३० असार, काठमाडौं । सञ्चार गृहहरू र केही नेताको घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गर्ने योजनाकारको खोजी भएको छ । साथै यसको के हो भनेर सांसदहरूले संसदमै सोधीखोजी र सवालजवाफ गरेका छन् ।
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो ।
एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएपछि सम्बन्धित मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मिडिया हाउस पुगेर प्रहरीले गाडी धनीको सोधखोज गरे । गाडी उठाएर लगे । तर कसले यस्तो गर्यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाएको छैन ।
मंगलबार यो विषय संसद्मा उठ्यो । नेकपा एमालेले सञ्चारगृहहरू अगाडि गाडी तेर्स्याइएको घटना सार्वजनिक भएपछि पञ्चायतकालीन मण्डलेतन्त्र सम्झिएको बतायो ।
एमालेका तर्फबाट सभामुखसँग विशेष समय लिएर सांसद गणेशसिंह ठगुन्ना बोले । ‘मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यलय वा घरमा सावरीसाधन तेर्साएर मानसिक त्रास फैलाउने जुन काम भएको छ’ उनले भने, ‘हेर्दा यो सांकेतिक र सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्को याद आउँछ ।’
दार्चुलाका ठगुन्ना पञ्चायतकालीन शासन व्यवस्थालाई समेत अनुभूत गरेका नेता हुन् । २०४५ सालदेखि राजनीतिमा रहेका ठगुन्ना २०७०, २०७४ र २०८२ गरेर तीन पटक निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
नेपालमा पञ्चायतकाल २०१७ सादेखि २०४६ सालसम्म रह्यो । उक्त समयमा प्रजातन्त्र पक्षधरहरूले पञ्चायती व्यवस्थाका समर्थक समूहलाई ‘मण्डले’ भन्ने शब्द प्रयोग गर्दथे । त्यस्ता समूहमाथि बहुदलीय व्यवस्था, विद्यार्थी आन्दोलन, पत्रकार र लोकतन्त्र पक्षधरमाथि दबाब सिर्जना गर्ने, विरोधीलाई तर्साउने वा राज्य शक्तिको संरक्षणमा गतिविधि गर्ने गरेको आरोप लाग्ने गर्दथ्यो ।
मिडिया हाउसअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनालाई पनि एमाले सांसद ठगुन्नाले पञ्चायतकालमा राज्य शक्तिको संरक्षणमा हुने गरेको गतिविधिसँग तुलना गरेका हुन् ।
कतिपय सांसदले भने शंकास्पद रुपमा गाडी पार्किङ गरेर सञ्चारंचगृहमाथि मनोवैज्ञानिक दबाब दिने प्रयासलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनसँग तुलना गरे ।
शंकास्पद गाडी पार्किङका योजनाकार खोजी गर्ने क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सचेतक प्रकाशचन्द्र परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा पठाएको घटना स्मरण गरे ।
‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई–चारवटा गाडी तेस्र्याएर तर्सिन्छ र ?’ रास्वपा सचेतक परियारको प्रश्न छ ।

परियार आफैँ पनि पूर्व पत्रकार हुन् । पत्रकारिता छाडेर पछिल्लो दशकमा वैकल्पिक राजनीतिमा सक्रिय भएका परियार विवेकशील साझा पार्टीको उपाध्यक्ष र प्रवक्ता हुँदै रास्वपामा पुगेका हुन् ।
सञ्चारमाध्यममाथि हुने दबाब वा धम्कीको विरोध गर्दै परियारले प्रतिनिधिसभामा महात्मा गान्धीको भनाइ उद्धृत गर्दै सुनाए, ‘प्रेस एउटा ठूलो शक्ति हो ।’
नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सञ्चारगृहको गेटमा गाडि तेर्स्याएको विषयलाई वाक स्वतन्त्रतासँग जोडिन ।
उनले भनिन्, ‘सञ्चारगृहहरूको गेटमा र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा शंकास्पद रुपमा गाडीहरू तेर्स्याएर नागरिक क्षेत्रलाई तर्साउने जुन योजनाबद्ध खेल भयो यो नागरिक क्षेत्रको प्रत्यक्ष आक्रमण हो । यो वाक स्वतन्त्रतामाथिको धावा हो ।’
सरकार तिरै प्रश्न
सञ्चारगृहहरू अगाडि शंकास्पद रूपमा गाडी पार्किङ योजनाकार खोज्ने क्रममा कतिपय सांसदले राज्य संयन्त्रतिरै औंला ठड्याएका छन् ।
मंगलबार नै नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । यो कार्यमा प्रहरी प्रशासनकै संलग्नता रहेको कांग्रेसको दाबी छ ।
प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सचेतक निश्कल राई बोले ।
‘सरकार १८२ सिटको प्रचण्ड बहुमतको सरकारमाथि किन प्रश्न गरिस् भन्दै सभापतिज्यूको घर अगाडि लगेर पार्क गर्छ । त्यो पनि प्रहरी प्रशासनकै सहयोगमा’ राईले भनेका छन्, ‘शंकास्पद लागेपछि समुदायले शान्ति सुरक्षा खोज्छ । बिडम्बना प्रहरी मुकदर्शक बन्छ र दिनभर गाडी पार्कमै छाड्छन् ।’

