१५ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको बंगलादेशसँगको फाइनल खेलमा नेपालले हार व्यहोर्यो । लगातार दुई संस्करणमा फाइनलमा पुगेको नेपालले गृहमैदानमै उपाधि रक्षा गर्न सकेन ।
तर फाइनलमा पुगेर हार व्यहोरेको नेपालको यो श्रृंखला पहिलो भने होइन, साफ महिला च्याम्पियनसिपमै ६ पटक फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन । विभिन्न अन्तर्राष्ट्रिय १२ प्रतियोगितामा नेपाल फाइनल पुगेको छ, त्यति नै पटक उपविजेतामै सीमित छ ।
अन्तर्राष्ट्रिय फुटबल यत्तिको खराब कीर्तिमान बिरलै होला-जहाँ दर्जनौं पटक फाइनल पुगेर पनि जितको अनुभव लिन नपाएको होस् !
यो नेपाली महिला फुटबलको वास्तविकता हो । ३८ वर्षको अन्तरारष्ट्रिय इतिहासमा पछिल्लो डेढ दशकको तथ्यांक हो । यति छोटो समयमा यति धेरै पटक फाइनल पुग्दा पनि नेपाली महिला फुटबल टोलीले उपाधि जित्ने अवसर पाएका छैनन् ।
यस पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधि जित्ने नेपाललाई राम्रो अवसर थियो । उपाधि जित्ने जोश टोलीमा सबैमा थियो । दर्शकहरुमा पनि विश्वास थियो-यस पटक त जितिन्छ ।
खेलाडीहरुमा ‘यसपटक जसरी पनि जित्ने हो’ भन्ने आत्मविश्वास थियो । ‘अहिले नजिते कहिले जित्ने ?’ भन्ने प्रश्न पनि सबैमा थियो । त्यसैले फाइनलमा बंगलादेशलाई हराएर नेपाली टोली तिहारमा समर्थकलाई राम्रो कोसेली दिन चाहन्थे ।
तर फाइनलमा नेपालको पुरानै नियति दोहोरियो । बंगालदेशसँग २ वर्षअघि हारको बद्ला लिने दाउमा मैदान छिरेका नेपाल उही टोलीसँग २-१ ले निराश बन्न पुग्यो । मोनिका चक्मा र रितुपोर्ना चक्माले बंगलादेशका लागि गोल गरे । अमिसा कार्कीले नेपालका लागि गोल गरेपनि हार टार्न सकिनन् ।
पछिल्लो पटक २०२२ मा काठमाडौंमै नेपाल बंगलादेशसँग फाइनलमा ३-१ ले पराजित भएको थियो ।
‘जित्ने नै अपेक्षा थियो । फुटबलमा नतिजा हाम्रो पक्षमा आउँछ वा उनीहरुको पक्षमा जान्छ भन्ने पक्का हुँदैन । खेललाई विश्लेषण गर्दा राम्रै भयो । हामीले अवसर पायौँ गोल गर्यौँ’, खेलपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले समीक्षा गरे, ‘उनीहरुले अवसर पाए गोल गरे । एउटा गोल क्रस गर्दा किपर रेडी थिएन । हाम्रो डिफेन्समा कमजोरी भयो । त्यसमा गोल भयो । त्यसैले हार व्यहोर्यौँ ।’
बंगलादेशको लागि भने यो ठूलो नतिजा रह्यो । लगातार दोस्रो पटक नेपाललाई उसकै घरेलु मैदानमा हराएर उपाधि जित्नु चानुचने कुरा थिएन । त्यसैले कप्तान सबिना खातुन दंग थिइन् ।
‘उपाधि जित्दा निश्चय पनि खुशी छौँ । यो ट्रफी हामी बंगलादेशी जनतालाई डेडिकेट गर्न चाहन्छौँ,’ सबिनाले अनलाइनखबरसँग भनिन्, ‘दर्शकले गर्दा हाम्रो खेलाडी सुरुमा नर्भस थिए खेल्न गाह्रो थियो । तर जब खेल्न थाल्यौँ राम्रो भयो । नेपालले पनि राम्रो खेल्यो र पहिले भन्दा धेरै राम्रो टिम थियो ।’
