इराक लगेर बेचिन्छन् नेपाली महिला, पाउँदैनन् घर फर्किन


३ साउन, काठमाडौं । ‘हामीलाई इराक ल्याएर बिचल्ली बनाएर एजेन्ट फरार छ । यो खबर मिडिया र नेपाल सरकारसामु पुर्‍याइदिनु’, एक महिनाअघि ‘कल्पना’ नामकी महिलाले फेसबुकमा पोस्ट गरिन् ।

अनलाइनखबरले ती महिलाबारे खोजी गर्दै जाँदा थाहा भयो, एजेन्टले राम्रो कामको प्रलोभन देखाएर उनी सहित तीन जना नेपाली महिलालाई अवैध बाटोबाट इराक पुर्‍याएको रहेछ । २०८० फागुनमा उनीहरुलाई भिजिट भिसामा नेपालबाट युएई हुँदै इराक पुर्‍याइएको रहेछ ।

उनले आफू इराकसम्म पुग्दाको सबै वृत्तान्त हामीलाई सुनाइन् ।

उनका अनुसार इराक पुगेलगत्तै उनलाई एक जना इराकीको घरमा घरेलु कामदारका रूपमा पठाइयो । एजेन्टले घरधनीसँग पाँच हजार डलर लियो, अर्थात् उनी बिक्री भइन् । त्यहाँ उनले दैनिक १८ घण्टासम्म घरायसी काम गरिन् ।

‘भाषा नबुझेर काम बिग्रिन्थ्यो, त्यो बेला ममाथि निर्घात कुटपिट हुन्थ्यो’ उनी भन्छिन्, ‘खान पनि नदिएर भोकै पार्थे ।’ दिनहुँको शारीरिक र मानसिक यातनाले केही समयपछि उनी थला नै परिन् ।

त्यहाँबाट भागेर उनी अहिले एक नेपालीको घरमा बसिरहेकी छन् । ‘उनीहरु साह्रै निर्दयी हुन्छन्, जसोतसो म त्यो नर्कबाट उम्किन सकें’ उनी भन्छन्, ‘नत्र म बाँच्दिनथें होला ।’ उनी आफूलाई उद्धार गरेर नेपाल फर्काउन हारगुहार गरिरहेकी छन् ।

*****

भिजिट भिसामा युएईको दुबई जानुअघि गोरखाकी प्रतिभा विश्वकर्मालाई एजेन्टहरुले भनेका थिए, चीनसँग सीमा जोडिएको मुलुक किर्गिस्तान लैजाने हो ।

तर उनी त्यतिबेला छाँगाबाट खसेजस्तै भइन्, जब दुबईबाट उनलाई किर्गिस्तान नभई इराकको कुर्दिस्तान पुर्‍याइयो ।

वैशाख २०८१ मा इराक पुर्‍याएर घरेलु कामदारका रुपमा काम लगाइएकी उनी त्यहाँको कार्यबोझ, शारीरिक र मानसिक यातनाका कारण विक्षिप्त छिन् । अहिले उनी श्रीमानलाई आफ्नो उद्धार गरिदिन भन्दै फोनमा रुने गर्छिन् । ‘मान्छे देख्दा डराउने, झस्किने, अत्तालिने गर्छिन्’ श्रीमान् वासु भन्छन्, ‘यहाँबाट जाँदा ठीकै थियो, उता पुगेपछि यस्तो भयो ।’

सरकारले सुरक्षाको संवेदनशीलतालाई हेरेर इराकमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । इराकका लागि सरकारले श्रम स्वीकृति नै नदिने भएकाले कामका लागि इराक जानु गैरकानुनी हो । २०६१ सालमा इराकमा १२ नेपालीको हत्या गरिएपछि सरकारले रोजगारीका लागि इराक जान प्रतिबन्ध लगाएको थियो ।

सरकारले इराक जान प्रतिबन्ध लगाए पनि नेपालीहरुलाई गैरकानुनी रुपमा इराक पठाउन मानव तस्कर सक्रिय छन् । उनीहरुले राम्रो कमाइ हुने लोभ देखाएर दुबईसम्म पर्यटक भिसामा लैजाने र त्यहाँबाट इराक पुर्‍याउँछन् ।

