नेपालीहरुका लागि भारत जान अन्य देश जसरी श्रम स्वीकृति लिनुपर्दैन। खुला सिमानाका कारण बर्सेनि हजारौं नेपाली औपचारिक प्रक्रियाबिनै रोजगारीको खोजीमा भारत पुग्छन्। यही सहज आवतजावतको फाइदा उठाउँदै पछिल्लो समय काम लगाइदिने प्रलोभन देखाएर नेपालीलाई भारत पुर्याएर अंग दिन बाध्य पार्ने गिरोहको सक्रियता बढ्दै गएको छ।
‘भारतमा राम्रो काम पाइन्छ, होटेलमा काम लगाइदिन्छु, राम्रो तलब हुन्छ’ भन्ने आश्वासनमा धेरै नेपाली सीमापारि जाने गरेका छन्। तर त्यही सपनाको आडमा केही दलाल र तस्कर समूह गरिब, अशिक्षित र आर्थिक संकटमा परेका नेपालीलाई निसाना बनाउँदै उनीहरूको अंग झिक्ने आपराधिक कार्यमा संलग्न हुने गरेका छन्।
आर्थिक अभाव, अशिक्षा र पारिवारिक बिछोडको पीडामा रहेका सिन्धुलीका एक व्यक्ति अंग झिक्ने मानव तस्करको जालमा परे।
ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनलाई रोजगारीको प्रलोभन देखाएर भारत पुर्याइएको थियो। त्यहाँ पुगेलगत्तै मानव तस्करले विभिन्न प्रलोभन र बाध्यतामा पारेर गैरकानुनी रूपमा उनको मिर्गौला झिकिएको छ। अहिले उनले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्।
आफ्नो बाल्यकालको अवस्था स्मरण गर्दै उनी भन्छन्, ‘घरको आर्थिक अवस्थाका कारण सानैमा पढाइ छाडेर खेतीपाती र ज्यामी काम गर्दै आएँ। पछि मेरो पारिवारिक जीवन पनि अस्थिर रह्यो। तीन पटक विवाह गरें। सबै पत्नीले छाडे। साना सन्तानको जिम्मेवारी बोकेर बसें।’
सन्तानका लागि जस्तो काम गर्न पनि तयार हुन मन लाग्ने गरेको उनले ब्युरोलाई बताए।
रोजगारीको खोजीमा उनी २०८१ फागुनमा गाउँबाट काठमाडौं आए। ललितपुरस्थित सुनाकोठीमा ठेकेदारले बनाएको टिनको टहरामा बसेर उनले ज्यामी काम गर्न थाले। उक्त काम सकिएपछि नयाँ कामको खोजीमा धेरै भौंतारिएको उनले सुनाए।
२०८२ जेठमा काम खोज्दै रत्नपार्क हुँदै कोटेश्वर पुग्ने क्रममा उनले सुजन गिरी नाम बताउने एक व्यक्तिसँग भेट भएको बताए। ‘मैले काम खोजिदिनू भनें। उसले घरपरिवारको अवस्था सोध्यो र भारतको होटेलमा काम लगाइदिन्छु भन्यो। मासिक १० देखि २० हजार भारतीय रुपैयाँसम्म तलब हने कुरा उसले सुनायो,’ उनले भने।
उनीहरू दुईको कुराकानी भएको केही बेरमै सुजनले दिलबहादुर तामाङ नामका अर्का व्यक्तिलाई पनि बोलायो। त्यसपछि ती तीनै जना ट्याक्सी चढेर कलंकी पुगे।
कलंकीको एक होटेलमा मदिरा सेवन गर्दै कामबारे ठुल्ठुला कुरा हुन थाल्यो। परिवारबाट विचलित भएर हिँडेका सिन्धुलीका ती पुरुषलाई रात्रिबसमा चढाएर भैरहवा हुँदै सुनौली सीमा नाका पुर्याइयो।
पीडितका अनुसार यात्राभरि पटकपटक मदिरा खुवाइयो। ‘मलाई धेरै रक्सी खुवाए, त्यसपछि कहाँ के हुँदै छ भन्ने राम्रोसँग थाहा भएन,’ उनले भने, ‘यति मात्रै विश्वास थियो कि मलाई यिनीहरूले भारतमा राम्रो काम लगाइदिन्छन्।’
सुनौली सीमा पार गर्दा भारतीय सुरक्षाकर्मीले सोधपुछ गरे पनि सुजन गिरीले कुनै परिचयपत्र देखाउँदै आफूहरूलाई भारतमा होटेलमा काम गर्न लगिएको बताएका थिए।
त्यसपछि बिनाअवरोध भारत प्रवेश गराइयो। त्यहाँबाट अर्को सानो गाडीमा राखेर आफूलाई भारतको चण्डीगढ पुर्याएको पीडित व्यक्तिले बताए। उनका अनुसार चण्डीगढ पुगेपछि एउटा अपार्टमेन्टको चौथो तलाको फ्ल्याटमा राखियो।
‘त्यहाँ पुगेपछि मैले फेरि नयाँ अनुहारका समीर र राकेश नामक व्यक्तिलाई देखे। भोलिपल्ट एउटा क्लिनिकमा लगेर रक्त समूह, पिसाब, एक्स-रेलगायत स्वास्थ्य परीक्षण गराएको उनी बताउँछन्। ‘मैले किन यहाँ ल्याएको भनेर सोध्दा शरीरको चेकजाँच मात्रै गर्ने भनेका थिए,’ पीडितले ब्युरोलाई बताए।
त्यसपछि करिब एक महिना फ्ल्याटमै राखियो। खाना आफैं पकाएर खानुपर्ने थियो। तर राशन भने सुजन गिरीले ल्याइदिने गरेको उनी बताउँछन्। अन्य कोठामा समेत धेरै नेपाली राखिएको र तिनको निगरानी समीर र राकेशले गर्ने गरेको उनल बताएका छन्।
२०८२ साउन ८ गते सुजनले आफूलाई अचानक भोलिपल्ट मिर्गौला निकाल्ने र त्यसबापत ६ लाख रुपैयाँ दिने बताउँदा उनी छक्क परेको बताउँछन्।
त्यसलगत्तै उनले अस्वीकार पनि गरे। ‘म त यहाँ होटेलमा काम गर्न आएको हुँ, मिर्गौला बेच्दिनँ,’ उनले झर्किएर भनेका थिए, ‘मलाई फकाएर मिर्गौला बेच्न ल्याएको यहाँ ? तिमीहरूको काम नै यही हो ?’
