तिमीलाई देखेर हिमाल हाँसेको

तिमीलाई देखेर हिमाल हाँसेको


बतासे डाँडा, घुम-दार्जीलिङ

मैले आँखाले भ्याएसम्म आफ्नो आँखा तन्क्याएँ । परपरसम्म रमाइलो पहाडी भूभाग र सफा आकाशले मनै शान्त हुने वातावरण थियो । म त्यहाँ एउटा रेल कुरिरहेको थिएँ । ऐतिहासिक महत्व बोकेको त्योे रेल, जसको बारे निकै धेरै कथा सुनिएको थियो । त्यसका बारे धेरै चुट्किलाहरू पनि बनेका थिए । म जुन पहाडको जुन मोडमा उभिएको थिएँ, त्यहाँ आइपुग्दा त रेलको गति यति कम हुन्छ, चलिरहेको रेलबाट यात्रु ओर्लेर, वरिपरिको कुनै झाडी पछाडि गएर लघुशंका गरेर फेरि लम्केर गएर त्यही रेलमा चढ्न भ्याउँछ रे ! त्योे रेल केही प्रख्यात हिन्दी सिनेमाका चलेका गीतहरूमा पनि बेलाबेला देखिएको थियो । त्यही रेललाई आफ्नै आँखाले हेर्न कुरिरहेको म मनमनै गाउँदै थिएँ, ‘मेरे सपनों की रानी कब आएगी तू !’

हो, दार्जीलिङको घुम, बतासे डाँडामा उभिएर म त्यही सुस्त रेलको प्रतीक्षा गरिरहेको थिएँ । अलि लामै प्रतीक्षापछि बल्ल पहिले रेल आउन लागेको आवाज आयो, अनि त्यसको एकै छिनमा परको मोडबाट रेल प्रकट भयो । तर यो के देख्दैछु म ? त्यो रेल त एकदमै द्रुत गतिमा पो आइरहेको थियो । मैले केही सोच्न नभ्याउँदै दनदनाएर एउटा घुम्तीबाट आएर रेल अर्को मोडबाट बेपत्ता भयो । लौ मार्‍यो, परेन अब फसाद ? के मैले सुनेका कुराहरू सबै गलत रहेछन् त ? यसरी हुँइकिने रेलले त मेरो त्यत्रो योजना चौपट् पो बनाउने भयो त । अब के गर्ने होला ? म वैकल्पिक योजनाका बारे सोच्न थालें ।

केही दिनअघि

म त्यतिबेला म्यूजिक नेपालको एफएम र श्रव्यदृश्य प्रमुखका रूपमा कार्यरत थिएँ । नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘म्यूजिक म्याजिक’ पनि मेरै जिम्मामा थियो । गीत–सङ्गीत प्रकाशन गर्ने संस्था भएकोले प्रचारप्रसारका लागि म्यूजिक भिडियोहरू पनि आफंै बनाउने भनेर छायांकन र सम्पादनका केही उपकरणहरू पनि जोडिएका थिए । तर ती एकदमै साधारण र कामचलाउ थिए । भिएक्स २००० भन्ने साधारण क्यामरा र सम्पादनका लागि एउटा कम्प्युटरको भरमा हामी भिडियो बनाउँथ्यौं । ती भिडियोका लागि खासै बजेट पनि हुन्नथ्यो । चार–पाँच हजार रुपैयाँको बजेटमा हामी ग्रामी जित्ने भिडियो त बनाउन सक्दैनथ्यौं ।