इराकमा २५ हजार नेपाली, धेरै महिला 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले–पहिले भारतको बाटो भएर नेपाली महिलाहरु इराक पुर्‍याइन्थे । हिजोआज भने नेपालको अध्यागमनमा सेटिङ मिलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दुबुई र त्यहाँबाट इराक लगिन्छन् । मानव तस्करीको यो जालो नेपालदेखि दुबई हुँदै इराकसम्म फैलिएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्र बताउँँछन् ।

‘आज पनि तस्करीले नेपालकै बाटो प्रयोग गरिरहेका छन्’ उनी भन्छन्, ‘भिजिट भिसामा महिलाहरुलाई इराक जस्ता राष्ट्रमा तस्करी गरिन्छ भन्ने विषय सम्बन्धित निकायलाई थाहा नभएको विषय होइन ।’

उनका अनुसार नेपालका स्थानीय एजेन्टहरु आर्थिक अवस्था कमजोर भएका र समस्यामा परेका महिलाहरुलाई राम्रो कमाइ हुने प्रलोभन देखाउँछन् । आर्थिक अवस्था सुदृढ हुने आशामा नेपाली महिलाहरु मानव तस्करको प्रलोभनमा पर्छन् र जान राजी हुन्छन् ।

‘नेपालदेखि नै फैलिएको तस्करहरुको सञ्जाल मार्फत भिजिट भिसामा दुबई हुँदै इराक पुर्‍याएर महिलाहरुलाई घरेलु कामदारका बेचबिखन गरिन्छ’, एसपी गौतमले भने ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अनुसार इराकको कुर्दिस्तानमा मात्र करिब २५ हजार नेपाली छन्, तीमध्ये ६० प्रतिशत अर्थात् करिब १५ हजार जना महिला छन् । उनीहरु धेरैजसो गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका हुन् ।

सुरक्षित छैनन् महिला कामदार

विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने संस्था वैदेशिक रोजगार उद्धार नेपालका अनुसार इराक पुर्‍याइएका नेपाली महिलाहरु घरेलु काममा लगाइन्छन् । कामदार आपूर्ति गर्ने कम्पनीहरुले नेपाली महिलालाई इराकी नागरिकका घरमा बिक्री गर्ने गरेको संस्थाका अध्यक्ष इन्द्रलाल गोलेले बताए ।

‘शरीर, अनुहार हेरेर महिलाहरुको मोलमोलाइ गरिन्छ’ उनले भने, ‘५ देखि ८ हजार डलरसम्म उनीहरुलाई इराकीका घरमा कामदारका रूपमा बेचिन्छ ।’

त्यसरी घरेलु कामदारका रुपमा बेचिएका महिलाहरु भने सुरक्षित नभएको उनी बताउँछन् । ‘घरेलु कामदारमा बेचिएका महिलाहरु श्रम शोषण र हिंसामा परिरहेका हुन्छन्’ उनी भन्छन्, ‘कति चाहिं यौन शोषणमा परेका घटना पनि आउँछन् ।’

घरेलु काम गर्नेहरुले कम्तीमा १५/१६ घण्टा काम गर्नुपर्छ । समस्यामा परेका महिलाहरुको उद्धारका लागि दिनहुँजसो फोन आउने गरेको अध्यक्ष गोलेले बताए ।

नेपाली महिलालाई बन्धक बनाएर राखिएको कम्पनी ।

इराक मात्र हैन, खाडी राष्ट्रहरुमा घरेलु कामदारमा महिलाहरु असुरक्षित हुने भन्दै सरकारले महिलालाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएको छ ।

गैरआवासीय नेपाली संघ, इराकका उपाध्यक्ष निमा शेर्पा इराकमा रहेका पुरुष कामदार भने महिलाहरु जस्तो असुरक्षित नरहेको बताउँछन् । पुरुषहरु भने होटल, रेष्टुरेन्ट, क्याफेहरुमा कुक, हेल्पर, वेटरका रुपमा कार्यरत छन् । द्वन्द्वग्रस्त मुलुक भए पनि नेपालीहरु धेरैजसो कुर्दिस्तान शहरमा रहेकाले सुरक्षित रहेको शेर्पा बताउँछन् ।

‘अहिले नेपालीहरु बसिरहेको क्षेत्र कुर्दिस्तान हो’ उनले भने, ‘यो युद्ध हुने क्षेत्रदेखि ४०० किलोमिटर पर छ । यो एकदमै सुरक्षित स्थान हो ।’

