा, दिदी, बहिनी, छोरीको अनुहार नै गौशाला–२६ को अनुहार हो भनी बुझ्ने ?

मलाइ याद छ, मैले काम गर्ने क्रममा सर्वोच्चका एक प्रधानन्यायाधीशले मलाई बोलाएर भनेको–‘मेरो बैनीको पीडालाई मैले नेतृत्व गरिरहेको न्यायालयले न्याय दिन सकेन, प्रमाणमा विश्वास गर्ने प्रणाली, पैसा, पद र प्रलोभनको प्रभावमा पर्ने न्यायिक/अर्धन्यायिक प्रणालीले बैनीको न्यायका लागि गरेको पहललाई अघि बढ्न दिएको छैन। त्यसैले तपाईंहरूले बैनीलाई न्याय प्राप्त गर्ने बाटो बनाइदिनु पर्‍यो। सबै न्याय न्यायालयमा टुंगिदैन। न्यायालयमा टुंगिएका सबै घटनामा पीडितले न्याय प्राप्त गरेको अनुभव गर्छन् भन्ने पनि होइन। धेरै अवस्थामा सामाजिक न्यायको ठूलो भूमिका हुन्छ।’

समग्रमा भन्नुपर्दा, गौशाला–२६ कुनै एक महिला होइनन्। यो पितृसत्ताले दिएको पीडाको रूप हो। अहिलेको समाजमा आफ्नो पीडा सुनाउँदा बाँच्नै कठिन हुने अवस्थाको उपज हो। पैसाले किन्न सक्ने केही न्यायाधीशले न्यायमाथि गरेको प्रहारको परिणाम हो। हाम्रो देश कस्ता व्यक्तिबाट शासित भैरहेको छ त ? भन्ने प्रश्न जायज छ भन्ने आधार हो यो। पैसा, पद , सिप जस्ता कुरा भएमा जस्तोसुकै ठुलो अपराध भए पनि उन्मुक्ति पाइन्छ भनी दिन खोजेको सन्देश हो। देशका राम्रा गहना भनिनेहरूको कुरूप अनुहारको ऐना हो भने सरकारद्वारा एकातिर महिला हिंसा अन्त्य गर्नुपर्छ भन्ने तर अर्कोतिर पीडकलाई प्रवद्र्धन गर्ने दोहोरो मापदण्ड बोकेको अवस्था हो।

मलाई थाहा छ, यो लेख लेखेकै कारण म ट्रोलको शिकार पनि बन्नुपर्नेछ। डलरेको पगरी पनि गुथाइनेछ। मेरा जन्मदेखिका अवगुण खोजेर मेरो उछित्तो काढ्न पनि सुरु गरिनेछ। तर मलाई डर छैन किनभने मैले बुझेकी छु, आलोचना गर्नेहरूको धर्म नै त्यही हो। के पनि बुझेकी छु भने मैले भनिरहेको पितृसत्ताबाट आजित भएर कुनै पनि महिला न्यायका लागि आवाज उठाएकै कारण अझ पीडित बनाइनु हँुदैन भन्ने धेरैको आवाज छ। आवाजसँगै मलाई साथ पनि छ। अतः यस्ता पितृसत्ताविरुद्ध आवाज उठाउनु र गौशाला–२६ हरूलाई साथ दिनु यही नै मेरो धर्म हो।

प्रकाशित: ९ जेष्ठ २०८१ ०७:१५ बुधबार

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School