प्रकाशित मिति : २७ असार २०८३, शनिबार

फोटो: होमल्याण्ड सेक्युरिटी
यस वर्षको फिफा विश्वकप सुरु हुनुअघि अमेरिकी डेमोक्र्याट नेताहरूले खेलका क्रममा अध्यागमन एजेन्टहरूले फुटबल प्रशंसक वा खेलाडीहरूमाथि कडा निगरानी राख्ने र त्यसले अन्तर्राष्ट्रिय विवाद निम्त्याउन सक्ने चेतावनी दिएका थिए। तर, प्रतियोगिताको अन्तिम साता आइपुग्दा त्यस्तो कुनै अप्रिय घटना घटेको छैन।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटी अन्तर्गतको आइसले भीड नियन्त्रण गर्ने कार्यबाट आफूलाई टाढा राखेको छ। बरु, यसले अमेरिका, मेक्सिको र क्यानडामा आफ्ना टोलीहरूको समर्थनमा आएका ठुलो सङ्ख्याका विदेशी दर्शकहरूको सुरक्षालाई ध्यानमा राख्दै नक्कली सामानको बिक्री वितरण र मानव बेचबिखन रोक्न अन्य कानुनी निकायहरूसँग मिलेर काम गरिरहेको छ।
विश्वकपका खेलहरूमा आइसले देखाएको यो संयमतालाई विपक्षी डेमोक्र्याटहरूले समेत सकारात्मक रूपमा लिएका छन्। हाउस होमल्याण्ड सेक्युरिटी कमिटीकी डेमोक्र्याटिक सदस्य नेली पाउले भनिन्, मैले अहिलेसम्म कुनै गम्भीर वा नकारात्मक रिपोर्ट सुनेकी छैन, जुन वास्तवमै धेरै राम्रो कुरा हो। यो सुन्दा म खुसी छु। उनको निर्वाचन क्षेत्र न्यू जर्सी अन्तर्गत पर्छ, जहाँ यस विश्वकपको फाइनल खेल आयोजना हुँदैछ।
सांसद पाउले यसअघि कङ्ग्रेसको सुनुवाइमा आइसको भूमिकाबारे चिन्ता व्यक्त गरेकी थिइन्। उनले अहिलेको सकारात्मक वातावरणको श्रेय संसदीय निगरानी र होमल्याण्ड सेक्युरिटीका वर्तमान सेक्रेटरी मार्कवेन मुलिनको संयमित नेतृत्वलाई दिएकी छिन्। पूर्व होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमको तुलनामा वर्तमान सेक्रेटरी मुलिनले एजेन्सीको कामकारबाहीलाई बढी व्यावहारिक र सतर्कतापूर्वक अगाडि बढाउनुभएको छ, जसले गर्दा कङ्ग्रेससँगको सम्बन्धमा पनि सुधार आएको छ।
यसैगरी, हाउस होमल्याण्ड सेक्युरिटी कमिटीका पूर्व अध्यक्ष तथा रिपब्लिकन सांसद माइकल म्याककोलले पनि खेलको सुरक्षा व्यवस्थापन र आइसको भूमिकाको प्रशंसा गरेका छन्। म्याककोलले भने, खेलहरूमा उनीहरूको भूमिका धेरै मानिसहरूलाई देश निकाला गर्ने होइन, बल्कि मानव बेचबिखन विरुद्ध लड्नु हो। अहिलेसम्म उनीहरूले आफ्नो सीमामा रहेर काम गरिरहेका छन् र यो सकारात्मक पक्ष हो।
यस पटक मुख्य रूपमा आइसको ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ शाखाका एजेन्टहरू परिचालन गरिएको छ। यो शाखाले देश निकाला गर्ने कार्य भन्दा पनि मानव बेचबिखन, नक्कली सामान र बाल यौन शोषण जस्ता गम्भीर आपराधिक क्रियाकलापहरूको अनुसन्धानमा केन्द्रित रहने गर्दछ।
अध्यागमनसम्बन्धी केही सानातिना विवादहरू भने नदेखिएका होइनन्। जुन महिनामा भन्सार तथा सीमा सुरक्षाले सोमाली मूलका एक रेफ्रीलाई अमेरिका प्रवेशमा रोक लगाएको थियो भने इरानको राष्ट्रिय फुटबल टोलीको बसाइ अवधिमा पनि कडा प्रतिबन्ध लगाइएको थियो। तर, यी घटनाहरू आइसको प्रत्यक्ष संलग्नता बिना र सार्वजनिक नजरभन्दा टाढा भएकाले खेलको समग्र छविमा यसले ठुलो असर पारेको छैन।
होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी मुलिनले कङ्ग्रेसमा गराएको जानकारी अनुसार अहिलेसम्म कुनै पनि ठुलो अप्रिय घटना भएको छैन र फ्यानहरूबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ।