पाखापर्वतमा सधैं गुन्जिइरहने गोपाल योञ्जन


गोपाल योञ्जन र म २९ वर्षदेखि परस्पर परिचित थियौं । विगत १९ वर्षदेखि त एकदमै निकट, यति निकट कि हामीले एक अर्काको आन्द्राभुँडी छामेका थियौं । २९ वर्षको समय ज्यादै लामो नभए तापनि कम चाहिँ होइन । यी वर्षहरूमा गोपालसित भएका तीतामीठा अनुभवहरूबारे कति लेख्नु ? गीतले जन्माएको आत्मीयताको अघि गोपाल योञ्जन उमेरले मभन्दा निक्कै सानो भएर के हुन्छ र ? ऊ एउटा सङ्गीत, कलासाधक र शिल्पीको रूपमा विराट भएर मेरो अघि उभिन आइपुगेको थियो । यसबारे मैले त के, गीतसङ्गीतका ज्ञाता र अनेकन प्रशंसक र आराधक बौद्धिकहरूलाई पनि उसको व्यक्तित्वका विविध पक्षहरूको बखान गर्न हम्मे पर्छ होला । गोपालसित चलचित्र क्षेत्रमा मैले धेरै नै काम गर्ने सौभाग्य पाए तापनि यतिका वर्षमा उसलाई चिनिसकेको थिएँ भन्नु मेरो धृष्टता शिवाय अरू केही हुने छैन । यसो भन्नु समुचित ठहर्ला कि गीत सङ्गीतको क्षेत्रमा ऊ महासागर थियो । हामी सतहमा डुबुल्की लगाउन तैरेका मात्र हौं ।

गोपालसित मेरो सानिध्यमा, उसको जीवनको अनेकौं पाटा मेरा सामु उजागर हुन पुगेका छन् । सबै पाटाहरू विस्तारमा वर्णन गर्न थाले महाभारत जतिक्कै ठूलो ग्रन्थ बन्न जाला । ऊ सभ्य, शिष्ट, शान्त थियो र बच्चादेखि वृद्धसम्म हार्दिकता, प्रेम र सद्भावनाले प्रस्तुत हुने व्यक्ति थियो । उसको निम्ति स्वरसम्राट नारायणगोपालदेखि लिएर पहिलो दिन सिक्न आउने शिकारु विद्यार्थी सब समान थिए । सबैलाई पर्याप्त समय दिएर निखारिदिन पछि नहट्ने सङगीतकार थियो ऊ ।

नेपाल पसिसकेपछिका उसका गीत र सङ्गीतले ल्याएको क्रान्ति नेपाली श्रोता र सङ्गीत विश्लेषकहरूसामु छर्लङ्ग छ । दार्जीलिङमा छँदा कलामन्दिरमा दिलमायालाई स्थापित गर्ने गोपाल थियो । उता संगममा रहेकी अरुणा लामा प्रतिस्पर्धी थिइन् । तर, अरुणाले पनि गोपालका लोकप्रिय र स्पर्शी गीतहरू गाउने सौभाग्य पाइन् । उसले अरुणालाई चलचित्रमा नारायणगोपाल, आफू र भिन्न श्रेष्ठ गायकहरूसँग उत्तिकै उम्दा गीतहरू गाउने अवसर दियो । नेपाल पसेपछि त्यसबेलाका स्थापित गायक गायिकाहरूलाई मात्र आफ्नो रचना दिएन उसले । त्यसबेलाका नवोदितले पनि उसँग काम गर्न पाए । उसमा भएको उच्चतम सङ्गीत र काव्यचेतका कारण उसको अन्ततः कदर भयो र नेपाली सङ्गीतको शीर्ष लहरमा ऊ पनि रहन पुग्यो । उसले नेपाली आधुनिक सङ्गीतको क्षेत्रमा अग्रज नातिकाजी, शिवशंकर, पुष्प नेपाली, बच्चुकैलाश अनि दार्जीलिङकै अर्का सङ्गीतकार अम्बर गुरुङले विस्तार गरेको पिरामिडलाई मौलिक, विशिष्ट र अर्थपूर्ण उचाइ दिएको छ । उसका कृतिहरू र उसले काम गरेको कालखण्डलाई अध्ययन गरेको खण्डमा त्यसले यसै कुरालाई पुष्टि गर्नेछ ।

गोपाल योञ्जन एक अत्यन्त प्रतिभाशाली सङ्गीतकार हुनुको अतिरिक्त, उनमा सबैप्रति रहेको हार्दिक प्रेमका कारण बनेको उसको चौथो आयामी व्यक्तित्वले गर्दा उसँग संगतमा रहने र परिचित दुवैका लागि ऊ प्रिय थियो । जहाँसम्म सङ्गीत र गीतको कुरा गरिन्छ नेपाली आधुनिक सङ्गीतको स्वर्ण युग भनेर जुन कालखण्डलाई मानिन्छ, त्यसो हुनुमा गोपालको कृतिको पनि महत्त्वपूर्ण भूमिका र स्थान छ । उसले जति गीत लेख्यो जीवनको यथार्थमा आधारित गीत लेख्यो, देवस्तुतिभन्दा पनि आध्यात्मदर्शनको कोणबाट लेख्यो, राष्ट्रिय भावनाका गीतहरू लेख्दा रटिरटाउ चलिआएका अभिव्यक्ति भएनन् उसका गीतमा । बालबालिकाले बुझ्ने बालगीत लेख्नु चुनौती हो । तर, उसका बालगीतहरू सुन्दा त्यस चुनौतीलाई उसले पराजित गरेको छ । उसका प्रीतिका गीतहरू पनि उत्तिकै अर्थपूर्ण, भावपूर्ण र नारीप्रति मर्यादित छन् ।

दुर्भिक्षको स्थिति गोपालले कहिल्यै ब्यहोर्नु परेन । बौद्धिक रूपले ऊ स्वयं ज्यादै उर्वर र उत्पादनशील भएकोले, मेरो दरकार परेन उसलाई । ज्यादै उदार र मिलनसार हुनाले उसका शत्रु पनि हुन सक्छन् भन्ने म कल्पना गर्न सक्दिनँ । तर उसको स्वाभिमानलाई अभिमान ठानेर वा ऊ उभिन पुगेको धरातलभन्दा तल उभिएकाहरूले उसित ईर्ष्या गरेको वा द्वेष राखेको भए त्यस्ताहरूप्रति दयामात्र जाग्न सक्छ मेरो मनमा, त्यसैले उसलाई शत्रु-सङ्कटबाट बचाउन मलाई अघि सर्नुपर्ने स्थिति नै आएन । त्यसबखत राजा र राजसंस्थाप्रति आस्था राख्ने भए तापनि कुनै प्रतिदानको इच्छा दुवैले राखेनौं । त्यसैले गोपालका साथ मलाई राजद्वारसम्म जाने अवसर आएन । 

