News Summary
Generated by OK AI. Editorially reviewed.
- वैज्ञानिकहरूका अनुसार काग अत्यन्त चलाख चरा हो, जसले मानिसको अनुहार चिन्ने, उपकरण बनाउने र कठिन समस्या समाधान गर्ने क्षमता राख्छ।
काग यस्तो चरा हो, जसलाई हामीले प्रायः सामान्य, कराउने वा फोहोर खाने चराका रूपमा मात्रै हेर्ने गर्छौं । कतिपयले यसको आवाजलाई अशुभ संकेतका रूपमा पनि लिने गर्छन् । तर विज्ञानले भने कागलाई संसारकै सबैभन्दा बुद्धिमान चरामध्ये एक मानेको छ ।
काग केवल खाना खोजेर बाँच्ने चरा होइन । यसले मानिसको अनुहार सम्झन्छ । रिस पनि राख्छ । उपकरण बनाउँछ । समस्या समाधान गर्छ र साथीहरूसँग सूचना आदानप्रदान समेत गर्छ । अझ आफ्ना मृत साथी वरिपरि जम्मा भएर ‘शोक सभा’ जस्तै व्यवहार गर्ने यसको बानीले वैज्ञानिकलाई समेत चकित बनाएको छ ।
काग केवल खाना खोजेर बाँच्ने चरा होइन । यसले मानिसको अनुहार सम्झन्छ । रिस पनि राख्छ । उपकरण बनाउँछ । समस्या समाधान गर्छ र साथीहरूसँग सूचना आदानप्रदान समेत गर्छ । अझ आफ्ना मृत साथी वरिपरि जम्मा भएर ‘शोक सभा’ जस्तै व्यवहार गर्ने यसको बानीले वैज्ञानिकलाई समेत चकित बनाएको छ ।
विज्ञका अनुसार कागको दिमागको क्षमता कतिपय अवस्थामा बाँदरसरह देखिन्छ । नेपालका गाउँदेखि काठमाडौंको भीडभाडसम्म कागले आफूलाई सहजै अनुकूल बनाएको देखिन्छ । फोहोरको थुप्रो, नदी किनार, खेतबारी, मन्दिर आसपास वा शहरका बिजुलीका तार—जहाँसुकै काग सजिलै देख्न सकिन्छ ।
विगत २० वर्षदेखि वन्यजन्तु तथा चराचुरुंगीको व्यवहार अध्ययन गर्दै आएका वाइल्ड फोटोग्राफर राजेश ढुंगानाका अनुसार काग संसारकै सबैभन्दा ‘अनुकूलनीय’ चरामध्ये एक हो । वातावरण जस्तोसुकै भए पनि आफूलाई छिट्टै बदल्न सक्ने क्षमता कागमा अत्यधिक हुन्छ ।
चलाख तरिकाले खाना जुगाड गर्न माहिर
काग अवसरवादी चरा हो । जहाँ जसरी सजिलै खाना पाइन्छ, त्यहाँ पुग्न यो माहिर हुन्छ । यसले नयाँ परिस्थिति छिट्टै बुझ्छ र खाना जुगाडको लागि नयाँ–नयाँ जुक्ति निकाल्छ ।
यसको उदाहरण जापानमा गरिएको एक अध्ययनलाई लिन सकिन्छ । त्यहाँ कागले ओख्खर सडकमा राखिदिन्छ । गाडी गुड्दा ओख्खर फुट्छ । त्यसपछि गुडिरहेको गाडीले ओख्खर फुटाएको हेरेर धैर्य गरी बस्छ । ट्राफिक बत्ती रातो भएर गाडी रोकिएपछि काग गएर सजिलै खान्छ । यो दृश्य विभिन्न सडक खण्डमा राखिएको क्यामरामा कैद भएको थियो ।
अध्ययनकर्ताहरूले २४ महिना लगातार अध्ययन गरी कागको यो जुक्ति प्रमाणित गरिदिए । सो भिडियो समाजिक संजालमा सजिलै पाइन्छ । यो घट्नाले कागमा समयको ज्ञान, जोखिमको समझ र सही मौका कुरेर काम गर्ने क्षमता रहेको देखाउँछ ।
