माया पलाउने महिनामा माओवादीभित्र उठेको झिल्को

माया पलाउने महिनामा माओवादीभित्र उठेको झिल्को


शिवपुराणका अनुसार साउन महिनामा देव-दानवले समुद्र मन्थनबाट निस्किएको कालकूट महाविषबाट संसार भष्म हुने भएकोले  सृष्टिका लागि शिवले विषपान गर्नुपरेको थियो । विषले अत्याधिक पोलेको शिवलाई शान्त पार्न देवगणहरुले शिवप्रति जल अर्पण गरे । साउन महिनामा शिवलाई जल अर्पण गर्नुको खास धार्मिक मान्यता यसैसँग गाँसिएको छ ।

साउन महिनामै राधा र कृष्णले वृन्दावनमा रासलीला मच्चाएका थिए, भनिन्छ । यही साउन महिनामा शिवले पार्वतीलाई बेस्सरी मनपराएका थिए रे ! त्यसैले होला साउन महिना माया मौलाउने मौसम हो भनिन्छ ।

नेपाली हिन्दू समाजमा ‘नव दुलही’ले साउने झरि छल्न जाने लामो परम्परा चलिआएको छ । जब नव दुलही माइतीमा रहन्छिन्, तब ती दुलहीमा साउने झरी जस्तै गरी आफ्नो पतिप्रति माया पलाउँछ अरे । त्यहि भएर होला लोकोक्ति बनेको “साउनमा नपलाएको माया के माया ?”

यी माथिको प्रसङ्ग नेपाली समाजमा के कति प्रगतिशील थियो र छ ? यसबारे छुट्टै बहस गर्न सकिन्छ र गर्नु नै पर्छ । त्यसो त शास्त्रले भनेको कुरा जती शिरोपर गरिन्छ, त्योभन्दा बढी लोकले निर्माण गरेको मूल्य र मान्यताहरूमा मानिस बाँधिन्छ र समाजभन्दा पर रहेर मानिसले कुनै पनि मूल्य-मान्यता बनाउन र मान्न सक्दैन । तथापी नेपाली समाजले कतिपय मान्यताहरु भू-बनोट, वातावरण र ऋृतुकालीन श्रमसँग निर्माण गरेको पनि पाइन्छ ।

एक नौलो दुलही जब आफ्नो जन्मदिने आमा बाबा, परिवार र साथीसंगी छोडेर अर्काको नयाँ परिवार र परिवेशमा जान्छिन् । यामसँगै बदलिएको मौसम, झरी वर्षाउने आकास, बाढी पहिरोको जोखिमले अवरुद्ध भएको बाटो-घाटो, माईतीगाउँको दिशा नै अनुमान गर्न नसकिने गरी कुहिरोले छोपी दिएको धर्ती, मुठी खाएर मुरी उब्जाउने जेठ-असार महिना भरी कामको लछारो र कामले थकाएको ज्यान, बाबुआमा, माइती र साथीसंगीको यादले दिने पीडा, यी कुराहरुको बोध ती एक महिलाले कसरी गर्छिन् होला ?

कयौंले त सोधे, के माओवादी पार्टीमा आगो सल्केको हो ? मैले सहज रुपले उत्तर दिएँ, आगोको आविष्कार पछि मानव इतिहासमा विकासले फड्को मार्‍यो । मिठो खाना पकाउन, पाक्न र जीवनलाई जीवन जस्तो बनाउनका लागि आगो बाल्नु त अनिवार्य पर्छ तर घर खरानी पार्ने तरिकाले होइन

