आपमाथि भाजपाको धराप


भारतीय जनता पार्टी (भाजपा) ले २७ वर्षपछि दिल्ली विधानसभामा प्रचण्ड बहुमतका साथ पुनरागमन गरेको छ। भाजपाले ७० मध्ये ४८ सिट जितेको छ। यससँगै ११ वर्षदेखि सत्ताको बागडोर सम्हालेको आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालको बहिर्गमन भएको छ।

सन् २०११/१२ बाट भ्रष्टाचारविरोधी आन्दोलनको जगमा अन्ना हजारेद्वारा गरिएको भ्रष्टाचार विरोध अभियानबाट आपको जन्म भएको थियो। तत्कालीन आन्दोलनले जनलोकपाल विधेयक मागसहित गरेको आन्दोलनमा भारतभरबाट जनतालाई आकर्षित गर्न सफल भएको थियो। उक्त आन्दोलनका बखत अरविन्द केजरीवाल एक सामाजिक कार्यकर्ता तथा आन्दोलनका प्रमुख नेतामध्ये एक थिए।

आपको उदयपूर्व दिल्लीका जनता पुराना दल कंग्रेस र भाजपाको कार्यशैलीप्रति व्यापक असन्तुष्ट थिए। कंग्रेस र भाजपा नेता जनताका मुद्दाभन्दा बढी भ्रष्टाचार, घोटाला र व्यक्तिगत फाइदामा केन्द्रित भएकाले आजित जनताले नयाँ विकल्पको खोजी गरेको भन्दै त्यो बेला अथ्र्याइएको थियो।

जनताका मुद्दालाई अवसरको रूपमा प्रयोग गर्दै आप राजनीतिमा नयाँ शैलीको प्रयोग गर्दै उदाएको थियो। सन् २०१२ मा केजरीवालको राजनीतिक दल घोषणा भएको थियो। आपले सन् २०१३ मा भएको दिल्ली विधानसभा चुनावमा ७० मध्ये २८ सिटमा जित हासिल गर्दै सफलता प्राप्त गरेको थियो। पूर्ण बहुमत नभएको भन्दै आपले कंग्रेसको समर्थनमा सरकार बनाए तापनि बहुचर्चित जनलोकपाल विधेयक पारित गर्न नदिइएको भन्दै ४९ दिनमै राजीनामा दिएका थिए।

आपले अगाडि सारेका जनमुखी कार्यक्रमबाट उत्साहित दिल्लीवासीले सन् २०१५ मा भएको दिल्ली विधानसभा निर्वाचनमा ७० मध्ये ६७ सिटमा जिताई सत्तामा भारी बहुमतका साथ आगमन गरेका थिए। यस निर्वाचनमा दिल्लीका जनताले पारम्परिक पुराना दुई दललाई धुलो चटाउँदै अस्वीकार गरेका थिए। आम आदमी पार्टीले निर्वाचनको प्रमुख अजेन्डा विकास, शिक्षा, स्वास्थ्य, बिजुली, पानीलगायत जनमुखी विषयलाई अगाडि सारेका थिए।

सन् २०२२ को विधानसभा निर्वाचनमा पनि दिल्लीका जनताले अरविन्द केजरीवालमाथि विश्वास देखाउँदै ६२ स्थानमा जिताई पुनः सत्तामा निरन्तरता कायम राखेका थिए। यस निर्वाचनको मुख्य अजेन्डा सित्तैको बिजुली, सुधारिएको शिक्षा, मोहल्ला क्लिनिकजस्ता लोकप्रिय कार्यक्रम र योजनालाई जनताको अपार समर्थन प्राप्त गरेको थियो। तर, यस पटकको निर्वाचनमा आपले नराम्रो तरिकाले हार व्यहोरेको छ। यसबीच केजरीवाल सरकारले सन् २०२१ मा नयाँ शराब नीति ल्यायो। यो नीतिअनुसार निजी व्यवसायीहरूलाई लाइसेन्स दिइयो। सरकारी ठेक्काहरू हटाइए र बजार प्रतिस्पर्धालाई यसमा प्राथमिकतमा दिइएको थियो।

