बाबाको बूढो एट्लस साइकल चलाएर रूपेश मामाघर गएकी आफ्नी दुई वर्षकी सानी बैनीलाई लिन गइरहेको थियो। साइकल ऊ भन्दा निकै ठूलो थियो। त्यसैले सिटमा बसेर साइकल चलाउने त ऊ कल्पना मात्र गर्न सक्थ्यो। यद्यपि कैंची हानेर भने ऊ मजाले साइकल हाँक्न सक्थ्यो। त्यसरी हाँक्दा ऊ पूरै पाउदानी घुमाउन सक्दैनथ्यो। एउटा हात ह्यान्डल र अर्कोले सिटमा समातेर बाँदरको बच्चा आफ्नी आमाको घाँटीमा झुन्डिए झैं गरी झुन्डिएर आधा पाउदानी मात्र हान्न सक्थ्यो। त्यसरी नै सही, उसले साइकल गुडाइरहेको थियो- खच्याक…खच्याक…खच्याक् !
कैंची हानेरै ऊ मामाघर नजिकै पुगेको थियो। उसको प्यारो दादा आएको परैबाट देखेपछि बुने खुरूर्र दौडिंदै दाइतिर आइरहेकी थिई। एक्कासी बुनेलाई आँखा अगाडि देखेर उत्साहित भएको उसले बाटोमा भएको ठूलो ढुङ्गा देखेन। हेर्दाहेर्दै साइकलको अगाडिको पाङ्ग्रा त्यही ढुङ्गामाथि चढ्न पुग्यो, र रूपेश साइकलबाट लड्यो। “ऐऽया नि बा….!”, ऊ जोडले करायो।
यसरी साइकलबाट लडेको रूपेश झस्किएर ब्युँझिएको थियो। उसले बल्ल थाहा पायो कि, ऊ त स्कुल बसमै भुसुक्क निदाएको रहेछ।
अरू बेला बच्चाहरू झार्न र उकाल्न सहयोग गर्ने सहयोगी रमेश डेंगु लागेर थला परेपछि आज भीम एक्लै बस लिएर हिंड्नु परेको थियो। चार बजे स्कूल सकिएपछि सबै विद्यार्थीलाई आ-आफ्नो घरमा लगेर छोड्नु उनको काम हुन्थ्यो। र, यसरी सबैलाई छोडेर स्कुलमा बस थन्काएपछि उनको त्यो दिनको काम सकिन्थ्यो।
यसरी झर्नेमा रूपेश अन्तिम विद्यार्थी थियो। खाजा खाने समयमा फुटबल खेलेकाले त्यो दिन रुपेश अलि बढी नै थकित थियो। बसभित्रको तातो र थकान, त्यसमाथि बसको झ्यालबाट छिरेको शीतल हावाको सुमसुम्याइले ऊ भुसुक्कै निदाएको थियो।
निद्राले छोपेको उसलाई चलिरहेको बसले कहिले दायाँ र बायाँ गरेर झ्याँक्थ्यो। यस्तै एउटा झ्याँकाइले ऊ सिटमा पल्टियो, र झन् मस्तसँग सुत्यो।
भीमले पछाडि हेर्ने ऐनामा हेर्दा सबै सिट खाली देखेपछि सबै झरिसकेको भन्ठानेर बस स्कुलतिर लगेका थिए। उनले सिटमा मजाले सुतिरहेको रूपेशलाई देखेनन्।
छुट्टी भैसकेकाले स्कुलको प्राङ्गण सुनसान भैसकेको थियो। सधैं झैं भीमले बस लगेर स्कुल प्राङ्गणको एउटा कुनामा लगेर पार्क गरे। आफू बसबाट उत्रिए, र ढोका बन्द गरेर आराम गर्न आफ्नो शयनकक्षतिर लागे।
रूपेश झल्याँस ब्युँझिंदा भीमले गाडी बन्द गरेर गएको करिब आधा घण्टा बितिसकेको थियो। सपनाले झस्काएर ब्युँझिएको ऊ आँखा मिच्दै उठ्यो, र निद्रामा उसको मुखबाट बगेको र्याल सर्टको बाहुलाले पुछ्यो। आँखाबाट रहलपहल निद्रा हटेर पूर्ण रूपमा ब्युँझिएपछि उसले झ्यालबाट बाहिर नियाल्यो।
