नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द भए अमेरिकालाई वार्षिक ८ बिलियन घाटा !



प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार

नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द भए अमेरिकालाई वार्षिक ८ बिलियन घाटा !

अमेरिकी यात्रा तथा पर्यटन उद्योगसँग सम्बन्धित संस्थाहरूले न्यू जर्सीस्थित नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू हटाइए अमेरिकाको पर्यटन, हवाई यात्रा र व्यापार क्षेत्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

अमेरिकी ट्राभल एसोसिएसनले शुक्रबार जारी गरेको वक्तव्यमा नेवार्क विमानस्थलबाट संघीय अध्यागमन तथा भन्सार अधिकारी हटाइए तत्काल र दीर्घकालीन क्षति हुने उल्लेख गरेको छ। एसोसिएसनका अनुसार यस कदमले अमेरिकी अर्थतन्त्रमा वार्षिक करिब ८ बिलियन डलर बराबरको पर्यटन खर्चमा नोक्सानी पुर्‍याउन सक्छ भने हजारौँ अमेरिकी यात्रु अलपत्र पर्न सक्नेछन्।

संस्थाले न्यूयोर्क सिटी नजिकै रहेको नेवार्क विमानस्थलमा हरेक वर्ष करिब ५० लाख अमेरिकी नागरिक स्वदेश फर्किने प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ। यदि अध्यागमन सेवा प्रभावित भए अमेरिकाभित्र फर्किने धेरै उडानहरू मोडिन वा रद्द हुन सक्ने चेतावनी पनि दिइएको छ।

“अमेरिकाभरिका यात्रुहरूले उडान रद्द वा अन्य विमानस्थलतर्फ मोडिएको अवस्था सामना गर्नुपर्नेछ। लाखौँ अन्तर्राष्ट्रिय यात्रुहरूले पनि यस्तै अवरोध भोग्नेछन्,” वक्तव्यमा भनिएको छ।

एसोसिएसनले आगामी केही सातामै सुरु हुन लागेको फिफा विश्वकपको सन्दर्भमा यस्तो निर्णयले अमेरिकाको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने जनाएको छ। “विश्वकपअघि अमेरिकालाई स्वागतयोग्य गन्तव्यको रूपमा हेरिने प्रतिष्ठामा दीर्घकालीन क्षति पुग्न सक्छ,” वक्तव्यमा भनिएको छ ।

यस्तै, यात्रु सेवा मात्र नभई आयात–निर्यात कार्गो प्रणालीमा समेत गम्भीर असर पर्ने चेतावनी दिइएको छ। नेवार्क विमानस्थल अमेरिकाको महत्वपूर्ण कार्गो केन्द्रमध्ये एक भएकाले सेवा अवरुद्ध भए अर्बौँ डलर बराबरको सामान ढुवानी प्रभावित हुन सक्ने बताइएको छ।

बिहीबार अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)का प्रमुख मार्कवेन मुलिनले स्थानीय प्रशासनले संघीय अध्यागमन अधिकारीहरूलाई सहयोग नगरे नेवार्क विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु तथा कार्गो प्रक्रिया रोक्न सकिने चेतावनी दिएका थिए।

मुलिनले विशेषगरी उत्तरी न्यू जर्सीमा स्थानीय प्रहरी प्रशासनले संघीय अध्यागमन अधिकारीहरूलाई आवश्यक सुरक्षा तथा सहकार्य नगरेको आरोप लगाए। उनले न्यू जर्सीस्थित एक डिटेन्सन सेन्टरमा संघीय अधिकारीहरूको आवतजावतमा अवरोध भएको गुनासोसमेत गरेका छन्।

यसैकारण नेवार्क विमानस्थलमा कार्यरत अमेरिकी भन्सार तथा सीमा सुरक्षा अधिकारीहरूलाई अन्यत्र सरुवा गर्न सकिने चेतावनी पनि उनले दिएका छन्।

मंगलबार मुलिनले ट्रम्प प्रशासनले ‘स्यान्क्चुअरी सिटी’ भनिने शहरहरूमा रहेका प्रमुख विमानस्थलहरूमा अन्तर्राष्ट्रिय यात्रु र कार्गो प्रक्रिया रोक्ने योजना बनाइरहेको खुलासा गरेका थिए।

‘स्यान्क्चुअरी सिटी’ ती शहर वा राज्यलाई भनिन्छ जहाँ स्थानीय प्रशासनले संघीय अध्यागमन नियन्त्रण अभियानमा पूर्ण सहयोग नगर्ने नीति अपनाएका छन्।

यदि यस्तो निर्णय कार्यान्वयनमा आए डेमोक्रेटिक पार्टीको प्रभाव रहेका राज्यका प्रमुख विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई यात्रा र व्यापार प्रभावकारी रूपमा ठप्प हुन सक्ने विश्लेषण गरिएको छ।

अमेरिकामा अर्को महिनादेखि सुरु हुने फिफा विश्वकपका लागि लाखौँ विदेशी पर्यटक आउने अपेक्षा गरिएको छ। प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा न्यू जर्सीको इस्ट रदरफोर्डमा आयोजना हुँदैछ, जुन नेवार्क विमानस्थलबाट करिब १२ माइल दूरीमा पर्छ।

यस कारण नेवार्क विमानस्थलको सेवा अवरुद्ध भए विश्वकप आयोजनामै प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले हालै सार्वजनिक गरेको ‘स्यान्क्चुअरी सिटी’ सूचीमा बोस्टन, डेनभर, फिलाडेल्फिया, शिकागो, लस एन्जलस, न्यूयोर्क सिटी, न्यूआर्क, सियाटल र सान फ्रान्सिस्कोजस्ता प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल भएका शहरहरू समावेश छन्।

तथ्यांकअनुसार गत वर्ष मात्रै न्यूयोर्क क्षेत्रका तीन प्रमुख विमानस्थलमार्फत ५ करोडभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु अमेरिका पुगेका थिए।





Source link

Leave a Comment