नेपालमा पनि यस्तै व्यवहार देख्न सकिन्छ । काठमाडौंका बजार क्षेत्रमा कागले फोहोर फाल्ने समय कुरेर बस्ने गर्छन् । होटल वा पसल अगाडि खाना फाल्नेबित्तिकै झुन्डमा आइपुग्छन् ।
राजेश ढुंगाना भन्छन्, ‘काग निकै चलाख चरा हो । यसले मानिसको बानीसमेत बुझ्छ । कुन समयमा फोहोर निस्कन्छ, कहाँ खाना पाइन्छ र कुन ठाउँ सुरक्षित छ भन्ने कुरा कागले सिकिरहेको हुन्छ ।’ कहिलेकाहीँ कागले अरू चराले समातेको खाना खोस्न समूह बनाएर तर्साउने काम पनि गर्छ । यसले कागको सामूहिक रणनीति र सामाजिक व्यवहार देखाउँछ ।
कागले उपकरण आफैं बनाउँछ
धेरै वर्षसम्म मानिसले उपकरण प्रयोग गर्ने क्षमता केवल मानवमा मात्रै हुन्छ भन्ने सोच्थे । पछि बाँदरले काठ प्रयोग गरेको देखियो । त्यसपछि वैज्ञानिकहरू झन् छक्क परे, जब कागले त उपकरण आफैं बनाउँदै गरेको देखे ।
‘न्यू क्यालेडोनियन एक कागले काठको टुक्रा वा काँडालाई बाङ्गो बनाएर हुकजस्तो बनाउँछ । त्यसपछि प्वालभित्र भएका कीरा निकाल्छ । यो कुरा निकै ठूलो मानिन्छ । किनभने कुनै वस्तु अहिले उपयोगी छैन भने पनि त्यसलाई परिवर्तन गरेर उपयोगी बनाउने क्षमता उच्च स्तरको बुद्धिमत्ता हो ।

नेपालमा प्रत्यक्ष यस्तो अनुसन्धान धेरै नभए पनि कागको चतुर व्यवहार सजिलै देख्न सकिन्छ । कतिपय कागले लामो वस्तु प्रयोग गरेर खाना तान्ने वा साँघुरो ठाउँबाट निकाल्ने गरेको देखिन्छ ।
यसले एउटा कुरा भने पक्कै प्रमाणित गर्छ, काग केवल खाएर बाँच्ने मात्रै होइन, सोचेर काम गर्ने चरा हो ।
कठिन समस्या पनि समाधान गर्ने खुबी
तपाईंले ‘काग र घैंटो’को कथा सानैमा सुन्नुभएको होला । पानी तल भएकाले कागले ढुंगा हालेर पानी माथि ल्याउँछ र पिउँछ । यो केवल कथा होइन रहेछ । वैज्ञानिकहरूले परीक्षण गर्दा कागले साँच्चिकै त्यस्तै काम गर्न सक्ने देखियो । उसले पानी भएको भाँडोमा ढुंगा हालेर पानी माथि ल्यायो ।
यो सामान्य कुरा होइन । यसको अर्थ कागले ‘कारण र परिणाम’ बुझ्छ । अर्थात् ‘ढुंगा हाल्दा पानी माथि आउँछ’ भन्ने कुरा उसको मस्तिष्कले बुझ्न र चाहेको खण्डमा व्यवहारमा उतार्न सक्छ ।
अझ रोचक कुरा त के भने, केही परीक्षणमा कागले ५–७ वर्षको बच्चाजस्तै समस्या समाधान गर्ने क्षमता देखाएको थियो । नेपालमा घरको झ्याल वा बाल्कोनीमा राखिएको खाना खोल्ने, प्लास्टिक च्यात्ने वा ढकनी हटाउने कागको व्यवहार पनि यसैसँग सम्बन्धित छ ।
कागको शोक सभा
