बालकथा : काग


जनक घरको छततिर गएका थिए, छत वरिपरि थुप्रै कागहरू कराइरहको देखे । वरिपरिका घरमा पनि थुप्रै कागहरू जम्मा भएका थिए । कागहरू कराउँदै उठ्थे, केही छिनमा छतमा आउँथे । जनकले वरिपरिका घरका छततिर हेरे । यति धेरै काग एकै ठाउँमा उनले कहिल्यै देखेका थिएनन् । छतभरी काग देखेर जनक छतमा जानै डराए ।

जनक दौडिँदै घरको भर्‍याङ ओर्लिदै हजुरबाको कोठामा पुगे ।

नाति हतारिँदै आएको देखेर हजुरबाले सोध्नुभयो, “जनक तिमी किन आत्तिएर दौडेको ?”

जनकले स्याँस्याँ गर्दै भने, “हजुरबा….! हजुराबा….!”

“के भयो नाति जनक?के हजुरबा हजुरबा मात्रै भनेको । किन स्याँस्याँ गर्दै दौडेको नि? के भयो भनन ?”, हजुरबाले भन्नुभयो ।

“हजुबा ! हजुरबा ! माथि छतमा……, छतमा…….”, जनकले भने ।

जनकको अनुहार त्रसित थियो । उनको मुटु ढुकढुक भएको थियो । अनुहारमा पसिना आएको थिए ।

खगराज बराल

“के भयो छतमा? के भन्छन् यिनी?”, आश्चर्य मान्दै हजुरबाले भन्नुभयो ।

यति बेलासम्म जनकको स्याँस्याँ रोकिएको थियो । अब भने जनकले ढुक्कले हजुरबालाई भन्न सक्ने भएका थिए ।

“हजुरबा, हजुरबा । माथि छतमा कागै काग छन् । यति धेरै काग छन् कि मैले त गन्नै सकिनँ । हाम्रो छतमा मात्रै होइन, छिमेकीका छतमा पनि कागैकाग छन् । सबै एकै स्वरमा कराएर हल्ला गरिरहेका छन् । मलाई त डर लाग्यो, अनि दौडिदैँ आएँ ।”

“ए, कुरा त्यसो पो रहेछ । कुनै काग मर्‍यो कि ? कुनै कागलाई विपद् आइलाग्यो कि?”

“काग मर्‍यो भने यसरी सबै काग जम्मा भएर कराउँछन् र हजुरबा?”

“हो, कागलाई विपद् आइलाग्यो भने सबै काग जम्मा भएर कराउँछन् । अनि, कुनै काग मर्‍यो भने पनि यसै गरी जम्मा भएर कराउँछन् ।”

“विपद् भनेको के नि हजुरबा ?”

“विपत्ति क्या विपत्ति!दुर्दशा क्या दुर्दशा ! विपद् भनेको सङ्कट हो । कुनै विपत्तिआएको सङ्केत गर्न पनि कागहरू जम्मा भएर कराउँछन् ।”

“अनि, हाम्रा छत भरी कागहरू जम्मा भएका के भएर होला त हजुरबा?”

“त्यो त त्यहीँ गएर हेरेपछि थाहा पाइन्छ । जाऔं हेर्न ।”

“म त नजाने हजुरबा ।”

“किन ?”

“यति धेरै कागहरू छन् कि मलाई त डर लागेको छ । कतै मलाई टोक्छन् कि?”

“टोक्दैनन्, बरु ठुङ्न सक्छन् । छतका कागहरूले त यसको सात्तै लिएछन् त ।”

“ठुङ्ने भनेको के हो हजुरबा?”

“चराको चुच्चाले घोपेझैँ गरी हान्नेलाई ठुङ्ने भनिन्छ । एक किसिमले चराले टोक्ने जस्तै हो ।”

“किन चुच्चाले घोप्ने त?”

“चराहरूलाई रिस उठेमा मानिसले झै हातले हान्न सक्दैनन् नि । उनीहरूको हतियार भनेकै चुच्चो हो नि ।”

“जानुहोस् न हजुबा छतमा । कागहरू किन त्यसरी जम्मा भएका रहेछन्, बुझेर आउनु न ।”

हाम्रो धर्म र संस्कारमा कागलाई मृत्युका देउता यमराजको सन्देश बाहक मानिने गर्छ । हजुरबाले मनमनै सोच्नुभयो । काग कराउँदा नराम्रो खबर आउँछ भन्थे । हजुरबाको मनमा अनेकौ शङ्का उब्ज्यो ।

“तिमी त डरायौ नि । म एक्लै छतमा गएर बुझेर आउँछु ।”

“म छतभन्दा तल बस्छु नि हैँ ।”

“हुन्छ ।”

हजुरबा छततिर जानुभयो । जनक हजुरबाको पछिपछि लागे । हजुरबा छतमा निस्कनुभयो । जनक छतभन्दा तलै बसे ।

हजुरबाले छतको वरिपरि हेर्नुभयो । कतै केही देख्नुभएन । छिमेकीहरूका छत भरी पनि कागैकाग थिए । छिमेकीमा मानिसहरू पनि के भएको होला भनेर छतमा निस्केर वरिपरि हेरिरहेका थिए ।

कागहरू एउटा घरको छतबाट अर्को घरको छतमा उड्दै कराउँदै थिए ।

वरिपरिको वातावरण कागहरू को ‘काँ काँ’ आवाजले गुञ्जयामान् थियो । के अनिष्ट भएको हो भनेर मानिसहरू अनुमान लगाउन सकेका थिएनन् ।

हाम्रो धर्म र संस्कारमा कागलाई मृत्युका देउता यमराजको सन्देश बाहक मानिने गर्छ । हजुरबाले मनमनै सोच्नुभयो । काग कराउँदा नराम्रो खबर आउँछ भन्थे । हजुरबाको मनमा अनेकौ शङ्का उब्ज्यो ।

हजुरबाले तिहारमा काग पूजा गरेको सम्झनु भयो । गाउँघरमा आँगनको डिलमा, आँगनको टगालोमा काग बसेर कराउँदा सुबोल् सुबोल भनेको पनि सम्झनुभयो ।

हजुरबाले दुई चारपटक ‘सुबोल सुबोल’ भनी दोहोर्‍याउनु भयो ।

बालकथा : काग

कागहरू कराउन भने छाडेनन् ।

हजुरबा छतबाट पानी ट्याङ्की राखिएको सानो छतमा चढ्नुभयो । बुढेसकाल लागेर होला हजुरबालाई सानो छतमा भर्‍याङ चढेर उक्लन निकै सकस भयो ।

हजुरबा मुस्किलले सानो छतमा चढ्नुभयो । सानो छतमा एउटा काग उत्तानो परेर छटपटिएको रहेछ । हजुरबा कागको नजिकै जानुभयो । त्यति नै बेला केही कागहरू  हजुरबालाई ठुङ्नका लागि पटकपटक प्रयास गरिरहे । हजुरबाले हातैले ती कागहरूलाई धपाउनु भयो ।

हजुरबाले काग किन उत्तानु परेको रहेछ भनेर गहिरो गरी हेर्नुभयो । कागका दुवै पखेटालाई कैंची पारेर धागाले अल्झाएको रहेछ ।

सुरुमा त हजुरबाले हातैले त्यो धागोलाई चुडाल्ने प्रयास गर्नुभयो । तर, धागो बलियो थियो । धागो चुँडिएन ।

हजुरबाले धागाको लहरालाई हेर्नुभयो । धागो त चङ्गा चैट भएर चङ्गासहित सानो छतमा आएको रहेछ । त्यही धागामा कागका पखेटा अल्झिएर काग उत्तानो परेर छट्पटिएको रहेछ ।

हजुरबाले कागको उद्धार गर्ने प्रयास गर्दा सयौं काग आएर हजुरबालाई घेरिसकेका थिए ।

हजुरबाले कागको पखेटालाई हातले समाउँदै धागो फुकाउने प्रयास गर्नुभयो । त्यतिबेला काग छटपटिएर धागो फुकाउन सहयोग गरेन । काग डराएर कतिबेला मुख आँ गर्दथ्यो भने कतिबेला मरे झै गर्दथ्यो ।

कागलाई सजिलै उद्धार गर्न नसकेपछि कैंची लिनका लागि हजुरबा सानो छतबाट तल झर्नुभयो । नाति जनक छतभन्दा तल बसिरहेका थिए ।

“नाति जनक, नाति जनक”, हजुरबाले जनकलाई बोलाउनुभयो ।

“के भएको रहेछ हजुरबा?”, जनकले सोधे ।

“पहिला कागलाई उद्धार गरौं, अनि के भएको रहेछ बताउला नि । बरु, तल गएर कैंची लिएर आऊ त”, हजुरबाले भन्नुभयो ।

“किन कैंची हजुरबा ?”, जनकले सोधे ।

हजुुरबाले कतै कैंचीले काग त काट्नु हुन्न भन्ने डर जनकलाई लागेको थियो । उसले कैंची लिन जान आलटाल गरे ।

“छिटो जाऊ न कैंची खोजेर ल्याऊ”, हजुरबाले अलि चर्को स्वरमा भन्नुभयो ।

“काग त काट्न हुन्न नि हजुरबा?”, जनकले सोधे ।

“कस्तो केटा हो यो ? कागले के नै गरेको छ र काट्नु ? यो जगत्मा जन्म लिएका कुनै पनि प्राणीलाई मार्नु हुँदैन भने के मैले कागलाई मारुँला त ?”, हजुरबाले स्पष्ट पार्ने उद्देश्यले भन्नुभयो ।

जनकले हजुरबाका कुरा सुन्दै हजुरबाको अनुहारमा हेरिरहेका थिए ।

“छिटो जाऊ न, बरु ढिलो गर्‍यौं भने काग मर्न सक्छ । उसलाई कति भोक लागेको होला, कति तिर्खा लागेको होला । उसका परिवार कति चिन्तित छन् होला”, हजुरबाले भन्नुभयो ।

