प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सब्रिज पार्कमा आयोजित ‘प्रथम बाग्लुङ कप भलिबल प्रतियोगिता २०२६’ मा बाग्लुङ जिल्लाको बाग्लुङ ब्लु टोलीलाई पराजित गर्दै पर्वत ‘ए’ टोली च्याम्पियन बनेको छ। बाग्लुङ सेवा समाज न्यूयोर्क च्याप्टर र बाग्लुङ स्पोर्ट्स क्लब न्यूयोर्कको संयुक्त आयोजनामा सम्पन्न उक्त जिल्ला स्तरीय प्रतियोगितामा नेपालका विभिन्न ९ जिल्लाका १२ टोलीले सहभागिता जनाएका थिए।
मे ३० र ३१ मा सञ्चालित समूह चरणका खेलपछि भएको फाइनल स्पर्धामा पर्वत ‘ए’ टोली च्याम्पियन बनेको हो। उपाधिसँगै विजेता पर्वत ‘ए’ ले ३ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बाग्लुङ ब्लुले २ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ।

‘बेस्ट अफ फाइभ’ प्रणालीमा खेलाइएको फाइनल भिडन्त निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो सेटमा पर्वत ‘ए’ ले बाग्लुङ ब्लुलाई २५–१८ ले पराजित गर्दै अग्रता लियो। दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै बाग्लुङ ब्लुले २५–१८ कै समान अन्तरले खेल आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा पुनः २५–१८ को जित निकाल्दै पर्वत ‘ए’ ले खेलमा फेरि अग्रता बनायो। चौथो सेटमा पनि पर्वत ‘ए’ ले २५–२१ को विजय हासिल गरेपछि समग्रमा ३–१ को सेट अन्तरले उपाधि आफ्नो नाममा सुरक्षित गर्यो।
प्रतियोगितामा ताप्लेजुङ, झापा, दोलखा, रुकुम, बाग्लुङ रेड, बाग्लुङ ब्लु, पर्वत ‘ए’, पर्वत ‘बी’, सिन्धु, स्याङ्जा, म्याग्दी ‘ए’ र म्याग्दी ‘बी’ गरी १२ टोली सहभागी थिए।
दुई दिने उक्त खेल उत्सवमा न्यूयोर्क तथा आसपासका क्षेत्रबाट करिब एक हजार नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको अनुमान गरिएको छ। कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा न्यूयोर्कबासी नेपालीहरूको उल्लेख्य सहभागिता थियो। सो अवसरमा नेपाली लोकसंस्कृतिको झल्को दिने पञ्चेबाजा, लोकनृत्य, छेलो फाल्ने (ठेलो) प्रतियोगिता तथा अन्य सांस्कृतिक एवं खेलकुद गतिविधिहरू विशेष आकर्षणका रूपमा रहेका थिए।
विदेशमा रहेका नेपालीहरूबीच आपसी सद्भाव र जिल्ला-जिल्लाबीचको सम्बन्ध विस्तार गर्ने तथा नयाँ पुस्तालाई नेपाली संस्कृति, पहिचान र खेलकुदसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बाग्लुङ सेवा समाज न्यूयोर्क च्याप्टरका अध्यक्ष जीवन कँडेलले बताए।
त्यस्तै, समाजका महासचिव जिवनदास सुनारले यस प्रकारका कार्यक्रम समुदायका लागि अत्यन्त फलदायी हुने र पहिलो संस्करणमै प्रतियोगिता भव्य रूपमा सफल भएकाले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिए। आर्थिक तथा व्यवस्थापकीय चुनौतीहरू रहे तापनि महिला, बालबालिका, युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले आफूहरूलाई थप हौसला मिलेको र कार्यक्रमले आफ्नो उद्देश्य पूरा गरेको महासचिव सुनारको भनाइ थियो।
प्रतियोगितामा न्यूयोर्कबाहेक अमेरिकाका अन्य राज्यहरूबाट समेत खेलाडीहरू सहभागी भएका थिए। बाग्लुङ ब्लु टोलीका व्यवस्थापक बिक्रम थापाका अनुसार आफ्नो टोलीमा बाल्टिमोर र टेक्सासबाट समेत खेलाडीहरू समेटिएका थिए।

फाइनल खेलपछि खसोखाससँग संक्षिप्त प्रतिक्रिया दिँदै उपविजेता बाग्लुङ ब्लुका कप्तान बिपिन कुँवरले टोलीको डिफेन्समा केही कमजोरी रहनु नै पराजयको मुख्य कारण भएको स्वीकार गरे। सेमिफाइनल खेल लगत्तै फाइनल खेल्नुपरेको र सुरुवाती सेटमा आफ्नो टोलीतर्फ सोझै अस्ताउँदै गरेको घामको प्रकाश परेकाले पनि खेलमा केही प्रभाव पारेको उनको भनाइ थियो। यद्यपि, विपक्षी पर्वत ‘ए’ अत्यन्त सशक्त टोली रहेको र प्रतियोगितामा सहभागी हुन पाउँदा आफूहरू सन्तुष्ट रहेको उनले बताए।
विजेता टोली पर्वत ‘ए’ का व्यवस्थापक प्रकाश शर्माले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै उपाधि जित्न सफल भएकोमा खुसी प्रकट गरे। नेपालको राष्ट्रिय खेल भलिबललाई प्राथमिकता दिँदै अमेरिकामा यस प्रकारको उत्सव आयोजना हुनु सकारात्मक पक्ष रहेको उल्लेख गर्दै उनले यस्ता प्रतियोगिताले विभिन्न जिल्ला र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने धारणा राखे। पर्वतको टोलीमा ओहायो र बाल्टिमोरबाट समेत खेलाडी सहभागी रहेको जानकारी उनले दिए।
त्यस्तै, विजेता टोलीका कप्तान राजकुमार श्रेष्ठले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक भए पनि टोलीको उत्कृष्ट समन्वय, खेलाडीहरूबीचको आपसी सम्मान र नियमित अभ्यासका कारण उपाधि जित्न सफल भएको बताए।

मुख्य रेफ्री कर्मा शेर्पा तथा दोस्रो रेफ्री जाङ्बु शेर्पाको नेतृत्वमा सञ्चालन गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो।
जसअन्तर्गत बाग्लुङका विजय क्षेत्री ‘उत्कृष्ट सर्भर’ घोषित भए भने पर्वतका समीर भुसाल फाइनल खेलका ‘म्यान अफ द म्याच’ चुनिए। यस्तै, पर्वतकै राजकुमार गुरुङ ‘उत्कृष्ट सेटर’, बाग्लुङका बिपिन कुँवर ‘उत्कृष्ट क्विकर’ र पर्वतका महेन्द्र छन्त्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। त्यसैगरी, पर्वतका संगम छाम्रुङ ‘उत्कृष्ट डिफेन्डर’ तथा प्रकाश क्षेत्री ‘उत्कृष्ट प्रशिक्षक’ घोषित भए।
नेपाल ज्वेलरी र नेपाली मोमो क्याफे मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको खेल संयोजकका रूपमा हरी घर्ती पुन मगर रहेका थिए।
सबै फोटो: राजन काफ्ले