दुई गोलकर्तासहितको बंगलादेशको मिडफिल्डर अहिले धेरै राम्रो रहेको भन्दै सबिनाले प्रशंसा गरिन् । ‘मोनिका, मारिया मान्डा र रितु तीन जना बंगालदेशको बेस्ट मिडफिल्ड ट्रिओ हुन् । उनीहरुले राम्रो प्रदर्शन गरे’, उनले भनिन् । मोनिका र रितुकै गोलमा बंगलादेश विजयी भएको थियो ।
यस्तै फाइनलमा नेपालकी स्टार सावित्रा भण्डारीलाई रोक्ने रणनीतिमा सफल भएपनि पनि उनले बताइन् । ‘हाम्रो डिफेन्स लाईनले सावित्रालाई राम्रोसँग रोक्न सफल भए’, उनले भनिन्, ‘यो ट्रफीले बंगलादेशमा फुटबल खेल्न चाहने युवा र नयाँ आउने खेलाडीहरुलाई मोटिभेट गर्नेछ ।’
कहाँ चुक्यो नेपाल ?
बंगलादेशको मिडफिल्डर राम्रो खेल्नु र त्यसलाई रोक्न नसक्नु नेपालको कमजोरी देखियो । नेपालले दुवै गोल खाँदा पहिले जस्तै डिनेन्डिङमा कमजोर देखिएको थियो । मोजिकाले ५२औं मिनेटमा पहिलो गोल गर्दा कप्तान सबिनाले नेपाली खेलाडीहरुको बीचबाट पास दिएकी थिइन् र तीन जना नेपाली खेलाडीले पनि त्यसलाई रोकन सकेनन् र मोनिकाले गोल गरिन् ।
सबिनाले हानेको बलमा नेपालकी सबिताले रोक्ने प्रयास गरेकी थिइन् तर बल मोनिकाले पाइन् र उनले अघि बढाउँदै गोल गरिन् ।
त्यसको चार मिनेटपछि प्रीति राईको पासमा अमिसा कार्मीले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरेकी थिइन् । तर ८१औं मिनेटमा नेपालले फेरि गल्ती दोहोर्यायो ।
अमिसा कार्मीको स्थानमा मैदान प्रवेश गरेकी अनिता बस्नेतले रितुलाई रोक्न नसक्दा ८१औं मिनेटमा गोल खायो । रितुले बायाँ साइडबाट अनितलाई बिट गर्दै पोष्टमा क्रस गरेको बल सिधै गोल भयो । कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले त्यसलाई बचाउने प्रयास गरेपनि सफल भइनन् ।
यस गोलमा नेपालको गल्ती रहेको प्रशिक्षक तामाले बताए । ‘उनीहरुले क्रस गरेका थिए । त्यसमा हाम्रो किपर रेडी थिएन र डिफेन्डिङमा कमजोरी भयो’, उनले भने ।
नेपालकै कमजोरीमा बंगलादेशले गोल गरेर जित्यो । तर हारको अर्को कारण रणनीतिमा पनि नेपाल सफल हुन सकेन ।
हाफ टाइममा प्रशिक्षक तामाङले दुई खेलाडी परिवर्तन गरेका थिए । डिफेण्डर पूजा रानाको स्थानमा समीक्षा घिमिरे र मिडफिल्डर सरु लिम्बुको फरवार्ड रश्मीकुमारी घिसिङलाई मैदान पठाए । तर पहिलो गोल खाँदा समीक्षाको पनि गल्ती देखियो । अनि रश्मीलाई जुन कामको लागि मैदान पठाएको त्यो काम पनि पूरा नभएको प्रशिक्षक तामाङले बताए ।
यस्तै दोस्रो हाफमा गोलकर्ता अमिसाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् । एकातिर गोल गरेको खेलाडी निकाल्नु अर्कोतिर मैदान गएको खेलाडीले डिफेन्ड गर्न नसक्नु । यसमा ठूलो गल्ती भएको प्रशिक्षकले स्वीकारे ।