हजुरबाको कुरा सुनेपछि जनक फटाफट कैंची लिन हिँडे । तुरुन्तै कैंची हजुरबाको हातमा राखिदिए ।

“जनक, अब तिमी पनि हिँड मसँग । बरु एउटा लठ्ठी चाहिँ लिनै पर्ला हैं”, हजुरबाले भन्नुभयो ।

“किन हजुरबा ?”, जनकले सोधे ।

“त्यो त तिमीले त्यहीँ गएपछि देख्छौ । खास त मैले कागको उद्धार गर्दा कतै कागहरूले मलाई नठुगोस् भनेर हो । यदि कागहरू मलाई ठुङ्न आए भने तिमीले लठ्ठीले कागलाई हान्नु पर्छ नि । सक्छौं नि, हैन ?”, हजुरबाले भन्नुभयो ।

“हुन्छ, सक्छु हजुरबा”, जनकले सहमति जनाउँदै भने ।

जनकले छिटोछिटो गएर लठ्ठी लिएर आए । हजुरबाले हातमा कैंची लिनुभएको थियो, जनकले लठ्ठी ।

छतमा पहिला जस्तै कागहरू जम्मा भएका थिए । कागहरूको कर्कस आवाजले घरहरूका छत गुञ्जयमान् भएका थिए ।

हामीले सबै काग उस्तै देख्छौं, तर कागले एकएक मानिस चिन्छ ।

हजुरबाले काग चङ्गाको धागामा अल्झिएको पहिल्यै देख्नुभएको थियो । हजुरबा सरासर भर्‍याङ चढेर पानीको ट्याङ्की भएको सानो छतमा चढ्नु भयो । हजुरबाको हातमा कैंची देखेपछि कागहरूले हजुरबालाई ठुङ्न खोजे ।

जनकले कागहरूलाई लठ्ठीले हान्न खोजे तर हजुरबाले तत्कालै रोक्दै भन्नुभयो, “जनक नाति, यी कागहरू लाई नहान्नू नि ।”

“किन हजुरबा? यिनीहरूले तपाईँलाई ठुङ्न खोजिरहेका छन् । अनि, यिनीहरूलाई नहानेर हजुरलाई ठुङ्न दिनु त!”, जनक हजुरबातिर फर्केर भने ।

यसको कारण छ नि, हजुरबाले भन्नुभयो ।

“के कारण होला हजुरबा ?”

“काग चराहरूमा सबैभन्दा धेरै स्मरणशक्ति भएको चरा हो । यिनीहरूले एकपटक देखेको अनुहार कहिल्यै भुल्दैनन्, चिन्छ ।”

“कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ । तिमीले यिनीहरूलाई लठ्ठीले हान्यौं भने तिमीलाई जहाँ देखे पनि ठुङ्न सक्छन् नि । वैज्ञानिकका अनुसार कागले मान्छेको अनुहार चिन्न सक्छ । अरबौ मान्छेमा आफूलाई पिट्ने मान्छे चिन्नु भनेको चानचुने कुरा होइन नि । यसको स्मरणशक्ति तेज हुन्छ । यिनीहरूले चिन्ने मात्र होइन बदला नै लिन्छन् ।”

“पछि त बिर्सन सक्छन् होला नि?

“बिर्सदैनन् यिनीहरूले । झन् आफ्ना सन्तानलाई पनि यस्ता घटनाको जानकारी दिएका हुन्छन् । तिमीले लठ्ठीले पिटेको कुरा उसले सन्तानलाई बताइसकेको हुनाले उसका सन्तानले पनि चिन्दछन् । हामीले सबै काग उस्तै देख्छौं, तर कागले एकएक मानिस चिन्छ । कागले मानिसको अनुहार याद गर्छ र बदला लिन्छ । त्यसो त कागले आफूलाई माया गर्ने मानिसलाई पनि चिन्छ नि ।”

“यी कागहरूको आवाज अरू बेलाको जस्तो छैन नि हजुरबा । यिनीको सधैं जस्तो ‘काँ काँ’ आवाजमा बोलेका छैनन् नि ?”

“तिमीले ठिक भन्यौं जनक । कुनै काग मर्‍यो भने माथि छतमा जस्तै सयौं काग जम्मा हुन्छन् र शोक प्रकट गर्छन् । मरेको कागको वरिपरि जम्मा भएर ठूलो स्वरमा एकोहोरो कर्कश आवाज निकाल्छन् । यसरी कागले भेला भएर कराउनुको अर्थ उनीहरूले शोक मनाएका हुन् । कुनै खतरा छ कि छैन भनेर जाँच्छन् र ककर्श आवाजमा अन्य कागहरूलाई सम्भावित खतरा बताएर सचेत गराउँछन् ।”

“सधैं एउटै आवाज निकाल्दैनन् ?

“कागले अक्सर कुनै पनि बिपद् वा खतराको सङ्केत देखेमा यस्तो आवाज निकाल्छन् । यिनीहरूले दुई सय पचास थरीभन्दा बढी आवाज निकाल्न सक्छन् भनिन्छ ।”

“दुई सय पचासभन्दा बढी ?”

