प्रकाशित मिति : ३० असार २०८३, मंगलबार

तस्वीर : आइस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आइसका अधिकारीहरूलाई देशव्यापी अपरेसनका क्रममा गुडिरहेका सवारी साधन रोकेर कारबाही नगर्न निर्देशन दिएको छ। सार्वजनिक रूपमा बोल्ने अख्तियारी नपाएका तर यस मामिलाका जानकार स्रोतहरूले सो कुरा बताएका हुन्।
पछिल्लो समय आप्रवासीहरूलाई पक्राउ गर्ने क्रम तीव्र पारिएकै बेला विगत एक हप्तामा ह्युस्टन र मेन राज्यको तटीय सहर बिडिफोर्डमा आइस अधिकारीहरूको गोली लागेर दुई जनाको मृत्यु भएपछि यो नयाँ निर्देशन आएको हो। डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीका अनुसार, एजेन्टहरूले उनीहरूको गाडी रोक्न खोज्दा दुवै जनामाथि गोली प्रहार गरिएको थियो।
राष्ट्रपति ट्रम्पले आम-देशनिकाला गर्ने आफ्नो चुनावी वाचा पूरा गर्न दबाब बढाइरहेका बेला गाडी रोक्न लगाइएको यो प्रतिबन्धले एजेन्सीको पक्राउ गर्ने क्षमतालाई प्रभावित पार्न सक्ने देखिन्छ। यद्यपि, केही प्रभावशाली सांसद र राज्यका उच्च अधिकारीहरूले पछिल्ला गोलीकाण्डबारे प्रश्न उठाउँदै जवाफ मागेपछि प्रशासन यो कदम चाल्न बाध्य भएको हो।
यसै वर्ष हुने पुनर्निर्वाचनमा उम्मेदवार रहेकी मेन राज्यकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै बिडिफोर्डमा भएको गोलीकाण्डले गम्भीर प्रश्नहरू उब्जाएको बताईन्। उनले होमल्यान्ड सेकुरिटीका सेक्रेटरी मार्कवेन मुलिनलाई सबै गैर-अत्यावश्यक सवारी साधन रोक्ने कार्य तत्काल बन्द गर्न” आग्रह गरेकी थिइन्।
ह्वाइट हाउसले यसबारे सोधिएको प्रश्नमा कुनै टिप्पणी नगरी मामिला आइस तर्फ पन्छाएको छ। आइसले भने आफ्नो विज्ञप्तिमा सुरक्षा रणनीति वा कानून प्रवर्तनका उपायहरूबारे सार्वजनिक रूपमा छलफल नगर्ने स्पष्ट पारेको छ।
सन् २०२५ जनवरीमा ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेयता उनको देशनिकाला अभियानमा संलग्न एजेन्टहरूले कम्तीमा २२ जनामाथि गोली चलाइसकेका छन्। ती घटनामा तीन अमेरिकी नागरिकसहित छ जनाको ज्यान गएको छ। मारिनेमध्ये अधिकांश गुडिरहेको वा गुड्न लागेको गाडीभित्रै रहेका बेला अधिकारीहरूको गोलीको सिकार भएका थिए।
गत हप्ता ह्युस्टनमा, विगत तीन दशकभन्दा बढी समयदेखि सोही सहरमा बस्दै आएका मेक्सिकन आप्रवासी लोरेन्जो साल्गाडो अराउजो आफ्ना साथीहरूसँग गाडीमा कामतर्फ जाँदै गर्दा ट्राफिक चेकिङका क्रममा गोलीको सिकार भए। संघीय अधिकारीहरूले सुरुमा उनी नै लक्षित व्यक्ति भएको दाबी गरे पनि पछि उनी आइसको वास्तविक निशाना नभएको स्वीकार गरे।
यस्तै, मेन राज्यमा पनि आइस एजेन्टहरूले सोमबार बिहान सबेरै एक कोलम्बियन नागरिकलाई उनको गाडीभित्रै गोली हानी हत्या गरे। मेनका सिनेटर एङ्गुस किङका प्रवक्ताका अनुसार मृतकको पहिचान जोआन सेबास्टियन गुरेरोको रूपमा भएको छ। तर, होमल्यान्ड सेकुरिटीको विज्ञप्तिमा गुरेरो नै एजेन्टहरूले खोजिरहेका वास्तविक शङ्कास्पद व्यक्ति थिए या थिएनन् भन्ने कुरा खुलाइएको छैन।
संघीय अधिकारीहरूले ती दुवै व्यक्तिले ट्राफिक चेकिङबाट भाग्ने प्रयास गरेको दाबी गरेका छन्, यद्यपि आफ्नो दाबी पुष्टि गर्ने कुनै भिडियो वा ठोस प्रमाण उनीहरूले सार्वजनिक गरेका छैनन्। यसअघि भएका अध्यागमन कारबाहीका अन्य धेरै गोलीकाण्डहरूमा पछि सार्वजनिक भएका भिडियोहरूले एजेन्सीको दाबीलाई झूटो साबित गरिदिएका थिए। कम्तीमा एउटा त्यस्तो घटनामा, मिनियापोलिसमा एक भेनेजुएलान आप्रवासीमाथि गोली चलाउने एजेन्टले अहिले राज्यको अदालतमा फौजदारी मुद्दा खेपिरहेका छन्।
पछिल्ला हप्ताहरूमा तीव्र पारिएको यो देशनिकाला अभियान विगतका हाइ-प्रोफाइल अपरेसनहरू जस्तो चर्चामा भने आएको थिएन। गत जनवरीमा मिनियापोलिसमा भएको त्यस्तै एक कारबाहीका क्रममा दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रेटी मारिएका थिए। सोमबार मिनियापोलिसका एक काउन्टी अभियोजकले महिनौंसम्मको आलटाल र अवरोधपछि अन्ततः जस्टिस डिपार्टमेन्टले सो गोलीकाण्डसँग सम्बन्धित प्रमाणहरू राज्यका अनुसन्धानकर्ताहरूलाई बुझाएको जानकारी दिएका छन्।