‘अमिसालाई रिप्लेस गर्नु ठूलो गल्ती भयो’, उनले आत्मसमीक्षा गरे, ‘टिममा सल्लाह गरेर सेट पिसका लागि भनेर चेन्ज गर्यौँ तर त्यसले काम गरेन ।’
यो नै खेलको टर्निङ प्वाइन्ट जस्तो देखियो । बराबरीमा चलिरहेको खेल पेनाल्टीसुटआउटमा जादा नतिजा जस्तो पनि आउन सक्थ्यो । तर ८१औं मिनेटमा गोल खाएपछि एकातिर नेपाली खेलाडी थाकिसकेका थिए, भने अर्कोतिर रणनीति पनि सफल भएन । फरवार्ड सावित्रालाई सपोर्ट गर्ने खेलाडी नहुँदा कठिन भएको प्रशिक्षक तामाङले बताए ।
‘२ वर्षमा लिग भयो । तर, लिग खेलेका खेलाडी कोही पनि छैनन् । हामी जति पनि छौं, पहिलेकै खेलाडी छौं’, सावित्राले भनिन्, ‘नेपालमा त अझ महिला फुटबललाई हेर्ने आधार नै छैन । अहिलेसम्म हामी बिना लगानी नै खेलेका छौं । नेपाली महिला फुटबल पछाडि नै छ ।’
यस्तै खेलाडीको चोट र रेखाको अनुपस्थिति पनि हारको अर्को कारण रह्यो । भुटानविरुद्ध पहिलो खेलमै घाइते भएपछि हिरा भुजेल र दीपा शाहीले बाँकी खेल गुमाए । अनि सेमिफाइनलमा भारत विरुद्ध रातो कार्ड पाएपछि फरवार्ड रेखाले पनि फाइनल गुमाइन् । यसले पनि खेलमा असर गरेको तामाङको भनाइ थियो ।
‘रेखा नहुँदा गाह्रो त भयो । उ हाम्रो फरवार्ड हो नि त । मिस त भइहाल्यो ।बेन्च बलियो नभएको भन्दा पनि हाम्रो दुई खेलाडी घाइते भयो’, तामाङले भने, ‘पूजालाई दुई खेलमा बाहिर राखेर भाइटल म्याच खेल्नुपर्छ भनेर पुनरागमन गराएको हो । खेलाडीहरुको चोटले पनि गाह्रो भयो ।’
पूजाको ग्रोइनको समस्या भएकोले दोस्रो हाफमा परिवर्तन गर्नुपरेको र समीक्षालाई खेलाइएको उनले स्पष्ट पारे ।
लामो समयको योजना चाहिन्छ
नेपाल साफमा ६ पटक फाइनलमा पारजित भयो । साफमा धेरै फाइनल खेल्ने नै नेपाल हो । २०१६ मा बाहेक सबै संस्करणमा फाइनल पुगेपनि नेपाल अभागी बन्दै आएको छ ।
पछिल्लो समय राम्रो गरिरहेको बंगालदेशले तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितिसक्यो । अझ पछिल्ला दुवै संस्करणमा उसले नेपाललाई नै हरायो ।
नेपालको लागि घरेलु मैदानमा लगातार फाइनलमा हार्नु कम्ती पीडादायक छैन । सायद त्यो सबैभन्दा बढी खेलाडीलाई नै थाहा होला ! अधिकांश खेलाडी दुवै पटक फाइनल पुग्दा नेपाली टिममा थिए । समर्थकहरु पनि हारले निराश छन् ।
जित्नका लागि नेपाली टिममा भइरहेका अभावमा काम गर्नुपर्नेबेला आएको देखिन्छ । प्रशिक्षक तामाङले अब लामो समयमको योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘फाइनलमा धेरै पटक हारियो । साफमै छैटौं पटक भयो’, तामाङले भने, ‘तर अब फुटबल संघले ‘बिग प्लान’ गर्नुपर्छ । मुख्य कुरा यो हो ।’
मुख्य प्रशिक्षक तामाङ छोटो योजनाले नेपाली फुटबलको भविष्य नकोरिने बताउँछन्। ‘छोटो समयमा इन्डुरेन्समा काम गर्न सकिँदैन । बंगालदेशको इन्टेनसिटी हाई थियो । रन र रियाक्सन राम्रो थियो’, उनी भन्छन्, ‘उनीहरुले लगातार ७ वर्षदेखि खेलिराछ । राम्रो छ । हाम्रो खेलाडीहरु पनि लगातार खेलिराछन् । तर योजना अनुसार छैन ।’