“हो नि ।”

“कसले बुझ्न सक्छ होला यिनीहरूका यस्ता आवाज ?”

“भगवानले मात्रै होला सबै बुझ्ने, मान्छेले त एक दुई आवाज बुझ्ने सक्ने होलान् । वैज्ञानिकले बुझ्न सक्छन् रे भनेको सुनेको छु । हामीले त सक्दैनौं नि ।”

“कस्ता वैज्ञानिक हुँदारहेछन् । म पनि पछि गएर वैज्ञानिक भए भने मैले पनि बुझ्न सक्छु होला है हजुरबा ?”

“तिमी वैज्ञानिक भयौं भने सक्छौ नि ।”

“के हाम्रो घरको छतमा खतरा छ त ?”

“यिनीहरूले यहाँ खतरा देखे नि । यिनीहरूको साथी धागामा अल्झिएर उत्तानो परिरहेको छ । ऊ एक किसिमले जालमा फसेको छ नि । यस्तो अवस्थालाई उनीहरूले खतरा मानेका हुन् ।”

“यो काग त मर्दैन नि, हैन हजुरबा ?”

“यदि यो कागलाई हामीले उद्धार नगर्ने हो भने केही दिनमा मर्न सक्छ । धागामा अल्झिएको काग न उड्न सक्छ, न त यति धेरै कागले धागो चुँडाएर उडाउन सक्छन् । न खान सक्छ, न पानी पिउन । अनि मर्दैन त? मर्नु भनेको सबैभन्दा ठूलो खतरा होइन र जनक ?”

“हो नि हजुरबा ।”

हजुरबाले कागको पखेटा अल्झिएको धागो कैंचीले काटिदिनुभयो । कागले एकछिन पखेटा फट्फट् गर्‍यो । हजुरबाले अर्को पखेटा अल्झिएको धागो काट्न खोज्नुभएको थियो, कागले उत्तानो परेर चुच्चो आँ बनायो । काग एक किसिमले डराइरहेको थियो । कागले अर्कोपटक पखेटा फटफट गर्‍यो र भुर्र उडेर आकाशतिर गयो । काग उडेपछि अरू कागहरू पनि उसैसँग ‘काँ काँ’ गर्दै आकाश तिर उडे ।

काग उडेपछि जनकले अचानक ताली पिट्दै चर्को स्वरमा ‘काग उड्यो’ ‘काग उड्यो’ भन्न थाले । छिमेकीका घरका छतबाट रमिता हेरिरहेका मानिसहरू पनि काग उडेतिर हेर्न थाले ।

हजुरबा सानो छतबाट भर्‍याङ हुँदै ओर्लनुभयो । हजुरबा र नाति एकछिन छतमै कागहरू उडेको हेर्दै समय बिताए ।

“कति काग थिए होलान् हजुरबा ?”

“थिए होलान् नि हजार पाँच सय जति ।”

हजुरबा र जनक त छतबाट तल बैठक कोठामा आए । जनकका मनमा कागका बारे धेरै कुरा जान्न मन लाग्यो ।

“हजुरबा, कागहरू  नेपालमा मात्र पाइन्छन् कि अरू ठाउँमा पनि पाइन्छ?”

“काग विश्वका सबै ठाउँमा पाइन्छ ।”

“सबै ठाउँका कागहरू कालै हुन्छन् र हजुरबा?”

“संसारभरका प्रायः सबै कागहरू कालै हुन्छन् । कुनैकुनै ठाउँका कागहरूको घाँटीमा सेतो घेरा हुन्छ भन्छन् तर हाम्रा ठाउँमा पाइने काग कालै हुन्छन् । त्यसैले कागलाई कालो कौवा पनि भन्ने गर्छन् ।”

“के कागहरू समूहमा नै बस्छन् ?”

“हो, कागहरू समूहमा बस्छन् ।”

“हाम्रो देश नेपालका कागले ‘काँ काँ’ भन्छन्, अन्य ठाउँकाले पनि त्यसरी नै बोल्लान् त हजुरबा ?

“तिमीले यो प्रश्न कसरी सोध्यौं जनक ?

“भिन्न भिन्न ठाउँका मान्छेका त भाषा फरकफरक छन् । हाम्रै देशमा मानिसहरू पनि भिन्नभिन्न भाषा बोल्छन् । एक देशका काग र अर्का देशका काग बोल्ने तरिका एउटै होला र भनेर ?”

“सामान्यतया विश्वभरका कागको आवाज एउटै हुन्छ; ‘काँ काँ’ । तर अवस्थाअनुसार दुई सय पचास थरीभन्दा बढी आवाज निकाल्न सक्छन् । यस्ता आवाज अवस्थाअनुसार फरकफरक हुन्छ ।”

“संसारमा काग कति होलान् ?”

“यो त गनीसाध्य नै छैन । करोडौं होलान् । संसारमा धेरै सङ्ख्या हुने चरामा काग पर्छ । मानिसको बस्तीको वरिपरि हुने चराहरूमा परेवापछि धेरै सङ्ख्या कागको नै छ ।”

“के के खान्छन् होला यिनीहरूले?”