०००

बाँकी रह्यो श्मशान…

गोपालले मलाई ठगेर हिँड्यो । ‘‘म दिल्लीबाट फर्केर छिट्टै आउँछु दाइ’’ भनेर गएको गोपाल …फर्क्यो, तर चीर समाधिमा लीन भएर, अखण्ड मौन धारण गरेर । उसलाई अन्त कहीँ त साथ दिन सकिनँ तर श्मशानसम्म त, अनन्त यात्रामा प्रस्थान गर्न लागेको गोपाललाई बिदा गर्न जानु मेरो कर्तव्य थियो । त्यसैले गएँ । बन्धुत्वको जुन परिभाषा शास्त्रमा दिइएको छ, त्यसको एउटा अङ्ग पालन गर्नुपर्ने, ममाथि कत्रो विडम्बना नियतिको !!! उसको दाजुको हैसियत पाएको उसका शुभेच्छुकमध्येको एउटा ज्यादै नै घनिष्ठ हुँ भन्ने मेरो भ्रम टुट्यो त्यस दिन । कारण, उसको अन्तिम यात्रामा श्मशानसम्म उसित जाने ममात्र थिइनँ, हजारौं हजार गोपालप्रेमीहरू थिए, उसको चीर वियोगको वेदनाले आकुल र व्यथित । द्वापरयुगमा भगवान् कृष्ण गोकुल छोडेर मथुरा जाने बेलामा, उनका सवारीसाथ पछि लाग्ने वृन्दावनवासीहरूको सङ्ख्या पनि त्यति थिएन होला भन्ठान्छु । सबै उमेरका, सबै धर्मका, सबै जातका र सबै भाषाभाषीहरू थिए– प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा, उसको अन्तिम दर्शन गर्न आउनेहरू । उसको अनन्त यात्रामा, श्मशानसम्म साथ दिनेहरूमा सबै वादका अनुयायी थिए । विवादरहित अश्रुपूरित आँखाहरू ।

भूपीले लेखेको नयाँ गीत अल्झेछ क्यारे पछ्यौरी रेडियो नेपालबाट प्रसारित भएपछि त्यस गीतमा अति मधुर, तर सशक्त सङ्गीत दिने गोपालबारे भूपीबाट धेरै-धेरै प्रशंसाका शब्दहरू सुनेको थिएँ– नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको ‘तिगडी’ त्यसताका नेपाली आधुनिक सङ्गीतको आकाशमा नक्षत्र बनेर जगमगाइरहेका थिए, बेजोड, बेमिसाल ।

२०२१–२२ सालतिर, म पोखरामा पोखरा ताल विकासको हाकिम छँदा भूपी शेरचनसित घनिष्ठ हुने सौभाग्य पाएको थिएँ मैले । म उसका कविताहरूको प्रशंसक, उसका गीतहरूको प्रशंसक, उसको प्रत्युत्पन्नमतिको प्रशंसक र उसको स्पष्टवादिताको प्रशंसक । यद्यपि कहिलेकाहीँ ‘‘तँ करोडपति बाबुको छोरो, दिनहुँ हजार दुई हजार खर्च गर्छस्, तर आफूलाई सर्वहारा भन्न रुचाउँछस्, तँ हिप्पोक्रेट होस्’’ भनेर म जिस्काउँथे पनि । (तिनताका प्रशासनतर्फका शाखा अधिकृतको सुरु तलब स्केल २७५ रूपैयाँ र प्राविधिक तर्फको ३५० रूपैयाँ थियो) । भूपीले लेखेको नयाँ गीत अल्झेछ क्यारे पछ्यौरी रेडियो नेपालबाट प्रसारित भएपछि त्यस गीतमा अति मधुर, तर सशक्त सङ्गीत दिने गोपालबारे मैले भूपीबाट धेरै-धेरै प्रशंसाका शब्दहरू सुनेको थिएँ– नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको ‘तिगडी’ त्यसताका नेपाली आधुनिक सङ्गीतको आकाशमा नक्षत्र बनेर जगमगाइरहेका थिए, बेजोड, बेमिसाल ।

म स्वयं पनि गोपालको साङ्गीतिक प्रतिभाको कायल भइसकेको थिएँ । तर हाम्रो व्यक्तिगत भेटघाट थिएन । मलाई त कल्पना गर्न पनि गाह्रो परिरहेको थियो कि बाइस तेइस वर्षको ठिटोमा त्यस्तो साङ्गीतिक प्रतिभा हुन सक्छ ? प्रेम, विरह र वेदनाबारे त्यस्ता मर्मस्पर्शी गीतहरू लेख्ने गीतकार त्यति कम उमेरको होला भनेर पत्याउन गाह्रो थियो । तर भूपी भने सत्यजीत रे कञ्चनजङ्घा फिल्म बनाउने सिलसिलामा दार्जीलिङ जाँदा कसरी गोपाललाई बोलाउन पठाएर उसले बजाएको बाँसुरी सुनेर मुग्ध भएको थियो भन्ने जस्ता अनेकौं कुराहरू सुनाएर अघाउँदैनथ्यो ।

२०२५ साल वैशाखको अन्त्यतिर श्री ५ को सरकारको जागिरबाट राजीनामा दिएर स्वीकृतिको प्रतीक्षामा थिएँ । म काठमाडौँमा थिएँ । त्यहीबेला नेपाली चलचित्रका जनक स्व. हीरासिंह खत्रीले मलाई ‘चेतना’ (पछि परिवर्तन) चलचित्रको पटकथा, गीत र संवाद लेखनका साथै उहाँको सहायकसमेत भएर काम गर्ने मौका दिनुभयो । नारायणगोपाल होटल रोयलको ३० नम्बर कोठामा हीरासिंह काकालाई भेट्न आइरहन्थ्यो– ‘हिजो आज भोलि’ का नायक दिवङ्गत मित्रलाल शर्मा र तीर्थ शेरचन पनि । तीर्थ शेरचनलाई त्यस चलचित्रमा नृत्य निर्देशक राख्ने निर्णय गरेका थियौं र गीत रेकर्ड गर्न कलकत्ता जाँदा पनि तीर्थलाई साथ लैजाने निश्चय भइसकेको थियो । कारण, त्यस फिल्ममा गण्डकी अञ्चलका लोकलयमा आधारित गीतहरू पनि थिए र मादल बजाउन बङ्गाली वाद्यवादकहरूले नसक्लान् भन्ने मेरो र तीर्थको अडान थियो ।

एक दिन नारायणगोपालले भन्यो– ‘‘चेतन, हामीहरू मितज्यू नाइट गर्दैछौं । मितज्यू (गोपाल) र मेरो गायनको कार्यक्रम भए तापनि बीचबीचमा तिमीले एक दुईवटा गाइदेउ, हुन्न ?’’ गण्डकी अञ्चलका लोकगीतहरूमा मेरो रुचिबारे नारायणलाई त थाहा थियो नै, तीर्थ र मैले त प्रज्ञारत्न, कल्याण, भूपी, खेमनारायण र कुलदीप आदिका साथ पोखरेली लोकसंस्कृतिको उत्थानमा डुबेरै सहभागी हुने मौका पाएका थियौं । अझ भनौं ‘गण्डकी सांस्कृतिक परिषद्’ (पहिला हिमाञ्चल) नामक संस्थाले समयसमयमा प्रस्तुत गर्ने रङ्गमञ्चीय कार्यक्रममा लोकगीत र नृत्यतर्फको अभिभारा मैले बोक्नुपर्थ्यो । तीर्थ र प्रज्ञाले सङ्गीत संयोजनको अभिभारा लिन्थे । कल्याण र कुलदीप काकाले नृत्य र प्रहसनमा सहयोग गर्थे । भूपी सधैँजसो हाम्रा माझमा हुने गर्थ्यो । नाटक लेख्थ्यो भूपी, निर्देशन मैले गर्नु पर्थ्यो ।