यी यस्ता परम्परागत सामाजिक सांस्कृतिक विषयमा हाम्रा सबै आमाहरु भुक्तभोगी हुनुहुन्छ । उबेला अहिलेको जस्तो विबाह हुदैन थियो । केटा र केटीबीच चिनजान वा परिचय नै नगरी बालकैमा मागी विवाह गरिन्थ्यो । आफ्नो मञ्जुरी बिना अभिभावकको चाहानामा विवाहहरु हुन्थे । विवाहको साल स्वभाविक रुपमा बिस्तारै एकअर्काप्रतिको बुझाइ, एकअर्काप्रति बढिरहेको आकर्षण र एकअर्काप्रति थपिदै गएको माया । एकअर्काप्रतिको अभावको आभासले प्रेमको भाव बढ्ने नै भयो ।

त्यसमाथि साउन महिनाबाट परिवर्तन हुन थालेको मौसमसँगै चिसिँदै गएको पानीले शारीरिक अस्वस्थ हुन पनि सक्छ । उनीहरुका लागि त आफूले जन्मीहुर्की आएको भूगोल नै वातानुकुलित हुन्छ । यी सबै कुराहरुलाई लिएर नै नवदुलहीले साउनमा पानी छल्न माइती जानुपर्छ भन्ने विषयलाई बढी महत्व दिएको हुनुपर्छ । यसरी सोच्ने हो भने त सकारात्मक र प्रगतिशील तिथि नै मान्नुपर्ने पनि हुन्छ ।

झरी परिरहेको थियो

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) एक नम्बर प्रदेश समितिको यही २२ साउनमा सम्पन्न बैठकसँगै साउनको २० गतेबाटै मैले पूर्वी नेपालको चुरे पहाडको दक्षिण भू-भागमा यात्रा गर्ने कार्यक्रम तय गरें । मदन भण्डारी लोकमार्ग हुँदै उदयपुरदेखि सुनसरी मोरङको माथिल्लो भाग हुँदै पूर्व-पश्चिम राजमार्गको ईटहरीबाट दायाँवायाँ बस्तीहरुमा बसोबास गर्ने व्यक्तित्वहरुसँग कतिपय नयाँ सम्बन्धको स्थापना र धेरै जसो पुरानो सम्बन्धको नवीकरण गर्दै झापासम्म एक हप्ता लगाएर पुग्न सफल भइयो ।

कतिपय सन्दर्भमा त साउने पानी छल्न आएको भन्दै ठट्टा पनि गरियो । समाजमा साउने पानी छल्न माइती जाने चलन न्युन हुँदै गए पनि केही परम्पराको निरन्तरता र कतिपय देखासिकीको कारणले पनि होला छोरीचेलीहरु हरियो साडी, हरियै चुरा र हातभरी गाढा मेहन्दी लगाएर मन्दिर जाने र व्रत बस्ने लहर चाहिँ निक्कै नै देखिन्थ्यो । व्रतसँगै साउन महिना भरी मासु नखाने कुराले हामीलाई पनि प्रभाव भने पार्‍यो अर्थात हाम्रो चाहानाले मात्र मासु खान पाइएन । त्यसैले व्रतालुसँगै हामी पनि भेजिटेरियन नै भयौं ।

साउन महिनाको गर्मी र पानी छल्दै करिब-करिब एक सय वटा भेटघाट गरियो । स्थान विशेषको सामाजिक परिवेशसँगै कयौँ सुझाव र धेरै गुनासो सुन्दा लाग्थ्यो म कुनै विश्वविद्यालयमा छु । नसोचेका कुराहरु दिमागमा रोपिने बिर्सेका कुराहरु पुनःस्मरण हुने भव्य एक कार्यशालामा छिरेंजस्तै, कुनै विशाल ध्यान केन्द्रमा बसेजस्तै, छातिभित्र बुद्धलाई बोकेर लुम्बिनी घुमेजस्तै, मस्तिष्क ताजा, शरीरलाई आनन्द र जीवनलाई शान्ति मिलेको महसुस भयो । साँच्चै भन्नुपर्दा मलाई काठमाडौं फर्किने मनै थिएन ।