“कागले सबै चिज खान्छ । मासु, सिनो, किरा फट्याङ्ग्रा, अन्न सबै चिज खान्छ ।”

“यिनीहरूका अनौठो कुरा के छ त हजुरबा ?”

“अनौठा कुरा त सबै मलाई के थाहा होला र ! काग जीवनकाल भरी एउटै जोडीसँग बस्छ । अन्य कागसँग यिनीहरूको मायापिरती बस्दैन । यस मामिलामा त मानिसभन्दा पनि श्रेष्ठ छन् ।”

“अरू पनि छन् कि हजुरबा?”

“यिनीहरूले गलत काम गर्ने अन्य कागलाई दण्डित गर्छन्, समूहबाट बाहिर निकाल्छन् ।एक्ल्याउँछन्, बहिष्कार गर्छन् । यो पनि मानिसको भन्दा राम्रो व्यवहार हो ।”

“अरू पनि छन् कि हजुरबा?”

“अँ, कागका जेठा सन्तानहरूले आमाबाबुलाई सन्तान हुर्काउन सहयोग गर्छन् । आमाबाबुले बनाएको गुँड नजिकै बसेर बाहिरी शत्रुबाठ गुँडको रक्षा गर्छन् । यो व्यवहार भने मानिसकै जस्तो देखिन्छ ।”

“अरू पनि भन्नु न हजुरबा?”

“आफ्नो समूहमा बिरामी वा घाइते काग छ भने सबैले ठुँगेर मार्ने गर्छन् । त्यसैले कागलाई ज्यानमारा चरो समेत भन्ने गरिन्छ ।”

“हाम्रो छतमा त काग मरेको थिएन, तर पनि त्यति धेरै भेला भएर कस्तो नमिठोसँग कराए हजुरबा । किन होला?”

“कुनै कागलाई आपत परेको देखे भने पनि कराउँछन् । आज भएको त्यही हो । एकपटक म बिहानमा बाटामा हिँड्दा पनि एउटा काग चङ्गाको धागामा अल्झिएर पर्खालमा झुण्डिएको थियो । त्यतिबेला यसरी अरू काग आएका थिएनन् । सायद देखेनन् होला, कुनै एउटा कागले देखेको भएर सबैलाई खबर गरिहाल्थ्यो नि । अनि सबै आइपुग्थे । मैले उसलाई उद्धार गर्न खोजे, त्यतिबेला काग मरे जस्तो गरेको थियो । मैले धागाबाट निकालिदिएँ, एकछिन त मरे झै लत्राकलुत्रुक भयो, केही बेरमा भुर्र उड्यो । निकै बाठो चरा हो नि काग ।”

बालकथा : काग

“काग बाठो हुन्छ नि, हैन र हजुरबा ?”

“हो, कागलाई बाठो चरा भन्ने गरिन्छ । वैज्ञानिकहरूले काग सात वर्षको बालबालिका जस्तै चलाख हुन्छ भनेका छन् । हामीले साना कक्षामा पढ्दा पिँधमा पानी भएको घैंटामा साना साना ढुङ्गा हालेर पानी पिएको पढेका थियौं । यस्तै यस्तै चलाख व्यवहार कागले देखाउँछ । कागमा समस्या समाधान गर्ने चलाख दिमाग हुन्छ । तर, काग जति बाठो भए पनि फोहोर खान भने छोड्दैन नि,”यति भनेर हजुरबा निकै बेर हाँस्नुभयो ।

“काग जति नै चलाख भए पनि कोइलीले छक्याइदिन्छ रे नि हजुरबा ?”

“यो कुरा कसरी थाहा पायौं जनक ?”

“हाम्रा गुरुले भन्नुभएको ।”

“के भन्नुभयो नि ?”

“कोइलीको चल्ला कागले हुर्काइदिन्छ रे । सानामा कोइली पनि कागको चल्ला नै भएर हुर्कन्छ रे ।”

“हो, ठिक भन्नुभएको हो । कोइली आफूँले गुँड बनाउँदैन । यसले फूल पार्ने बेलामा खुसुक्क कागको गुँडमा जान्छ र फूल पारेर छाडिदिन्छ । कागले आफ्नै फूल ठानेर ओथारो बस्छ र चल्ला कोरल्छ । चल्लालाई खाना खुवाउँछ । कोइलीको चल्ला पनि कागका चल्लासँगै हुर्कन्छन् । उड्न सक्ने भएपछि कोइलीले आफ्ना चल्ला लिएर जान्छ ।”

“कोइली पो कत्ति बाठो रहेछ । काग सधैं एकै ठाउँमा बस्छ र हजुरबा?”