मितज्यू नाइट सफलतापूर्वक सम्पन्न भयो । भर्खरको ठिटो गोपाल योञ्जनसित मेरो साक्षात्कार र व्यक्तिगत परिचयको सूत्रपात भयो । कार्यक्रमकै दौरान कसैले मलाई एउटी १६–१७ वर्षकी केटीलाई देखाउँदै जानकारी दिएको थियो– ‘‘ऊ…त्यही केटीसित गोपाल योञ्जनको लभ चल्दैछ । छिट्टै बिहे गर्छन् जस्तो छ, त्यो केटी रेडियो नेपालबाट अङ्ग्रेजी समाचार पढ्छे ।’’ मैले रेडियो नेपालमार्फत अङ्ग्रेजी समाचार पढ्ने रिन्छेनको स्वर सुनेको थिएँ ।

‘परिवर्तन’ चलचित्रको निर्माण सम्पन्न भएपछि हीरासिंह काका बम्बई फर्केर जानुभयो । म सेन्टमेरिज स्कुलमा जीवविज्ञान पढाउन थालेँ । ठमेलबाट सेन्टमेरिजकै छेउमा जनकबहादुर थापाको घरमा डेरा सरेको थिएँ । एक दिन कता कताबाट गोपाल मलाई खोज्दै आइपुग्यो । गोपालले कलेजमा कल्चर पढाउनलाई निवेदन दिएको रहेछ । नेपालीमा एमए पास गरेछ, तर नेपालको संस्कृति विषयमा त्यति नभिजेकोले मलाई खोज्दै आएको रहेछ । म नै कहाँको संस्कृतिको विशेषज्ञ थिएँ र ? तर गोपालले म उपर राखेको आस्थाले मलाई भित्रसम्म छोयो । हामी दाजुभाइ पाँच घण्टासम्म नेपाली संस्कृतिबारे कुरा गर्दै रह्यौं ।

गोपाल नेपालकै भयो । बिहे पनि गऱ्यो । छोरी र दुई जना छोरा पनि जन्मे । उसको सङ्गीत साधना चल्दैरह्यो । उसको कला झन् झन् तिखारिँदै गयो । शास्त्रीय सङ्गीतमा दखल भएकोले आधुनिक सङ्गीततर्फ त उसको दक्षता निर्विवाद थियो नै, नेपाली लोकगीततर्फ पनि उसले गहिरो अभिरुचि लिन थाल्यो । कल्याण शेरचन र क्षेत्र गुरुङसित गोपालको प्रगाढता बढ्दै गयो । उनीहरूसित गोपालले पश्चिमाञ्चल क्षेत्रका धेरै जिल्लाहरूको भ्रमण गऱ्यो ।

म शाही नेपाल चलचित्र संस्थानमा मुख्य निर्माण अधिकृत थिएँ । ‘सिन्दूर’ चलचित्र निर्माणाधीन थियो । सञ्चालक समितिले सङ्गीत संयोजनका लागि नातिकाजी दाइ र गोपाललाई जिम्मा दिने निर्णय गऱ्यो । त्यस निर्णयका पछाडि सञ्चालक समितिका सदस्य हीराकुमार सिंहको ठूलो भूमिका थियो । पृष्ठभूमिमा सूत्रधार को थियो ? त्यसको अनुमान सुविज्ञ पाठकहरूमाथि नै छोड्दछु ।

मैले नातिकाजी दाइ र गोपाललाई निर्माण शाखामा सम्पर्क राख्न अनुरोधपत्र पठाएँ । नातिकाजी दाइ आउनुभयो र अनुबन्धमा हस्ताक्षर गरेर जानुभयो । तर, गोपाल आएन । मैले कल्याणलाई जसरी भए पनि गोपाललाई मकहाँ लिएर आउन भनेँ । तिनताका टेलिफोन भन्ने कुरा नेपालीहरूका लागि विलासकै सामग्री जस्तो थियो । त्यसैले न मेरो डेरामा थियो, न गोपालको डेरामा । ढिलै भए पनि कल्याणले गोपाललाई लिएर मेरो अफिस कोठामा आयो ।

गोपाल, नातिकाजी दाइसित मिलेर सङ्गीत दिन अप्ठ्यारो मानिरहेको थियो । कारण मैले बुझेको थिएँ । मैले गोपाललाई सम्झाएँ । मेरो दृष्टिमा नेपाली आधुनिक सङ्गीतमा माधुर्यको प्रसङ्ग आयो भने तिनताका नातिकाजी दाइ र गोपालबाहेक तेस्रो व्यक्तिको नाउँ लिन गाह्रो थियो । आजभोलि त एकभन्दा अर्को लोकप्रिय फिल्मी सङ्गीतकार आइसके, तर तिनताका नातिकाजी दाइसँग दाँजिने कोही थिएन र उनलाई चलचित्रको सङ्गीतबारे अनुभव पनि थियो । गोपालको सङ्गीत माधुर्य बेग्लै किसिमको थियो र चलचित्रमा सङ्गीत दिने उसको पहिलो अवसर थियो । दुवै महारथी थिए, तर ढब फरक थियो । एक घण्टा प्रवचन दिएँ हुँला मैले गोपाललाई, करबलले अनुबन्धमा हस्ताक्षर पनि गर्न लगाएँ । ‘सिन्दूर’ नेपाली चलचित्र उद्योगको एउटा कोसेढुङ्गा साबित भयो । संयुक्त रूपमै भए पनि उपत्यकाभित्र मात्रै ५२ साता निरन्तर प्रदर्शन गरिएको चलचित्र सिन्दूर बाहेक आजसम्म अर्को छैन । त्यस चलचित्रले प्रकाश थापालाई सही अर्थमा चलचित्र निर्देशकका रूपमा स्थापित गऱ्यो भने त्यसका लागि चलचित्रको सङ्गीत पनि धेरै हदसम्म श्रेयको अधिकारी छ ।

‘जीवनरेखा’ को ६५ प्रतिशत जति छायाङ्कन समाप्त भएपछि ६ चैत २०३८ सालदेखि शाही नेपाल चलचित्र संस्थानबाट स्वेच्छिक अवकाश लिएँ र २०४० सालमा ‘कान्छी’ को निर्माण सुरु भयो । यसपटक भने गोपाललाई एकलौटी सङ्गीत निर्देशन गर्न जिम्मा दिलाउने मौका पाएँ मैले । ‘कान्छी’ मा दुईवटा गीत गोपालका थिए, बाँकी जम्मै मेरा । कान्छीको सङ्गीत पक्षबारे मैले केही लेख्नु भनेको सूर्यलाई बत्ती देखाउनु सरह हुनेछ, त्यसैले यो दुस्साहस पनि नगरौं । ‘सिन्दूर’ झैं फिल्मी सङ्गीतमा ‘कान्छी’ एउटा इतिहास बन्न सफल भएको छ । ‘कान्छी’ भन्दा पहिला गोपालले ‘अर्को जन्म’ र ‘बदलिँदो आकाश’ मा सङ्गीत दिइसकेको थियो, तर ती चलचित्रहरू ‘कान्छी’ जति चर्चित थिएनन् । ‘विश्वास’, ‘भुँमरी’ र ‘पहिलो प्रेम’ मा मेरो र गोपालको जोडी रह्यो । विश्वासपछि बनेको ‘मायाप्रीति’ मा फेरि एकपटक गोपालको सङ्गीत उत्कृष्ट ठहरियो अनि हाम्रो अन्तिम चलचित्र थियो– ‘राँको’ । हाम्रो जोडीको आखिरी कोसेली ‘सबैलाई चेतना भया’ भन्ने गीतिनाटक थियो ।

‘परिवर्तन’ को गीत रेकर्डिङ गर्न कलकत्ता जाँदा हीरासिंह काकाले मेरो परिचय भी. बलसारासित गराउनु भयो । मैले गीतहरू दिएँ । तीर्थ शेरचन पनि साथै थिए । गायक–गायिकाहरू दुई तीन दिनपछि मात्र कलकत्ता पुग्ने थिए । बलसारा दाले गीतहरूको धुन कस्ता छन् भनेर सोधेका थिए । मैले– ‘‘सङ्गीतकार त तपाईँ, धुन त तपाईँले बनाउनु हुन्छ, हैन र ?’’ भनेको थिएँ । (कुराकानी हिन्दीमा भएको थियो ।)

‘‘वो तो ठीक है, लेकिन गीत लिखते समय कुछ तो धुन आपके मन में आए होँगेँ ? आपने गुनगुनाए होँगेँ ?’’

