कतारद्वारा उपहार प्राप्त विमान ‘एयर फोर्स वान’ का रूपमा सञ्चालनमा, राष्ट्रपति ट्रम्पद्वारा पहिलो उडान



प्रकाशित मिति : १७ असार २०८३, बुधबार

कतारद्वारा उपहार प्राप्त विमान ‘एयर फोर्स वान’ का रूपमा सञ्चालनमा, राष्ट्रपति ट्रम्पद्वारा पहिलो उडान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बुधबार, जुलाई १, २०२६ मा जोइन्ट बेस एन्ड्र्युज, मेरील्याण्डमा एयर फोर्स वन चढ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै। तस्बिर: एपी/जुलिया डेमारी निकिन्सन/रासस

राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई १ मा आफ्नो नयाँ ‘एयर फोर्स वान’ विमानबाट पहिलो आधिकारिक उडान सुरु गरेका छन्। निकै विवादास्पद मानिएको र कतारले उपहार स्वरूप दिएको यस विमानबाट ट्रम्पले आफ्ना मनपर्ने पूर्व राष्ट्रपति थिओडोर रुजवेल्टको सम्मानमा पहिलो यात्रा गरेका हुन्।

“साँचो भन्नुपर्दा, म यो पहिलो उडानलाई लिएर निकै उत्साहित छु। यस्तो विमान कसैले देखेको छैन,” विमान चढ्नुअघि ट्रम्पले पत्रकारहरूसँग भने। ट्रम्प उत्तर डकोटाको मेडोरामा नवनिर्मित ‘थिओडोर रुजवेल्ट प्रेसिडेन्शियल लाइब्रेरी’को भ्रमण र त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्न प्रस्थान गरेका हुन्।

यस ऐतिहासिक पहिलो उडानमा राष्ट्रपति ट्रम्पका साथमा उनका छोराहरू एरिक ट्रम्प र डोनाल्ड ट्रम्प जुनियर, डोनाल्ड ट्रम्प जुनियरकी नवविवाहित पत्नी बेटिना ट्रम्प तथा ह्वाइट हाउसका उच्च अधिकारीहरू सहभागी थिए।

कतारले अमेरिकालाई हस्तान्तरण गरेको यो विमान विदेशी राष्ट्रबाट प्राप्त भएको ४० करोड डलर बराबरको अभूतपूर्व उपहार हो। पछि यसलाई ‘एयर फोर्स वान’ को सुरक्षा र प्राविधिक मापदण्ड अनुरूप ढाल्न व्यापक परिमार्जन गरिएको थियो।

तर, यो उपहारले अमेरिकामा द्विपक्षीय नैतिक र सुरक्षा चिन्ताहरू उब्जाएको छ। डेमोक्र्याटहरूले कांग्रेसको स्वीकृति बिना विदेशी राष्ट्रबाट व्यक्तिगत उपहार स्वीकार गरेर ट्रम्पले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन्।

कतारद्वारा उपहार प्राप्त विमान ‘एयर फोर्स वान’ का रूपमा सञ्चालनमा, राष्ट्रपति ट्रम्पद्वारा पहिलो उडान

विमानलाई अत्याधुनिक बनाउन संघीय सरकारले कति खर्च गर्‍यो भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले स्पष्ट रकम खुलाउन चाहेनन्। उनले भने, यदि हामीले यसलाई अर्को तरिकाबाट बनाएको भए लाग्ने खर्चको तुलनामा यो निकै कम हो। हामीलाई राम्रो व्यवहार गर्ने देशले दिएको उपहार हो यो।

कतारको शाही परिवारबाट मे २०२५ मा प्राप्त भएको यो बोइङ ७४७-बी  विमानलाई ‘आकाशको महल’ उपनाम दिइएको छ। यसले सन् १९९० देखि ६ जना अमेरिकी राष्ट्रपतिहरूलाई सेवा दिइसकेको पुरानो बोइङ ७४७-२०० विमानलाई विस्थापित गरेको हो। ट्रम्प जुलाई ४ को राष्ट्रिय बिदा अगावै यो विमान सञ्चालनमा आओस् भन्ने चाहन्थे।

नयाँ विमानलाई चम्किलो रातो, सेतो र निलो रङले सजाइएको छ, जुन पूर्व प्रथम महिला ज्याकलिन केनेडीले डिजाइन गरेको पुरानो विमानको दुई-रङ्गी निलोभन्दा फरक छ। विमानको दायाँ-बायाँ राष्ट्रपतीय छाप  र युनाइटेड स्टेट अफ अमेरिका लेखिएको छ।

यो वास्तवमै अद्भुत छ, ट्रम्पले भने। यो यस्तो विमान हो जुन संयुक्त राज्य अमेरिकासँग हुनैपर्थ्यो। हाम्रो पुरानो एयर फोर्स वान ३५-३६ वर्ष पुरानो भइसकेको थियो। नयाँ विमानहरूको छेउमा पार्क गर्दा त्यो हाम्रो देश सुहाउँदो देखिँदैनथ्यो। त्यसैले हामी यसमा धेरै गर्व गर्छौं।

यद्यपि, यो विमानले सन् २०२८ भन्दा पछिसम्म ‘एयर फोर्स वान’ को रूपमा सेवा दिने छैन। बोइङ कम्पनीले हाल दुईवटा नयाँ राष्ट्रपतीय ७४७ विमानहरू निर्माण गरिरहेको छ, जुन ट्रम्पको कार्यकालको अन्तिम वर्ष अर्थात् सन् २०२८ मा तयार हुनेछन्। त्यतिन्जेलका लागि यो विमानले संक्रमणकालीन विमानको रूपमा काम गर्नेछ। अमेरिकी वायुसेनाले यसलाई ‘भिसी-२५बी ब्रिज’ नाम दिएको छ। पछि यस विमानलाई ट्रम्पको भावी राष्ट्रपतीय पुस्तकालयमा राखिनेछ।

यो नयाँ विमान पुरानो एयर फोर्स वानभन्दा १८ फिट ४ इन्च लामो छ। यसले बढी तौल बोक्न सक्छ भने यो अलि बढी गतिमा र धेरै टाढासम्म उड्न सक्छ। साथै, यो पुरानो विमानभन्दा २२ वर्ष नयाँ छ। यद्यपि, दुवै विमानको उचाइ र यात्रु क्षमता भने लगभग उस्तै छ।

यो कतारी विमान आफ्नो भित्री विलासिताका कारण बढी चर्चित छ। यसको भित्री भागमा प्रसिद्ध फ्रान्सेली इन्टेरियर डिजाइन फर्म ‘क्याबिनेट अल्बर्टो पिन्टो’ ले डिजाइन गरेका आकर्षक गलैँचाहरू, कलाकृतिहरू र महँगा लेदरका फर्निचरहरू राखिएका छन्।

मैले बोइङ कम्पनीमा गएर सोधेको थिएँ- सबैभन्दा उत्कृष्ट विमान कोसँग छ? ट्रम्पले सम्झिए, उनीहरूले भने- ‘कतारसँग। त्यस्तो विमान संसारमा कतै छैन।’ साँचो भन्नुपर्दा, हामी आफैंले यस्तो विमान बनाउन सक्ने थिएनौं, किनकि यसका लागि आवश्यक पर्ने ठूलो रकम खर्च गर्न हामी तयार हुने थिएनौं।





Source link

Leave a Comment