तर, केन्द्रीय जाँच एजेन्सीहरूले केजरीवाल नेतृत्वको सरकारमाथि नयाँ शराब नीति लागु गर्दा भ्रष्टाचार र अनियमिताता भएको आरोप लगाउँदै मन्त्रीहरूको संलग्नता रहेको आरोप लगायो। सिबिआई र इडीले केजरीवालसहित नेताहरूमाथि अनुसन्धान गरी छानविनको दायरामा ल्याएका थिए। सोही क्रममा तत्कालीन पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई सिआइबीले सन् २०२३ मा पक्राउ गरी उनीमाथि घोटालाको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाइयो। उनलाई केही समय अनुसन्धानको क्रममा कारागारमा समेत राखिएको थियो।

त्यसैगरी अर्का मन्त्री सत्येन्द्र जैनलाई पनि मुद्रा निर्मलीकरणको आरोपमा पक्राउ गरि अनुसन्धानको लागि कारागार चलान गरियो। त्यति मात्रै नभई मुख्यमन्त्री अरविन्द केजरीवालमाथि पनि घोटाला आरोपमा अनुसन्धानका लागि पक्राउ गरी जेल चलान गरियो। हाल पनि उनी धरौटीमा बाहिर रहेका छन्। सबै मुद्दा अहिले अदालतमा विचाराधीन छन्।

यसैबीच भएको विधानसभाको निर्वाचनमा पुनः आम आदमी पार्टीले निर्वाचनमा बहुमत ल्याएर आफ्नो सत्तालाई कायम राख्ने अपेक्षा गरिए पनि जनताले उनलाई विश्वास गरेनन्। बरु २७ वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीको ग्यारेन्टीलाई विश्वास गर्दै दुई तिहाई जनादेश तिनले दिएका छन्।

जनताले अहिले प्रधानमन्त्री मोदीमाथि पूर्ण भरोसा देखाएका छन्। केजरीवालको चटकलाई जनताले किनारामा लगाएका छन्। दिल्लीमा आम आदमी पार्टी हार्नुका कारण विभिन्न दृष्टिकोणबाट विश्लेषण सुरु भएको छ। तर केही खास विषय छन्, जसले आपलाई पछि धकेलेको छ। आपले आफूलाई भ्रष्टाचारविरोधी दलका रूपमा प्रस्तुत गर्दै राजनीतिमा आएको हो। तर केजरीवालकै मन्त्रीहरूको भ्रष्टाचारको आरोपमा गिरफ्तारीले पार्टीको छवि आमजनताबीच धुमिल बनायो। जसले गर्दा फेरि पनि जनताले केजरीवाललाई विश्वास गर्ने आधार गुमाए।

केजरीवालमाथि भ्रष्टाचारका आरोप बारम्बार लागेका थिए। बहुचर्चित शराब घोटाला प्रकरणले उनीमाथि जनताको विश्वास पनि विस्तारै कमजोर हुँदै गयो, जुन हारको अर्काे प्रमुख कारण बन्यो। अर्काेतर्फ यसअघिका चुनावमा दिल्लीका महिला मतदाताको पूर्ण समर्थन आम जनता पार्टीमाथि रहेको थियो।

खासगरी मुफ्त बिजुली, पानी र मोहल्ला क्लिनिक योजनाले महिना मतदातालाई खुबै लोभ्याउन सफल भए पनि अहिले महिला मतदाताको विश्वास भाजपातिर बढेको छ।

दिल्लीमा आपको हारको सिलसिला २०२२ मा दिल्ली नगर निगमको निर्वाचनबाट सुरु भएको हो। निगमको जिम्मा लिएपछि फोहोर व्यवस्थापन, सडक सुधार, अन्य नगरपालिकासम्बन्धी मुद्दा राम्रोसँग सम्बोधन गर्न नसकेको आरोपले मतदातामा असन्तोष बढाएको हो।

विश्लेषकहरूका अनुसार पछिल्लो समय मुस्लिम मतदाताको विश्वास पनि आपले गुमाउँदै गएको थियो। मुस्लिम मतदाता विस्तारै कंग्रेसतर्फ आकर्षित भएका थिए। तिनले उनीहरूका मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाइएको थियो।