महिनौं बन्धक 

इराक पुर्‍याइएकी रीता मगर ५ महिनादेखि बन्धक छिन् । बिरामी अवस्थामा रहेकी उनलाई एजेन्टले नेपाल फर्किन दिएको छैन । ‘बन्द कोठामा थुनेर राखेको धेरै भयो’ उनी भन्छिन्, ‘यहाँबाट निस्कन दिंदैनन् । उल्टै कुट्छन् पिट्छन् ।’   एजेन्टले उनी निको भएपछि पुनः इराकी नागरिकको घरमा बेच्न चाहेको छ ।

मकवानपुरकी शान्ति माया गोलेसहित पाँच जना महिला पनि ५ महिनादेखि इराकमा बन्धक छन् । २०८० माघमा दुबई हुँदै इराक पुगेका उनीहरु कुर्दिस्तानको नाज भन्ने ठाउँमा बन्धक बनाइएका छन् । ६ लाख रुपैयाँ बुझाए मात्रै घर फकाईदिने भनेर पासपोर्ट, सबै कागजात एजेन्टले खोजेको उनीहरुले बताएका छन् ।

‘इराक पुगेका सबै महिलालाई घरेलु कामदारका रुपमा इराकीले लिदैनन्’, शेर्पा भन्छन्, ‘कति चाहिं काम गर्न नसकेको भनेर घरधनीले फिर्ता गरिदिन्छन् । यस्तो बेलामा तस्करहरु उनीहरुलाई कामदारका रुपमा नबेचेसम्म बन्धक बनाएर राख्छन् ।’

नेपाली नियोग छैन, उद्धारमै सकस

इराकमा समस्यामा परेका नेपालीलाई उद्धार गर्न सजिलो छैन । इराकमा नेपाल सरकारको कुनै कूटनीतिक नियोग र प्रतिनिधि नभएकाले उद्धार गरेर स्वदेश फर्काउन मुश्किल रहेको गैर आवासीय नेपाली संघ, इराकका उपाध्यक्ष निमा शेर्पा बताउँछन् ।

‘इराक छिर्न सजिलो छ तर एकपटक छिरेपछि फर्कन मुश्किल हुन्छ’, उनी भन्छन्, ‘यहाँ आएका थुप्रै नेपाली वर्षाैं घर फर्कन नसकेर बसिरहेका छन् ।’

नेपाल फर्किन कानुनी झञ्झट र थुप्रै पैसा खर्च हुने उनले बताए । ‘कुनै नेपाली समस्यामा परिहाले पनि तत्काल फर्काउन सक्ने स्थिति हुँदैन’, शेर्पा भन्छन् ।

इराक पुगेका महिलाले समस्यामा परेपछि उद्धार गरेर स्वदेश फर्काउन आग्रह गरिरहेका हुन्छन् । तर उनीहरुसँगै राहदानी हुँदैन, एजेन्ट वा घरधनीले राखिदिएका हुन्छन् । ‘साथमा राहदानी नहुँदा उद्धार गर्न कठिनाइ हुन्छ’, शेर्पा भन्छन् ।

इराक मामिला कुवेतस्थित नेपाली दूतावासले हेर्ने गरेको छ । तर कुवेतको दूतावास प्रभावकारी नभएको उपाध्यक्ष शेर्पा सनाउँछन् । ‘कुवेतमै थुप्रै नेपालीहरु अलपत्र परेका छन्, दूतावासले त्यहाँ नै हेर्न सकेको छैन’ उनले भने, ‘यस्तो अवस्थामा इराकमा फसेका नेपालीहरुलाई कसरी हेर्न सक्छ ?’

परराष्ट्र मन्त्रालयलाई इराकमा एक जना प्रतिनिधि राखिदिन पटक पटक आग्रह गरेको सुनाउँछन् । ‘एक जनामात्रै सरकारी प्रतिनिधि हुने हो भने अहिले जस्तो नेपालीले समस्यमा भोग्नुपर्ने थिएन’, शेर्पाले भने ।

गत १४ असारको प्रतिनिधि सभा बैठकमा सांसद रमा कोइराला पौडेलले नेपाली महिलाहरुलाई इराकमा भइरहेको मानव बेचबिखनबारे ध्यानाकर्षण गराएकी थिइन् । ‘कति दिनसम्म महिलाहरुलाई अवैधानिक बाटोबाट इराक पठाएर बेचबिखन गर्ने हो ?’ उनले प्रश्न गरेकी छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School