“प्रायः एकै स्थानमा बस्छन् तर खतरा देखे भने कागहरूले त्यो स्थान छोडेर बसाइँ सर्छन् ।”

हजुरबा र जनकका कागसम्बन्धी कुराकानी सकिएका थिएनन् । हजुरबाले बाँकी कुरा अर्को दिन बताउने कुरा गर्नुभयो ।

जनकको स्कुल बिदा भएको समयमा जनकले हजुरबासँग कागका बारेमा नै धेरै सोधीखोजी गर्थे । हजुरबाले पनि कागका बारेमा आफूँलाई थाहा भएको जति बताइदिनुहुन्थ्यो ।

कागहरू किन जम्मा हुन्छन् भन्ने बारे त जनकले हजुरबाबाट थाहा पाए । उनलाई काग जम्मा गरेको आफ्नै आँखाले देख्ने रहर जाग्यो ।

एक दिन जनकले हजुरबालाई भने, “हजुरबा, काग हामीले जम्मा गर्न सक्दैनौँ? एकपटक काग जम्मा गरेको हेर्न मन छ ।”

“कसरी जम्मा गर्ने जनक ? कागलाई मार्नु पनि भएन । यत्तिकै त जम्मा हुँदैनन् नि । कुनै कागलाई आपत् परेमा, कुनै काग मरेमा जम्मा हुने हुन् नि”, हजुरबाले भन्नुभयो ।

“यिनीहरूलाई कुनै आपत्मा पार्न सकिँदैन हजुरबा? एउटा कागलाई आपत्मा पार्न पायौँ भने त अरू काग त जम्मा भइहाल्ने रैछन् ।”

“काग समाउन सकिँदैन । जालमा पारेर मात्र समाउन सकिएला । अनि, यस्तो काम यो सहरमा त सम्भवै हुँदैन नि ।”

“कहाँ सम्भव हुन्छ त हजुरबा?”

“हाम्रा गाउँमा हुन्छ ।”

“त्यहाँ गएर समाउने त?”

“होइन, समाउन त सकिँदैन ।”

“जालमा पार्ने त?”

“होइन, त्यस्तो जाल हामीसँग छैन नि ।”

“कसरी भेला पार्ने त, हजुरबा?”

“मसँग तरिका छ नाति ।”

“कस्तो तरिका हजुरबा ?”

“पासामा पार्ने ।”

“पासामा ?”

“पासो के पासो ।”

“कस्तो पासो हजुरबा ?”

“चराहरूलाई फसाउने सुर्काउनी पारेको डोरी ।”

“अनि, यस्ता पासामा परेको चरा मर्छ कि?”

“मर्दैन । कागलाई पासामा पार्ने, अनि धेरै काग भेला हुन्छन् । केही समयपछि पासाबाट फुत्काइदिने, भुर्र उडेर गइहाल्छ ।”

“कागलाई दुःख हुन्छ कि ?”

“पासामा पर्ने कागलाई केही समयका लागि दुःख त हुन्छ नि ।”

“पाप लाग्दैन ?”

“काग जम्मा पारेको हेर्ने पनि भन्छौ, अनि पाप लाग्छ कि पनि भन्छौै तिमी त ।”

“मलाई त चरा, पशु आदिलाई दुःख दिन हुन्न भन्ने लाग्छ हजुरबा ।”

“तिमीले ठिक भनेका हौ । कुनै पनि प्राणीलाई दुःख दिन हुन्न । तर, केही कुरा सिक्नका लागि, केही कुरा जान्नका लागि उनीहरूलाई नमारिकन कमभन्दा कम दुःख दिएर सिक्न भने हुन्छ नि । नत्र त यस्ता कुरा सिक्न सकिँदैन ।”

“अनि, तपाईँलाई पासो बनाउन आउँछ त?”

“किन नआउनु ? युवक हुँदा मैले गाउँमा कति चराहरूलाई पासामा परेको थिएँ ।”

“पासामा पारेपछि के गर्नुभयो नि?”

“उडाइदिएँ ।”

“उसोभए हामी गाउँ कहिले जाने त हजुबा?”

“तिम्रो स्कुल बिदा भएको बेला ।”

हजुरबा र नातिको काग जम्मा गर्ने रणनीति बन्यो । यसका लागि जनकको स्कुल बिदा भएका बेला दुवै जना गाउँ जाने भए । जनकले पनि आमाबासँग सल्लाह गरे । जनकको स्कुल बिदा भएपछि हजुरबा र जनक गाउँ जान टुरिस्ट बसमा चढे । बस चढाउन आमाबा पनि बस पार्कमा आउनुभएको थियो ।

थानकोटबाट टुरिस्ट बस नौबिसेतिर ओरालो लाग्यो । चिया खाने र खाना खाने ठाउँमा पनि जनक काग कता देखिन्छन् भन्दै हेर्दैै हिड्थे ।

छिर्कनेबाट दमौली जाने ओरालो बाटो नलाग्दै खाना खुवाउन बस रोकियो । होटलको वरिपरि रुखहरू थिए । जनकको ध्यान रुखमा काग देखिन्छ कि भन्नेमा थियो ।

संयोगवस एउटा रुखमा कागले गुँड लगाएको रहेछ, जनकले देखिहाले । दुई तीनओटा कागहरू गुँडलाई रेखदेख गर्न बसेका थिए ।

जनकले हजुरबालाई ‘कागको गुँड हो कि?’ भनेर सोधे । हजुरबाले ‘कागको नै गुँड भएको’ बताउनु भयो ।

नातिलाई देखाउनका लागि नै हजुरबा गुँड भएको रुखमा चढ्न लाग्नुभयो । हजुरबा रुख चढेको देखेर जनक आत्तिए । उनले हजुरबालाई रुख नचढ्न अनुरोध गरे ।

हजुरबा रुख चढ्न सुरु गर्ने बित्तिकै गुँड कुरेर बसेका कागहरूले ठुङ्न आइहाले । हजुरबा हतारहतार रुखबाट ओर्लिनुभयो ।

हजुरबाले भन्नुभयो, “देख्यौ? कागले आफ्नो गुँडको रक्षा कसरी गर्दोरहेछ?”