त्यहीताका चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’को एउटा नयाँ अल्बम निस्केको थियो । त्यसका केही गीतहरू रेडियोमा विस्तारै लोकप्रिय भइरहेका थिए । एक दिन ब्याण्डका गायक राजु लामा उत्साहित भएर आए । मंगोलियन हार्ट एउटा कन्सर्टको लागि दार्जीलिङ जाने भएछ । उनीहरू यहींबाट एउटा बसमा सम्पूर्ण ब्याण्ड मेम्बर र आफ्ना उपकरणहरू लिएर जाने तयारी गरिरहेका रहेछन् । त्यो सुन्दा मेरो दिमागमा एउटा आइडिया आयो । ‘म्यूजिक म्याजिक’ कार्यक्रमको केही भागहरू दार्जीलिङमा छायाङ्कन गर्न पाए केही नयाँ देखिन्थ्यो । ब्याण्ड आफैं पनि उता गएको बेला एउटा म्यूजिक भिडियोे पनि बनाउन पाए अझै रमाइलो हुन्थ्यो । जाने–आउने सबैै बन्दोबस्त ब्याण्डको तर्फबाट हुने भएपछि म्यूजिक नेपालको पनि सुको दाम खर्च नहुने भइहाल्यो । मैले राजु लामालाई आफ्नो आइडिया सुनाएँ । उनी पनि दंगदास भइहाले । हामीले म्यूजिक भिडियो बनाउन गीत छान्यौं :

‘तिमीलाई देखेर, हिमाल हाँसेको
तिम्रो गीत सुनेर मुनाल नाचेको ।’

कथा अनुसार मलाई कन्सर्टको भीडमा पनि ती युवतीलाई देखाउनु थियो । हामीले त्यो खिच्यौं । अब बाँकी सबै छायांकन भोलिपल्ट र पर्सिपल्ट गरी दुई दिनमा सकाउने हाम्रो योजना थियो । तर, भोलिपल्ट के हुन्छ भन्ने कुरा हाम्रो सात पुस्तालाई पनि थाहा थिएन

उनीहरूको कन्सर्ट सकिएपछि अर्को दुई दिन दार्जीलिङ बसेर त्यहीं वरिपरि छायांकन गर्ने हाम्रो योजना बनेको थियो । म भिडियो के बनाउने भनेर सोच्न थालें । दार्जीलिङ पनि भिडियोको कथाको एउटा भाग बनोस् भन्ने हिसाबले मैले कथानक तयार पारें । मंगोलियन हार्ट दार्जीलिङमा कन्सर्टका लागि जान लागेको नै कथाको पृष्ठभूमि भयो । कथामा राजु लामाकी एक दार्जीलिङकै ‘फ्यान’ युवती हुन्छिन् जो ब्याण्ड दार्जीलिङ आउन लागेको थाहा पाएर उत्साहित छिन् ।

यता उनले कुनै बेला पठाएको उनको फोटो राजु लामासँग सुरक्षित हुन्छ । दार्जीलिङ जाँदा ती युवती भेटिन्छिन् कि भन्ने उनलाई पनि लागेको हुन्छ । के उनीहरूको त्यहाँ भेट हुन्छ त भन्ने अवधारणामा भिडियोको स्क्रिप्ट तयार भयो । ब्याण्डसँग अब यात्रामा थपिनेमा थियौं– म, क्यामरापर्सन जीवन, शृंगारकर्ता विनोेद, भिडियोेमा अभिनय गर्ने स्मृति र म्यूजिक नेपालका एक सहयोगी कर्मचारी । हामी कन्सर्टभन्दा एक दिन अघि नै त्यहाँ पुग्ने योजना थियो ।

अपराह्न काठमाडौंबाट हिंडेका हामी राति पनि हल्लाखल्ला र रमाइलो गर्दै लामो यात्रा गरेर पशुपतिनगरको बाटो हुँदै बिहान सखारै दार्जीलिङ पुग्यौं । होटलमा गएर सामानहरू थान्कोमान्कोे लगाएपछि ब्याण्डका सदस्यहरू आयोजकसँग भेटघाटका लागि निस्किए । हामी भने समयको सदुपयोग गर्दै दार्जीलिङका विभिन्न स्थानमा म्यूजिक म्याजिकको छायांकन गर्न थाल्यौं । त्यही क्रममा म म्यूजिक भिडियोका लागि छायांकन गर्ने स्थानहरू पनि मनमनै निक्र्योल गर्दै गएँ ।