हार केवल आपको मात्र नभई पुरानो पार्टी कांग्रेसको पनि भएको छ। यस निर्वाचनमा कांग्रेसले एक सिटमा जित्न सकेन। नेपालको सन्दर्भमा पनि केजरीवाल शैली अनुसरण गरी राजनीति सुरु गरेका नयाँ दलले पाठ सिक्न जरुरी छ। भ्रष्टाचार, सेवाप्रवाह, रोजगारआदि मुद्दा उठाएर चुनाव जितेका दलका नेताहरूको प्रदर्शन निकै कमजोर देखिएका छन्। चटक र क्षणिक राहत दिने मुद्दा तत्कालका लागि जनताको मतलाई लोभ्याउन सफल भए तापनि दीर्घकालीन रूपमा यसले आफैंलाई सिध्याउने निश्चित छ।

लोकप्रियताले मात्रै सधैं चुनाव जिताउन पर्याप्त हुँदैन। नेपालको सन्दर्भमा पनि नेताहरूको व्यक्तिगत लोकप्रियता मात्रै चुनावका लागि सबैथोक होइन। यसका लागि संगठन, नीति, विचार, मुद्दा, नेतृत्व, अजेन्डा जनअपेक्षा अनुकूल हुनुपर्छ। जनताले नेताले दिन ओठे भाषण वा नारामाथि मात्रै भर पर्दैन दीर्घकालीन काम पनि हेर्छन्। जनतालाई एक वा दुई पटक ठग्न सकिएला तर सधैं झुक्याउन नसकिने दिल्ली निर्वाचनले दिएको अर्काे प्रमुख सन्देश हो।

नेताहरूले हेक्का राख्न के जरुरी छ भने भ्रष्टाचार गर्दिनँ भनेर नारा दिने तर आफ्ना वरिपरिका नेता, कार्यकर्ता, व्यापारीलाई लाभ हुने गरी भ्रष्टाचार गर्न प्रेरित गर्ने कार्यले जनताले नमिठो गरी धुलो चटाउँछन्। हाम्रो सन्दर्भमा पनि सुधारका चर्का नारा दिने नेताले काम गर्न नसके तिनीहरूको पतन पनि केजरीवाल शैलीमा हुने निश्चित छ। जनताले सधैं पारदर्शिता र इमानदार शासन व्यवस्था चाहेका हुन्छन्। अर्काे तर्फ, राम्रा काम गर्दागर्दै पनि खराब र विवादित नीति तथा निर्णयले गर्दा मतदाताले आफ्नो मत परिवर्तन गर्न सकिने सन्देश दिएको छ।

नेपालमा पनि संगठन बलियो बनाउन चुनाव जित्न आवश्यक छ। केवल भीड जम्मा गरेर, भाषण दिएर वा नारामै सीमित रहेर सधैं जित्छु भन्ने परिकल्पना साकार हुँदैन। केही घटनाक्रमले नेपालमा राजनीतिमा वैकिल्पक शक्ति बन्न कठिन छ। चुस्त संगठन र दीर्घकालीन योजना छैन भने सफल हुन कठिन छ। केवल पुराना परम्परागत राजनीतिक दल बेकार छन् भन्ने नाराले सधैं सफल हुन्छु भन्ने सोच्नु प्रत्युत्पादक हुन सक्छ। त्यसतर्फ गम्भीर हुन जरुरी छ।

जनताले नतिजा हेर्छन्, नारा होइन। दिल्लीमा पनि मुफ्त सुविधा दिने नीतिहरूले केही समय राम्रै काम गर्‍यो तर लामो समयसम्म टिक्न सकेनन्। यहाँ पनि विकास गर्छाैं, रोजगार दिन्छौं, बिदेसिने युवा रोक्छौं भन्ने नाराले मात्र चुनाव जित्न सकिन्न। वास्तविक परिवर्तन ल्याउन नसके जनता सधैं नयाँ विकल्प खोज्छन्।

समय रहँदै हाम्रा नेता र दलले बुझ्न सके जनताको बीचमा वैकल्पिक राजनीति गर्न आएकाहरूले दिल्ली निर्वाचनले स्पष्ट सन्देश दिन सफल भएको छ। तर, फेरि पनि २७ वर्षपछि दिल्लीमा भाजपाको परीक्षा सुरु भएको छ। भाजपाले जनताबीच चुनावी प्रचारको क्रममा ‘मोदी ग्यारेन्टी’ भन्दै प्रस्तुत गरेका प्रतिबद्धता कति पूरा गर्छन् समयले पुष्टि गर्नेछ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School