अमेरिकी महिलाद्वारा २,४०० माइलको महासागरीय यात्रा ४४ दिनमै एक्लै डुङ्गा खियाएर विश्व कीर्तिमान कायम



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

अमेरिकी महिलाद्वारा २,४०० माइलको महासागरीय यात्रा ४४ दिनमै एक्लै डुङ्गा खियाएर विश्व कीर्तिमान कायम

Photo: Walter Martin Unsplash

ग्रान्ड क्यान्यनमा रिभर राफ्टिङ गाइडको रूपमा कार्यरत एक अमेरिकी महिलाले मध्य-प्रशान्त महासागर एक्लै पार गर्ने पहिलो अमेरिकी महिला बन्ने लक्ष्यका साथ क्यालिफोर्नियादेखि हवाईसम्मको आफ्नो ऐतिहासिक यात्रा सफलतापूर्वक पूरा गरकी छिन्। २,४०० माइल (करिब ३,८६२ किलोमिटर) भन्दा लामो दूरीको यात्रा पूरा गरी शुक्रबार राति होनोलुलु बन्दरगाहमा आफ्नो २१ फिट लामो डुङ्गा ‘लिली’ सहित आइपुग्दा केल्सी फेन्डलरलाई स्वागत गर्न सयौँ मानिसहरू उपस्थित थिए।

गत मे महिनामा क्यालिफोर्नियाको मोन्टेरेबाट यात्रा सुरु गरेकी फेन्डलर यो कठिन यात्रा एक्लै तय गर्ने पहिलो अमेरिकी महिला, सबैभन्दा कान्छी महिला र सबैभन्दा तीव्र गतिमा यात्रा पूरा गर्ने महिला बन्ने लक्ष्यमा थिइन्। विशाल महासागरमा एक्लै यात्रा गरिरहँदा उनले सामाजिक सञ्जालमा आफ्ना भिडियोहरू मार्फत यात्राका आरोह-अवरोह, रमाइला र अनौठा भोगाइहरू साझा गरेकी थिइन, जसलाई लाखौँ मानिसहरूले पछ्याएका थिए।

गिनीज वर्ल्ड रेकर्ड्सका लागि महासागरीय रोइङ कीर्तिमानहरूको प्रमाणीकरण गर्ने संस्था ‘ओसियन रोइङ सोसाइटी इन्टरनेसनल’का अनुसार फेन्डलरले यसअघिका महिला तथा पुरुष दुवैका गतिका कीर्तिमानहरू तोडेको देखिन्छ। यद्यपि, फेन्डलरको यात्राको अन्त्यका उक्त संस्थाले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन।

शनिबार बिहान सार्वजनिक अनलाइन रेकर्ड अनुसार, फेन्डलरले सो यात्रा मात्र ४४ दिनभन्दा कम समयमा पूरा गरेकी हुन । यसअघि महिलातर्फको कीर्तिमान ८६ दिन र पुरुषतर्फको कीर्तिमान ५२ दिन रहेको थियो।

फेन्डलरले आफ्ना भिडियो डायरीहरूमा महासागरमा कसरी बाँच्ने र बन्दोबस्तीका सामानहरू कसरी व्यवस्थापन गर्ने भन्नेबारे व्याख्या गरेकी छिन्। उनले हातमा परेका ठेलाहरू, तीव्र हावाका कारण सुत्न भोग्नुपरेको कठिनाइ, र प्रतिकूल समुद्री बहाव तथा हावासँगको मानसिक एवं शारीरिक संघर्षबारे सविस्तार बताएकी छन्। साथै, उनले खाना कसरी पकाउने, सूर्यको किरणबाट छालालाई कसरी जोगाउने, कपडा कसरी धुने र पिउने पानी कसरी बनाउने भन्ने कुरा पनि देखाएकी थिइन्।

केही भिडियोहरूमा उनि निकै भावुक देखिन्थिन् भने केहीमा आफ्नो निधारको ‘ह्याट ट्यान लाइन’ (टोपी लगाउँदा परेको दाग) लाई लिएर आफैँमाथि ठट्टा गरिरहेकी र क्याफिनका चक्कीहरूको महत्त्वबारे जोक गरिरहेकी भेटिन्थिन्।

फेन्डलरको वेबसाइटका अनुसार उनि १८ वर्षको उमेरदेखि नै व्यावसायिक राफ्ट गाइडको रूपमा काम गर्दै आएकी छिन् र विगत आठ वर्षदेखि ग्रान्ड क्यान्यनको कोलोराडो नदीमा यात्रुहरूलाई पथप्रदर्शन गरिरहेकी छन्। एउटा भिडियोमा उनले भनेकी छन्, “मलाई सुनसान र अनकन्टार ठाउँमा डुङ्गा चलाउन निकै मन पर्छ।”

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार फेन्डलरले चाँडै नै सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

हवाईको ओआहु टापु नजिकै आइपुग्दा पोस्ट गरिएको एक भिडियोमा उनले आफ्नो यो उपलब्धिको अर्थ र यसबाट अरूले के सिक्न सक्छन् भन्नेबारे भनेकी छिन: यदि यो यात्राले कम्तीमा एक जना व्यक्तिलाई मात्रै पनि आफ्नो क्षमतामाथि थप विश्वास र शक्तिशाली भएको अनुभूति गराउन सक्यो भने, मेरा लागि योभन्दा ठूलो खुसी अरू केही हुने छैन। आफ्नो जीवनको कुनै ठूलो, कठिन र डरलाग्दो लक्ष्य खोज्ने प्रयास गर्नुहोस्। अहिलेको अवस्थामा तपाइँलाई त्यो यात्रा पूरा गर्न म सक्षम छैन जस्तो लाग्न सक्छ, तर तपाइँ यात्रा सुरु गर्नका लागि पक्कै पनि सक्षम हुनुहुन्छ। बाँकी सबै कुरा तपाइँले यात्राकै क्रममा सिक्दै र भेटाउँदै जानुहुनेछ।





Source link

Leave a Comment