कार्यालयहरूबाट हुने योजनाको चिठी बाँड्दै मधेशका पूर्वाधारमन्त्री, कमिसनमा बेचेको आशंका


२३ फागुन, जनकपुरधाम । चालु आर्थिक वर्ष २०८१/८२ का लागि पूर्वाधार विकास कार्यालय बारामा जम्मा १ सय ८६ योजना छन् । तीमध्ये २३ योजना बहुवर्षीय हुन् ।

तीबाहेक मन्त्रालयले पठाएको सूचीका आधारमा ११ प्रदेश सांसदलाई डेढदेखि ४ करोडसम्मका १ सय योजनाको चिठी वितरण गरिएको पूर्वाधार कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र साहले बताए ।

उनका अनुसार बाँकी योजनाको चिठी दर्ता चलानी गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइएको छ ।

‘मन्त्रालयबाट आएको निर्देशन अनुसार नै सय वटा योजनाको चिठी माननीयजीहरूलाई वितरण गर्यौंं । बुहवर्षीय १६ वटा बाहेकका योजनाको चिठी मन्त्रालय पठायौं,’ निमित प्रमुख साहले भने ।

यस्तै पूर्वाधार विकास कार्यालय धनुषामा जम्मा २ सय ७२ योजना छन् । जसमा ८० योजनाको चिठी प्रदेश सांसदलाई वितरण गरिएको कार्यालयका निमित प्रमुख रामकिशोर साह बताउँछन् ।

कार्यालय स्रोतका अनुसार बाँकी योजनाको चिठी मन्त्रालयको निर्देशन अनुसार धेरै उतै पठाइएको छ भने केही मन्त्रीको सचिवालयका कर्मचारीले बुझेका छन् ।

पूर्वाधार विकासमन्त्री यादवको गृह जिल्ला महोत्तरी रहेका कारण यहाँ सबैभन्दा बढी ४ सय ३६ योजना रहेको छ । त्यसमध्ये धेरै योजना उनको क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ (क) मा छ ।

निमित प्रमुख साह अन्य योजनाका हकमा मन्त्रालयको निर्देशन अनुसार नै वितरण भएको बताउँछन् । तर, सबै चिठी वडा कार्यालयमा जाने उनको भनाइ छ ।

‘मन्त्रालयको निर्देशन अनुसार नै योजना वितरण गरेका छौं,’ उनले भने । २० फागुनसम्म प्रदेश सांसदलाई वितरण गरिएको ७८ योजनाको दर्ता चलानी कार्यालयको तथ्यांकमा छ । मन्त्रालयले आफू अनुकूल वितरण गर्ने योजनाको छुट्टै दर्ता चलानी रजिस्टर अलग्गै खडा गरेको हुन सक्ने कर्मचारी बताउँछन् ।

पूर्वाधार विकास कार्यालय बारा र धनुषाभन्दा भिन्न मधेश प्रदेशका अन्य जिल्लाको अवस्था छैन । प्रदेश सांसदलाई वितरण गर्ने योजना बाहेकका योजनाको चिठी मन्त्रीको हातमा पुग्छ अथवा मन्त्रीले भने अनुसार व्यक्तिलाई वितरण गर्ने गरिएको कार्यालयहरूकै भनाइबाट पुष्टि हुन्छ ।

कानुन विपरीत पूर्वाधार कार्यालयबाट योजनाको चिठी भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले लगेको, अनधिकृत रूपमा बिक्री वितरण भएको भन्दै पूर्वाधार विकास कार्यालय महोत्तरीमा बुधबार वडाध्यक्षहरूले तालाबन्दी नै गरेका छन् ।

त्यसको अघिल्लो दिन मंगलबार उनीहरूले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

पूर्वाधार विकासमन्त्री यादवको गृह जिल्ला महोत्तरी रहेका कारण यहाँ सबैभन्दा बढी ४ सय ३६ योजना रहेको छ । त्यसमध्ये धेरै योजना उनको क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ (क) मा छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजेशलाल कर्ण मन्त्रालयको निर्देशन अनुसार नै योजनाको चिठी वितरण भएको बताउँछन् । तर, उनले मन्त्रीले नै सबै योजनाको चिठी एकमुष्ट लगेको बयान वडाध्यक्ष समक्ष प्रजिअ कवारीलाई दिएको महोत्तरीको रामगोपालपुर नगरपालिका–८ का वडाध्यक्ष रामपदार्थ मण्डलले बताए । उनले सोही कारण पूर्वाधार कार्यालयमा तालाबन्दी गरेको बताए ।