यदि कुनै काग मरेको छ भने, वरिपरि धेरै काग जम्मा भएको तपाईंले देख्नुभएको होला । उनीहरू ठूलो स्वरले कराउँछन् र वरिपरि घुमिरहन्छन् । वैज्ञानिकहरूले यसलाई ‘क्रो फ्युनरल’ अर्थात् कौवाको शोक सभा भनेर नामाकरण गरेका छन् ।
के उनीहरू साँच्चै शोक मनाउँछन् ? यसको ठ्याक्कै उत्तर विज्ञानसँग पनि छैन । तर एउटा कुरा निश्चित छ, उनीहरूले खतरा बुझ्ने प्रयास गरिरहेका हुन्छन् ।

यदि कुनै ठाउँमा काग मरेको भेटियो भने, अरू काग त्यहाँ जम्मा भएर ‘के भयो ?’ भनेर बुझ्ने प्रयास गर्छन् । यदि मानिस, जनावर वा अन्य खतरा देखियो भने, उनीहरूले त्यो अनुहार वा ठाउँ सम्झन्छन् ।
सडकमा मरेको काग वरिपरि अरू काग चिच्याइरहेको दृश्य नेपालमा पनि धेरै देखिन्छ । धेरैले यसलाई अन्धविश्वाससँग जोड्छन्, तर विज्ञानले भने यसलाई सामाजिक चेतना र सुरक्षा प्रणालीका रूपमा हेर्ने राजेश ढुंगाना बताउँछन् ।
यसले काग समूहमा बाँच्ने र एकअर्काबाट सिक्ने चरा हो भन्ने देखाउँछ ।
कागले रिस पनि राख्छ
कागको सबैभन्दा डरलाग्दो तर रोचक क्षमता भनेकै मानिसको अनुहार सम्झने शक्ति हो । अमेरिकामा वाशिङटन यूनिर्भसीटी अफ क्रो जर्नलमा प्रकाशित अध्ययनअनुसार केही वैज्ञानिकहरूले काग समात्दा विशेष मास्क लगाएका थिए । वर्षौंपछि पनि कागले त्यही मास्क देख्नेबित्तिकै कराउन थाले ।
अझ अचम्म के भने, नयाँ पुस्ताका कागले समेत त्यो ‘खतरनाक अनुहार‘ चिनेका थिए । यसको अर्थ पुराना कागले यसबारे जानकारी नयाँ कागलाई गराएका थिए ।

नेपालमा पनि यदि कसैले कागलाई ढुंगा हानिरह्यो भने, केही दिनपछि कागले त्यो व्यक्ति देख्नेबित्तिकै कराउने वा वरिपरि घुम्ने गर्छ । कतिपय मानिसलाई भने कागले माया पनि गर्छ । नियमित खाना दिने व्यक्तिलाई देख्दा नजिक आउने वा डर नमान्ने व्यवहार देखिन्छ ।
यसले देखाउँछ, काग केवल स्मरण गर्ने होइन, सामाजिक जानकारी बाँड्ने जीव पनि हो ।
आफ्नै ‘भाषा’ र क्षेत्रीय शैली
मानिसको भाषा जिल्लाअनुसार फरक भएजस्तै कागको आवाज पनि ठाउँअनुसार फरक हुन्छ । वैज्ञानिकहरूले पत्ता लगाएअनुसार एउटै प्रजातिका कागले फरक क्षेत्रमा फरक शैलीमा आवाज निकाल्छन् । यसलाई ‘डायलेक्ट’ भनिन्छ ।
यदि एउटा काग अर्को समूहमा गयो भने, उसले त्यही समूहको आवाज सिक्ने प्रयास गर्छ । यसले सामाजिक घुलमिल क्षमता देखाउँछ । नेपालमा तराईको काग र हिमाली क्षेत्रतिरको कागको आवाज वा व्यवहारमा केही फरक अनुभव गर्न सकिन्छ । शहरमा बस्ने काग मानिससँग धेरै अभ्यस्त हुन्छ भने गाउँतिरका काग अलि सतर्क देखिन्छन् ।
कागको आवाज केवल कराउने मात्र होइन । चेतावनी, बोलावट, रिस, खतरा वा खाना भेटिएको सूचना दिन पनि फरक ध्वनि प्रयोग हुने अध्ययनले देखाएको छ ।