**** ***

दार्जीलिङ सुन्दर थियो । क्यामरापर्सन जीवन पहिलो पटक त्यहाँ गएका थिए । उनी दार्जीलिङको सुन्दरताबाट निकै प्रभावित भए । उनले खुइय्य लामो सास फेरेर भने, ‘मलाई त राम्रो काम पाउने भए यहीं बसौं–बसौं पो लाग्यो ।’ हामीलाई त्यहाँ गाडीमा घुमाउने चालक निकै फरासिला र रमाइला थिए । जीवनकोे कुरा सुन्नासाथ उत्साहित हुँदै भने, ‘आँच दजु । साँच्चै बस्ने हो ? हो भने एउटा दाम्मी काम त मै मिलाइदिन सक्छु । स्यालरी पनि हेभी हुन्छ । फिफ्टी थाउजण्ड । अनि काम पनि डल्लै मन्थमा एक–दो दिन मात्र गरे पुग्छ ।’

हामी केही बोलेनौं ।

उनले गम्भीर भएर भने, ‘प्रमिस रेला गरेको हैन । रियल हो के कस्सम ।’

जीवनले सोधे, ‘काम चाहिं के हो त त्यस्तो ?’

चालकले एकदमै गम्भीर भएर भने, ‘गभर्मेण्ट जब हो दजु, जू मा । भालुको नङ काटिदिने ।’

उनको कुरा सुनेर हामी सबैै हाँस्यौैं । दिनभरमा छायांकन सकाएर हामी साँझ पर्ने बेला होटल फर्कियौं । बिहान सुनसान भएको होटलमा साँझ त मेला लागेको जस्तो भइसकेको रहेछ । कन्सर्टको लागि आएको ब्याण्ड त्यहाँ बसेको सबैलाई थाहा भइसकेको रहेछ । ठूलै समूह होटल बाहिर र भित्र पनि थियो । त्यो हूलमा नब्बे प्रतिशत भन्दा बढी चाहिं ‘टिन–एज’का युवतीहरू थिए । उनीहरू सबै राजु लामाका फ्यानहरू थिए ।

*** ***

म म्यूजिक भिडियोको पहिलो दृश्य केही खास होस् भन्ने चाहन्थें । त्यसैले सोच्दासोच्दा दिमागमा एउटा आइडिया आयो । घुम पहाडको बतासे डाँडामा रेल एकदमै विस्तारै चढ्छ भन्ने सुनेको थिएँ । त्यसैले मैले परिकल्पना गरें– रेलको छतमा मंगोलियन हार्टका सदस्यहरू बसेका छन्, रेल छुक्छुक् गर्दै विस्तारै कुदिरहेको छ र त्यसको अगाडि अगाडि लिकमा एउटी युवती आफ्नो सललाई हावामा उडाउँदै कुदिरहेकी छ ।

म्यूजिक भिडियोको सुरुतिर यो दृश्य कैद गर्न पाइयो भने मज्जा आउँछ भनेर म उत्साहित भएको थिएँ । तर वास्तविकतामा त रेल यसरी कुद्दो रहेछ, त्यसको अगाडि कोही सल उडाउँदै दौडने भन्ने त असम्भव कुरा थियो । मेरो मन खिन्न भयो । नभए अब युवतीलाई पनि ब्याण्ड सदस्यहरूसँगै छतमै राख्नु पर्ला भन्ने मैले सोचें ।

चालकले गति कम त गरेका थिए, तर पनि आफ्नो पछाडि एउटा सिङ्गो रेल नै आइरहेको छ भन्ने कुरा सहज रूपमा लिन सकिने कहाँ हुन्छ र ? त्यसैले स्मृति आत्तिएर चाहिनेभन्दा बढी गतिमा दौडिन थालिन् । ७० को स्पीडमा कुद्न खोजेकी स्मृतिको त्यही सन्तुलन गुम्यो र उनी रेलको लिकमा पछारिइन्