‘मन्त्रीले एकमुष्ट योजनाको चिठी पूर्वाधार कार्यालयबाट लगेका छन् । डीजी साबले नै त्यो कुरा हाम्रो उपस्थितिमा सीडीओ समक्ष स्वीकार्नु भएको छ,’ वडाध्यक्ष मण्डलले भने, ‘चिठी त सिस्टम अनुसार पूर्वाधार कार्यालयबाट वडा कार्यालयमा सिधै पठाउनुपर्ने हो । मन्त्रालयले चिठी लग्नु त कानुन विपरीत हो । मन्त्रालयमा लगेर कमिसनमा विक्री वितरण हुन्छ । त्यसकारण तालाबन्दी गरेका हौं ।’

कानुनतः कार्यालयबाट योजनाको चिठी कार्यान्वयनका लागि सोझै वडा कार्यालय वा स्थानीय तहमा पुग्नुपर्ने हो । वडा कार्यालयले चिठी अनुसार उपभोक्ता समिति गठनका लागि खुला भेला डाक्न सात दिन पूर्व सार्वजनिक सूचना आह्वान गर्नुपर्ने प्रावधान छ ।

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० मा वडा कार्यालयले त्यसरी पूर्वसूचना जारी गरी आयोजना स्थलमा भेला डाकेर समावेशी सिद्धान्तका आधारमा ७ देखि ११ सदस्यीय समिति गठन गर्नुपर्छ । र, त्यस उपभोक्ता समितिले योजना कार्यान्वयन गर्ने व्यवस्था छ । यसपालि सरकारले विगत वर्षकै उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार गर्ने कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयमा चालु आव सबैभन्दा बढी १४ अर्ब बढी बजेट छ । विगतमा पूर्वाधार कार्यालयबाट मन्त्रालयको निर्देशन वा कार्यालयले स्वेच्छिक रूपमा योजनाको चिठी वितरण गर्ने अभ्यास थियो । तर, यो वर्ष पहिलो पटक कार्यालयहरूबाट योजनाको चिठी मन्त्रालयमा ल्याएर मन्त्री र तिनको सचिवालयले वितरण गर्ने गरेको खुलेको हो ।

मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले कार्यालयबाट मन्त्रालयमा चिठी आएर वितरण भइरहेको बारे अनभिज्ञता प्रकट गरे ।

‘मन्त्रालयमा योजनाको चिठी आउने र वितरण हुने विषयमा मलाई केही जानकारी छैन । कमिसनमा योजना बिक्रीको हल्ला सुनिरहेको छु । त्यस हल्लामा केही भ्रम र सत्यता दुवै हुन सक्छ,’ उनले भने ।

उनले औपचारिक रूपमा टेन्डर प्रक्रियाबाटै योजनाको काम भए योजना बिक्रीको हल्लाले भइरहेको मधेश बदनामीबाट बच्न सकिने बताए । निमित सचिव साहको अनभिज्ञताले मन्त्री र उनका सचिवालयबाट योजनाको चिठी जिल्लाबाट तानेर वितरण भइरहेको भन्ने बुझ्न कठिन छैन ।कार्यालयहरूबाट हुने योजनाको चिठी बाँड्दै मधेशका पूर्वाधारमन्त्री, कमिसनमा बेचेको आशंका

पूर्वाधार विकासमन्त्री यादवले केही महत्त्वपूर्ण योजनाको चिठीमात्र मन्त्रालय आएको हुन सक्ने स्वीकारे ।

‘केही भवन लगायत महत्त्वपूर्ण योजनाको दायाँबायाँ नहोस् भनेर, संवेदनशील रहेकाले यहाँ आएको हुन सक्छ । केही सामुदायिक भवन । जस्तो कि, मदन स्मृति भवन, मनमोहन स्मृति भवन । त्यो संस्थागत हिसाबले सम्बन्धित व्यक्तिलाई दिनुपर्छ,’ उनले दाबी गर्दै भने, ‘केही महत्त्वपूर्ण योजनाका चिठीबाहेक यहाँ आएको छैन । यहाँबाट कसरी चिठी वितरण गर्ने ? त्यसको त इन्ट्री गर्नुपर्छ, रिसिभ गर्नुपर्छ । दर्ता चलानी गर्नुपर्छ ।

मन्त्रालयबाट योजना वितरण कमिसनको मलजल

विगतमा कार्यालयबाटै योजनाको चिठी वितरण हुँदा कमिसनमा बिक्री वितरण हुने चर्चा थियो । यसपालि मन्त्रालयमा तानेर चिठी वितरण भइरहेको घटनाले कमिसनमा योजना बिक्री वितरण भइरहेको कुरालाई मलजल गरेको छ ।