‘‘ज्यादातर गाने लोकधुन पर आधारित है दादा । एक दो गीत मैने गुनगुनाए है, एक गाने की तर्ज तीर्थजी ने बनाई है ।’’

‘‘वही सुनाइए ।’’

तीर्थ र मैले क्रमैसित गीत सुनाउँदै गयौं । मैले गीतहरूको सिचुएसन पनि भन्दै गएँ ।

‘‘अच्छा, इतने ही है ना ? अब मै आपको गुनगुनाके सुनाता हुँ ।’’

उनले जम्मै गीतहरू जस्ताको तस्तै गुन्गुनाएर सुनाउँदा तीर्थ र म छक्क परेका थियौं । काका मुसुमुसु हाँस्नु भएको थियो । जिज्ञासालाई थाम्न नसकी मैले सोधेको थिएँ– ‘‘दादा, एक ही बार सुनकर आपने सारे गाने ज्योँ का त्योँ गुनगुनाके सुना दिए, कमाल है ।’’

उनले जवाफ दिएका थिए– ‘‘इसमेँ कमाल की कोई बात नहीँ चेतनजी । आप गाते रहे, मैँ नोटेशन लिखता रहा ।’’ अनि मैले मनमनै भनेको थिएँ– ‘‘तब न सङ्गीतकार ।’’ बम्बईबाट आएको एउटा पारसी, चानचुने योग्यताले बङ्गालमा त्यसै टिकेन होला ।

पाखापर्वतमा सधैं गुन्जिइरहने गोपाल योञ्जन

उपरोक्त प्रसङ्ग अनावश्यक देखिएला, तर सुविज्ञ पाठकहरू ! उक्त प्रसङ्ग निरर्थक छैन । हामीहरू ‘कान्छी’ का गीतहरूको रेकर्डिङ गराउँदै थियौं । गोपाललाई सहयोग गर्न बलसारा दाले आफ्नो चेला रोबिन सरकारलाई खटाइदिएका थिए । रोबिनले देवनागरीमा लेखिएको गोपालको स्वरलिपिलाई बाङ्लामा उतारेर वाद्यवादकहरूलाई बाँडेको थियो । तिनताक धेरै कारणहरूले गर्दा फिल्मी सङ्गीत रेकर्ड गराउन कलकत्ता वा बम्बई जानुपर्ने बाध्यता थियो । कलकत्ताका खप्पिस वाद्यवादकहरूले बजाउँदै थिए । बाह्र जना भायलिनवादकहरू थिए– ट्रयाक बनाउन पहिला बाजाहरूको भाग रेकर्ड गर्न लागिएको थियो– एक्कासि गोपालले कट् भन्यो । बाह्र जनामध्येको एउटा वादकलाई इङ्गित गरेर भन्यो– ‘‘दादा आपनार नोटेसन भालो कोरे चेक कोरुन् तो’’ (दादा, तपाईको नोटेसन राम्रो गरी चेक गर्नुस् त) ।

वादक र रोबिन दुवैले चेक गरे, नोटेसन त ठीकै रहेछ । तर, गोपालको भनाइमा उसले एउटा नोट (सुर) गलत बजाएको रहेछ । गोपालले सङ्गीतको भाषामा अर्थात् सरगममा गुनगुनाएर धुन बतायो, वादकले बजायो । गोपाललाई चित्त बुझेन, बारम्बार बजाउन लगायो, अनि मात्र ‘ओके, टेक’ भन्यो । त्यसपछि सबै वादकहरूले बडो सतर्क भएर बजाउन थाले । रेकर्डिस्ट एमिल आफैँ पनि सङ्गीतको ज्ञाता थियो । स्टुडियोकी मालिक उषा उत्थुप त भारतीय पप सङ्गीत जगतकी प्रसिद्ध गायिका नै ठहरिन् । दुवै गोपालको धुनमा रहेको माधुर्यको मुग्धकण्ठले प्रशंसा गरिरहेका थिए । मेरो मनमा गोपालको साङ्गीतिक दक्षताको छाप त अझै गहिरो भयो नै, बाह्र जनामध्ये बिगार्ने यही हो भनेर तुरुन्तै पत्ता लगाउन सक्ने उसको श्रवण–सूक्ष्मताको म कायल भएँ ।

स्वरसम्राट नारायणगोपालको अधीरता र गोपालको शिष्टता, गाम्भीर्य र धैर्यको एउटामात्र उदाहरण प्रस्तुत गर्नु पर्दा– ‘कान्छी’ चलचित्रको गीतहरूको रेकर्डिङ् भइरहेको अवधिमा हिमाल सरी म अग्लिरहेछु भन्ने गीतको अभ्यास एउटा कोठामा चलिरहेको बेला नारायणगोपालले एक दुई नोट ठीकसँग नपक्डेपछि, गोपालले, ‘मितज्यू नोट लागेन’ भन्दा नारायणगोपालले, ‘नोट गाह्रो रहेछ’ भने । गोपालले, ‘तब त अभ्यास गरेको नि’ भनी भन्दा भन्दै, ‘म गाउँदिन, म काठमाडौँ फर्केर जान्छु’ भनी सुटकेशमा कपडाहरू कोचेर कोठाबाट निस्कि नै हाल्यो ।

म अतालिएँ । तर शिष्ट शान्त गोपालले कुनै प्रतिक्रिया जनाएनन् । म अतालिँदै भए पनि सो गीत नोट ठीकसँग पक्डेर गाइरहेकी अरुणासित गोपाललाई नै गाउने आग्रह गर्छु कारण नारायणगोपालको विकल्प त गोपाल नै हुन्, जसले गाए पनि फरक पर्ने छैन भनेर म मनमनै आश्वस्त भएको थिएँ । वास्तवमा नारायणगोपाल पनि त्यति अशिष्ट त कहाँ हो रहेछ र ? एकापट्टि गोपालको धैर्य र मान्छे (मितज्यू) को स्वभाव बुझ्ने योग्यतामा उल्टा म घायल भएँ । एउटा होटलमा गएर बसेका नारायणगोपालले भोलिपल्ट चकितै बनाएर गीतलाई सुपरहिट हुने गरी गाए । तथापि गोपालले चाहेजस्तो, गीतहरूमा उनलाई रगडाउनु पाएको भए निश्चय स्वरसम्राट नारायणगोपाल जुन तहसम्म पुगेर गए त्यसभन्दा माथि पुगेर आफूले आफैँलाई उछिनेको देख्न पाइने थियो ।

