यस हप्ता अमेरिकाको पूर्वी आधा हिस्साले अत्यधिक गर्मीको सामना गरिरहेको छ, जसमा देशको राजधानी पनि समावेश छ। राष्ट्रिय मौसम सेवाका अनुसार बिहीबार वासिङ्टन डी.सी. को अधिकतम तापक्रम १०१ डिग्री फरेनहाइट (करीब ३८.३ डिग्री सेल्सियस) पुगेको थियो भने शुक्रबारको पूर्वानुमानमा तापक्रम १०३ डिग्री फरेनहाइट (करीब ३९.४ डिग्री सेल्सियस) सम्म पुग्न सक्ने बताइएको छ।
यो अत्यधिक गर्मी यस्तो समयमा आएको छ, जब डी.सी. मा जुलाई ४ को सप्ताहान्तमा देशको २५०औं ऐतिहासिक स्थापना दिवस मनाइँदैछ। चर्को गर्मीका कारण यहाँ आयोजना हुने थुप्रै कार्यक्रमहरू प्रभावित हुन सक्ने देखिएको छ।
यस हप्ता आफूलाई शीतल राख्ने योजना बनाउनुहोस्: पर्याप्त पानी पिउनुहोस्, सम्भव भएसम्म हल्का र खुकुलो कपडा लगाउनुहोस्, र परिवार तथा साथीभाइहरू गर्मीबाट सुरक्षित छन् कि छैनन् भनी बुझ्नुहोस्, राष्ट्रिय मौसम सेवाको बाल्टिमोर/वासिङ्टन पूर्वानुमान कार्यालयले बुधबार सामाजिक सञ्जालमा लेखेको छ।
शनिबारसम्म यस्तै उच्च तापक्रम रहने मौसम पूर्वानुमान भइरहँदा, गर्मीले डी.सी. मा २५०औं स्वतन्त्रता दिवस र जुलाई ४ का उत्सवहरूलाई कसरी असर गरिरहेको छ भन्ने विवरण तल दिइएको छ:
युएस क्यापिटल पुलिसले शुक्रबार बिहान वेस्ट लनमा हुने साँझको कन्सर्टका लागि गेट खुल्ने समय ढिलो गरिएको जानकारी दिएको छ। अत्यधिक गर्मीको पूर्वानुमानका कारण, बेलुका ८ बजे सुरु हुने कन्सर्टका लागि सर्वसाधारणका लागि गेट बेलुका ७ बजे मात्र खोलिनेछ। प्रहरीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, सबै आगन्तुकहरूलाई डिहाइड्रेसनबाट बच्न पर्याप्त मात्रामा पानी बोक्न कडा आग्रह गरिन्छ।
अत्यधिक गर्मीको सामना गरिरहेको वासिङ्टन डी.सी. मा जुलाई ४ मनाउन गरिने विश्वकै ठूलो भनिएको आतिशबाजी कार्यक्रमको प्रवेश समय पनि सारिएको ‘फ्रीडम २५०’ का आयोजकहरूले बिहीबार बताएका छन्। संशोधित तालिका अनुसार, वासिङ्टन स्मारक मैदानमा सर्वसाधारणका लागि प्रवेश साँझ ५ बजे अघि खुल्ने छैन। आयोजकहरूले गर्मीको जोखिम कम गर्न सर्वसाधारणलाई गेट खुल्नुभन्दा १ घण्टा अगाडि मात्र आउन आग्रह गरेका छन्।
यस अन्तर्गत ‘सैल्युट टु अमेरिका’ कार्यक्रम साँझ ७ बजे सुरु हुनेछ भने ट्रम्पले राति ९:४५ बजे मन्तव्य राख्ने तालिका छ। त्यसपछि उत्सवको उपलक्ष्यमा राति १०:३० बजेदेखि आतिशबाजी सुरु हुनेछ। युएस पार्क पुलिस, नेशनल पार्क सर्भिस, सेक्रेट सर्भिस र फेमा सँगै जारी गरिएको संयुक्त विज्ञप्तिमा आयोजकहरूले सहभागी, कलाकार र कर्मचारीहरूको “सुरक्षा र आराम” लाई प्राथमिकता दिँदै यो फेरबदल गरिएको बताएका छन्।
नेशनल मलमा आयोजना हुने ‘ग्रेट अमेरिकन स्टेट फेयर’ को दैनिक रोडियो (घोडचढी/पशुसम्बन्धी साहसिक खेल) बिहीबार स्थगित गरिएको छ। आयोजक संस्था फ्रीडम २५० ले सामाजिक सञ्जालमा लेखेको छ, तालिका अपडेट-आजको फ्रीडम २५० रोडियो स्थगित गरिएको छ। उत्सव आज राति ९:०० बजे बह–प्लेटिनम र ग्रामी-नामांकित सुपरस्टारको सानदार प्रस्तुति र चर्चित गीतहरूसँगै जारी रहनेछ। उनीहरूले मेला क्षेत्रभरि निःशुल्क पानी वितरण स्टेशनहरू र खानेकुरा खरिद गर्ने व्यवस्थाहरू उपलब्ध रहेको पनि जनाएका छन्।
क्यापिटल पुलिसले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण बिहीबार रातिको कन्सर्ट रिहर्सलमा सर्वसाधारणलाई सहभागी हुन रोक लगाइएको जनाएको थियो। मुख्य चिकित्सकको कार्यालयसँगको सुरक्षा परामर्शपछि यो निर्णय लिइएको हो। मौसम सेवाले तापक्रम १०० डिग्री भन्दा माथि जाने भन्दै अत्यधिक गर्मीको चेतावनी जारी गरेको थियो।