नेपालले जहिल्यै छोटो समयमको तयारी गरेर खेल्दा त्यसले नपुग्ने उनको भनाइ थियो । ‘तयारीका लागि छोटो समय हुन्छ । त्यसमा सबै काम गर्न भ्याउँदैन’, उनी भन्छन् ।
फुटबल संघले एउटा निश्चित योजना बनाएर अघि बढ्नुपर्ने, लिग निरन्तर हुनुपर्ने र ग्रासरुटमा ध्यान दिनुपर्ने तामाङले जोड दिए ।
‘फुटबल संघले लामो समयको भिजन राखेर काम गर्नुपर्छ । २०२७/३१ मा विश्वकप खेल्ने लक्ष्य छ भने त्यसलाई लामो समय योजना बनाएर अघि बढ्नुपर्छ’, उनले भने, ‘लिग हुनुपर्छ । लिग नहुँदा खेलाडी उत्पादन हुँदैछ । यही खेलाडी ८-१० वर्ष खेलिराछन् । कति खेलाडी यहाँबाट निकाल्नुपर्ने अवस्था छ ।’
तर नेपालको टिमका लागि अर्को विकल्प तयार नहुँदा समस्या देखिएको तामाङ सुनाउँछन् । ‘लिग निरन्तर गर्ने, युथ प्रोग्रामहरु गर्नुपर्छ । १० खेलाडी त चोटबाट रिकभर भएर/शल्यक्रिया गरेर आएकाहरु छन्’, उनी भन्छन् ।
फाइनल खेलअघि कप्तान एन्जिलाले यो पटक नेपालले जित्नुपर्ने र अहिले नजित अर्को ५-१० वर्ष टिम बनाउनै लाग्ने बताएका थिए । कप्तान एन्जिलाको भनाइमा सही थप्दै उनले भने, ‘उसले भनेको कुरा पनि सही हो । उसको एनालाइसिस होला । घाइतेपछि रिकभर भएर आएको खेलाडी धेरै छ । त्यसले पनि समय लाग्न सक्छ भन्ने उसको कुराहो ।’
तर कुनै प्रशिक्षकले राम्रो योजना बनाएर आए दुई वर्षपछि पनि जिताउन सक्ने तामाङको भनाइ थियो । ‘मेरो विचारमा हामी पछि नयाँ आउने कोचले उसको योजना र गुड फिलोसोफीमा गएर जिताउन पनि सक्छ दुई वर्षपछि । गाह्रो काम होइन । तर योजन राम्रो हुनुपर्यो । सफल हुन समय चाहिन्छ । छोटो समयमा हुँदैन ।’
राजेन्द्र तामाङले साफ हारपछि प्रशिक्षक पद छाड्ने घोषणा पनि गरे । उनले अब आफूले राष्ट्रिय टिम नहेर्ने र क्लबतिर जाने बताए । ‘हामी सफल हुन नसकेपछि यहाँ बसेर काम छैन । जबरजस्ती लिएर काम छैन । अब कोही अरु राम्रो कोच आउन सक्छ’, उनले भने ।
बंगलादेशसँगको हारपछि खेलाडी सावित्रा भण्डारीले पनि नेपालमा खेल क्षेत्रमा लगानी नभएको र त्यसमा पनि महिला फुटबललाई हेर्ने दृष्टिकोणमै समस्या रहेको बताइन् । समयमा लिग नहुने र लिगमा खेलेका खेलाडीलाई पनि टिकाउन नसकिएको उनको भनाइ थियो ।
‘२ वर्षमा लिग भयो । तर, लिग खेलेका खेलाडी कोही पनि छैनन् । हामी जति पनि छौं, पहिलेकै खेलाडी छौं’, सावित्राले भनिन्, ‘नेपालमा त अझ महिला फुटबललाई हेर्ने आधार नै छैन । अहिलेसम्म हामी बिना लगानी नै खेलेका छौं । नेपाली महिला फुटबल पछाडि नै छ ।’
फाइनलमा अभागी नेपाल
नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १२औं फाइनलमा हारपछि उनको उपविजेता ट्याग अझै हटेन । फाइनल जिंक्स अझै तोड्न सकेन ।