“लाऽऽ, म त फेरि स्कुल नै पो आइपुगेछु कि क्या हो?”, उसले बसिरहेको ठाउँबाट जुरूक्क उठ्दै बर्बरायो।
एकैछिनमा आफूलाई सम्हालेपछि ऊ सबभन्दा पहिले ढोका खोल्न भनेर बसको ढोकातिर गयो। ढोका जोडले धकेल्यो। तर ढोका बन्द थियो- खुलेन। त्यसपछि ढोका जोडले हल्लायो। तर पनि ढोका खुलेन। अब भने ऊ आत्तियो। आत्तिएर बसभित्र यताउति गर्दै कराउन थाल्यो। एउटा झ्यालको सिसा खुल्लै थियो। त्यहींबाट आफ्नो थुतुनो बाहिर पारेर जोड-जोडले चिच्यायो। तर उसको आवाज हावाको बाहेक अरू कसैको कानसम्म पुगेन। लगभग बीस मिनेट जति कराएपछि ऊ लखतरान परेर एउटा सिटमा थचक्क बस्यो, र आशा र आँशु भरिएका आँखाले झ्याल बाहिर हेर्न थाल्यो।
सानो बालक न थियो ऊ, त्यसैले सम्झिनलाई उसका प्रिय चिजहरू धेरै थिए। उसले एक-एक गरेर सबैलाई सम्झ्यो। बैनीलाई त बिर्सेको भए पो सम्झिनुपर्थ्यो। त्यही बैनीको नियास्रो लागेकाले त बैनी लिन गएको सपना देखेको थियो। बैनी पछि उसले आफ्ना बा-आमालाई पालैपालो सम्झ्यो। क्रमैसँग उसले अरूलाई पनि सम्झिन थाल्यो। स्कुलबाट घर आएको देख्नासाथै पुच्छर हल्लाएर दौडिंदै गेटसम्मै आइपुग्ने आफ्नो प्रिय कुकुर, शेरूलाई सम्झ्यो। खाजा खाँदै हेर्ने कार्टुन सम्झियो र घुटुक्क थुक निलेर अज्ञानवश मुस्कुरायो। गृहकार्य गरिरहँदा सब्जी र फलफूल बेच्न आउने दाइले झ्याल बाहिरबाट फलाकेको “टमाटर आयो, प्याज आयो!” पनि उसले कुनै प्रिय संगीत झैं गरेर सम्झियो। हुर्केकालाई वाहियात् लाग्ने कुराहरू पनि उसले केही बाँकी नराखी सम्झियो। उत्तिकै महत्वका साथ सम्झियो।
यत्तिकैमा स्कुलका प्राचार्यको कुकुर, ज्याकी बसनेर आइपुग्यो। नजिकैबाट आइरहेको कुकुरको स्याँ..स्याँले रूपेशको ध्यान भंग भयो। ऊ कुकुरलाई त्यहाँ देखेर अपरिमित खुसी भयो। तर ज्याकी रुपेशलाई बसभित्र बसेको देखेर जोडजोडले भुक्न थाल्यो; उफ्री–उफ्री झम्टिएला झैं गरी भुक्न थाल्यो। ज्याकीलाई रूपेशले खाजा खाने बेलामा लुकीलुकी बिस्कुट दिएर आफ्नो साथी बनाएको थियो। तर ऊ तनावमा भएका बेला उसले ऊप्रति देखाएको व्यवहारले ऊ हच्कियो। केहीबेर अघि ज्याकीलाई देखेर केही हर्षित भएको ऊ, आफूलाई हेरेर एकोहोरो भुक्न थालेपछि ऊ झन् डरायो। ऊ झ्यालबाट केही पछाडि हट्यो, र आँशु भरिएका आँखाले एकोहोरो ज्याकीको आँखामा हेर्यो। एकैछिन भुकेर थाकेपछि ज्याकीले रूपेशको आँखाको आँशु देख्यो। त्यसपछि भने ऊ भुक्न छोडेर त्यहाँबाट भाग्यो।
स्कुलका प्राचार्य, रत्नमान स्कुलसँगै जोडिएको आफ्नो घरको आँगनमा बसेर चिया पिउँदै थिए। ज्याकी दौडिएर उनी भएनेर गयो, र अनियन्त्रित पारामा उफ्रिंदै कुइँ…कुइँ गरेर कराउन थाल्यो।