हामी ‘विश्वास’ फिल्मको गीत रेकर्डिङ गराउँदै थियौं । स्टुडियो ‘भाइब्रेसन’ थियो । पहिलो दिन दुईवटा गीतहरूको रेकर्डिङ भइसकेको थियो । दोस्रो दिन इन्स्ट्रुमेन्टको भाग गरिसकेपछि भोकल सुरु गर्न के आँटेका थियौं– ‘बन्द कोरुन्, बन्द कोरुन्’ भन्दै बङ्गालीहरूको एक हुल स्टुडियोभित्र पस्यो । कारण बुझ्दा आधा घण्टा अघि मात्र दिल्लीमा इन्दिरा गान्धीलाई गोली हानिएको कुरा अवगत हुन आयो । कलकत्तामा सबै वाहनहरू बन्द, तोडफोड र आगजनीका असङ्ख्य घटनाहरू भए । अनिश्चितकालका लागि कर्फ्यू लागू गरियो । त्यस दिन त हामी बसेको होटलको वेटरले कताकताबाट तेब्बर पैसा तिरेर भए पनि खानेकुरा ल्याएर खुवायो, तर भोलिपल्ट त सबै होटल, रेस्टुराँ र ढाबाहरू बन्द भएकाले आपतै पऱ्यो । तेस्रो दिन भोकले छट्पटाएका कलाकारहरूका लागि खानेकुरा खोज्न मैले बाहिर निस्कने अठोट गरेँ । होटलवालाहरू बाहिर कर्फ्यू छ, गोली हान्छ भन्दै थिए (होटलको सुरक्षाका लागि खटिएका पुलिसहरूसित अनुरोध, अनुनय–विनय गरेर केही खानेकुरा मगाउने बुद्धि पनि आएन) । जे त होला, परदेशमा भोकै मर्नुभन्दा, गोली खाएरै मर्नु बेस भनेर म कस्सिएँ । गोपालले पनि सँगै जाने जिद्दी गऱ्यो । कति सम्झाउँदा पनि मलाई एक्लै जान दिएन । हामी दुवै लुक्दै छिप्दै, कुनै खाने ठाउँ भेटाइन्छ कि भनेर गल्लीगल्ली चहार्न थाल्यौं ।

कलकत्ताका प्रत्येक साँगुरा गल्लीमा पुलिस हुन सम्भव कहाँ थियो र ? निकै गल्लीहरू चहारेपछि एउटा मुसलमानको सानो ढावा फेला पाऱ्यौं । रोटी र दालबाहेक केही छैन भनेर मुसलमानले भन्यो । पहिला आफू दुईजनाले खाएर माटोको बर्तनमा दाल र कागजमा बेरेर रोटी लैजाउँला भन्ने सल्लाह गरी बेन्चमाथि बस्यौं । मुसलमानले दुईवटा एनामेलका प्लेटमा दुई दुईवटा रोटी र एनामेलकै कचौराहरूमा दाल राखिदियो । तर…दुवै कचौरामा दालमाथि एक एकवटा उसिनेको फुल हालेको रहेछ । गोपाल कट्टर शाकाहारी हो भन्ने कुरा मलाई थाहा थियो । जन्मेदेखि उसले माछा, मासु खाएको थिएन । अब के गर्ने ? मैले गोपाललाई भनेँ– ‘‘दालमा त मोराले फुल हालेर मरेछ । कसरी खान्छौ तिमी ?’’ गोपालले आफ्नो कचौराको फुल झिकेर मेरो कचौरामा हालिदियो अनि मुसुक्क हाँसेर भन्यो– ‘‘अब खै फुल ?’’ मेरो मन भित्रसम्म रोमाञ्चित भएर आयो । ज्यादै ठूलो शिक्षा दिएको थियो– गोपालले मलाई । धर्म भन्ने कुरा जीवनशैली न हो, जीवनदर्शन, जीवनलाई हेर्ने दृष्टिकोण न हो । जुन कार्यले, व्यवहारले जीवनलाई बाधा पार्छ, त्यो धर्म कसरी हुन्छ ? धर्म त जीवनलाई सुख शान्तमय बनाउनलाई धारण गर्नुपर्ने बाटो, नियम वा व्यवहार न हो । स्वच्छ विचारका लागि स्वच्छ आहार गर्नुपर्छ । सामीष भोजनले स्नायुलाई उत्तेजित पार्छ । स्नायु उत्तेजित भएपछि मस्तिष्क अशान्त हुन्छ । अशान्त मस्तिष्कमा स्वच्छ विचारहरू आउँदैनन् । तर संकटकालीन अवस्थामा प्राण बचाउन धौधौ परेका बेलामा कस्तो कट्टरता ? धर्म जीवनभन्दा माथि कदापि हुन सक्दैन । हामीले दालरोटी खायौं र अरूका लागि पनि लिएर गयौं ।

‘मायाप्रीति’ को रेकर्डिङ चल्दै थियो– बङ्गालको एउटा स्टुडियोमा । स्टुडियोका मालिक रहेछन्, दिवङ्गत सलिल चौधरी । आफ्नो जीवनकालमा उनले धेरै धेरै हिन्दी चलचित्रहरूमा ज्यादै उच्चकोटीको सङ्गीत दिएका थिए । तर ‘देवदास’ र ‘मधुमती’ को सङ्गीतले मलाई उनको गहिरो प्रशंसक बनाएको थियो । रेकर्डिङ चलिरहेको बेलामा सलिल चौधरी त्यहाँ आइपुगे । उनकी कान्छी श्रीमतीले त नेपाली भाषा जानेकी भए एउटा गीत मलाई पनि गाउने मौका दिनोस् भनेर अनुरोध गर्न मन लागेको थियो भनेर गोपालको साङ्गीतिक कौशलको प्रशंसा गरेकी थिइन् । स्वयं चौधरी पनि बडो चाख लिएर सुनेका थिए । चियापानको ब्रेक हुँदा हामीहरूले परस्पर परिचयको आदानप्रदान गऱ्यौं । उनले स्टुडियोका विभिन्न कक्षहरू देखाए, आफ्नो भावी योजना बताए र नेपाल आएर नेपाली सङ्गीतबारे बृहत् छलफल गर्ने इच्छा प्रकट गरे । म उनको सङ्गीत माधुर्यको प्रशंसा गर्दै रहेँ, तर उनी मुग्धकण्ठले गोपालको सुर संयोजनको प्रशंसा गर्दै रहे । गोपाल मौन रहेरै हामी दुई जनाको वार्तालाप सुन्दै रह्यो । एउटा ख्यातिप्राप्त सङ्गीतकारबाट गोपालको प्रशंसा सुन्दा मेरो छाती गर्वले चौडा भएको थियो ।

पाखापर्वतमा सधैं गुन्जिइरहने गोपाल योञ्जन

हामी दुई जनाले सातवटा भन्दा बढी चलचित्रमा सँगसँगै काम गऱ्यौं । तर अचम्मको कुरा के भने, मेरो एउटा पनि गैरफिल्मी गीत गोपालले सुरबद्ध गरेको छैन । ‘सबैलाई चेतना भया’ गीतिनाट्यमा हाम्रो पहिलो र अन्तिम गैरफिल्मी जोडी रह्यो । १५ पुस २०५३ सालको कुरा थियो त्यो । महेन्द्र पुलिस क्लबमा प्रदर्शित उक्त गीतिनाट्य नजर भएपछि श्री ५ युवराजाधिराज सरकारबाट म लेखक, सङ्गीतकार गोपाल र निर्देशिका मिथिला शर्मालाई विशेष दर्शनभेट बक्सेको थियो र ‘साह्रै राम्रो, धन्यवाद’ हुकुम बक्सेको थियो ।

