प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार

न्युयोर्कमा अध्यागमन अधिकारी । तस्बिरः जोश डेनमार्क/होमल्याण्ड सेक्युरिटी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएसँगै न्युयोर्क सहरमा संघीय अध्यागमन अधिकारीहरूद्वारा गरिने पक्राउको संख्यामा ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। हालै सार्वजनिक भएको एक सहरव्यापी लेखापरीक्षण प्रतिवेदनले यो तथ्य उजागर गरेको हो। न्युयोर्कका मेयर जोहरान माम्दानीले यसै वर्ष कार्यभार सम्हालेलगत्तै दिएको निर्देशनका आधारमा यो प्रतिवेदन तयार पारिएको हो।
प्रतिवेदन अनुसार ट्रम्पले राष्ट्रपतिको शपथ लिएको दिन अर्थात् सन् २०२५ जनवरी २० देखि सन् २०२६ मार्च १० को अवधिमा आइसले न्युयोर्क क्षेत्रबाट ५ हजार ५ सय ६७ जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ परेकाहरूमध्ये आधाभन्दा बढीलाई ‘२६ फेडरल प्लाजा’ मा अवस्थित अध्यागमन अदालत परिसरबाटै नियन्त्रणमा लिइएको प्रतिवेदनमा उल्लेख छ। यो संख्या डेमोक्र्याटिक पार्टीका पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालको अन्तिम दिनहरूको सोही अवधिको तुलनामा ७१ प्रतिशत बढी हो।
अध्यागमनसम्बन्धी कडा नीतिको नेतृत्व गरिरहेको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रवासी समुदायको अधिकार रक्षा गर्ने उद्देश्यले यो अडिट गराएका डेमोक्रेट नेता एवं मेयर माम्दानीले न्युयोर्क विश्वभरका आप्रवासीहरूको साझा घर भएको र यहाँ कोही पनि आफ्नो कानुनी हैसियतका कारण डर र त्रासमा बाँच्न नपर्ने स्पष्ट पारेका छन्।
उक्त प्रतिवेदनमा आप्रवासीहरूको सुरक्षाका लागि दुई दर्जनभन्दा बढी सिफारिसहरू गरिएका छन्। जसमा न्युयोर्क सहरको कारागार विभाग र आइसबीच भएका शङ्कास्पद इमेलहरूको छानबिन गर्ने तथा गम्भीर अपराधमा संलग्न विदेशी नागरिकहरूको राष्ट्रियतासम्बन्धी दैनिक विवरण संघीय निकायलाई पठाउन बन्द गर्नुपर्ने जस्ता सुझावहरू समावेश छन्।
न्युयोर्क लगायतका डेमोक्र्याटिक बाहुल्यता भएका सहरहरूले संघीय अध्यागमन निकायसँगको सहकार्यलाई सीमित गर्दै आएका छन्। स्थानीय प्रशासनको स्रोत साधन संघीय जिम्मेवारीमा खर्च हुन नहुने र सुरक्षाको दृष्टिकोणले पनि आप्रवासीहरूले बिना कुनै डर प्रहरीलाई अपराधको सूचना दिन सक्ने वातावरण बन्नुपर्ने उनीहरूको तर्क छ।