यति भन्दै गर्दा आफूसँग उल्टै पैसा माग्ने र भारत पुर्याउने गिरोहको भनाइ उद्धृत गर्दै पीडित व्यक्तिले भने, ‘तिमीलाई यहाँसम्म ल्याउन धेरै पैसा खर्च भएको छ, अब दिन्न भन्न पाउँदैनौ नत्र हामीले खर्च गरेको सबै पैसा फिर्ता दिनुपर्यो।’
त्यसपछि श्याम भण्डारी, समीर नेपाली, राकेश नेपाली, सुजन गिरी र कुमार भन्ने राजकुमार परियारसहितको समूहले उनलाई जबर्जस्ती गाडीमा राखेर चण्डीगढकै एक क्लिनिकमा लगेको उनले सुनाए।
साथै, त्यहाँ बेडमा सुताएर औषधि दिएपछि उनी बेहोस भएका थिए। ‘दुई/तीन घण्टापछि होसमा आउँदा मेरो पेटको बायाँ भाग बेसरी दुखिरहेको थियो। मेरो बायाँ मिर्गौला निकालिएको रहेछ,’ ब्युरोमा उजुरी दिन आएका ती पीडितले भने।
एक दिन क्लिनिकमा राखेपछि उनलाई पुनः फ्ल्याटमा ल्याइयो। तीन दिन आराम गराएपछि सुजन गिरीले बाटो खर्च भन्दै १० हजार रुपैयाँ दिएर बाँकी पैसा नेपाल पुगेपछि दिने भन्दै फर्काइदिएको उनको आरोप छ।
तर नेपाल आएपछि कुनै रकम नदिइएको पीडितको दुखेसो छ। उनका अनुसार उनीसँगै भारतबाट फर्किएका दिलबहादुर तामाङ, वीरबहादुर राई, सविन राई, उमेश नेपालीलगायत अन्य व्यक्तिको पनि मिर्गौला निकालिएको आशंका छ।
नेपाल फर्किएसँगै घाउको पीडा असह्य भएपछि उनी सिन्धुली पुगे। स्थानीय मेडिकलमा ड्रेसिङ र उपचार गराउँदा शरीरमा समस्या देखिन थालेपछि उनले परिवारलाई सबै घटना सुनाए।
त्यसपछि मात्रै आफू मानव तस्करीको सञ्जालमा परेको थाहा पाइएको उनले बताए। ‘कामको लोभ देखाएका ती तस्करहरूले मेरो नाजुक अवस्थाको फाइदा उठाई ललाईफकाई, प्रलोभन र डर त्रासमा पारी गैरकानुनी रूपमा मेरो मिर्गाैला निकाले,’ उनले भने।
यी सबै गिरोहहरूले संगठित रूपमा नेपाल तथा भारतमा नेटवर्क सञ्चालन गरी आर्थिक अभाव, पारिवारिक समस्याले थिचिएका नेपालीहरूलाई सजिलै प्रलोभनमा पारेर मिर्गौला निकाल्ने कार्य गरेको पीडितले सुनाए।
उनले ब्युरोमा जाहेरी दिँदै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही गर्न तथा आफूलाई क्षतिपूर्ति दिलाई दिन मागसमेत गरेका छन्।
ब्युरोका प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार दुःखी र गरिबलाई नै झुक्याएर ललाइफाकाइ गरी मिर्गौला बेच्ने गरेका घटना धेरै छन्। विशेष गरेर नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका धेरैले मिर्गौला बेच्ने गरेको उनी बताउँछन्।
‘मिर्गौला बेचेर पूरा पैसा नपाए वा स्वास्थ्य अवस्था गम्भीर असर देखिए मात्रै पीडितहरू ब्युरोमा उजुरी दिने आउने हुन्,’ एसएसपी पंगेनीले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवार नै यस्ता घटनामा मुछिएका हुन्छन्।’
प्रकाशित: १० जेष्ठ २०८३ २१:०१ आइतबार
