किन मान्छेमा सुँगुरकै अंग प्रत्यारोपण गरिन्छ ?


६ मार्च २०२५ मा चीनले चिकित्सा क्षेत्रको एक नयाँ प्रयोगमा सफलता हात पार्‍यो । अमेरिकापछि चीन पनि अनुवांशिक रुपमा परिमार्जित सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण गर्न सफल भयो ।

मेडिकल रिपोर्टअनुसार ६९ वर्षीया महिलामा प्रत्यारोपण गरिएको त्यो मिर्गौलाले राम्रो काम गरिरहेको छ । ती महिला लामो समयसम्म बाँच्ने आशा चिकित्सकको छ ।

यस खालको प्रयोग अघिल्लो वर्ष अमेरिकामा पनि भएको थियो । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्ति करिब २ महिना बाँच्न सफल भए ।

सन २०२२ मा पहिलो पटक अमेरिकामै सुँगुरको मुटु मान्छेमा प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु लिएका ५७ वर्षीय ती व्यक्ति पनि करिब २ महिना बाँच्न सफल भए।

२५ नोभेम्बर २०२४ मा न्यूयोर्कमा ५३ वर्षीया तुवाना लुनीले सुँगुरको मिर्गौला लिएर प्रत्यारोपण गराएकी थिइन् । उनी अहिलेसम्म जीवित छिन् । सुँगुरको अंग लिएर लामो समय बाँच्ने रेकर्ड उनले बनाइसकेकी छिन्।

यी दृष्टान्तले के देखाउँछ भने, अबका दिनमा यस खालका प्रयोग बढ्नेछ । अमेरिका, चीनबाहेकका देशमा पनि बिस्तार हुनेछ ।

के सुँगुर अनुवांशिक रुपमा मान्छेबाट सबैभन्दा नजिकको प्राणी हो ?

जनावरका अंग मान्छेमा प्रयोग गर्नेबारे ३ दशकदेखि अध्ययन, अनुसन्धान भइरहेको  हुँदै आएका थिए । आखिर किन मान्छेलाई सुँगुरकै अंग मिल्यो ? अनुवांशिक रुपमा सुँगुर मान्छेको सबैभन्दा नजिकको प्राणी हो त ?

वैज्ञानिकहरूका अनुसार सुँगुर र मान्छेमा केही साझा शारीरिक विशेषताहरू छन् ।

६० किलो बराबरको सुँगुरको तौल मान्छेसँग मिल्दो छ। मान्छे जस्तै यो जनावर पनि सर्वभक्षी(शाकाहारी खाना र मासु दुवै खाने) हो।अंगका आकारहरू पनि समान खालका हुन्छन् ।  छाला, कपालको आवरण, शरीरमा बोसोको फैलावट र

कीटाणु, जीवाणुहरूलाई आकर्षित गर्ने गुणहरू पनि सुँगुर र मान्छेको समान खालको हुने अध्यताहरूले उल्लेख गरेका छन् ।

तर पनि अनुवांशिक आधारमा मान्छे र सुँगुरको सम्बन्ध नजिक छ भन्ने कुरा वैज्ञानिकहरू अस्वीकार गर्छन् ।

वैज्ञानिकहरूले विभिन्न स्तनधारी प्राणीहरूको डीएनए सिक्वेन्सको तुलना गर्दा सुँगुर भन्दा मान्छेको डीएनए मुसासँग नजिक भएको मानेका छन् ।

मान्छे र सुँगुरको साझा पूर्खा ८ करोड वर्ष पहिला भएको तर मुसा र मान्छेको साझा पूर्खा ७ करोड वर्ष पहिले भएको अनुमान वैज्ञानिकहरूको छ ।

स्तनधारी प्राणीमध्ये सुँगुरका अंगहरू नै मान्छेलाई बढी उपयुक्त ठहरिनुले मात्रै सुँगुर नै मान्छेबाट नजिकको प्रजाति नभएको वैज्ञानिकहरू बताउँछन् ।

यसबारे पशु अनुवांशिकी विज्ञ सिड्नी युनिभर्सिटीका पशु चिकित्सक क्रिस मोरनले स्पष्ट पारेका छन् ।

एक अन्तर्वार्तामा मोरनले भनेका छन्–चिम्पाञ्जी वा कुनै जनावरको जिन मान्छेकोसँग ९८ प्रतिशतसम्म मिल्छ भन्नु एक मिथ्या बुझाइ हो ।

