प्रकाशित मिति : माघ १२, २०८१ शनिबार
कङ्गोमा विद्रोही समूहसँगको झडपमा १३ जना शान्ति सैनिकको मृत्यु भएको छ । प्रजातान्त्रिक गणराज्य कङ्गोमा शान्ति स्थापना गर्न खटिएका १३ सैनिक विद्रोही समूहसँगको झडपमा मृत्यु भएको हो ।
दक्षिण अफ्रिकी सेनाका अनुसार पूर्वी कङ्गोको गोमा सहरमा विद्रोहीको आक्रमण रोक्न खटिएका १३ जना शान्ति सैनिक मारिएको हुन ।
ति मध्ये ९ जना दक्षिण अफ्रिकी , तीन जना मलावी र एक जना उरुग्वेका सैनिकको मृत्यु भएको हो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कङ्गो र रवाण्डाका नेताहरूसँग कुरा गर्दै हिंसा रोक्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघले गोमा सहरमा रहेको आवश्यक नभएका कर्मचारीलाई हटाउन थालेको छ । करिब १० लाख जनसंख्या भएको गोमामा लडाइँ तीव्र बनेको छ ।
बढ्दो तनावका कारण सोमबारको लागि तय भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आइतबारका लागि सारिएको छ । विद्रोही समूहले गोमामा कङ्गोका सैनिकलाई आत्मसमर्पण गर्न आग्रह गर्दै रगत बग्न नदिन चेतावनी दिएको छ ।
कङ्गोले रुवाण्डासँगको कूटनीतिक सम्बन्ध तोड्दै विद्रोहको लागि रुवाण्डालाई जिम्मेवार ठहराएको छ । यसअघि विद्रोही लडाकूहरूले बिहीबार अग्रमोर्चाको भ्रमणमा रहेका कङ्गोका एक सैन्य गभर्नरको हत्या गरेका थिए ।
जनवरीको सुरुमा उनीहरूले मिनोभा र मसिसीजस्ता महत्त्वपूर्ण पूर्वी कङ्गोका सहरहरू कब्जा गरेका थिए।
यस वर्षको सुरुदेखि विद्रोही लडाकु समुह M23 र कङ्गोको सेनाबीचको लडाइँ तीव्र बनेको छ । जसका कारण विद्रोहीहरूले धेरै भूभाग कब्जा गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार यो द्वन्द्वका कारण ४ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।
स्थानीय नेताहरूले विद्रोहीद्वारा कब्जा गरिएका क्षेत्रमा २०० भन्दा बढी सर्वसाधारण मारिएको र गोमाका अस्पतालहरूमा सयौँ घाइते उपचाररत रहेको बताएका छन् ।
केही दिनयता बेलायत, फ्रान्स, जर्मनी र अमेरिका लगायतका देशहरूले आफ्ना नागरिकलाई गोमा छोड्न सल्लाह दिएका छन् ।
लडाकु समूह सन् २०१२ मा अर्को विद्रोही समूहबाट छुट्टिएर बनेको थियो । यस समूहले पूर्वी कङ्गोमा तुत्सी जनसंख्याको संरक्षण गर्ने उद्देश्य राखेको बताउँदै आएको छ ।
तर, आलोचकहरूले यस समूहलाई रुवाण्डाले पूर्वी कङ्गोका खनिजहरू लुट्न प्रयोग गरेको आरोप लगाएका छन् ।