प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार

फोटो ; एएफपी/रासस
अमेरिकाको न्युजर्सीस्थित आप्रवासन हिरासत केन्द्रबाहिर समर्थक र विरोधीहरूले प्रदर्शन गरेका छन्। न्युजर्सी राज्यको नेवार्क सहरमा रहेको डिलेनी हल आप्रवासन हिरासत केन्द्रबाहिर ठूलो सङ्ख्यामा मानिसहरू भेला भएर प्रदर्शन गरेका हुन्।
अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय ‘आइस’ का समर्थक र विरोधी प्रदर्शनकारीहरू आमनेसामने भएपछि सुरक्षाकर्मीहरू परिचालन गर्नु परेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीका मोटरसाइकल, गाडी तथा अतिरिक्त सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका थिए। दुवै पक्षलाई अलग राख्न तारका बारहरू पनि लगाइएको थियो।
न्युजर्सीकी गभर्नर मिकी शेरिलका अनुसार प्रदर्शनमा केही “राष्ट्रव्यापी अतिवादी समूह” का सदस्यहरू पनि सहभागी भएका थिए। यद्यपि, उनले ती समूहहरूको नाम भने खुलाएकी छैनन्। प्रदर्शनमा सहभागीहरूको सङ्ख्या बढ्दै गएपछि दङ्गा नियन्त्रण सामग्रीसहित विशेष हतियार तथा रणनीति टोली ‘स्वाट’ र विभिन्न प्रहरी निकायका अधिकारीहरू परिचालन गरिएका थिए।
आइस समर्थक प्रदर्शनका आयोजकहरूले सहभागीहरूलाई शान्तिपूर्ण रूपमा कानुनको पालना गर्दै प्रदर्शन गर्न आग्रह गरेका थिए। तर, प्रदर्शन सुरु हुनुअघि केही प्रदर्शनकारीहरूले सुरक्षाकर्मीहरूमाथि धुवाँ निकाल्ने सामग्री र आतिशबाजी प्रहार गरेका थिए। त्यसपछि राज्य प्रहरीले उक्त क्षेत्र खाली गराएको थियो।
गभर्नर शेरिलका अनुसार ६ जना प्रदर्शनकारी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये पाँच जना न्युजर्सी बाहिरका थिए। उनीहरूमाथि सार्वजनिक शान्ति भङ्ग गरेको, अरूको सुरक्षामा खतरा पुर्याएको तथा न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाइएको छ।
करिब एक हजार व्यक्तिलाई राख्न सक्ने निजी स्वामित्वको डिलेनी हल हिरासत केन्द्रबाहिर केही दिनदेखि लगातार प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले केन्द्रभित्र अमानवीय अवस्था रहेको आरोप लगाउँदै आएका छन्।
मेमोरियल डेको सप्ताहन्तमा सयौँ बन्दीहरूले बिग्रिएको खाना र खराब बसोबासको विरोध गर्दै भोक हड्ताल सुरु गरेपछि तनाव बढेको थियो। केही वकिलहरूले बन्दीहरूलाई सडेको खाना दिइएको आरोप लगाएका छन्।
बन्दीहरूको पक्षमा वकालत गरिरहेका अधिवक्ता एलेक्स मिनोगका अनुसार धेरै बन्दीहरूको खानामा किरा भेटिएको थियो। उनले बन्दीहरूले “विशेष जातीय खाना” मागेका कारण खाना नखाएको भन्ने सरकारी दाबीलाई अस्वीकार गरेका छन्।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले भने अमानवीय व्यवहारसम्बन्धी आरोपहरू अस्वीकार गरेको छ। डीएचएसका अधिकारीहरूका अनुसार हिरासत केन्द्रमा रहेका व्यक्तिहरूलाई दिनमा तीन पटक खाना, स्वास्थ्य सेवा तथा कानुनी प्रक्रिया उपलब्ध गराइएको छ। डीएचएसले केही राजनीतिज्ञहरूले गलत सूचना फैलाएर प्रदर्शनलाई उक्साएको आरोपसमेत लगाएको छ।
तर, न्युजर्सीका सांसद रोब मेनेन्डेजले आफूले केन्द्रभित्र अमानवीय अवस्था र पर्याप्त स्वास्थ्य सेवाको अभाव प्रत्यक्ष रूपमा देखेको बताएका छन्। उनका अनुसार केही सुधार भए पनि केन्द्रको अवस्था सुधार्न थप दबाब आवश्यक छ।
न्युजर्सी प्रशासनले सार्वजनिक सुरक्षा कायम राख्न आइसका अधिकारीहरूको सट्टा राज्य प्रहरीले हिरासत केन्द्र बाहिरको सुरक्षा जिम्मेवारी सम्हाल्ने निर्णय गरेको छ।
गभर्नर शेरिलले प्रदर्शनकारीहरूलाई सुरक्षित क्षेत्रभित्र शान्तिपूर्ण रूपमा विरोध गर्न आग्रह गर्दै तनाव कम गर्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेकी छन्।
उनले अन्ततः बन्दीहरूको अवस्था सुधार गर्ने, परिवारहरूको हित सुरक्षित गर्ने र डिलेनी हल आप्रवासी हिरासत केन्द्र बन्द गराउने लक्ष्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताइन्।