प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

संयुक्त राष्ट्रसंघ मुख्यालय परिसरमा वार्षिक रूपमा आयोजना हुँदै आएको ‘इन्टरनेशनल बजार’ मा नेपाली उत्पादनहरु र नेपाली चिनाउने सामाग्रीहरुले सहभागीहरुलाई आकर्षित गरेको छ। न्यूयोर्कस्थित यूएनको भिजिटर्स प्लाजामा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विश्वभरका देशहरूको सांस्कृतिक विविधता झल्किएको थियो।

सन् २०१३ मा सुरु गरिएको यो कार्यक्रम अहिले यूएन समुदायभित्रको महत्वपूर्ण वार्षिक परम्पराका रूपमा स्थापित भइसकेको छ। संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका प्रतिनिधिमण्डल, कर्मचारी तथा कूटनीतिक समुदायको सहभागितामा आयोजना हुने यस बजारलाई ‘युनाइटेड नेशन्स डेलिगेसन्स स्पाउसेज क्लब’ ले संयोजन गर्दै आएको छ।

कार्यक्रममा विभिन्न देशका स्टलमार्फत परम्परागत खाना, हस्तकलाका सामग्री तथा सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो। साथै, सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई जीवन्त बनाएका थिए।
यस वर्षको बजारमा नेपालको पनि स्टल राखिएको थियो, जहाँ नेपाली उत्पादनहरू तथा नेपाल चिनाउने सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीका अनुसार यस वर्ष पहिलोपटक नेपाली उत्पादन तथा प्रवर्द्धन सामग्रीहरू समावेश गरिएको हो। उनले आगामी वर्षदेखि नेपाली खानाका परिकारहरू समेत समेट्ने योजना रहेको जानकारी दिए।

नेपाली स्टलले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो। यसले नेपालको सांस्कृतिक पहिचान र उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजक तथा सहभागीहरूले बताएका छन्।

इन्टरनेशनल बजार सांस्कृतिक आदानप्रदानसँगै मानवीय सहयोगका लागि पनि महत्वपूर्ण माध्यमका रूपमा रहेको छ। यस वर्ष संकलित रकम संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय मार्फत विश्वका संकटग्रस्त समुदायलाई सहयोग पुर्याउन प्रयोग गरिने जनाइएको छ।

आयोजकका अनुसार विविधता र एकताको सन्देश बोकेको यो कार्यक्रमले विभिन्न संस्कृतिबीच समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
सबै फोटोः संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क
