काठमाडौं । साबिक विश्वविजेता अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध आफ्नो परम्परागत आकाशे निलो–सेतो धर्के ‘होम जर्सी’को सट्टा गाढा निलो (नेभी ब्लु) ‘अवे जर्सी’ लगाउने निर्णय गरेको छ । यसका लागि उसले फिफासँग विशेष अनुमतिसमेत नै माग्नुप-यो । प्रतियोगिताको नियमले ‘अवे जर्सी’ प्रयोग गर्नुपर्ने बाध्यता आए पनि टोलीले रोजेको रङ र त्यससँग जोडिएको इतिहासले यो निर्णयलाई विश्व फुटबलकै चर्चाको विषय बनाइदिएको छ ।
बाहिरबाट हेर्दा यो सामान्य व्यवस्थापकीय निर्णयजस्तो लाग्न सक्ला † अर्जेन्टिनाका करोडौं समर्थक, फुटबल इतिहासका अध्येता र खेल मनोविज्ञान बुझ्नेका लागि भने यो निर्णयको अर्थ निकै फराकिलो छ । यसमा सन् १९८६ को ‘मेक्सिको विश्वकप’को अविस्मरणीय कथा जोडिएको छ । डिएगो म्याराडोनासँगै सन् १९९८ को अर्को ऐतिहासिक भेटको सम्झना ताजा गराउँछ । अर्जेन्टिनी फुटबल संस्कृतिमा गहिरो गरी बसेको ‘काबाला’ विश्वास व्याप्त छ र इंग्ल्यान्डसँग दशकौंदेखि चल्दै आएको प्रतिस्पर्धाको भावनात्मक इतिहास पनि छ । फिफा नियमअनुसार प्रत्येक खेलमा एउटा टोलीलाई ‘होम’ र अर्को टोलीलाई ‘अबे टोली ’ को मान्यता दिइन्छ । ‘होम टोली’ले आफ्नो प्राथमिक जर्सी लगाउने अधिकार पाउँछ भने रङमा स्पष्ट भिन्नता कायम राख्न आवश्यक परे अर्को टोलीले वैकल्पिक जर्सी प्रयोग गर्नुपर्छ । यसपटक इंग्ल्यान्ड ‘होम टोली’ बनेकाले उसले आफ्नो परम्परागत सेतो जर्सी लगाउने छ । त्यसैले अर्जेन्टिनाले ‘अवे जर्सी’ रोज्नुपर्ने भयो ।
अर्जेन्टिनासँग वैकल्पिक जर्सीका विभिन्न विकल्प हुँदाहुँदै टोलीले गाढा निलो रङ नै रोज्यो । यही निर्णयले विश्वभरका सञ्चारमाध्यममा चर्चा पायो । कारण, अर्जेन्टिनाका लागि यो जर्सी प्रतियोगिताको आवश्यकता पूरा गर्ने पोशाकसँगै इतिहाससँग जोडिएको भावनात्मक प्रतीक पनि हो, जसले चार दशकभन्दा बढी समयदेखि समर्थकको विश्वास बोकेको छ ।
विश्व फुटबलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धालाई विशेष मानिन्छ । यी दुई टोलीबीच भएका खेल खेलकै रूपमा मात्र सम्झिइँदैनन् । तिनले राजनीतिक, सांस्कृतिक र भावनात्मक अर्थ पनि बोकेका छन् । त्यसैले यी दुई टोली मैदानमा उत्रिँदा खेल ९० मिनेटको प्रतिस्पर्धामै सीमित रहँदैन । त्यससँग इतिहास पनि मैदानमा ओर्लिन्छ । यसको सबैभन्दा महत्वपूर्ण अध्याय सन् १९८६ को मेक्सिको विश्वकपबाट सुरु भएको हो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग खेल्दा गाढा निलो जर्सी लगाएको थियो । त्यो खेल आज पनि विश्वकप इतिहासकै सबैभन्दा चर्चित खेलमध्ये गनिन्छ ।
त्यही खेलमा कप्तान डिएगो म्याराडोनाले दुई गोल गरे, जसले फुटबल इतिहासलाई नै दुई फरक दिशामा मोडिदियो । पहिलो गोल ‘ह्यान्ड अफ गड’का नामले संसारभर परिचित बन्यो । रेफ्रीले नदेखेको हातको स्पर्सबाट भएको त्यो गोल आजसम्म पनि विश्व फुटबलकै सबैभन्दा विवादास्पद क्षणमध्ये एक मानिन्छ । त्यसको केही मिनेटपछि म्याराडोनाले गरेको अर्को गोलले भने विवादलाई कलामा रूपान्तरण गरिदियो ।
