प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

सन् २०२५ मा नेपालको भिसा-फ्री स्कोर ३९ रहेकोमा सन् २०२६ को मे महिनासम्म आइपुग्दा यो घटेर ३५ मा सीमित भएको छ।
विश्वभरका पासपोर्टहरूको सबलता मापन गर्ने प्रतिष्ठित संस्था हेन्ली एन्ड पार्टनर्स द्वारा सार्वजनिक गरिएको प्रतिवेदन हेन्ली पासपोर्ट इन्डेक्स २०२६ (मे ग्लोबल र्याङ्किङ) अनुसार नेपालको पासपोर्टको अवस्थामा कुनै सुधार नभई झन् खस्किएको पाइएको छ। नयाँ प्रतिवेदन अनुसार नेपाल विश्वकै सातौँ कमजोर पासपोर्ट भएको देशको रूपमा सूचीकृत भएको छ।
गत वर्षको हेन्ली पासपोर्ट इन्डेक्स २०२५ सँग तुलना गर्दा नेपालको र्याङ्किङमा केही परिवर्तन देखिए पनि वास्तविक यात्रा क्षमता अर्थात् भिसा-फ्री पहुँचमा उल्लेखनीय गिरावट आएको छ। सन् २०२५ मा नेपालको भिसा-फ्री स्कोर ३९ रहेकोमा सन् २०२६ को मे महिनासम्म आइपुग्दा यो घटेर ३५ मा सीमित भएको छ। यसको अर्थ अब नेपाली पासपोर्टवाहकले विश्वका केवल ३५ देशमा मात्रै अग्रिम भिसा बिना (भिसा-फ्री वा आगमनमा भिसा प्राप्त गरी) यात्रा गर्न सक्नेछन्।
विगतका वर्षहरूको तथ्याङ्क हेर्दा सन् २०२६ को यो स्कोर नेपालका लागि हालसम्मकै सबैभन्दा कमजोर अवस्था हो। पछिल्लो एक दशकमा नेपाली नागरिकले बिना भिसा वा आगमनमा भिसा लिएर भ्रमण गर्न सक्ने देशहरूको संख्या उतारचढावपूर्ण रहे पनि यस वर्ष जति कम कहिल्यै पुगेको थिएन।

ऐतिहासिक तथ्याङ्क अनुसार नेपालको भिसा-फ्री स्कोर सन् २०२४ मा ४०, २०२३ मा ३८, २०२२ मा ३७, २०२१ मा ३७, २०२० मा ३८, २०१९ मा ३८, २०१८ मा ४०, २०१७ मा ३७ र २०१६ मा ३७ रहेको थियो। विगतमा ३७ देखि ४० देशसम्म सहज पहुँच पाउने नेपालीहरूका लागि अहिले त्यो दायरा खुम्चिएर केवल ३५ देशमा सीमित भएको छ, जसले नेपालको राहदानीको अन्तर्राष्ट्रिय साख निरन्तर खस्कँदै गएको संकेत गर्छ।
प्रतिवेदन अनुसार विगतमा नेपालभन्दा बलियो मानिएको उत्तर कोरियाको पासपोर्ट पनि यस वर्ष कमजोर बन्दै नेपालकै स्थानमा आइपुगेको छ। सन् २०२५ मा ४१ स्कोरसहित नेपालभन्दा माथि रहेको उत्तर कोरियाको स्कोर सन् २०२६ मा घटेर ३५ मा पुगेपछि अहिले नेपाल र उत्तर कोरिया संयुक्त रूपमा ९७ औँ स्थानमा (तलबाट सातौँ कमजोर) रहेका छन्।
त्यसैगरी, भिसा-फ्री स्कोर ३५ प्राप्त गर्दै नेपालले गत वर्ष सोमालिया रहेको स्थान ओगटेको छ। सोमालियाको स्कोर गत वर्षको ३५ बाट घटेर यस वर्ष ३२ मा पुगेको छ भने यमनको स्कोर ३३ बाट घटेर ३१ मा झरेको छ।
प्रतिवेदन अनुसार नेपाल मात्र होइन, विश्वका अन्य मध्यम तथा कमजोर पासपोर्ट भएका देशहरूको स्कोरमा पनि व्यापक गिरावट आएको छ। नाइजेरिया सन् २०२५ मा ४६ स्कोरसहित ८४ औँ स्थानमा रहेकोमा सन् २०२६ मा ४४ स्कोरसहित ९० औँ स्थानमा झरेको छ। कङ्गो (लोकतान्त्रिक गणतन्त्र कङ्गो) र म्यानमार पनि २०२५ मा ४६ स्कोरसहित ८४ औँ स्थानमा रहेकोमा २०२६ मा ४३ स्कोरसहित ९१ औँ स्थानमा ओर्लिएका छन्।

त्यसैगरी, इथियोपिया र लेबनानको स्कोर घटेर ४२ पुगेको छ र दुवै देश ९२ औँ स्थानमा रहेका छन्। दक्षिण सुडान र सुडान ४१ स्कोरसहित ९३ औँ स्थानमा छन् भने लिबिया र श्रीलङ्का ३९ स्कोरका साथ ९४ औँ स्थानमा रहेका छन्। इरान र प्यालेस्टाइन ३८ स्कोरसहित ९५ औँ स्थानमा छन्। नेपालको अर्को छिमेकी बङ्गलादेशको स्कोर पनि ४० बाट घटेर ३६ मा पुगेको छ, जसका कारण बङ्गलादेश ९६ औँ स्थानमा झरेको छ।
विश्वकै सबैभन्दा कमजोर पासपोर्ट भएका पाँच देशहरूको अवस्था पनि गत वर्षको तुलनामा अझ कमजोर बनेको छ। सन् २०२६ को मे महिनाको अद्यावधिक विवरण अनुसार यमन (३१ स्कोर), पाकिस्तान (३० स्कोर), इराक (२९ स्कोर), सिरिया (२६ स्कोर) र अफगानिस्तान (२३ स्कोर) क्रमशः विश्वका सबैभन्दा कमजोर पासपोर्ट भएका मुलुकहरू हुन्। यी सबै देशहरूको स्कोर गत वर्षको तुलनामा थप घटेको छ।
विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धको कमजोर अवस्था, कूटनीतिक पहलको कमी तथा राहदानीसम्बन्धी नीतिगत कमजोरीका कारण नेपाली पासपोर्टको साख निरन्तर खस्कँदै गएको हो। यसको प्रत्यक्ष असर नेपाली नागरिकमाथि पर्नेछ, जसले अन्तर्राष्ट्रिय यात्रा तथा भिसा प्राप्तिको प्रक्रियामा थप कठिनाइ र झन्झट बेहोर्नुपर्ने अवस्था सिर्जना गर्न सक्छ।
