प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार

अमेरिकाको कोलोराडो राज्यका गभर्नर जारेड पोलिस विवादमा तानिएका छन्। सन् २०२० को निर्वाचन परिणाम अस्वीकार गर्ने पूर्वकाउन्टी क्लर्क टिना पिटर्सको जेल सजाय घटाएका कारण गभर्नर पोलिसले आफ्नै डेमोक्र्याट दलभित्रबाट तीव्र आलोचनाको सामना गर्नुपरेको हो।
गभर्नर पोलिसले यसअघि पिटर्सलाई दिइएको नौ वर्षको जेल सजायलाई “अत्यन्त कठोर” भन्दै आलोचना गरेका थिए। उनले पिटर्सलाई आगामी जुन महिनामा प्यारोल मा रिहा गरिने घोषणा गरेका छन्।
कोलोराडोकी निर्वाचन प्रमुख जेना ग्रिसवल्डले उक्त निर्णयलाई “अमेरिकी लोकतन्त्रमाथिको प्रहार” भन्दै टिप्पणी गरेकी छन्। अन्य डेमोक्र्याट नेताहरूले पनि यस कदमले भविष्यका निर्वाचनप्रति अविश्वास फैलाउने प्रयासलाई प्रोत्साहन मिल्न सक्ने चेतावनी दिएका छन्।
उक्त घोषणाको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा “फ्री टिना” लेख्दै निर्णयको स्वागत गरेका थिए। ट्रम्पले लामो समयदेखि पिटर्सको रिहाइको माग गर्दै आएका थिए।
रिपब्लिकन नेतृ पिटर्सलाई सन् २०२४ को अगस्टमा मेसा काउन्टीको निर्वाचन कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच गराएको अभियोगमा सातवटा मुद्दामा दोषी ठहर गरिएको थियो। उनले एक अनधिकृत व्यक्तिलाई मतदान उपकरण र निर्वाचन अभिलेखमा पहुँच दिलाएको अभियोग लागेको थियो।
यो घटना सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा व्यापक मतदाता धाँधली भएको भन्ने अप्रमाणित दाबीपछि घटेको थियो। ट्रम्पले उक्त निर्वाचन आफूबाट “चोरी गरिएको” झुटो दाबी गर्दै आएका थिए।
आफ्ना वकिलमार्फत पिटर्सले आफ्नो गल्ती स्वीकार गर्दै पछुतो व्यक्त गरेकी छन्।
गभर्नर पोलिसले भने पिटर्सले अपराध गरेको स्वीकार गरे पनि उनी पहिलोपटक दोषी ठहरिएकी र कुनै हिंसात्मक अपराधमा संलग्न नभएकाले नौ वर्षको सजाय अत्यधिक भएको तर्क गरेका छन्।
तर, डेमोक्र्याट नेताहरूले भने पोलिसको यो निर्णयप्रति घोर असन्तुष्टि जनाएका छन्। कोलोराडोका महान्यायाधिवक्ता फिल वाइजरले यस निर्णयलाई अत्यन्त आश्चर्यजनक भन्दै “कानुनी शासनमाथिको प्रहार” भएको बताएका छन्।
यस निर्णयप्रति केही रिपब्लिकन नेताहरूले समेत असन्तोष जनाएका छन्। तर, अर्कातर्फ रिपब्लिकन नेतृद्वय मार्जोरी टेलर ग्रिन र लरेन बोबर्टले भने निर्णयको स्वागत गर्दै यसलाई न्यायका लागि ढिलो गरी चालिएको भए पनि सही कदम भनेका छन्।