संविधानमा समाजवाद उन्मुख लेखिएको छ तर आज हाम्रो समाजवाद बर्मजीयाको असली बुढो बाजेको पेडा जस्तै भएको छ । राप्रपाले बाहेक सबैले समाजवाद भन्छन् तर नेपाली सापेक्षतामा कसको समाजवाद कस्तो हो ? स्पष्ट भएको छैन

यही सिलसिलमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा प्रारम्भ भएसँगै देशव्यापी विद्युतीय तरंग पैदा भयो । मुर्झिएकाहरुलाई एकै झट्कामा ब्युँझन बाध्य बनाइदियो । त्यसैले होला अनगिन्ती रुपले केही शंका, केही आशा र धरै-धेरै जिज्ञासाहरु साउने भेल जस्तै उर्लिएर आयो ।

कयौँले त सोधे, के माओवादी पार्टीमा आगो सल्केको हो ? मैले सहज रुपले उत्तर दिएँ, आगोको आविष्कार पछि मानव इतिहासमा विकासले फड्को मार्‍यो । मिठो खाना पकाउन, पाक्न र जीवनलाई जीवन जस्तो बनाउनका लागि आगो बाल्नु त अनिवार्य पर्छ तर घर खरानी पार्ने तरिकाले होइन ।

हाम्रो पार्टीमा लामो समयसम्म आगो बलेन, धुँवा मात्र आइरह्यो । अनि खाना पाकेन, जीवन चलेन, हामी रोगी भयौँ, आगो त बाल्नैपर्छ तर हामी सबै मिलेर घर खरानी हुन दिनु चाहिँ हुँदैन । यही प्रक्रियाबाट हाम्रो कमजोरीहरु सच्चाउने, भुलहरु प्रति आत्मालोचना गर्ने, गम्भिर गल्तीहरुप्रति पश्चाताप सहित जनतासँग माफी माग्नु सक्नुपर्छ ।

मलाई लाग्दछ पार्टीलाई नयाँ ढंगले पुरानै साखमा फर्काउन माओवादीको लागि यो एक चुनौतीपूर्ण दुर्लभ अवसरको रुपमा आत्मसाथ गर्न सक्नुपर्दछ । त्यही भनेर पदाधिकारी र स्थायी समितिको बैठकमा पार्टी रुपान्तरणको घान हालिएको हो भन्ने मेरो बुझाइ छ । केन्द्रीय समितिलाई अझ प्रभावकारी र बस्तुवादी बनाउनका लागि प्रदेश तहमा सुझाव संकलन शुरु गर्ने काम भएको छ । यो आशाप्रद र सकारात्मक कुरा हो ।

पूर्वी तराईका चार जिल्लाको यात्रा पछि दुई कुराको गहिरो अनुभूति सहित म काठमाडौं आएको छु । पार्टी भित्र सधैं कार्यक्रमहरु बनाउँदा पार्टी निर्माणको लागि संगठन परिचालन गर्ने भन्ने गरिन्छ । यो पुरानो परम्परालाई अब उल्टाएर विचार निर्माणको लागि आम पार्टी परिचालन गर्नु पर्दछ र त्यो विचारलाई पार्टीमार्फत जनतासँग निरन्तर जोडिरहनका लागि विचारको आधारमा कार्यक्रम सहित आधुनिक पुलको आविष्कार गर्नुपर्छ ।

त्यसैले नेपाली विशिष्टतामा समाजवादको विकास गर्न एक वर्षभरि ‘विचार निर्माणका लागि देश महायात्रा’ सञ्चालन गरौं । विचार निर्माणका लागि देश महायात्राले माओवादी पार्टीभित्रको संगठनात्मक संकट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ । तर, त्यो विचार निर्माण सामूहिक हुनुपर्छ, जनता आधारित हुनुपर्छ । त्यसलाई सफल बनाउन निम्न मौलिक तरिकाहरु अपनाउन सकिन्छ :

