प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार
मध्य म्यान्माको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताएका छन् ।
शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो ।
उक्त भवनको भग्नावशेषबाट ’नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको छ,” घटनास्थलमा रहेका रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने ।
उनले भने, “९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् । हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौँ । हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौँ।”
भूकम्पका कारण म्यान्मामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ । विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ ।
यो दशकौँपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो जसमा १७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।
भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ तल्लामध्ये छ तला मात्र दखिएको छ ।
भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउनका लागि आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीय स्तरमा उपलब्ध डोजर र स्काईभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन् ।