प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

अमेरिकी उपराष्ट्रपति जेडी भान्सकी पत्नी तथा सेकेन्ड लेडी उषा भान्सले चौथो सन्तानलाई जन्म दिएकी छन्। उपराष्ट्रपति जेडी भान्सले आइतबार सामाजिक सञ्जालमार्फत उक्त खुसीको खबर सार्वजनिक गरेका हुन्।
नयाँ शिशुको नाम एलेक नील भान्स राखिएको छ। एलेकका अन्य तीन दाजुबहिनी इवान, विवेक र मिराबेल रहेका छन्।
उपराष्ट्रपति भान्सले सामाजिक सञ्जालमा लेखेका छन्, उषा र बच्चा दुवै स्वस्थ र खुसी छन्। हाम्रा बालबालिका आफ्ना कान्छा भाइलाई भेट्न पाउँदा अत्यन्तै उत्साहित छन्।उनले वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर र ह्वाइट हाउस मेडिकल युनिटका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।
उपराष्ट्रपति पदमा बहाल रहेकै समयमा ‘सेकेन्ड लेडी’ले बच्चा जन्माएको यो १५० वर्षभन्दा बढी समयपछिको पहिलो ऐतिहासिक घटना हो। यसअघि सन् १८७० मा तत्कालीन उपराष्ट्रपति स्काइलर कोलफ्याक्सकी पत्नी एलेन मारिया कोलफ्याक्सले छोरा स्काइलर कोलफ्याक्स तृतीयलाई जन्म दिएकी थिइन्।
छ जनाको परिवार बनेपछि भान्स दम्पतीले वासिङ्टन डीसीको सार्वजनिक चासो र घेराबन्दीबाट टाढा रही ग्रामीण उत्तरी भर्जिनियाको मिडलबर्गमा रहेको एउटा निवास भाडामा लिएर केही समय बिताउने निर्णय गरेका छन्। बालबालिकाहरूलाई सामान्य जीवनशैली प्रदान गर्न यो कदम चालिएको बताइएको छ। यद्यपि, उनीहरूको आधिकारिक निवास भने वासिङ्टनस्थित ‘नेभल अब्जर्भेटरी’ नै रहनेछ।
हालै एबीसी न्युजसँगको अन्तर्वार्तामा ४० वर्षीया उषा भान्सले सार्वजनिक जीवन र अभिभावकत्वको चुनौतीबारे कुरा गर्दै आफ्ना बालबालिकाको गोपनीयता जोगाउन प्रयास गरिरहेको बताएकी थिइन्।
आफ्ना पति उपराष्ट्रपति बनेपछि उषाले आफ्नो वकालत पेसा छाडेकी थिइन्। हाल उनले बालबालिकाको साक्षरता प्रवर्द्धनका लागि ‘समर रिडिङ च्यालेन्ज’ र पोडकास्ट सञ्चालन गर्दै आएकी छन्।