एउटा प्रखर र प्रबुद्ध गीतकार, कोमलता र कठोरताको अनौठो सङ्गम, भजन, राष्ट्रिय गीत, जागृति गीत, श्रृङगार र प्रेमगीत तथा बालगीत सबै सबै फाँटमा उसको कलमलाई बराबर सिद्धि प्राप्त थियो । उसको स्वरमा अपूर्व ओज थियो, मिठास थियो र व्यथा पनि थियो ।

न्ह्यू बज्राचार्यको सङगीत पाठशाला ‘डोरेमी’ ले गोपालको अभिनन्दन गर्ने निर्णय गऱ्यो । न्ह्यू भाइले अभिनन्दनपत्र तयार गरिदिन मलाई अनुरोध गरे । पहिलोपटक मलाई अनुभव भयो कि गोपालबारे केही लेख्नु कति कठिन छ । कलम रोकिन चाहन्नथ्यो, मन र मस्तिष्क कलमभन्दा धेरै छिटो दगुरिरहन्थे । म गोपाललाई सुहाउने शब्द, उपमा र विशेषणहरू सोच्न आफूलाई असमर्थ पाइरहेको थिएँ । अभिनन्दनपत्र महाभारत हुन सक्दैनथ्यो, ममा व्यास र गणेश हुने क्षमता थिएन । गोपाल वास्तवमै कुरुक्षेत्रको मैदानमा अर्जुनलाई गीताको उपदेश दिँदा भगवान् श्रीकृष्णले धारण गर्नुभएको ‘विराट’ स्वरूप लिई मेरा मानसचक्षु अगाडि उभिन आएको थियो ।

गोपाल बिमारी भएको मलाई थाहा थिएन । २६ चैतको दिन नेपाल टेलिभिजनको मूल्याङ्कन कक्षमा एक्लै बसेर म टेलिफिल्महरूको मूल्याङ्कन गरिरहेको थिएँ । सलोनीले अत्यन्त जरुरी टेलिफोन आएको सूचना दिई । मिथिलाले गोपाल सिकिस्त बिमारी भएको र महाराजगञ्जको एचएम हस्पिटलमा भर्ना गरिएको तथा त्यसै दिन दिल्ली लैजाने तयारी भइरहेको कुरा सुनाउँदा म खङ्ग्रङ्ग भएँ । अस्पताल पुग्दा गोपाल परिवार, भिनाजु र एकदुईजना इष्टमित्रबाहेक अरू कसैलाई देखिनँ । रिन्छेनबाट थाहा भयो– ‘‘पहिला कमलपित्त भयो, वैद्यको औषधिले छोएन, रोग बढ्दै गयो र उसलाई यहाँ ल्याएर जचाउँदा कलेजो ज्यादै बिग्रेको कुरा डाक्टरहरूले बताए । सेकेन्ड चेकअपका लागि दिल्ली लैजाने निश्चय गरेकी छु ।’’ डाक्टरसित कुरा गर्दा कलेजो नफेरी अर्को विकल्प छैन भन्ने कुरा ज्ञात भयो । गोपाल होसमै थियो, तर निरन्तर बाडुली लागिरहनाले त्रस्त थियो । मैले उसलाई नैतिक बल दिनुबाहेक के नै गर्न सक्थेँ र ? ‘आत्मबल गिर्न नदिनू गोपाल । छिट्टै फर्केर आउनू दिल्लीबाट’ उसित बिदा लिने बेलामा मैले यत्तिमात्र भनेको थिएँ ।

दिल्लीबाट गोपालबारे जे जति खबर प्राप्त हुन्थे, मिथिला र पूर्ण नेपालीले तुरुन्त फोनबाट मलाई सूचना दिन्थे । काठमाडौँमा औषधि ठीक नपरेको कुरा, ग्लुकोज बढी भएको कुरा, यस्तै यस्तै– गोपालको अवस्था सुध्रँदै छ रे । बिलुले त एक डेढ मिनेट ट्रङ्क कल गरेर कुरा पनि गरे रे, अनि एकदिन गोपालको रक्तचाप अस्थिर भएको कुरा पनि सुनाए । काठमाडौँ होस् वा पोखरा, जहाँ जान्थेँ, गोपालका शुभेच्छुकहरू मसित उसको स्वास्थ्यबारे सोध्दथे । उसलाई दिल्ली लगेको दिनदेखि नै मैले आफ्नो नित्यपूजामा एक सिन्को धूप थपेर बाल्न थालेको थिएँ । ईश्वरलाई फकाउन थालेको थिएँ– ‘‘प्रभो, मैले कुनै राम्रो काम गरेको लाग्छ भने त्यसको फल गोपाललाई दिनुहोस् ।’’

पाखापर्वतमा सधैं गुन्जिइरहने गोपाल योञ्जन
गोपाल योञ्जनकी छोरी  तथा गोपालयकी निर्देशक सृजना सिंह योञ्जन ।

तर, ६ जेठ २०५४ सालको बिहान रिन्चेनले दिल्लीबाट फोन गरी– ‘‘दाइ, गोपाललाई भेन्टिलेटरमा राख्ने भयो ।’’ दिउँसो पूर्ण र मिथिलाबाट खबर पाएँ, छोरी र छोराहरू पनि दिल्ली गइसके रे । ७ गते बिहान प्रदीप, पूर्ण र मिथिलासित फोनमा सल्लाह गरेर सञ्चार माध्यमहरूमार्फत गोपालको शीघ्र स्वास्थ्यलाभका लागि शुभकामना प्रकाशित प्रसारित गराउने निर्णय गरी नेपाल टेलिभिजनका तपानाथ शुक्ल, कामना प्रकाशन समूहका पुष्कर श्रेष्ठ, ललितपुर कला सांस्कृतिक प्रतिष्ठान र गोरखापत्र-मधुपर्कका श्रीओम श्रेष्ठ रोदनसित कुरा गरेँ । सबैबाट सकारात्मक धारणा र सहयोगको भावना पाएँ । रेडियोमा प्रदीप बम्जनलाई व्यक्तिगत रूपले गई पाण्डव भाइलाई भेटी कुरा मिलाउन अह्राएँ । ८:३० बजेतिर कुलदीप योञ्जनको फोन आयो, हामीले गर्न चाहेको कुरामा उसले पनि सहमति जनायो । ९:३० बजे फेरि कुलदीपको फोन आयो– नेपाली समयअनुसार ८:३० बजे बिहान नै गोपालले यो संसार छोडिसकेछ, यो नश्वर चोला फेरिसकेछ, चीर समाधिमा लीन भएछ, अखण्ड मौनधारण गरेछ ।

