विश्वकपमा खेलको मात्र होइन, मैदानमा खेलाडीले लगाएको बुट (जुत्ता) पनि चर्चाको विषय बन्छ । जब बुटकै कुरा आउँछ, तब अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगाएको एडिडासको जुत्ताको चर्चा नहुने त कुरौ भएन ।
किनकी, मेसी एडिडासको फेस हुन् ।
उनी सन् २००६ देखि २०२६ सम्म आइपुग्दा एडिडासका अनुहार मात्र होइनन्, ब्रान्डको मुटु बनेका छन् ।
त्यसैले त, भीडले गोलको प्रतीक्षा गर्छ, तर फुटबल प्रेमीहरूको अर्को प्रश्न हुन्छ, आज मेसीले एडिडासको कस्तो बुट लगाएका छन् ?
विश्वकपमा मेस्सीको बुटको गसिप ट्रेन्डिङ नै हुन्छ, ‘जुत्ताको कलर, स्टाइल, कति शुल्क पर्छ ?’
सामाजिक संजालमा उनका फ्यानहरु बुटको रङ, डिजाइन, शुल्क र इतिहासमा रुमल्लिन्छन् ।
ती जुत्ताहरू उनको सन् २००६ को पहिलो विश्वकपको सम्झनामा बनाइएका थिए । उनी अझै पनि एडिडासका अनुहार मात्र होइनन्, ब्रान्डको मुटु बनेका छन् ।
यसपटक एडिडासको ‘एल उल्टिमो टान्गो’ बुटमा मेसी
२३ जुन २०२६ । विश्वकपको मैदानमा ३९ वर्षीय लियोनेल मेसीले सेतो आधारमा आकाश नीलो र सुनौलो झल्कने एडिडास एफ५० ‘एल उल्टिमो टान्गो’ बुट लगाएर दुई गोल गरे ।
‘एल उल्टिमो टान्गो’ भनेको स्प्यानिस भाषा हो । अंग्रेजीमा ‘द लास्ट डान्स’ भनेर चिनिन्छ, अर्थात अन्तिम नाच ।
यो जुत्ता उनको अन्तिम विश्वकपका लागि डिजाइन गरिएको हो । त्यसैले, अन्तिम नाच भनिएको हुनसक्छ ।
यो जुत्ताले मेसीको २० वर्ष लामो विश्वकप यात्रालाई सम्झाउँछ ।
२००६ को जर्मनी विश्वकपमा मेसीले पहिलो पटक विश्वकप खेलेका थिए । त्यतिबेला उनले एफ५०.६ ट्युनिट जुत्ता लगाएका थिए । अहिलेको ‘एल उल्टिमो टाङ्गो’ ले त्यही जुत्ताको डिजाइनलाई आधुनिक प्रविधिसँग जोडेको छ ।
जुत्ताको मुख्य रङ सेतो छ, जसमा अर्जेन्टिनाको झण्डाको आकाशी नीलो र सुनौलो एक्सेन्ट दिइएको छ । यसमा घुमाउरो थ्री स्ट्राइप्स डिजाइन छ, जसले पुरानो याद दिलाउँछ तर नयाँ लुक दिन्छ । जुत्ताको तल्लो भागमा स्प्यानिस भाषामा ‘एल उल्टिमो टाङ्गो’ लेखिएको छ । अर्थात्, मेसीको छोराहरूको नाम र जन्मदिन पनि प्रिन्ट गरिएको छ । यसले व्यक्तिगत स्पर्श थप्छ ।
सहज र तेज
यो जुत्ता तीव्र गतिको लागि सहज हुने हिसाबले बनाइएको हो । यसको माथिको भाग हाइब्रिडटच प्लस मटेरियलबाट बनेको छ जुन हल्का, नरम र बलियो हुन्छ ।
यसले बललाई राम्रो टच दिन्छ र खेलाडीलाई छिटो दौड्न मद्दत गर्छ । जुत्तामा हुक एन्ड लुप लेस कभर प्रणाली छ जसले लेसलाई राम्रोसँग सुरक्षित राख्छ । सोलप्लेटमा एलएक्स स्पीड सिस्टम प्लस प्रयोग गरिएको छ जसमा ब्लेडेड स्टडहरू छन् ।
यसले घाँसे मैदानमा उत्कृष्ट ग्रिप र एजिलिटी प्रदान गर्छ । एडिडासले यो जुत्तालाई मेसीको लागि विशेष रूपमा कस्टमाइज गरेको हो । जर्मनीको कारखानामा केही संस्करणहरू हातले बनाइन्छन् ।
यो डिजाइन पुरानो र नयाँ प्रविधिको सुन्दर मिश्रण हो ।
मेसीले यो जुत्तामा खेल्दा उनी अझ छिटो र सटीक देखिन्छन । हालैको खेलमा उनले अस्ट्रिया विरुद्ध २ गोल गर्दै विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका थिए । यो जुत्ता मात्र खेलका लागि होइन, उनको लिगेसीको प्रतीक पनि हो । फुटबल प्रेमीहरू यस जुत्ताको डिजाइन र प्रविधिले मोहित भएका छन् ।
कति पर्छ मूल्य ?
