प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले लागुऔषध ‘फेन्टानाइल’ तस्करी नियन्त्रण गर्ने बहानामा प्रयोगकर्ताका अत्यन्तै गोप्य र इन्क्रिप्टेड सन्देशहरू समेत सुन्न र हेर्न सक्ने अत्याधुनिक ‘स्पाइवेयर’ उपकरणको प्रयोग गरिरहेको खुलासा भएको छ।
आइसका कार्यबाहक निर्देशक टोड लायन्सले हालै एक पत्रमार्फत यो कुरा स्वीकार गरेका छन। एनपीआरले फेला पारेको उक्त पत्रअनुसार, एजेन्सीको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले अन्तर्राष्ट्रिय आपराधिक संगठन र विशेषगरी फेन्टानाइल ओसारपसारमा संलग्न समूहहरूलाई लक्षित गर्न यो प्रविधि प्रयोगमा ल्याएको हो। निर्देशक लायन्सले यस प्रविधिलाई ‘अत्याधुनिक प्राविधिक उपकरण’को रूपमा व्याख्या गर्दै यसले इन्क्रिप्टेड प्लेटफर्महरूको दुरुपयोग रोक्ने दाबी गरेका छन्।
आइसले इजरायली कम्पनी ‘पारागन सोलुसन्स’द्वारा विकसित ‘ग्राफाइट’ नामक सफ्टवेयर प्रयोग गरिरहेको छ। यस सफ्टवेयरको सबैभन्दा खतरनाक पक्ष भनेको यसको ‘जिरो-क्लिक’ प्रविधि हो। यसको अर्थ, लक्षित व्यक्तिले कुनै लिंकमा क्लिक नगरे पनि उसको मोबाइल वा डिभाइसमा यो सफ्टवेयर सजिलै प्रवेश गर्न सक्छ भने ह्वाट्सएप जस्ता सुरक्षित मानिएका एपका सन्देशहरू पनि संकलन गर्न सक्छ।
सन् २०२५ को सुरुमा ह्वाट्सएपले विश्वभरका करिब ९० जना पत्रकार र नागरिक समाजका सदस्यहरूलाई यही ग्राफाइट सफ्टवेयरमार्फत निशाना बनाइएको तथ्य सार्वजनिक गरेको थियो। इटालीमा पनि पत्रकार र मानवीय सहायताकर्मीहरूको फोन यसैबाट ह्याक गरिएको पाइएको थियो।
यस खुलासाले अमेरिकामा रहेका आप्रवासी, अधिकारकर्मी र सर्वसाधारणमा ठूलो चिन्ता निम्त्याएको छ। विशेषगरी ट्रम्प प्रशासनको समयमा सुरु भएको सामूहिक देशनिकाला अभियानमा यो प्रविधि प्रयोग हुनसक्ने डर नागरिक अधिकारकर्मीहरूले व्यक्त गरेका छन्।
पेन्सिलभेनियाकी डेमोक्रेटिक सांसद समर लीले भनेका छन, “आइसले अमेरिकाभित्रै आक्रामक स्पाइवेयर प्रविधि प्रयोग गरिरहेको स्पष्ट भएको छ।” उनले आप्रवासी, काला जातिका समुदाय, पत्रकार र सरकारी दुर्व्यवहारविरुद्ध बोल्ने व्यक्तिहरू यसको प्रत्यक्ष जोखिममा रहेको बताएका छन्।
आइसले यो प्रविधि संवैधानिक आवश्यकताअनुसार र कानुनी सल्लाहमा मात्रै प्रयोग गरिने बताए पनि नागरिक अधिकार समूहहरू भने आश्वस्त छैनन्। इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनका कुपर क्विन्टनले अदालतको कडा निगरानी बिना यस्तो हस्तक्षेपकारी प्रविधिको प्रयोग हुनु खतरनाक भएको बताएका छन् ।
यसअघि बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षामा जोखिम पुर्याउने व्यावसायिक स्पाइवेयरको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर, हाल आइसले यस प्रविधिलाई आफ्नै तरिकाले प्रमाणीकरण गरेर पुनः प्रयोगमा ल्याएपछि अमेरिकी सञ्चार जगत र राजनीतिमा नयाँ तरंग पैदा भएको छ।