“देखेँ हजुरबा । झण्डै तपाईँलाई ठुगेका ती कागहरूले । मलाई त डर पो लागेको थियो ।”

“म तिनीहरूको गुँडसम्म पुग्ने त थिइनँ । तिमीलाई कागहरू गुँडको रक्षा गर्छन् र मानिस वा अन्य चरा वा अन्य प्राणी आएमा कसरी आक्रमण गर्छन् भन्ने देखाउन रुख चढेको हुँ । सबै ठाउँमा यसरी गुँड फेला पार्न सकिँदैन नि ।”

टुरिस्ट गाडी पोखराका लागि अगाडि बढ्यो । पोखराको टुरिस्ट बसपार्कमा ओर्लेपछि मुस्ताङचोकसम्म हजुरबा र नाति पैदलै हिँडे ।

मुस्ताङचोकमा स्याङ्जा जाने गाडी आएर रोकियो । दुवै जना ठूलिविणी जाने भनेर गाडी चढे ।

गाडीले साँझमा ठूलिविणी पुर्‍यायो । दुवै जना गाडीबाट उत्रेर आआफ्नो झोला बोकी घर जाने उकालोतिर लागे ।

हजुरआमालाई नाति आउँदै छ भन्ने कुरा पहिल्यै थाहा थियो । हजुरआमा तगारोनेर कुरेर बस्नुभएको थियो ।

ढिला आएकामा हजुरआमा केही बेर कराउनुभयो । अनि नातिको कपाल मुसार्दै घरतिर लिएर जानुभयो ।

लामो र गाडीको यात्राले थकिन हजुरबा र नाति चाँडै नै सुते । बेलुका सधैंभन्दा छिट्टै सुतेका हुनाले जनकलाई निद्राले चाँडै न छोड्यो । जनकले हजुरबालाई पनि बिहानै उठाए ।

जनकको ध्यान कागलाई पासामा पार्ने र काग जम्मा भएको हेर्नेमा नै केन्द्रित थियो । उनले हजुरबालाई काग पासामा फसाउनका लागि पासो बनाउन करकर गरिरहे ।

हजुरबा पनि बिहानको चिया खाएर जनकलाई लिएर सिम्लेको बारीमा पुग्नुभयो । पासो बनाउनका लागि बेडुलाको हाँगो काट्नु भयो । घरको आँगनमा बसेर पासो बनाउन थाल्नुभयो ।

पासो बनाउनका लागि ल्याउनुभएको बेडुलाको हाँगालाई पात झारेर धनुष आकारमा बङ्ग्याउनु भयो । सर्काउनी बनाउनका लागि जुटको डोरी पनि ल्याउनुभयो । पासो बन्दै जाँदा कागले खुट्टा टेक्नका लागि सानो काठको टुक्रा पनि राख्नुभयो । जब काग त्यस काठको टुक्रामा टेक्न पुग्थ्यो, काठको टुक्रा फुत्त फुत्किथ्यो र कागको खुट्टा जुटको सुर्काउनी पारेको डोरीमा फस्थ्यो । हजुरबाले एकदुई चोटि आफ्नै हातका औंला राखेर परीक्षण पनि गर्नुभयो ।

हजुरबाले पासो बनाएको हरेक कामलाई जनकले ध्यान दिएर हेरेका थिए । हजुरबासँग यति धेरै कला रहेछ भन्दै मनमनै दङ्ग परेका थिए ।

कागलाई फसाउने पासो तयार भयो ।

हजुरआमाले बिहानको खाना खान बोलाउनुभयो । हजुरबा र नातिले खाना खान थाले ।

“हजुरबा र नातिको बिहान भरीको यो के काम हो? कतै चरा त पासामा पार्न त लाग्नुभएको छैन? चरालाई दुःख नदिनोस् हैं । मलाई त निको लाग्दैन यस्तो काम”, हजुरआमाले खाना थप्दै भन्नुभयो ।

“चरालाई दुःख दिन होइन, नातिलाई कागका सम्बन्धमा जानकारी दिन हो । पासामा कागलाई पारे पनि दुःख दिदैनौँ । तुरुन्तै पासाबाट मुक्त गरिहाल्छौं नि”, हजुरबाले हजुरआमालाई सम्झाउने किसिमले भन्नुभयो ।

खाना खाएपछि पासो बोकेर हजुरबा र जनक ठूलिविणीको खरबारीतिर लागे । त्यहाँ कागहरू धेरै हुन्थे । पासो थाप्नका लागि खिर्राको ठूटो पनि थियो ।