रेलमा छायांकन गर्नका लागि स्वीकृति लिनुपर्ने रहेछ । त्यसका लागि हामी नजिकैको कार्यालयमा गयौं । मैले आफूले गर्न खोजेको कुरा बताएँ । त्यहाँ त झन् मेरो रहेसहेको जाँगर पनि चिलिम फर्कियो । भारतीय रेलवेको नियम अनुसार रेलमा केही पनि छायांकन गर्न न्यूनतम पचास हजार भारु शुल्क लाग्ने रहेछ । अनि कुनै पनि अवस्थामा छतमाथि कसैलाई राखेर छायांकन गर्न नपाइने रहेछ । अँध्यारो मुख लगाएर हामी फर्कियौं । हाम्रो लोेप्रे कान देखेर गाडीका चालकले भने, ‘अन्त दजु, सप्पै कुरा सिधा उँगलीबाट कता निस्कन्छ र हौ । गभर्मेन्ट अफिसमा त केके भन्छ केके । टेन्सन नलिनुस् न हौ, म कुरा मिलाउँछु ।’

ती चालक वास्तवमै जुगाडका ओस्ताद थिए । उनले हामीलाई त्यही रेलको इन्जिन ड्राइभरसँग भेट गराए । उनको मध्यस्थतामा जुन वार्ता भयो, त्यसअनुसार अब मात्र पाँच हजार रुपैयाँमा इन्जिन ड्राइभरले बतासे डाँडा भन्दा अघि घुम स्टेसनबाट ब्याण्डका सदस्यहरूलाई रेलको छतमा चढाउने भए, बतासे डाँडामा आइपुगेपछि नायिकालाई अघिअघि दौडनका लागि रेलको गति पनि कम गर्ने भए । त्यति मात्र होइन, हामीलाई छायांकन गर्न सहज होस् भनेर परेमा तीन पटकसम्म रेल रोकिदिने पनि भए ।

‘अन्त दजुहरू नेपालदेखि आउनुभएको भनेर मात्र हो नि ! तर दजु, धेरै टाइम चाहिं नलगाउनुहोला नि ल ? थाहा पायो भने मेरो जाब नै जान सक्छ’, उनले भने । मलाई त ढुङ्गा खोज्दा देउता भेटे जस्तो भइहाल्यो । म उत्साहित भएँ । खोजेको जस्तो शट त पाइने भयो । रह्यो कुरो पाँच हजारको, त्यति त ब्याण्डले कसो नहाल्ला र ? नभए त्यति राम्रो ‘शट’को लागि आफ्नै खल्तीबाट भए पनि हालौंला भन्दै मैले सौदा पक्का गरें ।

*** ***

त्यसै दिन बेलुका जीमखाना क्लबमा कन्सर्ट थियो । त्यो कन्सर्टमा मैले एउटा रमाइलो कुरा देखें । ‘मंगोलियन हार्ट’ स्टेजमा आउनु अघि केहीबेर त्यहाँको स्थानीय ब्याण्डको प्रस्तुति थियो । उनीहरू चाहिं गाउने नभई धुन मात्र बजाउने रहेछन् । दर्शक–श्रोताहरू त्यही बेलादेखि नाच्न र हल्ला गर्न थालेका थिए । विभिन्न चलेका गीतका धुनहरू बजाउने क्रममा ब्याण्डले ‘यो मन त मेरो नेपाली हो’ भन्ने धुन मात्र बजाए पनि पूरै श्रोताहरू चाहिं ‘नेपाली हो…’ भनेर एकै स्वरमा कराएको देख्दा मेरो आङ नै सिरिङ्ग भयो ।
त्यसको एकै छिनमा फेरि ब्याण्डले धुन बजायो, ‘सारे जहाँ से अच्छा….’ पूरै श्रोताहरू त्यति नै उत्साहित भएर कराए, ‘हिन्दोस्ताँ हमारा…।’ सङ्गीतको देश, सीमा र भाषा हुँदैन भनेको त्यही थियो कि ? कि त मनले एउटा र व्यावहारिकताले अर्को आफूभित्र द्वैध मानसिकता बोक्नुको पीडा थियो त्यो ?