नेपाल साफमा छैटौं पटक पराजित भयो । यस बाहेक दषिण एसियाली खेलकुद (साग) मा ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप र वाफ वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलम पराजित भएको थियो ।
साफको १४ वर्षे इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेलेपनि नेपाल अझै उपाधिविहिन छ ।
नेपाल सबैखाले गरी भारतसँग ७ पटक फाइनलमा पराजित भएको छ भने बंगलादेशसँग दुई पटक तथा म्यानमार, उज्वेकिस्तान र जोर्डनसँग १-१ पटक फाइनलमा पराजित भएको छ ।
यसअघि पछिल्लो पटक २०२४ फेब्रुअरीमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल पुगेको थियो । तर जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै नेपाल उपाधिबाट बञ्चित भयो ।
दषिण एसियाली साफ वा सागमा यसअघि भारत नेपालको लागि बाधक बन्दै आएको थियो । साफको पाँच पटकको च्याम्पियन भारत विरुद्ध पछिल्लो समय नेपालले राम्रो प्रदर्शन गर्न थालेको छ । साफमा दुई पटक सेमिफाइनलमा भारतलाई हरायो पनि । तर पछिल्लो दुई संस्करण नेपालका लागि नयाँ टोली बंगलादेश नयाँ चुनौतीको रुपमा देखिएकव छ ।
सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक र बंगलादेशसँग २ पटक फाईनलमा पराजित भएको छ । भारतसँग २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले पराजित भएको नेपाल २०२२ मा बंगलादेशसँग ३-१ र २०२४ मा २-१ ले पराजित भयो ।
यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । सन् २०१६ मा भारतमै भएको १२औं सागमा नेपाल फाइनलमा भारतसँग ४–० ले पराजित भएको थियो भने २०१९ मा नेपालमै भएको १३औं सागमा नेपाल फाइनलमा २–० ले पराजित भएको थियो ।
यस बाहेक २०१९ मै नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमारसाग र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो भने २०२४ फेब्रुअरिमा जोर्डनसँग वाफ च्याम्पियनसिपमा पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
अहिले नेपाल पराजित भएको १२ फाइनल:
साफ महिला च्याम्पियनसिप
२०१० फाइनलः भारतसँग १–० ले पराजित
२०१२ फाइनलः भारतसँग ३–१ ले पराजित
२०१४ फाइनलः भारतसँग ६–० ले पराजित
२०१९ फाइनलः भारतसँग ३–१ ले पराजित
२०२२ फाइनलः बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल : बंगलादेशसँग २–१ ले पराजित
दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनलः भारतसँग ३–१ ले पराजित
२०१६ फाइनलः भारतसँग ४–० ले पराजित
२०१९ फाइनलः भारतसँग २–० ले पराजित
२०१९ हिरो वुमन्स गोल्डकप
फाइनलः म्यानमारसँग ३–१ ले पराजित
२०१९ नादेज्दा कप
फाइनलः उज्वेकिस्तानसँग ३–२ ले पराजित
२०२४ वाफ वुमन्स च्याम्पियनसिप
फाइनलः जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२-२) ले पराजित