रत्नमानले उसको त्यस किसिमको हाउभाउ नौलो हुँदाहुँदै पनि त्यति वास्ता गरेनन्। केही समय कराउँदा पनि उनले चासो नदेखाएपछि ज्याकीले उनले लगाएको सुरूवालको फेद समातेर तान्न थाल्यो।
“के गर्छ यो?”, रत्नमान ज्याकीको त्यो व्यवहारदेखि खुसी भएनन्। उनले आफ्नो सुरूवाल ज्याकीको मुखबाट फुत्काउने असफल प्रयास गरे।
ज्याकीले झन् झन् बल लगाउँदै गयो। यसरी उसले बल लगाएर तान्न थालेपछि भने रत्नमानको मनमा चिसो पस्यो। ज्याकीले आफूलाई केही देखाउन खोजेको उनले लख काटे।
“ल..ल हिंड्, काँ लान लाको होस्!”, रत्नमानले भनेको सुन्नासाथै उसले टोकिरहेको सुरुवालको फेद छोड्यो, र बेतोडले बस भएतिर दौडियो।
घरदेखि स्कुलको प्राङ्गण लगभग ५० मिटरको दूरीमा थियो। ज्याकी रुपेश भएको बसको झ्यालनेर गएर उफ्रिंदै भुक्न थाल्यो। उसलाई पछ्याइरहेका रत्नमानले बसमा थुनिएको रूपेशलाई परैबाट देखे। उनी खङ्ग्रङ्ग भए।
“ओहो..नआत्तिऊ है, रूपेश! म छु! तिमीलाई केही हुँदैन! तर तिमी कसरी बसभित्र बन्द भयौ?”, उनले हडबडाहटको बीचमा आफ्नो मोबाइलबाट बस चालक भीमलाई फोन लगाउँदै रूपेशलाई सोधे।
भीम नआइपुग्दासम्म रत्नमानले रूपेशलाई शान्त राख्ने हरसम्भव प्रयास गरे। आत्तिन त उनी पनि आत्तिएका थिए, तर त्यो भय उनले आफ्नो अनुहारमा प्रतीत हुन दिएका थिएनन्। यसै बीचमा रूपेशले आफू बसभित्र थुनिनुको कारण पनि रत्नमानलाई बताइसकेको थियो।
भीम स्कुलसँगै जोडिएको रत्नमानको घरमा एउटा कोठामा बस्थे। उनी पनि हस्याङफस्याङ गर्दै बसको चाबी लिएर त्यहाँ आइपुगे।
ढोका खोलेर रूपेश बसबाट थुनामुक्त भएपछि ज्याकीले उसलाई चाटेर खुसी व्यक्त गर्यो। रूपेशले पनि मायालु अंकमालले उसलाई धन्यवाद व्यक्त गर्यो। ज्याकीलाई सरहरूको आँखा छलेर लुकीलुकी बिस्कुट दिएको काम लागेको थियो। ज्याकीले पनि रूपेशको गुन राम्रैसँग तिरेको थियो।
उता रुपेशका बा-आमा छोरो सधैं घर आइपुग्ने समयमा घर नआइपुग्दा सुर्ता गर्न थालिसकेका थिए। छोरो अबेरसम्म घर नआएपछि स्कुलमा बारम्बार फोन गरेर उनीहरूले कारण जान्न खोजेका पनि थिए। तर धेरै पटक प्रयास गर्दा पनि स्कुलको फोन नउठेपछि उनीहरू डराएर स्कुलमै आइपुगेका थिए। रूपेशकी आमा पनि बैनी लिएर आजै मामाघरबाट घर आएकी थिइन्।
स्कुल गेटबाट छिर्दै गरेका आफ्ना बाआमा र प्यारी बुनेलाई एकैसाथ देखेपछि रूपेश बेतोडले दौडियो, र गम्लङ्ग अँगालो मारेर भक्कानियो। त्यो देखेर उसका बा-आमा रनभुलमा परे। दाइ रोएको देखेर बुने पनि रून थाली। त्यो देखेर रत्नमान र भीम पनि मनभरी भए। रूपेशसँगै दौडिएर गेटमा पुगेको ज्याकी पुच्छर हल्लाएर यो सब हेरिरहेको थियो।