म दिनभरि टेलिफोन नजिक बसिरहेँ । सबै सञ्चार माध्यमहरूलाई (जसजसलाई मैले स्वास्थ्यलाभको कामना प्रकाशित प्रसारित गर्न अनुरोध गरेको थिएँ) अब शुभकामना होइन, आत्माको चीरशान्तिको कामना प्रकाशित प्रसारित गर्न अनुरोध गरेँ । रेडियोमा फोन गर्दा भाग्यले पाण्डव भाइसितै सम्पर्क भयो । उहाँले तत्कालै गोपालबारे विशेष कार्यक्रम प्रसार गर्न थालिहाल्नु भयो । रविन शर्मा पनि पछिबाट लागिपर्नु भो । मिथिला स्कुल गइसकेकी रहिछ । तर यो दुःखद समाचार मैले फोन गर्नु अगावै सुनिसकेकी रहिछ । प्रदीप बम्जनले रेडियो पुगेर फोन गरे, केही समयपछि युवा खेलकुद तथा संस्कृति मन्त्रालयबाट फोन गरे, अन्तमा गृह मन्त्रालयबाट फोन गरे– ‘‘कलाकारलाई राष्ट्रिय सम्मान दिने सम्बन्धमा नियममा उल्लेख छैन रे ।’’

वर्षौदेखि मनभित्र गुम्सिएको आक्रोश पोखेँ मैले– ‘‘हो, यो देशको दुर्भाग्य हो यो, चाकडी चाप्लुसी, गुण्डागर्दी, तस्करी, भ्रष्टाचार, अनाचार र अत्याचार गर्ने सांसद एवं मन्त्री भनाउँदा छुल्याहा फटाहाहरूलाई सम्मान दिने नियम छ, तर जीवनभर इमान्दारीसाथ आफ्नो क्षेत्रमा समर्पित, निष्ठावान्, देशप्रेमी कलाकारहरूलाई सम्मान दिने नियम छैन । साम, दाम, दण्ड, भेद जुनसुकै नीति अवलम्बन गरेर किन नहोस्, संसदमा पुग्नेहरूलाई गाडी झिकाउने सुविधा छ, भत्ता र कमिसन घिच्ने सुविधा छ, तस्करी गर्ने सुविधा छ र पेन्सन पाउने सुविधा छ । नैतिकता, अनुशासन र राष्ट्रिय भावनाबाट सर्वथा शून्य देश बेच्न पछि नपर्ने आतङ्कवादी, स्वार्थी र कुर्सीका भिखारीहरूलाई राष्ट्रिय सम्मान दिने नियम छ, तर उच्चतम राष्ट्रिय भावना बोकेका, निःस्वार्थी, त्यागी, सरस्वतीका वरदपुत्र, आ-आफ्ना विधाका महारथी, आफ्नो संस्कृतिका लागि मरिमेट्ने दक्ष कलाकारहरूलाई सम्मान दिने नियम छैन । जीवनभर कृपाको भिक्षा माग्ने मगन्तेहरूलाई सम्मान दिने नियम छ, तर जीवनभर दियोको तेल झैं तिल तिल जलेर देशलाई ज्योति दिने, कसैबाट कुनै पद, ओहोदा र सम्मान नमाग्ने, बरु देशले रगत मागे मलाई बलि चढाउ भन्ने आदर्श पुरुषलाई सम्मान दिने नियम छैन । केही छैन…तपाईँहरू नियम पल्टाएर बस्नोस् । हामी हाम्रो नियम बनाउँछौं । हामी सम्मान दिन्छौं, हाम्रा क्षेत्रका महारथीहरूलाई । हेरूँ, हाम्रो बाटो कसले छेक्दो रहेछ ? हूँ! कुनै पनि राष्ट्रको गौरव त्यसको भूक्षेत्रफल, त्यसको जनसङ्ख्या वा आर्थिक समुन्नतिले होइन, त्यस देशको भाषा, कला, साहित्य र संस्कृतिको विकसित अवस्थाले प्रतिबिम्बित गर्छ रे १ कलाकार देशका आभूषण रे, हो भोजमा जाँदा लगाउने, फर्केपछि फुकालिएर मिल्काउने काठमाडौँ मच्छेन्द्रबहालका पेटीमा बेचिने नक्कली गहनाहरूको बरु मूल्य छ, तर कलाकारको कुनै मूल्य छैन यस देशमा ।’’

गोपालले आफ्नो सानो जीवनमा कतिवटा शिष्य तयार गऱ्यो, कति सय वा कति हजार गीतमा सङ्गीत दियो, कतिवटा चलचित्रहरूमा आफ्नो सीप देखायो वा कतिवटा गीतिनाटकहरूलाई मीठो सुरले सजायो भन्ने कुरा मेरा दृष्टिमा त्यति महत्त्वपूर्ण छैन, जति ती सबै सिर्जनाहरूका पछाडि लुकेको उसको अगाध र पवित्र नेपाल प्रेम, जागरणको सन्देश र जातीय स्वाभिमानलाई जगाउने उद्देश्यको छ ।

सहसचिवले– ‘‘हैन, हैन । सक्दो गर्छौं हामी, मुख्यसचिव र गृहसचिवज्यूहरूसित परामर्श गरेर के गर्न सकिन्छ, गर्छौं हामी’’ भनेर आश्वासन दिए तापनि मन आश्वस्त हुन सकेन । प्रदीप बम्जनलाई तुरुन्त गएर बजारबाट एउटा राष्ट्रिय झन्डा किन्ने र भोलि गोपालको पार्थिव शरीर जहाजबाट निकाल्नासाथ त्यो झन्डा ओढाइदिने निर्देशन दिएँ मैले । जे पर्ला, बेहोरौंला, तर परम राष्ट्रवादी, प्रखर लेखनीका धनी, ओजस्वी स्वरका धनी र सुरसंयोजनको असाधारण शिल्पीलाई समुचित सम्मान नदिलाई नछोड्ने!!

गृह मन्त्रालयले ब्यान्डका लागि प्रहरीलाई लेखेछ, धन्यवाद । जुन परम्पराको थालनी नारायणगोपालको निधनपछि जनभावनाको रूपमा प्रस्तुति गरिएको त्यसले जनसमर्थन पाउने भो, निरन्तरता पनि पाउला कि ? भाषा, कला, साहित्य र संस्कृतिका साधकहरूको वरीयता र योगदानको राष्ट्रिय सम्मान हुने नियम पनि बन्ला कि ? उपल्लो सदनमा कलाक्षेत्रका महारथीहरूलाई मनोनयन गर्ने नियम पनि बन्ला कि ?

मन्त्रिपरिषद्ले गोपालको उपचार खर्चमा भरथेक गर्न दुई लाख पचास हजार रूपैयाँ अनुदान दिने निर्णय गरेछ । रिन्छेन र सिर्जनाले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा दिल्लीस्थित शाही नेपाली राजदूतावासलाई अपोलो अस्पतालमा उपचार चलुञ्जेल सक्दो सहयोग गर्न र अस्पतालको रायमा विदेश लगी उपचार गर्नुपर्ने अवस्था भए श्री ५ को सरकारलाई यथाशीघ्र आवश्यक व्यवस्था मिलाउनेतर्फ हुकुम बक्स हुन बिन्तीपत्र दर्ता गराउने सल्लाह गरे । तर, गोपालले स्वीकार गरेन र त्यो काम गर्न दिएन । उसको स्वाभिमानलाई अभिमान म कसरी भनुँ ?