आफ्नै ‘हाफ एरिया’बाट बल अघि बढाउँदै उनले पाँच इंग्लिस खेलाडी र गोलरक्षकलाई छलाएर गोल गरे । त्यो एउटा गोलमात्रै थिएन, त्यो गति, सन्तुलन, दृष्टि, आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शन थियो । धेरै फुटबल विश्लेषक र पूर्वखेलाडीले त्यसलाई ‘गोल अफ द सेन्चुरी’ अर्थात् शताब्दीको उत्कृष्ट गोलका रूपमा व्याख्या गरेका छन् । अर्जेन्टिनाले त्यो खेल २–१ ले जित्यो । पछि विश्वकपसमेत जित्यो । त्यसपछि गाढा निलो जर्सी अर्जेन्टिनी समर्थकका लागि साधारण पोशाकमात्रै रहेन । त्यो विजयको रङ बन्यो । म्याराडोनाको स्मृतिसँग जोडिएको अमर प्रतीक पनि हो त्यो रङ ।
अझ रोचक कुरा के छ भने त्यो प्रसिद्ध जर्सी सुरुबाटै विशेष रूपमा तयार गरिएको थिएन । प्रतियोगिताअघि प्रशिक्षक कार्लोस बिलार्डोले मेक्सिकोको गर्मी मौसमका कारण हल्का कपडाको जर्सी आवश्यक पर्ने बताएका थिए । उपलब्ध जर्सी सन्तोषजनक नलागेपछि टोली व्यवस्थापनले स्थानीय खेल सामग्री पसलबाट गाढा निलो जर्सी खरिद ग¥यो । त्यसपछि त्यसमा अर्जेन्टिनाको लोगो, नम्बर र ब्याज सिलाएर प्रतियोगिताका लागि तयार पारियो । यो निर्णय त्यतिबेला सामान्य व्यवस्थापकीय काम थियो । कसैले पनि कल्पना गरेको थिएन कि हतारमा तयार पारिएको त्यही जर्सी विश्व फुटबल इतिहासकै सबैभन्दा प्रसिद्ध पोशाकमध्ये एक बन्ने छ । आज पनि त्यो जर्सीको चर्चा हुँदा समर्थकले कपडाको गुणस्तर सम्झँदैनन् । उनीहरू म्याराडोनाको दौड सम्झन्छन् । ‘ह्यान्ड अफ गड’ सम्झन्छन् । ‘गोल अफ द सेन्चुरी’ सम्झन्छन् । र अर्जेन्टिनाको विश्वकप विजय सम्झन्छन् ।
समय बित्यो । पुस्ता फेरियो । तर, इतिहासले अर्को संयोग फेरि दोहो-याएको छ ।
सन् १९९८ को फ्रान्स विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्ड फेरि आमनेसामने भए । खेल रोमाञ्चक रह्यो । निर्धारित समय २–२ को बराबरीमा सकियो । त्यसपछि ‘पेनाल्टी सुटआउट’मा अर्जेन्टिनाले जित निकाल्यो । त्यो खेल डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाका कारण पनि चर्चित रह्यो । अर्जेन्टिनी समर्थकले अर्को एउटा संयोगमा विशेष अर्थ खोजे । टोलीले फेरि गाढा निलो जर्सी नै लगाएको थियो ।
दुई विश्वकप । दुई पटक इंग्ल्यान्डसँग निर्णायक भिडन्त । दुवैपटक अर्जेन्टिनाको जित र दुवैपटक एउटै रङको जर्सी । यही संयोगले गाढा निलो जर्सीलाई समर्थकका भाषामा ‘भाग्यमानी जर्सी’ बनाइदियो । यसपछि अर्जेन्टिनी फुटबल संस्कृतिमा ‘काबाला’ भन्ने शब्द झन् बलियोसँग स्थापित भयो । ‘काबाला’ कुनै वैज्ञानिक सिद्धान्त होइन । यो सफलतासँग जोडिएको विश्वास हो । यदि कुनै खेल जित्दा कुनै विशेष अभ्यास गरिएको थियो भने अर्को खेलमा पनि त्यही अभ्यास दोहो¥याइन्छ । यदि कुनै खेलाडीले एउटै जुत्ता लगाएर उत्कृष्ट प्रदर्शन गरेको थियो भने उसले फेरि त्यही जुत्ता लगाउने प्रयास गर्छ । यदि कुनै गीत सुन्दा सफलता मिलेको थियो भने फेरि त्यही गीत बजाइन्छ ।
अर्जेन्टिनामा होटल परिवर्तन नगर्ने, एउटै कोठामा बस्ने, निश्चित समय खाना खाने, एउटै बाटो हुँदै मैदान पुग्ने, एउटै ढोकाबाट मैदान प्रवेश गर्नेजस्ता अभ्यास पनि ‘काबाला’को हिस्सा मानिन्छन् । बाहिरबाट हेर्दा यो अन्धविश्वासजस्तो देखिन सक्छ । खेल मनोवैज्ञानिकका अनुसार यस्ता अभ्यासले खेलाडीलाई मानसिक स्थिरता दिन्छन् । परिचित वातावरणले तनाव कम गर्छ । आत्मविश्वास बढाउँछ । त्यसैले संसारका धेरै सफल टोलीमा यस्ता परम्परा कुनै न कुनै रूपमा पाइन्छन् । धेरैलाई लाग्न सक्छ, यस्तो संस्कार म्याराडोनाको पुस्तासँगै समाप्त भयो । वास्तविकता भने फरक छ ।