सञ्चार गृहअगाडि शंकास्पद रुपमा पार्किङ गरिएका गाडी सत्तारुढ दलका नेताको भएको दाबी गर्दै उनले यो कार्यको योजनाकार खोज्ने प्रयास गरे ।
उनले भनेका छन्, ‘सभापतिज्यूको घरमा मात्रै भएको होइन । कान्तिपुर, अनलाइनखबरजस्ता प्रतिष्ठित सञ्चारमाध्यम अगाडि पनि त्यस्तै गाडी छाडेर हिँडिन्छ । त्यो पनि सत्तारुढ दलकै नेताको गाडी ।’
बा ०१–०३४ च ८४८० नम्बरको गाडी कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको थियो । यो गाडी रास्वपाका नेता रवि जैसवालले चढ्ने गरेको गाडी भएको खुलेको छ । जैसवाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको मनोनीत सदस्य हुन् ।
अनलाइनखबरको गेटमा पार्किङ गरेर छोडिएको बा १२ च ८५४५ नम्बरको सो गाडी भने आँखा क्लिनिक सञ्चालकको रहेको खुलेको छ । यो गाडी काठमाडौंको गोकर्णेश्वरका सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था कार्यालयको रेकर्डमा देखिन्छ ।
यस्ता विवरण सार्वजनिक भइरहेका बेला कांग्रेसले सञ्चार गृह र गगन थापाको घर अगाडि शंकास्पद रुपमा गाडी पार्किङ योजनाकार खोज्ने क्रममा सरकार र सत्तारुढ दल रास्वपातित्रै औंला ठड्याएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मिडिया र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा गाडी पार्किङ गराउने कार्यलाई राज्य आतंकको संज्ञा दिए ।

‘आफैं सरकारमा बस्ने, आफैं आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।
साथै यस्तो गतिविधि इतिहासमा लेखिने उनको चेतावनी छ । राप्रपा संसदीय दल शाहीले भनेका छन्, ‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ ।’
नेपाली कम्युनिस्ट पार्टीले पनि शंकास्पद रूपमा गाडी पार्किङ गर्ने कार्यमा सरकार समर्थित व्यक्तिको संलग्नता रहेको दाबी गरेको छ ।
‘प्रकारान्तरले देखियो राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’ नेकपाका सांसद रमेश मल्लले भने ।
शंकास्पद रुपमा गाडी पार्किङ गर्ने कार्यको विरोध गर्दै यसमा प्रतिपक्षी दलका सांसदहरूले सरकार र सत्तारुढ दलतिरै औंला ठड्याएपछि सत्तारुढ दलका कतिपय सांसदले शब्द चयनलाई लिएर नियमापत्ति गरे ।

रास्वपा सांसद टीका संग्रौलाले ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति आएको भन्दै नियमापत्ति गरिन् ।
‘राज्यको नैतिकता र शिष्टाचार प्रतिकुल हुने गरी उहाँ (विपक्षी दलका सांसद्)ले राज्यले परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो । म यो शब्दप्रति घोर आपत्ति जनाउन चाहन्छु’ उनले भनिन्, ‘र नियमापत्ति यसकारण गर्न चाहन्छु, एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन् ।’
रक्षात्मक नेतृत्व
सरकार र सत्तारुढ दलप्रति प्रश्न उठिरहेका बेला रास्वपा सभापति रवि लामिछाने केही रक्षात्मक देखिएका छन् ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले मिडिया हाउसका गेटमा अवरोध पुग्नेगरी शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने बताए ।
‘पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । यो गलत हो भनेर हामीले भनेका छौं । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ सभापति लामिछानेले भनेका छन् ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सोमबार नै विज्ञप्ति निकालेर सञ्चार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा गाडी राखिएको घटनाको भत्सर्ना गरेका थिए । ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न रास्वपाले सरकारलाई भनेको छ । यदि यस्तो गतिविधिमा रास्वपाकै नेता/कार्यकर्ता संलग्न रहेको पाइए के हुन्छ ?
जवाफमा रास्वपा सभापति लामिछानेले भनेका छन्, ‘किन हुँदैन ? त्यस्तो पनि प्रश्न हो र ? रास्वपा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो । रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु, जो भए पनि हुन्छ ।’
रास्वपा सभापति लामिछानेले यो घटनाका सन्दर्भमा संलग्नलाई कारबाही हुने प्रतिबद्धता जनाइरहँदा सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पनि अनुसन्धान भइराखेको प्रतिक्रिया दिएका छन् ।
राज्य संयन्त्रै संलग्नतामा सञ्चार क्षेत्रलाई तर्साउने प्रयास भएको भन्ने प्रश्नमा उनले भनेका छन्, ‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालय अन्तर्गतकै हो । गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला ।,’ बरु सरकारले शंकास्पद रुपमा गाडी पार्किङ गर्ने कार्यमा संलग्नलाई कारबाही गरिने उनको प्रतिबद्धता छ ।
‘प्रहरीले यसमा को को संलग्न छ भन्ने खोजी गर्दैछ । प्रवक्ता पोखरेलले भनेका छन्, ‘जुनसुकै पार्टीको भए पनि के सजाय हुनुपर्ने हो हुन्छ ।,’
सरकारका प्रवक्ताले यस्तो प्रतिबद्धता जनाए ती शंकास्पद सावी धनीलाई सामान्य ट्राफिक जरिबाना तिराएर छाडिएको छ । सञ्चारगृह अगाडि शंकास्पद पार्किङ गरिएका गाडी उठाएर लैजान क्रेनलाई ८ हजारदेखि १०/१२ हजार रुपैयाँ तिरिएको थियो । जबकि, त्यस्ता गाडी छाड्दा पाँच सय जरिबाना मात्रै तिराइएको छ ।