एउटा प्रखर र प्रबुद्ध गीतकार, कोमलता र कठोरताको अनौठो सङ्गम, भजन, राष्ट्रिय गीत, जागृति गीत, श्रृङगार र प्रेमगीत तथा बालगीत सबै सबै फाँटमा उसको कलमलाई बराबर सिद्धि प्राप्त थियो । उसको स्वरमा अपूर्व ओज थियो, मिठास थियो र व्यथा पनि थियो । सातवटै समूहहरूलाई उसले आफूभित्र आत्मसात् गरेको थियो । शास्त्रीय सङ्गीत, पाश्चात्य सङ्गीत र नेपाली लोकसङ्गीतको जुन सुन्दर समन्वय र सम्मिश्रण गोपालको साङ्गीतिक कलाशिल्पमा पाइन्छ, त्यो अन्यत्र दुर्लभ छ भन्नमा अत्युक्ति हुने छैन ।

नेपाललाई माया गर्छु भन्ने सबैको मर्मलाई गोपालले छामेको थियो र नेपाली युवाहरूलाई सदैव उत्प्रेरित गर्ने र सही दिशाबोध गर्ने प्रयास नै गोपालको विशेषता थियो । देशका भावी कर्णधार बालबालिकाहरूका लागि पनि प्रशस्त रचनाहरू गरेको थियो गोपालले । जसअनुसार आत्मअनुशासन, नैतिकता र राष्ट्रप्रेमको भावनालाई बालकहरूको कलिलो मस्तिष्कमा बलजफ्ती नथोपरी गीत र खेलका माध्यमले सिकाउने प्रयास गरेको छ । त्यस दिशामा पहिलो प्रयासका रूपमा ‘गीत मञ्जरी’ को क्यासेट र पुस्तक, स्वरलिपिसहित प्रकाशमा ल्याएको थियो उसले ।

पाखापर्वतमा सधैं गुन्जिइरहने गोपाल योञ्जन

गोपालले आफ्नो सानो जीवनमा कतिवटा शिष्य तयार गऱ्यो, कति सय वा कति हजार गीतमा सङ्गीत दियो, कतिवटा चलचित्रहरूमा आफ्नो सीप देखायो वा कतिवटा गीतिनाटकहरूलाई मीठो सुरले सजायो भन्ने कुरा मेरा दृष्टिमा त्यति महत्त्वपूर्ण छैन, जति ती सबै सिर्जनाहरूका पछाडि लुकेको उसको अगाध र पवित्र नेपाल प्रेम, जागरणको सन्देश र जातीय स्वाभिमानलाई जगाउने उद्देश्यको छ । इतिहासको क्रूर खेलबाडले होस्, हामी नेपालीहरूको दुर्भाग्यले होस् वा तत्कालीन शासकहरूको अदूरदर्शिताले होस्, गोपालले जन्म लिने सौभाग्य पाएको धरतीको टुक्रा आज नेपालभित्र पर्दैन, तर गोपालका कुनै न कुनै वीर पुर्खाहरूले कुनै न कुनै बेला त्यस भूभागलाई नेपाल बनाएर बसेका थिए । त्यसैले आफ्नो बाबुबाजे वा बराजु जुनसुकैको जन्मभूमि किन नहोस्, नेपाल आमाप्रतिको गोपालको उत्कट प्रेमलाई सम्झेर, राष्ट्रिय नारा लगाएर नेपाल आमाको छातीमा बञ्चरोले हान्ने कुनै पनि तथाकथित राष्ट्रप्रेमीसित तुलना गर्नु नेपाल आमाको अपमान गर्नुबाहेक केही हुने छैन ।

सरल, निष्कपट र मिलनसार सबैलाई सहयोग गर्ने उत्कट भावनाले गर्दा, ‘सबलाई रिझाउन खोज्दा पसलमा बेचिएको’ गोपालको स्वाभिमानलाई अभिमानको संज्ञा दिने पूर्वाग्रही र अबुझसित मेरो भन्नु केही छैन, तर व्यक्तिगत रूपले परिचित नभए पनि गोपालको पार्थिव शरीर अहिले रोयल एयरलाइन्स २१८ बाट काठमाडौँ ल्याइँदैछ भन्ने कुरा सुन्दा किंकर्तव्यविमूढ भएर बरबरी आँसु झार्ने जीएसई अपरेसनका लक्ष्मण केसी र पाँचथर घर भै गोर्खा लुइँटेल विद्यालयमा नवम कक्षामा अध्ययनरत डेढ वर्षको उमेरदेखि दृष्टिविहीन हुन पुगेका धर्मराज काफ्लेले गोपाललाई गुमाउँदा आफू मणि हराएको सर्पजस्तै बनेको अनुभव गरेझैं, हजारौं हजार नेपाली मुटुको ढुकढुकी बनिसकेको गोपाल, कुनै एक व्यक्ति, एक जाति, एक धर्म वा एउटा वादको सम्पत्ति नभएर, मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्म मात्र होइन, टिस्टादेखि काँगडासम्म मात्र पनि होइन, विश्वको जुनसुकै कुनामा ढुकढुकाउने नेपाली मुटु किन नहोस्, सबै सबैको साझा आदर्श बनेको छ, साझा सम्पत्ति बनेको छ ।

गोपालको आत्माले नेपाल छोडेर अन्यत्र जाने कल्पना कसरी गर्न सक्छु म ? पुनर्जन्ममा विश्वास राख्ने संस्कारमा हुर्केको मलाई त, गोपालले अवश्य पनि कुनै न कुनै राष्ट्रप्रेमी नेपाली आमाको कोख सार्थक पारिसक्यो कि जस्तो लाग्छ । नत्र ४५ दिनपछि त अवश्य पनि आफूले अधुरो छोडेर गएका कामहरू पूरा गर्न उसले शरीर धारण गर्छ गर्छ, यसै पनि ऊ मरेको कहाँ छ र ? गोपाल जस्ता महारथीहरूको पनि कहीँ मृत्यु हुन्छ ? ऊ त प्रत्येक गीत सर्जकको मनमस्तिष्कमा जीवित छ, प्रत्येक स्वरसाधकको गलामा जीवित छ, प्रत्येक सुर संयोजकको स्वरलिपिमा जीवित छ र प्रत्येक सच्चा नेपालीभित्र जीवित छ । उसको सङ्गीतलाई नेपालको सिरसिरे बतासले सदैव गुन्गुनाइरहने छ । उसका भावनाहरूलाई प्रत्येक नेपाली खोलानाला र छहरापहराले गाइरहने छ र उसको स्वरलाई नेपालको प्रत्येक पाखापर्वत र डाँडाकाँडाले गुञ्जाइरहने छ ।

अनन्तकालसम्म, तर सबैमा चेतना भएन भने नेपाल रहेसम्म ।

गीतकार चेतन कार्कीले लेखेको यो रचना गोपाल योन्जन फाउन्डेसनबाट गत साता प्रकाशित पुस्तक ‘गोपाल योन्जन’ मा प्रकाशित छ । यस पुस्तकले धेरैको ह्दय र मस्तिष्कलाई छोएका गोपाल योञ्जनको जीवन यात्रामा सँगै हिँड्ने एक अवसर प्रदान गर्दछ । सन् १९९७ देखि सन् २०२४ को बीचमा २७ वर्षको अवधिमा खोजी संकलन गरी १५ अध्यायमा बाँढिएका यस संग्रहले योञ्जनको जीवन, कलात्मकता र विरासतको विभिन्न आयामहरूको अन्वेषण गर्दछ । पुस्तकमा १०८ संख्यालाई विशेष स्थान दिइएको छ ।  यसमा १०० लेख, ५ स्मृति, ३ अन्तर्वार्ता छन् । यसबाहेक ४ वटा गोपाल योञ्जन आफैंले लेखेका लेखहरू तथा २ स्मृति पानाहरू र योञ्जन परिवारका तर्फबाट ३ वटा लेखहरू समावेश छन् ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School