कथा अनसुार मलाई कन्सर्टको भीडमा पनि ती युवतीलाई देखाउनु थियो । हामीले त्यो खिच्यौं । अब बाँकी सबै छायांकन भोलिपल्ट र पर्सिपल्ट गरी दुई दिनमा सकाउने हाम्रो योजना थियो । तर, भोलिपल्ट के हुन्छ भन्ने कुरा हाम्रो सात पुस्तालाई पनि थाहा थिएन । त्यसबाट अन्जान हामी मज्जाले सुत्यौं ।

हुन त कुनै पनि छायांकनमा ठ्याक्कै आफूले भने जस्तो हुँदैन । हुनसक्छ हामी त्यति धेरै व्यावसायिक नभएकोले होला, या चाहिने जति बजेट र मानवशक्ति विना काम गर्नुपर्ने भएर पनि होला त्यसो हुने । खै किन हो केही न केही गडबड हुने नै गर्छ । यो छायांकन पनि त्यसबाट अछूतो रहेन ।

बिहान हामी छायांकनका लागि निस्कनै सकेनौं । ब्याण्डका अनुसार कन्सर्टका आयोजकहरूले उनीहरूलाई दिनुपर्ने भुक्तानी भोलिपल्ट बिहानै होटलमा आएर प्रदान गर्ने भनिएको थियो रे ! तर अपराह्नसम्म पनि उनीहरूको अत्तोपत्तो थिएन । भुक्तानी पाइएन भने काठमाडौं फर्कनका लागि पनि हामी बेखर्ची हुने रहेछौं । होटलले पनि हामीलाई कहाँ त्यत्तिकै छोड्थ्यो होला र ? अब त्यस्तोमा छायांकनभन्दा आवश्यक अरू नै कुरा भयो । ब्याण्डका सदस्यहरू भिडियो भुलेर आयोजकको खोजीमा निस्किए । म र मेरो भिडियो टीम झुक्कुर खाएर होटलमा बस्यौं । दिन त्यत्तिकै बित्यो । रातिपख उनीहरू बल्लबल्ल आंशिक भुक्तानी लिएर आए । अब हामीसँग छायांकन गर्नका लागि अर्को एक दिन मात्र थियो ।

भोलिपल्ट बिहान उज्यालो हुनुअघि नै उठेर सूर्योदयको बेला छायांकन गर्न हामी टाइगर हिलतर्फ लाग्यौं । त्यहाँ पुगेपछि थाहा भयो, हाम्रा सहायक बन्धुले रिफ्लेक्टर होटलमै छोडेर आउनुभएछ । टिनको मेकअप बाकसलाई रिफ्लेक्टर बनाएर मैले शटहरू खिच्नुपर्‍यो । त्यो पनि राजु लामाको क्लोजअप मात्र, किनभने लङ शटका लागि त्यसको टलक पुग्दैनथ्यो । त्यहाँबाट हतारहतार हामी बतासे डाँडातिर हान्नियौं । किनभने रेलको समयसँग हामीले समन्वय गर्नु थियो ।

*** ***

त्यस गीतको भिडियो यूट्यूबमा झण्डै तीन करोड पटक हेरिसकिएको थियो । अहिले लाग्छ, अलि गतिलो बजेट र क्यामरा भएको भए अनि हतार गर्न नपरेर भनेको जसरी काम गर्न पाएको भए त्यो भिडियो अझै कस्तो बनाउन सकिन्थ्यो होला !

पूर्व निर्धारित कार्यक्रम अनुसार ब्याण्डका सदस्यहरू घुम स्टेशनतिर गए । अहिले जस्तो मोबाइल फोन हातहातैमा नहुँदा उताबाट रेल हिंडेको जानकारी पाउन सकिन्नथ्यो । मोड काटेर आएको देखेपछि मात्र क्यामरा चालु गर्नुपर्ने र स्मृति सल उडाउँदै दौडिनुपर्ने थियो । उनलाई लिकमा तयार अवस्थामा राखेर अलि पर क्यामराका साथ हामी कुर्न थाल्यौं ।

ड्राइभरले गति कम गर्छु भने पनि रेल भन्या रेलै हो । स्मृति त्यसको अघि दौड्न अलि डराइरहेकी थिइन् जुन स्वाभाविकै थियो । मैले उनलाई आश्वस्त पार्ने हरसम्भव प्रयास गरेको थिएँ । केहीबेरमा रेल घुम्तीबाट प्रकट भयो । ब्याण्ड सदस्यहरू छतमा बसेका थिए । मैले उनीहरूलाई हल्लिंदै रमाउँदै आउनु भनेको थिएँ । जब रेल मोड घुमेर स्मृति र क्यामराको सिधा भयो म चिच्याएँ, ‘एक्सन….!’