हामी अनुवांशिक रुपमा कुनै प्राणीसँग कति नजिक छौँ, समानता कत्तिको छ भन्ने कुरा हामीले के का आधारमा तुलना गरिरहेका छौँ भन्नेमा निर्भर रहने मोरन बताउँछन् ।

सबै जीवित प्राणीको अनुवांशिक तथ्यहरूलाई डिअक्सिराइबोन्यूक्लिक एसिड(डीएनए) का रुपमा इन्कोड गरिएको हुन्छ ।  यो डीएनएलाई पनि जिनको इकाईका रुपमा विभाजित गरिएको हुन्छ ।

मोरनका अनुसार यी जिनमध्ये एक खालको प्रोटिन-इन्कोड गर्ने जिन हुन्छन् । यी सबैजसो स्तनधारी प्राणीमा समान खालका हुन्छन् । हाम्रो डीएनएमा रहने प्रोटिन–इन्कोडिङ गर्ने भागको तुलना गर्ने हो भने मान्छे र अन्य स्नतधारीबीच धेरै समानता पाइने मोरन बनाउँछन् ।

‘शारीरिक तथा रसायनिक कार्य गर्नका लागि स्तनधारीसँग धेरै समान जिनहरू हुन्छन्’ मोरन भन्छन्’ विस्तृतमा गएर हेरियो भने ती जिनमा भिन्नता हुन्छन् तर अझै तिनले समान खालका काम गरिरहेका हुन्छ्न्।’

स्तनधारी प्राणीबीच समान काम गर्ने करिब २० हजार जिन वैज्ञानिकहरूले पत्ता लगाएको मोरन बताउँछन् । २० हजार संख्या धेरैजस्तो लागेपनि हाम्रो प्रोटिन–इन्कोडिङ जिनहरू भनेको करिब २ प्रतिशत मात्रै हुन्छन् ।

बाँकी जिनहरू प्रोटिन इन्कोड नगर्ने खालका हुन्छन् । यस खालका जिन छोटो समयमै परिवर्तित हुन्छन् । यस कारण एक प्राणी र अर्को प्राणी बीचमा मात्रै नभएर मान्छे–मान्छेबीच पनि यसको भिन्नता छुट्याउन सकिन्छ ।

यसले गर्दा प्रजातिबीच यस्ता जिनोममा धेरै भिन्नता पाइन्छ । विकासवादी दृष्टिकोणका आधारमा भन्नुपर्दा प्रजातिहरू छुट्टिदै जाँदा यसका भिन्नताहरू बढ्दै जान्छन् ।

यसमा प्रजाति छुट्टिएको समय जति धेरै टाढा भयो जिनहरूबीचको भिन्नताको दर उति नै धेरै हुने प्राध्यापक मोरन बताउँछन्।

‘दुई प्राणीबीचको भिन्नता जति लामो समयदेखिको छ, भिन्नताको दर त्यति नै बढी हुन्छ’ मोरनले भनेका छन्, ‘मान्छेबाट नजिकको सम्बन्ध भएको चिम्पाञ्जीको तीव्र गतिमा परिवर्तिन हुने जिन सिक्वेन्सको तुलना गरेर हेर्‍यौँ भने केही समानता भेट्न सकिन्छ । यदि सुँगुर र मान्छे बीचमा यस्तो तुलना गर्दा समानता फेला पार्न मुस्किल पर्छ ।’

यसो हुँदा प्राणीका प्रजातिबीचका सबै डीएनए सिक्वेन्सको तुलना गर्नु धेरै अर्थपूर्ण नहुने उनी बताउँछन् ।

मान्छेमा प्रत्यारोपण गर्न जिन परिवर्तन

जनावरका अंग मान्छेमा प्रत्यारोपण गर्न सकिने सम्भावनाबारे वर्षौंदेखि अध्ययन हुँदै आएका थिए ।  लामो अध्ययनपछि वैज्ञानिकहरूले सुँगुर अंगको स्रोत हुनसक्ने कुरामा ध्यान केन्द्रित गरे।  फलस्वरुप अहिले छोटै समयका लागि सही तर सुँगुरका अंग मान्छेमा प्रत्यारोपण गर्दा यसले काम गर्ने प्रमाणित भइसकेको छ ।