हजुरबाले खिर्राको ठूटामा पासोलाई मिलाएर राख्नुभयो । कागलाई लोभ्याउन केही खानेकुरा पनि राखिदिनुभयो ।

हजुरबा र जनक खरबारीको एउटा छेऊमा बसेर हेर्न थाले ।

केही समयपछि एउटा काग खानेकुरा देखेर खिर्राको छेऊमै आयो । काग ज्यादै सतर्कतासाथ अगाडि बढ्यो । काग बाठो भएकाले केही खतरा छ कि भनी बिस्तारै अगाडि बढ्यो । खाना खानका लागि काठको टुक्रामा चढ्नु पर्‍थ्र्यो । काग बिस्तारै काठको टुक्रामा चढ्यो । काठको टुक्रा फुत्त फुत्कियो र कागको खुट्टासुर्काउने पारेको डोरीमा फस्यो ।

काग कराउन थाल्यो । काग कराएको आवाज सामान्य समयको भन्दा भिन्न थियो । केही समयमा नै त्यहाँ सयौं कागहरू जम्मा भए । कागहरू कराउँदै घरि एक रुखमा बस्थे, घरि अर्को रुखमा । कागहरूको कर्कश आवाजले खरबारी नै गुञ्जयमान् भयो ।

हजुरबाले भन्नुभयो, “देख्यौं जनक? कागहरू जम्मा भएका । मैले काठमाडौं हुँदा छतमा जम्मा भएका कागका बारेमा जे भनेको थिएँ, त्यही नै यहाँ पनि देख्न पाइयो । हैन?”

जनकले खुशी हुँदै भने, “हो हजुरबा । अब यो पासोबाट कागलाई फत्काइदिनु होला । हजुरआमाले थाहा पाएमा गाली गर्नुहुन्छ ।”

“तिमीले चाहेको कुरा देख्न पायौं नि, हैन?”

“हो हजुरबा ।”

“हुन्छ, अब पासोबाट त्यो कागलाई फुत्काइदिनुपर्छ । बरु फुत्काउन जाँदा मलाई ठुङ्न सक्छन् । तिमीले लठ्ठी लिएर हिँड नि । ठुङ्न आएमा लखेट्नुपर्छ नि, हैं ।”

हजुरबा खिर्राको ठुटोतिर जानुभयो । जनक लठ्ठी लिएर हजुरबाको पछिपछि लागे । पासोमा परेको काग मरे जस्तै गरी लतालुतुक भएको थियो । हजुरबालाई देखेपछि झनै डरायो ।

“डराउनु पर्दैन, मैले उद्धार गरिदिन्छु नि”, हजुरबाले कागलाई भन्नुभयो ।

कागले हजुरबाको कुरा बुझे झै गरेर पासोबाट फुकाउन दियो ।

केही काग हजुरबालाई ठुङ्नका लागि आएका थिए । जनकले लठ्ठी देखाएरै कागलाई तर्साए ।

हजुरबाले पासोबाट कागलाई फुत्काइदिनुभयो । पासोमा परेको काग भुर्र उडेर लामो उडान भर्‍यो । अरू  कागहरू पनि उसका पछिपछि लागे ।

 

बालकथा : काग

हजुरबाले पासोलाई त्यहीँ भाँचिदिनुभयो ।

“किन नि हजुरबा पासो भाँच्नुभएको ?”, जनकले सोधे ।

“यहीँ छोडेमा अरू ले पनि पासो थापेर चराहरूलाई दुःख दिन्छन् । केही कुरा सिक्न र जान्नका लागि प्रयोग गर्न चाहिँ हुन्छ, दुःख दिने नियतले चराहरूलाई पासोमा पार्नु हुँदैन नि”, हजुरबाले भन्नुभयो ।

हजुरबा र जनक ठूलिविणीको खरबारीबाट घरतिर लागे ।

“हजुरबा! अब म कागका बारेका निबन्ध लेखेर सरलाई बुझाउँछु नि ।”

“राम्रो कुरा । अब केही दिन गाउँ बसेर फेरि काठमाडौं फर्कनु पर्छ । यसपटक हजुरआमासँग लोककथा सुनाइदिनू भन्नू नि ।”

“हुन्छ हजुरबा । स्कुल गएपछि साथीहरूलाई सुनाउन काम लाग्छ नि ।”

जनक केही दिन गाउँ बसेर हजुरबासँग काठमाडौं फर्के । जनकले कागलाई पासोमा पारेका कुरा आमाबालाई सुनाए, स्कुलमा साथीभाइलाई पनि सुनाए । कागको निबन्ध लेखेर सरलाई बुझाए । उनको निबन्ध स्कुलमा पहिलो पनि भयो ।

अहिले पनि जनकले बेलाबेलामा कागका बारेका साथीहरूलाई अनुभव सुनाउँछन् । तिहारको यमपञ्चकको पहिलो दिन त जनकका लागि ज्यादै खुशीको दिन हुन्छ । घरमा कागको पूजा गर्न जनक नै तम्सिन्छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School