स्मृतिलाई अब कुद्नु थियो । चालकले गति कम त गरेका थिए, तर पनि आफ्नो पछाडि एउटा सिङ्गो रेल नै आइरहेको छ भन्ने कुरा सहज रूपमा लिन सकिने कहाँ हुन्छ र ? त्यसैले स्मृति आत्तिएर चाहिनेभन्दा बढी गतिमा दौडिन थालिन् । रेलको ट्रयाकमा त जमिन पनि समथर हुँदैन । त्यहाँ गिट्टी हालिएको हुन्छ । त्यसैले सत्तरीको स्पीडमा कुद्न खोजेकी स्मृतिको त्यहीं सन्तुलन गुम्यो र उनी रेलको लिकमा पछारिइन् ।

हामी सबै त्यतै कुद्यौं । सबैको मुटुको गति तेज भएको थियो । ठूलो दुर्घटना हुनसक्थ्यो । रेलका चालकले पनि मरेर ब्रेक लगाए । हामीले समयमै स्मृतिलाई तानेर लिकबाट बाहिर ल्याउन सफल भयौं । उनको दाहिने गोडाको गोलीगाँठो मर्किएको थियो ।

मलाई अब यो शट खिच्न खतरायुक्त छ जस्तो लाग्न थाल्यो । त्यसैले त्यसलाई रद्द गर्ने कुरा गरें । तर स्मृतिले भनिन्, ‘हैन, यहाँसम्म आएर यति दुःख गरिसकियो । जेसुकै होस्, यो क्यान्सल नगरौं । म गर्छु ।’

नभन्दै दोस्रो पटकमा मर्किएको खुट्टाको पीडालाई सहेर उनी नडराइकन रेलको अगाडि दौडिइन् । मैले चाहेको जस्तो ठ्याक्कै नभए पनि राम्रो दृश्य खिच्न सफल भयौं । विना बजेटमा, दुई दिनको लागि गरिएको योजना अनुसारको छायांकन एक दिनमा गर्नुपर्दा, त्यसमाथि नायिकाको खुट्टा मर्किंदा हामीले सोचेका धेरै कुराहरू गर्न सकेनौं । दार्जीलिङमा सकेको र भ्याएको जति हतारहतार छायांकन गरेर हामी फर्कियौं । हामीले बाटोेमा इलामका चियाबारीहरूमा र रेलको छतको साटो थाहा नहुने गरी बसको छतमा पनि केही छायांकन गर्‍यौं ।

*** ***

त्यस गीतको भिडियो यूट्यूबमा झण्डै तीन करोड पटक हेरिसकिएको थियो । अहिले लाग्छ, अलि गतिलो बजेट र क्यामरा भएको भए अनि हतार गर्न नपरेर भनेको जसरी काम गर्न पाएको भए त्यो भिडियो अझै कस्तो बनाउन सकिन्थ्यो होला ? रेलको अघि स्मृति दौडिएको दृश्य सुरुमा एकैछिनका लागि मात्र आउँछ ।

दुर्भाग्यकोे कुरो चाहिं के भने केही समय अघि त्यस गीतका रचनाकार र ब्याण्डको बीचको केही असहमतिले गर्दा औपचारिक च्यानलबाट त्यो भिडियो हटाइएको रहेछ । अनौपचारिक रूपमा हालिएका भिडियोमा पनि पन्ध्र–बीस लाख पटक त्यसलाई हेरिएको देखिन्छ । अब यो पढिसकेपछि भिडियो हेर्दा चाहिं त्यो एक छिनको लागि सम्पूर्ण समूहले कति कठिन परिश्रम गरेको थियो भन्ने कुरा पनि देखिन्छ होला कि !





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School