हाम्रो शरीरका एन्टीबडीले बाहिरका कुरालाई स्वीकार गर्दैन । यसकारण मानवबाट मावनमा अंग प्रत्यारोपण गर्दा पनि इम्युनोसप्रेसेन्ट औषधिहरू प्रयोग गर्ने गरिन्छ ।  ‘जेनोट्रान्सप्लान्टेसन’ अर्थात पशुबाट मानवमा अंग प्रत्यारोण गर्दा यस खालका औषधिले मात्रै काम गर्दैन।

स्तनधारी प्राणीको डीएनएमा हुने ‘ग्यालेक्टोज-अल्फा १,३,ग्यालेक्टोट्रान्सफेरेज’ नामको एक जिनका कारण बाहिरका अंगलाई अस्वीकृत गर्ने पशु चिकित्सक मोरनको भनाइ छ ।

यो जिनलाई छाेटकरीमा ग्यालेक्टो-ट्रान्सफेरेज भनिन्छ । यो भनेको स्तनधारी जनावरहरूको ग्लाइकोप्रोटिन र ग्लाइकोलिपिडहरूमा पाइने चिनीको संरचना हो।  यस्तो अवस्थामा सुँगुरका अंग मान्छेमा प्रत्यारोपण गर्ने हो भने हाम्रो जिनले कडा रुपमा अस्वीकृत गर्ने मोरन बताउँछन्।

मान्छेमा अंग प्रत्यारोपणका लागि जापानका वैज्ञानिकले तयार पारेको अनुवांशिक रुपमा परिवर्तित सुँगुरहरू।

यो समस्याको समाधानका लागि वैज्ञानिकहरूले सुँगुरको जिन नै परिवर्तन गर्ने उपाय निकालेका हुन् । सुँगुरको अंग मान्छेमा प्रत्यारोपण गर्नका लागि ग्यालेक्टोज-ट्रान्सफेरेज जिन हटाएर तयार पारिन्छ ।

मान्छेमा अंग प्रत्यारोपणका लागि प्रजननको सुरुवात देखि नै सुँगुरमा जिन परिवर्तनका लागि प्रक्रिया सुरु गरिन्छ । जिन परिवर्तित सुँगुर वयस्क भएपछि अंग प्रत्यारोपणका लागि तयार हुन्छ ।

संक्रामक रोगको अध्ययनका लागि सुँगुर उपयुक्त

संक्रामक रोग तथा खोपका विषयमा प्रयोग तथा अनुसन्धान गर्न सुँगुर एक उपयुक्त जनावर भएको बारेमा विभिन्न देशका वैज्ञानिकको संयुक्त टोलीले एक अनुसन्धान गरेको थियो।

शरीरको आकार, अनुवांशिक हिसाबमा घरेलु साना सुँगुरहरू मान्छेमा हुने सुक्ष्म जीवको संक्रमणबारे अध्ययनका लागि उपयुक्त हुने निष्कर्ष अनुसन्धानले निकालेको थियो ।

यसमा संक्रामक रोगको अनुसन्धान, खोपको विकासका लागि समेत सुँगुर उपयुक्त हुने दावी गरिएको छ । मुसामा गरिने प्रयोग भन्दा सुँगुरमा गरिने प्रयोग नै बढी फलदायी हुने पनि बताइएको छ ।

स्वास्थ्यको क्षेत्रमा नयाँ ज्ञान र मान्छेको स्वास्थ्यमा योगदान गर्न सुँगुर एक मोडल जनावर रहेको अध्यताहरूको दावी छ ।

अनुसन्धानका लागि केही वर्षको प्रयोग आवश्यक हुन्छ । यसमा मोडलका रुपमा छनोट भएका जनावर अलि लामो समय बाँच्न पनि जरुरी हुन्छ ।

रोगहरू लाग्दा शरीरले देखाउने प्रतिक्रिया पनि सुँगुर र मान्छेमा समान हुने बताइएको छ । आनुवंशिकी हिसाबमा पोर्सिन जिनोमको आकार र संरचनामा मानिससँग मिल्दोजुल्दो हुने जनाइएको छ ।

छाला, श्वासप्रश्वास र पाचन प्रक्रिया, प्रतिरक्षा प्रणालीको समानताले गर्दा चिकित्सकीय परीक्षणका लागि आकारका हिसाबमा पनि मुसा भन्दा सुँगुर नै बढी उपयुक्त हुने यस अध्ययनको निष्कर्ष छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School