गत वैशाख १७ गते रोल्पाको जलजलामा १२ सिटे सफारी जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भयो भने एक जना घाइते भए। लु १ ज ४१६७ नम्बरको जिपमा चालकसहित २१ जना सवार थिए। दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना एउटै परिवारका सदस्य तथा आफन्त थिए।
कच्ची र चिप्लो सडकमा थोत्रो भइसकेको जिपमा क्षमताभन्दा बढी यात्रु बोकेकै कारण २० जनाले ज्यान गुमाएका हुन्। प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिप १७ वर्ष पुरानो थियो र फोर–ह्वील प्रणालीसमेत नभएको पाइएको छ।
इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगाले भन्छन्, ‘फोर–ह्वील नभएको १७ वर्ष पुरानो जिपमा २१ जना चढेर हिँड्दा उकालोमा तान्न सकेन, गाडी ब्याक भएर भिरतिर सोझियो।’
उनका अनुसार यस घटनामा यात्रुको पनि कमजोरी देखिएको छ। केही समय झरेर हिँड्न आग्रह गरिए पनि पूरा भाडा तिरेको भन्दै माथिसम्म पुर्याइदिनुपर्ने हठ यात्रुहरूले गरेपछि ओभरलोड जिप अगाडि बढाइएको सहचालकले प्रहरीलाई बयान दिएका छन्।
गत वैशाख १६ गते बुटवल–नुवाकोट सडकमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भयो भने एक युवक घाइते भए। वैशाख २९ गते अर्घाखाँचीको पाणिनीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए भने २७ जना घाइते भए। सुपा देउराली दर्शनका लागि रिजर्भ गरिएको उक्त बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
यही जेठ १८ गते दाङको लमहीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार लमहीकै मनोजकुमार नेपाली र उनका छोरा मिरान्त नेपालीको मृत्यु भयो। मनोजकी पत्नी घाइते भइन्। त्यसको दुई दिनपछि जेठ २१ गते रोल्पाको माडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो।
यी त लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा केही दिनभित्र भएका सडक दुर्घटनाका प्रतिनिधि घटना मात्र हुन्। पहाडका कच्ची तथा भत्किएका सडकमा मात्रै होइन, तराईका चिल्ला र फराकिला सडकमा समेत दैनिकजसो हुने सवारी दुर्घटनामा परी सयौंले ज्यान गुमाइरहेका छन्। ती दुर्घटनाले मानवीयसँगै आर्थिक क्षति पनि पुर्याइरहेका छन्।
दुर्घटनाले मृतक र घाइतेका परिवारमा पार्ने मानसिक, आर्थिक तथा सामाजिक प्रभावलाई केलाउने हो भने अवस्था भयावह देखिने उपप्राध्यापक तथा समाजशास्त्री तारा पराजुली बताउँछन्।
चालु आर्थिक वर्षको करिब ११ महिनामा लुम्बिनी प्रदेशमा ४ हजार ६२४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५३६ जनाको मृत्यु भएको छ भने ७ हजार ७६७ जना घाइते भएका छन्। दुर्घटनामा परी अंगभंग भएका कतिपय घाइते अझै विभिन्न अस्पतालमा उपचाररत रहेको प्रदेश प्रहरीले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ४७९ वटा सवारी दुर्घटना हुँदा ५०६ जनाले ज्यान गुमाएका थिए भने ५ हजार ६९१ जना घाइते भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा १ हजार १२० वटा दुर्घटनामा ४९६ जनाको मृत्यु भएको थियो भने १ हजार ६९३ जना घाइते भएका थिए।
पछिल्ला तीन वर्षमा मात्रै लुम्बिनी प्रदेशमा दुर्घटनाबाट १ हजार ५३८ जनाको मृत्यु भएको छ भने ९ हजार २२३ जना घाइते भएका छन्। यस अवधिमा ९ हजार २२३ वटा सवारी दुर्घटना भएका छन्।
दुर्घटनाको बढ्दो तथ्यांकले हाल सञ्चालनमा रहेका सडक सुरक्षा योजना, नीति तथा अभियानको प्रभावकारितामाथि प्रश्न उठाएको छ। सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले सञ्चालन गरिरहेका दुर्घटना न्यूनीकरण अभियान पनि प्रभावकारी देखिएका छैनन्।
ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ति र उपकरण नहुँदा दुर्घटना न्यूनीकरणमा असर परेको छ। सम्बन्धित क्षेत्रका जानकारहरू विद्यमान स्रोत, साधन, नीति, संयन्त्र र अभियानले मात्र दुर्घटना न्यूनीकरण सम्भव नहुने बताउँछन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र भुसालले राज्यलाई सबैभन्दा धेरै कर तिर्ने यातायात क्षेत्र उपेक्षामा परेको गुनासो गरे। सडक सुरक्षासम्बन्धी छुट्टै कानुन आवश्यक रहेको भन्दै उनले यातायात प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए।
‘प्राधिकरण गठनका सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मै व्यवस्था छ, तर विगतका सरकारहरूले त्यसको कार्यान्वयनमा ध्यान दिएनन्,’ उनले भने। दुर्घटनाको घटनामा चालक र व्यवसायीलाई मात्र दोषी देखाएर अन्य पक्ष उम्किने प्रवृत्ति बढेको भन्दै उनले राज्यको नीति, सडकको अवस्था र यात्रु सबै जिम्मेवार हुनुपर्ने बताए।
दुर्घटना मात्रै होइन, ट्राफिक नियम उल्लंघनका घटना पनि बढिरहेका छन्। पछिल्ला १० महिनामा प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने ९४ हजार २७५ सवारी साधन कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले त्यसबाट १० करोड ७२ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक रुद्र गिरीका अनुसार अधिकांश दुर्घटनामा मानवीय त्रुटि मुख्य कारण देखिएको छ। चालकको लापरबाही, तीव्र गति, ओभरलोड, ओभरटेक, लेनको सही प्रयोग नगर्नु, मापसे तथा लापसेजस्ता कारण दुर्घटनाका प्रमुख कारक हुन्।
‘अनुभवी र दक्ष चालक विदेशिने क्रम बढ्दो छ। गाउँका कच्ची सडकमा सिकाइ चरणका तथा अनुभवहीन चालककै कारण दुर्घटना निम्तिएका छन्,’ प्रहरी निरीक्षक गिरीले भने।
इन्जिनियरिङ अध्ययनबिनै गाउँ–गाउँमा बनाइएका कच्ची सडक, मेकानिकल ज्ञान नभएका चालक, परिमार्जन गरिएका सवारी साधन तथा सवारीलाई केवल आम्दानीको साधनका रूपमा हेर्ने प्रवृत्तिले दुर्घटना बढाएको प्रहरी अनुसन्धानले देखाएको छ। गाडीको यान्त्रिक अवस्था, पैदल यात्रुले जथाभावी सडक काट्नु तथा छाडा चौपाया पनि दुर्घटनाका कारण बनेका छन्।
तराईका फराकिला तथा तुलनात्मक रूपमा कम चाप भएका भित्री सडकमा पनि दुर्घटना बढिरहेका छन्। प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ८०२ सवारी दुर्घटना भएका छन्। बाँकेमा ५७७, बर्दियामा ४८२, कपिलवस्तुमा ४६३, पश्चिम नवलपरासीमा ३७८ र दाङमा ३६२ दुर्घटना भएका छन्। त्यस्तै पाल्पामा ११६, रोल्पामा ८४, गुल्मीमा ६९, प्युठानमा ६४, अर्घाखाँचीमा ६४ र रुकुममा १६ दुर्घटना भएका छन्।
सबैभन्दा धेरै ३ हजार ९३३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। जिप, कार र भ्यान ६०८, बस १८२, माइक्रो १०८ र टिप्पर ९४ वटा दुर्घटनामा परेका छन्।
लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले ट्राफिक प्रहरीको एकल प्रयासले मात्र दुर्घटना न्यूनीकरण सम्भव नभएको बताए। सडक मर्मत–सम्भार, सिसिटिभी जडान, सवारी साधनको यान्त्रिक परीक्षणलगायतका काममा सम्बन्धित निकाय सक्रिय हुनुपर्ने उनको भनाइ छ।
दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, नियमित चेकजाँच, लामो दूरीका सवारीमा दुई चालक अनिवार्य, ‘नो हर्न’ अभियान, चालकको स्वास्थ्य परीक्षण तथा मापसे–लापसे सम्बन्धी छड्के जाँचजस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
ट्राफिक सचेतना अभिवृद्धिका लागि अन्तरक्रिया, छलफल, सूचनामूलक सन्देश प्रवाह तथा सम्बन्धित निकायसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको एसपी थापाले जानकारी दिए।
प्रकाशित: २८ जेष्ठ २०८३ १९:५४ बिहीबार
