प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार

फोटो: आदम खान/ अनस्प्लास
हलिउड फिल्म ‘क्याच मी इफ यु क्यान’ को रोमान्चक कथा जस्तै लाग्ने एउटा घटना क्यानडामा सार्वजनिक भएको छ, जहाँ एयर क्यानडाका एक पूर्व वरिष्ठ पाइलटले झन्डै १७ वर्षसम्म नक्कली लाइसेन्सको भरमा हजारौँ यात्रु बोकेर विमान उडाएको खुलासा भएको छ ।
क्यानडाको पिल रिजनल प्रहरीका अनुसार पूर्व क्याप्टेन जेफ्री वाललाई गत जुन १ मा पक्राउ गरिएको हो । उनले उचित लाइसेन्स र अनिवार्य परीक्षा नै पास नगरी सन् २००९ देखि २०२५ सम्म ९ सयभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भरेका थिए । यस अवधिमा उनले एयरलाइन्सबाट करिब ३० लाख क्यानेडियन डलर तलब समेत बुझेको प्रहरीले जनाएको छ ।
प्रहरी उपप्रमुख मिलिनोविचले पत्रकार सम्मेलनमा यस अनुसन्धानको विवरण कुनै चलचित्रको स्क्रिप्ट जस्तो भएको बताएका छन् । यो घटना सामान्य पारिवारिक डाक्टरको रूपमा प्राक्टिस गर्न योग्य व्यक्तिले क्लिनिकमा बसेर कानुन विपरीत ‘ब्रेन सर्जरी’ गरिरहेको जस्तो भएको उनले बताएका छन्।
वास्तवमा जेफ्रीसँग कमर्सियल विमान उडाउने सामान्य लाइसेन्स त थियो र उनीसँग २७ वर्षको उडान अनुभव पनि थियो, तर सन् २००९ मा क्याप्टेन पदमा बढुवा हुनका लागि अनिवार्य चाहिने ‘एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स’ भने उनीसँग थिएन । उनले नक्कली कागजात पेस गरेर आफ्नै रोजगारदाता कम्पनी र नियामक निकाय दुवैलाई लामो समयसम्म अन्धकारमा राखेका थिए ।
यो बर्सौँ पुरानो ठगी धन्दाको पोल सन् २०२५ मा भएको एउटा नियमित प्रमाणपत्र जाँचका क्रममा खुलेको हो, जहाँ जेफ्रीको लाइसेन्स सम्बन्धी कागजातमा केही शङ्कास्पद त्रुटिहरू फेला परेका थिए । एयर क्यानडाले यसबारे नियामक निकायलाई तुरुन्तै खबर गरे पनि अनुसन्धान सुरु हुनुअघि नै जेफ्रीले चलाखीपूर्वक अवकाश लिइसकेका थिए ।
त्यसपछि सन् २०२६ को जनवरीदेखि प्रहरीले ‘प्रोजेक्ट इकारस’ नाम दिएर यसको वृहत् आपराधिक अनुसन्धान सुरु गरेको थियो । हालसम्म यस विषयमा आरोपी जेफ्री वालका तर्फबाट वकालत गर्ने कुनै पनि कानुनी प्रतिनिधि वा वकिलका तर्फबाट आधिकारिक भनाइ भने बाहिर आइसकेको छैन ।
यता एयर क्यानडाले सोमबार एक विज्ञप्ति जारी गर्दै यस घटनाबाट यात्रुहरूको सुरक्षामा कुनै सम्झौता वा खतरा पैदा नभएको भन्दै बचाउ गरेको छ । कम्पनीका अनुसार जेफ्री प्रमाणित व्यावसायिक पाइलट भएकाले ठूला विमान सुरक्षित रूपमा उडाउन उनी सक्षम थिए ।
साथै एयर क्यानडाका सबै पाइलटहरूले हरेक ६ महिनामा अनिवार्य रूपमा पुनर्तालिम लिनुपर्ने र हरेक १२ महिनामा सरकारी जाँचकीसँग फ्लाइट टेस्ट पास गर्नुपर्ने कडा नियम रहेका कारण उडान सुरक्षित रहेको दाबी गरिएको छ । यद्यपि, उड्डयन क्षेत्रमा आधिकारिक लाइसेन्स हुनु सुरक्षाको पहिलो सर्त भएकाले यस विषयलाई कम्पनीले निकै गम्भीरताका साथ लिएको बताएको छ ।
यस गम्भीर लापरबाही र ठगीका लागि क्यानडाको यातायात मन्त्रालयले ती पाइलटलाई भारी जरिवाना गरिसकेको छ । साथै प्रहरीले उनीविरुद्ध ५ हजार डलरभन्दा बढीको ठगी, नक्कली कागजात पेस गरेको र किर्ते छाप प्रयोग गरेको सहित ७ वटा विभिन्न आपराधिक मुद्दाहरू दायर गरेको छ । पक्राउ परेका पूर्व क्याप्टेन जेफ्री वाललाई आगामी जुन २९, २०२६ मा कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ ।