१. विचार निर्माणका लागि पहिलो काम

क) सिंगै संगठन परिचालन गरेर सामाजिक जीवनको सापेक्षतामा प्रकृतिलाई बुझौँ ।

ख) हाल नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेशको जनजीवनका आधारमा प्रकृतिलाई नजिकबाट बुझौँ ।

ग) प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता र सिंगो समाजको शैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौँ ।

घ) सामाजिक मूल्यमान्यताका सापेक्षतामा प्रकृतिलाई बुझेर “प्रकृतिमैत्री समाजवाद” निर्माण गरौँ ।

२. विचार निर्माणका लागि दोस्रो काम

क) आम पार्टी परिचालन गरेर जनविश्वविद्यालमा अध्ययन गरौं ।

ख) जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरुलाई नजिकबाट अध्ययन गरेर प्रगतिशील पक्षहरुलाई आधार मानी नेपाली विशिष्टतामा समाजवादी विचार र समाजवादको जग निर्माण गरौं ।

ग) समाजवाद “ल्याउने”, “आयात गर्ने” होइन, समाजवादमा “पुग्ने” हो भने नेपाली विशेषताको समाजवादको “विकास” गरौं । (संविधानमा समाजवाद उन्मुख लेखिएको छ तर आज हाम्रो समाजवाद बर्मजीयाको असली बुढो बाजेको पेडा जस्तै भएको छ । राप्रपाले बाहेक सबैले समाजवाद भन्छन् तर नेपाली सापेक्षतामा कसको समाजवाद कस्तो हो ? स्पष्ट भएको छैन ।)

३. विचार निर्माणका लागि तेस्रो काम

क) विश्व साम्राज्यवादका बहुमुखी सामर्थ्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौं र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौं ।

४. विचार निर्माणका लागि अन्तिम कामः संश्लेषण

क) जनस्तरबाट आएका ज्ञानहरु र विश्व साम्राज्यवाद सम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचार संश्लेषण गरौं ।

ख) समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा “अहिले यति गर्न सक्छौं”, “यस्तो गर्न सक्छौं अथवा चाहन्छौं” र “पछि यति गर्नेछौं” भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौं ।

१. संगठन परिचालन

समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य-मान्यतामा डोर्‍याउन सकिंदैन । नेपाली समाजले कतिपय मान्यताहरु भू-बनोट, वातावरण र ऋतुकालीन श्रमसँग निर्माण गरेको पाइन्छ । त्यसैले चार ऋतुको आधारमा पूर्व क्यालेण्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौं ।

क ) वसन्त अभियान- चैत, वैशाख, जेष्ठ महिना भरि सृजनाको काम गर्ने ।

ख) वर्षा अभियान- असार, साउन, भदौ महिनामा विचार निर्माण सँगै श्रम, बाढी पहिरो राहत, उद्धार, पुनःस्र्थापना र जनसचेतननाका काम गर्ने ।

ग) शरद अभियान-असोज, कार्तिक, मंसिर महिनामा आन्तरिक तयारी सँगै चाडवाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदन प्रदान गर्ने ।

घ) शिशिर अभियान-पुस, माघ, फागुन महिनामा वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शितलहरबाट बच्ने सचेतना, न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने ।

ङ) पार्टीको आमनीति सापेक्षित कार्यक्रम अन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने ।

यसरी व्यवस्थित गर्दा एकातिर वर्ष दिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ माथिबाट के आउँछ भनेर माथिल्लो कमिटीको तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन भने अर्कोतिर कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँ-नयाँ सिर्जनाको जन्म हुन्छ । स्वयम कमिटी र कमिटीका नेता हरसमय नयाँ-नयाँ विषय सोच्नु बाध्य हुन्छ ।

अन्त्यमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले बदलिएको समय अनुसार पार्टीमा “साउन” ल्याउन केही न केही सिर्जनशील कामहरू गर्नुको कुनै विकल्प छैन ।

(लेखक किराँती माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हुन् ।)



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School