जहाँसम्म यसको मूल्यको कुरा छ, यसको अमेरिकी डलर २८० जति छ जुन नेपाली रूपैयाँमा करिब ३८,००० देखि ४०,००० सम्म पर्न सक्छ । यसको प्रो र लिग भर्सन अलि सस्तोमा पाइन्छ । एडिडासको आधिकारिक वेबसाइट वा फुटबल स्टोरहरूबाट किन्न सकिन्छ ।
मेसीले यो जुत्ताले देखाउँछ, उनी कसरी आफ्नो इतिहासलाई सम्मान गर्दै नयाँ प्रविधिसँग अघि बढिरहेका छन् ।
मेसीले आज मात्र होइन, दशकौं देखि सो ब्राण्डका जुत्ता लगाइरहेका छन् ।
कसरी उनी एडिडाससँग जोडिए त ?
उनको शरीर सानो थियो, तर बलमाथिको नियन्त्रण र खेल पढ्ने क्षमता असामान्य । बार्सिलोनाको ला मासियामा प्रवेश गरेपछि उनले विश्व फुटबलको ध्यान आफूतर्फ तान्न थाले ।
मैदानमा उनको प्रभाव बढ्दै जाँदा खेल सामग्री उद्योगका दुई ठूला शक्तिनाइकी र एडिडासको नजर पनि उनैमाथि प¥यो ।
किशोर अवस्थादेखि नै नाइकीको प्रायोजनमा रहेका मेसी प्रारम्भिक व्यावसायिक खेल जीवनमा नाइकीकै बुट लगाएर मैदानमा उत्रिन्थे ।
तर उनी विश्व फुटबलको उदाउँदो सुपरस्टार बन्दै गएपछि उनको नामलाई लिएर नाइकी र एडिडासबीच तीव्र प्रतिस्पर्धा सुरु भयो ।
सन् २००६ मा कानुनी र व्यावसायिक प्रक्रियापछि एडिडासले मेस्सीलाई आफ्नो टोलीमा भित्राउन सफल भयो । त्यो निर्णयले केवल एउटा खेलाडीको प्रायोजक परिवर्तन गरेन, फुटबल इतिहासको सबैभन्दा प्रभावशाली साझेदारीमध्ये एकको सुरुवात गरायो ।
एडिडासमा पुगेपछि मेस्सीको खुट्टामा एफ५० शृङ्खलाका बुट देखिन थाले । यो बुट विशेष थियो, अत्यन्त हल्का, उन्नत ग्रिप, बलसँग प्रत्यक्ष टच र मेस्सीको सानो खुट्टा अनुसार कस्टम फिट ।

२००६ विश्वकपमा बुट खस्दा मेस्सीले उठाएर भीडलाई देखाए, त्यो क्षण एफ५० को अमर गसिप बन्यो ।
ती बुट उनको खेल शैलीलाई ध्यानमा राखेर विकसित गरिएका थिए, हल्का, तीव्र र बलमाथि उत्कृष्ट नियन्त्रण दिने ।
विस्तारै मेस्सी र एडिडास एकअर्काको पर्यायझैँ बन्न पुगे ।
एडिडास कसरी बन्यो, ब्राण्ड ?
