ग्रिन कार्डवाहकसहित अमेरिकाबाट एकै पटक ४८ नेपाली डिपोर्ट, कारण – ‘मापसेदेखि भिसा उल्लङ्घन’



प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार

ग्रिन कार्डवाहकसहित अमेरिकाबाट एकै पटक ४८ नेपाली डिपोर्ट, कारण – ‘मापसेदेखि भिसा उल्लङ्घन’

अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले यहीँ अप्रिल ७ मा चार्टर्ड उडानमार्फत ४८ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट हुनेहरूमा सबै पुरुषहरू रहेका छन् ।

खसोखासलाई प्राप्त तथ्याङ्क अनुसार सोमबार डिपोर्ट गरिएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेको पाइएको छ । साथै, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभाग स्रोतले जानकारी दिएको छ । 

देश निकाला भएका दुई जना ग्रिन कार्डबाहक मध्ये एक जना ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको भने कारण खुलेको छैन ।

सन् २०२६ को २ महिनामा दुई सय ३१ जना डिपोर्ट 

अध्यागमन विभागका अनुसार सन् २०२६ को दुई महिनामा दुई सय ३१ जना डिपोर्ट भएका छन् । विभागका अनुसार सन् २०२६ को फेब्रुअरीमा मात्रै १३० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ महिला थिए । 

फेब्रुअरीमा चार्टर विमानमार्फत मात्रै ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना मात्र महिला रहेका थिए ।

त्यस्तै, जनवरीमा १०१ जना डिपोर्ट भएका थिए । जसमा ४ जना मात्र महिला थिए भने बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली ९७९ पुरुष, १ महिला० चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए। 

डिसेम्बर २०२५ मा एकै दिन ६९ पुरुष, ६ महिला गरी ७५ जना डिपोर्ट भएका थिए।

यस्तै नोभेम्बरमा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। तथ्यांकअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपाली डिपोर्ट भएका थिए।

राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि हालसम्म हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्।

डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा : अमेरिकास्थित नेपाली दूतावास

अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण हाल डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताउँछन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरणमार्फत यात्रा सम्भव हुने बताए।

डिपोर्ट गरिने व्यक्तिहरूसँग ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ ? भन्ने प्रश्नमा आरण भन्छन् – “धेरै अवस्थामा ट्राभल डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन। पहिले जारी गरिएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ। यस्तो अवस्थामा विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत पनि यात्रा गर्न मिल्ने व्यवस्था हुन्छ। त्यसैले ‘डकुमेन्ट छैन’ भनेर पूर्ण रूपमा भन्न मिल्दैन।”

उनका अनुसार दूतावासले डिपोर्ट गरिएकाहरूको विवरण प्रमाणीकरण गरी सम्बन्धित निकायसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गर्दछ।

उनी थप्छन् – “डिपोर्ट गरिने व्यक्तिहरूको हकमा दूतावासले उनीहरूको विवरण प्रमाणित गर्छ। त्यसपछि ती विवरणहरू सम्बन्धित मन्त्रालय र अध्यागमन निकायसँग थप प्रमाणीकरण गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि सोही आधारमा उनीहरूलाई नेपाल पठाउने व्यवस्था गरिन्छ।”

किन बढ्दै छ डिपोर्टेसन ?

अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुको कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैर कानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । 

उनी भन्छन् – “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’मा मुद्दा टुङ्ग्याइरहेको छ, जसका कारण लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने सङ्ख्या बढेको हो।”

गैर कानुनी अमेरिका प्रवेशमा कडाइ, कानुन उल्लङ्घन गरे नागरिकतासमेत जोखिममा

राजदूत आरणका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति पछिल्लो समय लगभग शून्यमा झरेको छ। यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको उनको भनाइ छ।

उनले ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुने जोखिम बढ्ने स्पष्ट पारे । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही हुने उनले चेतावनीसमेत दिए । 





Source link

Leave a Comment