सन् २०२२ को ‘कतार विश्वकप’मा पनि अर्जेन्टिनाले केही निश्चित अभ्यास परिवर्तन गरेन । एउटै होटलमा बस्ने, एउटै तालिकाअनुसार अभ्यास गर्ने, केही निश्चित गीत सुन्ने र प्रतियोगिताभर उस्तै तयारीलाई निरन्तरता दिने काम टोलीले जारी राख्यो । लियोनेल मेस्सी स्वयं अन्धविश्वासी खेलाडीका रूपमा परिचित छैनन् । टोलीको सामूहिक विश्वासलाई उनी सधैं सम्मान गर्छन् । नेतृत्वको एउटा महइभ्वपूर्ण पक्ष पनि यही हो, ‘व्यक्तिगत धारणाभन्दा टोलीको सामूहिक मनोविज्ञानलाई प्राथमिकता दिनुपर्छ ।’ त्यसैले इंग्ल्यान्डविरुद्ध फेरि त्यही ऐतिहासिक निलो जर्सी रोजिनुलाई धेरै समर्थकले इतिहासको निरन्तरताका रूपमा हेरेका छन् । उनीहरूका लागि यो निर्णय कपडा छान्ने विषयमात्रै पनि होइन, अघिल्ला सफलतासँग मानसिक सम्बन्ध कायम राख्ने प्रयास हो ।
यद्यपि, एउटा कुरा स्पष्ट छ कि जर्सीले खेल जिताउँदैन । फुटबल खेलाडीका क्षमता, रणनीति, फिटनेस, अनुशासन र सही निर्णयमा निर्भर हुन्छ । यदि कुनै प्रतीकले खेलाडीलाई अतिरिक्त आत्मविश्वास दिन्छ भने त्यसले प्रदर्शनमा अप्रत्यक्ष प्रभाव पार्न सक्छ । खेलाडीले आफूलाई विजेता ठान्न थाल्यो भने उसले कठिन परिस्थितिमा पनि सकारात्मक निर्णय लिन सक्छ । त्यसैले विश्वका धेरै सफल प्रशिक्षक टोलीको मानसिक अवस्थालाई शारीरिक तयारीजत्तिकै महइभ्व दिन्छन् ।
अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धालाई अझ भावनात्मक बनाउने अर्को कारण सन् १९८२ को फकल्यान्ड (माल्भिनास) युद्ध पनि हो । युद्ध समाप्त भएको चार वर्षपछि विश्वकपमा भेट हुँदा त्यो घाउ अझै ताजा थियो । त्यसैले सन् १९८६ को जित धेरै अर्जेन्टिनीका लागि खेलभन्दा धेरै ठूलो उपलब्धि थियो । पछि म्याराडोनाले भनेका थिए, ‘हामीले एउटा खेल जितेका थियौं, तर धेरै अर्जेन्टिनीका लागि त्यो जितको अर्थ फुटबलमात्रै थिएन ।’ यही कारण यी दुई टोलीबीच हुने प्रत्येक भेटलाई आज पनि विशेष दृष्टिले हेरिन्छ । इतिहास, राष्ट्रिय गौरव, प्रतिस्पर्धा र भावनाले यो खेललाई साधारण फुटबलभन्दा धेरै ठूलो बनाइदिन्छ ।
नेपाली समयानुसार बुधबार राति १२ः४५ बजे हुने सेमिफाइनल पनि त्यत्तिकै विशेष छ । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप उपाधिको खोजीमा छ । मेस्सीको पुस्ताले आफ्नो स्वर्णिम यात्रालाई अर्को सफलतासँग जोड्ने लक्ष्य राखेको छ ।
उता, इंग्ल्यान्ड सन् १९६६ पछि पहिलोपटक विश्वकप उपाधि जित्ने सपना बोकेर मैदान उत्रिँदै छ । दुवै टोली उत्कृष्ट लयमा छन् । दुवैसँग विश्वस्तरीय खेलाडी छन् । दुवैसँग इतिहास बदल्ने अवसर छ ।
खेल सुरु भएपछि कसैले जर्सीको रङ सम्झने छैन । त्यहाँ गोल, पास, बचाउ, रणनीति, गति र नतिजाले सबैको ध्यान तान्ने छन् । यदि अर्जेन्टिनाले फेरि इंग्ल्यान्डलाई हरायो भने गाढा निलो जर्सीको कथा अझ बलियो हुनेछ । समर्थक त्यसलाई फेरि अर्को ‘शुभ संकेत’का रूपमा व्याख्या गर्ने छन् । यदि इंग्ल्यान्ड विजयी भयो भने धेरै यसलाई एउटा संयोग मान्ने छन् । परिणाम जे आए पनि अर्जेन्टिनाका लागि यो गाढा निलो जर्सी कपडाको टुक्रामात्र नभएर यसले म्याराडोनाको विरासत बोकेको छ । यसमा सन् १९८६ को गौरव र १९९८ को सफलताको सम्झना जोगाएको छ ।
(Visited 1 times, 1 visits today)