१९२० को दशक । जर्मनीको हर्जोगेनाउराच सहरमा एडोल्फ ‘आदी’ डास्लर नामका एक युवा खेलाडीहरूका लागि राम्रो जुत्ता बनाउने सपनामा डुबेका थिए ।
पहिलो विश्वयुद्धपछि जर्मनी आर्थिक संकटबाट गुज्रिरहेको थियो । त्यस्तो कठिन समयमा पनि आदीको ध्यान व्यापारभन्दा बढी खेलाडीको प्रदर्शन सुधार्न सक्ने जुत्ता बनाउनमा थियो ।
आफ्नै घरको लुगा धुने कोठालाई कार्यशाला बनाएर उनले क्यानभास, रबर र धातुका स्पाइक प्रयोग गर्दै नयाँ–नयाँ डिजाइनमा प्रयोग गर्न थाले ।
उनको विश्वास थियो, खेलाडीको प्रतिभालाई सही जुत्ताले अझ चम्काउन सक्छ ।
सन् १९२४ मा उनले आफ्ना दाजु रुडोल्फ डास्लरसँग मिलेर ‘डास्लर ब्रदर्स शू फ्याक्ट्री’ स्थापना गरे ।
एक जना उत्पादनमा दक्ष थिए भने अर्का बिक्री र बजार विस्तारमा लागे । दाजुभाइको यो साझेदारीले चाँडै सफलता पाउन थाल्यो । उनीहरूको जुत्ता जर्मनीका खेलाडीमाझ लोकप्रिय बन्दै गयो ।
तर वास्तविक मोड सन् १९३६ को बर्लिन ओलम्पिकमा आयो, जब अमेरिकी धावक जेस्सी ओवेन्सले डास्लरको जुत्ता लगाएर चार स्वर्ण पदक जिते ।
नाजी जर्मनीको बीचमा एक अश्वेत अमेरिकी खेलाडीको त्यो ऐतिहासिक सफलतासँगै डास्लर जुत्ताको नाम विश्वभर फैलियो ।
तर सफलताको त्यो यात्रा लामो समय सहज रहेन । दोस्रो विश्वयुद्धले जर्मनी मात्र होइन, डास्लर परिवारको व्यापारलाई पनि ध्वस्त पा¥यो । युद्धपछि दाजुभाइबीच सम्बन्ध बिग्रियो र अन्ततः उनीहरू अलग भए । यो फुटबल र खेल सामग्री उद्योगकै सबैभन्दा चर्चित विभाजनमध्ये एक मानिन्छ । रुडोल्फले पछि प्यूमा स्थापना गरे भने आदीले आफ्नै बाटो रोजे ।
सन् १९४९ मा आदी डास्लरले नयाँ कम्पनी दर्ता गरे, एडिडास । ‘आदी’ र ‘डास्लर’ शब्दको संयोजनबाट बनेको यो नाम पछि विश्वव्यापी ब्रान्डमा परिणत भयो ।
त्यही वर्ष उनले जुत्तामा तीनवटा समानान्तर स्ट्राइप थपे, जुन पछि एडिडासको स्थायी पहिचान बन्यो । आज ती तीन स्ट्राइप्स खेल संसारकै सबैभन्दा चिनिने प्रतीकमध्ये एक हुन् ।
सन् १९५४ को विश्वकप एडिडासका लागि अर्को ऐतिहासिक क्षण बन्यो। ।
फाइनलमा पश्चिम जर्मनीले बलियो हंगेरीलाई हराउँदा टोलीका खेलाडीले एडिडासका स्क्रु गरेर फेर्न मिल्ने स्टड भएका जुत्ता लगाएका थिए ।
वर्षाले भिजेको मैदानमा ती जुत्ताले राम्रो पकड दिएको मानिन्छ । ‘मिरेकल अफ बर्न’ भनेर चिनिने त्यो जितले एडिडासलाई विश्व फुटबलको केन्द्रमा पु¥यायो ।
त्यसपछि एडिडासले केवल खेल सामग्री मात्र बनाएन, उसले खेल संस्कृतिलाई नै आकार दिन थाल्यो ।
साम्बा, सुपरस्टार, स्टान स्मिथ, गाजेलजस्ता मोडेलहरू खेल मैदानबाट बाहिर निस्केर सडक र फेसन संस्कृतिको हिस्सा बने । एडिडास अब जुत्ता कम्पनी मात्र रहेन, जीवनशैलीको प्रतीक बनिसकेको थियो ।
फुटबलका महान् खेलाडीहरूसँग साझेदारी
समयसँगै कम्पनीले फुटबलका महान् खेलाडीहरूसँग साझेदारी गर्न थाल्यो । एडिडासले मेस्सीलाई मात्र प्रायोजन गरेन, उनीसँगै बढ्यो । र, यही क्रममा एउटा नाम एडिडासको इतिहाससँग गहिरोसँग जोडियो, लियोनियल मेस्सी ।
मेस्सीको जादुई बायाँ खुट्टा र एडिडासको प्रविधिबीचको सम्बन्धले ब्रान्डलाई नयाँ उचाइमा पु¥यायो । मेस्सीका लागि विशेष रूपमा डिजाइन गरिएका बुटहरूले केवल गोल गर्न मद्दत गरेनन्, ती विश्व फुटबलका प्रतीक बने ।
आज एडिडास विश्वका १०० भन्दा बढी देशमा उपस्थित छ । अरबौं डलरको कारोबार गर्ने यो कम्पनीले खेल, फेसन र संस्कृतिलाई एउटै सूत्रमा बाँधेको छ ।
तर यसको जग भने अझै त्यही पुरानो विचारमा अडिएको छ, जुन आदी डास्लरले एक शताब्दीअघि देखेका थिए, राम्रो जुत्ताले खेलाडीको प्रदर्शन बदल्न सक्छ ।
किन सफल भयो त यो साझेदारी?
मेस्सीको विनम्रता, प्रतिभा र निष्ठाले ब्रान्डलाई प्रामाणिक बनायो । उनी सात पटक बालोन डे’ओर विजेता, विश्वकप विजेता र ‘गोट’ सर्जकालिन महान को रूपमा चिनिन्छन् । एडिडासले उनको लागि कस्टम जुत्ता बनाउँछ, जसमा उनको सुझाव समावेश हुन्छ