मन्त्री र उनका सचिवालयका मानिसले नै ७ देखि २५ प्रतिशतसम्म कमिसनमा योजनाको चिठी वितरण गर्ने गरेको व्यापक चर्चा छ । चिठी बुझेका एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘२५ लाखको योजनाको चिठी १२ प्रतिशत कमिसनमा किनेको हुँ । २० प्रतिशत माग्दै थिए ।’

विगतमा उपभोक्ता समितिबाट काम गराउँदा योजना कमिसनमा बिक्री वितरण हुने र यसले बदनामी भइरहेको भन्दै २५ जेठमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री सिंहले खुला प्रतिस्पर्धाबाट काम गराउने नीति लिए ।

तत्कालीन अर्थमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले चालु आव बजेट वक्तव्यको १ सय ४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धा मार्फत काम गराउने उल्लेख गरे ।

त्यसलाई सुरुमा कस्ने अडानमा थिए मुख्यमन्त्री सिंह । तर, समीकरण फेरिँदा सत्तासीन दल नेकपा एमाले र नेपाली कांग्रेसको दबाबमा उपभोक्ता समितिबाट काम गराउने बाटो खोल्न जनमत सरकार पछाडि हटे ।

यसपालि मन्त्रालयमा तानेर चिठी वितरण भइरहेको घटनाले कमिसनमा योजना बिक्री वितरण भइरहेको कुरालाई मलजल गरेको छ ।

बजेट वक्तव्यको १ सय ४७ नम्बर बुँदा संशोधन गराउन सत्ता गठबन्धनको सहमतिमा सदनबाट ६ माघमा संकल्प प्रस्ताव बुहमतबाट पारित भएको थियो । उपभोक्ताबाट काम गर्ने बाटो खुलेपछि चिठी गैरकानुनी रूपमा वितरण हुने क्रम चलेको छ ।

विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह सरकार चोर बाटोबाट संकल्प प्रस्ताव पारित गरी योजना बिक्री गरिरहेको दाबी गर्छन् ।

‘विनियोजन ऐन र बजेट वक्तव्य संकल्प प्रस्तावबाट संशोधन हुँदैन । तर, सरकार चोरबाटोबाट संकल्प प्रस्ताव पारित गरेर उपभोक्ता समितिका योजना खुलमखुला चियापसल, पान पसल, मन्त्रीको क्वाटरमा वितरण भइरहेको छ । भौतिक पूर्वाधार लगायत अन्यत्र मन्त्रीको रवैया यस्तै छ । यो निर्लज्जताको पराकाष्ठा हो,’ उनले दाबी गरे ।

प्रमुख प्रतिपक्षी दल जसपा नेपालका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादव पनि योजना गैरकानुनी तरिकाले बिक्री वितरण भइरहेको दाबी गर्छन् ।

‘मन्त्रीको पीए नै पैसा लिएर योजनाको चिठी दिइरहेका छन् । कार्यालयबाट वितरण हुनुपर्ने योजना मन्त्रालयमा ल्याएर वितरण गरिरहेका छन् । योजना बिक्री भइरहेको योभन्दा ठूलो प्रमाण के हुन्छ ?,’ नेता यादवले भने ।

नेता यादवको भनाइ अनुसार नै भन्ने हो भने मन्त्री यादवका सचिवालयकै एक कर्मचारीसँग कुरा भएको दाबी गरिएको एउटा ह्वाट्सएपको अपुष्ट स्क्रिनसट फेला परेको छ । जसमा ७.५ प्रतिशत कमिसन दिनुपर्ने भनेर बार्गेनिङ भएको छ । तर, आरोप लगाइएका कर्मचारीले भने उक्त ह्वाट्सएपका कुराकानी आफ्नो नरहेको दाबी गरेका छन् ।

यता, भौतिक पूर्वाधारमन्त्री यादव योजना बिक्री वितरणको कुरामा कुनै सत्यता नरहेको दाबी गरे ।

‘कमिसनको हल्ला त पहिलेदेखि नै भइरहेको छ । योजनामा कमिसन खाएको कुनै टेप, कुनै रेकर्ड, मन्त्री, मन्त्रीको स्वकीय सचिवको प्रमाण देखाएपछि न पुष्टि हुन्छ,’ मन्त्री यादवले भने, ‘यस्तो तथ्यहीन विषयमा हामीलाई मलाई केही भन्नु छैन । चित्तबुझे राम्रो नबुझे नराम्रो ।’





Source link

Leave a Comment