जीवनभर एउटै जोडी
वन्यजन्तुको अध्ययन गरिरहेका लेखक ददी सापकोटाका अनुसार काग सामाजिक र पारिवारिक स्वभावको चरा हो । धेरै कागले जीवनभर एउटै जोडी बनाउने गर्छन् ।
उनका अनुसार उनीहरूले सँगै गुँड बनाउँछन्, बच्चा हुर्काउँछन् र आफ्नो क्षेत्रको रक्षा गर्छन् । कागको परिवारमा सहकार्य निकै बलियो हुन्छ । ‘नेपालका गाउँघरमा रुखको माथि कागको गुँड देख्न सकिन्छ ।
भाले र पोथी दुवैले बच्चाको हेरचाह गर्छन् । यदि कोही गुँडनजिक गयो भने, कागले ठूलो स्वरले कराएर भगाउने प्रयास गर्छ’ सापकोटा भन्छन् ।
जवान कागले साना भाइबहिनी हुर्काउन सहयोग गर्छ

सापकोटाका अनुसार मानिसजस्तै कागमा पनि ‘ठूलो दाइ–दिदी’जस्तो व्यवहार देखिन्छ । जब नयाँ बच्चा जन्मिन्छन्, पहिलेका जवान कागले आमाबुबालाई सहयोग गर्छन् । उनीहरूले खाना ल्याउने, गुँड जोगाउने र साना बच्चा हेर्ने काममा साथ दिन्छन् । यसलाई वैज्ञानिक भाषामा को-ओपरेटिभ ब्रिडिङ भनिने सापकोटाको भनाइ छ ।
यति बुद्धिमान भए पनि काग अजेय भने छैन
काग अत्यन्त बुद्धिमान छ, तर त्यसले सबै खतरा जित्न सक्छ भन्न नमिल्ने ढुंगाना बताउँछन् । उनका अनुसार वन विनाश, प्रदूषण, विषादी र मानिसको दुर्व्यवहारले कागलाई पनि असर गर्छ । कतिपय ठाउँमा कागको संख्या घटेको छ ।
‘नेपालमा बढ्दो फोहोर र प्लास्टिकले कागलाई आकर्षित त गरेको छ, तर यसले स्वास्थ्यमा नकारात्मक असर पनि पुर्याउन सक्छ । विषादी प्रयोग भएका खेतमा खाना खोज्दा काग प्रभावित हुने सम्भावना हुन्छ’ उनी भन्छन् ।
ढुंगानाका अनुसार कागको बढ्दो गतिविधिका कारण धेरै घरमा समस्या पनि देखिन थालेको छ । विशेषगरी पानी ट्यांकीको पाइप वा खुला भेन्टिलेसनमा कागले गुँड बनाउन खोज्दा अवरोध हुने समस्या बढेको छ ।
काग प्रकृतिका लागि उपयोगी पनि छ । यसले फोहोर सफा गर्छ, मरेका जनावर खान्छ, कीरा नियन्त्रण गर्छ र वातावरण सफा राख्न सहयोग पुर्याउँछ ।
नेपालको सन्दर्भमा काग किन विशेष छ ?
नेपालको संस्कृतिमा कागको आफ्नै स्थान छ । तिहारको पहिलो दिन ‘काग तिहार’ मनाइन्छ । त्यो दिन कागलाई यमदूत र सन्देशवाहक मानेर पूजा गरी खाना खुवाइन्छ । हाम्रा अग्रजहरूले पनि काग करायो भने पाहुना आउँछन् भन्ने विश्वास गर्थे । यद्यपि, वैज्ञानिक आधार नभए पनि यसले कागप्रति मानिसको पुरानो सम्बन्ध देखाउँछ ।

काठमाडौंजस्तो व्यस्त शहरमा पनि कागले आफूलाई सहजै अनुकूल बनाएको छ । बिजुलीको तार, मन्दिर, पार्क, नदी किनार र फोहोरमैला व्यवस्थापन क्षेत्र सबैतिर कागको उपस्थिति देखिन्छ ।
