मध्यपूर्वमा बढ्दो तनाव: अमेरिकाद्वारा आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आदेश



प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

मध्यपूर्वमा बढ्दो तनाव: अमेरिकाद्वारा आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आदेश

photo-iStrfry / Marcus – Unsplash

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र अमेरिकी कूटनीतिक नियोगहरूमाथि आक्रमणको जोखिम बढेसँगै अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका आफ्ना नागरिकहरूका लागि विशेष सुरक्षा चेतावनी जारी गरेको छ।

शनिबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, मध्यपूर्वमा उत्पन्न तनावका कारण सुरक्षा वातावरण जटिल बनेको छ र अप्रत्यासित रूपमा स्थिति अझै भड्किन सक्ने सम्भावना छ। क्षेत्रमा रहेका अमेरिकीहरूलाई निरन्तर सतर्कता अपनाउन र विकसित घटनाक्रमबारे सजग रहन आग्रह गरिन्छ। विदेश मन्त्रालयले विश्वभर र विशेषगरी मध्यपूर्वमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन सल्लाह दिन्छ।

जॉर्डनमा इरानी आक्रमणका कारण दुई अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि स्थानान्तरण गरिए लगत्तै अमेरिकाले यो चेतावनी जारी गरेको हो।

यसैबीच, अमेरिकाले इरानका तटीय निगरानी, हवाई रक्षा प्रणाली तथा मिसाइल र ड्रोन भण्डारण केन्द्रहरूमा पुनः हवाइ हमला सुरु गरेपछि इरानले पनि कडा प्रतिशोध लिने चेतावनी दिएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले अमेरिकी कदमको भर्त्सना गर्दै अमेरिका र उसका सहयोगी शक्तिहरूलाई कहिल्यै नबिर्सिने पाठ सिकाउने बताएका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले साउदी अरब, कुवेत, बहराइन र जोर्डनमा आक्रमणको प्रयास गरेको जनाइएको छ। हालै सुरक्षा खतराका कारण जोर्डनको अकाबा अन्तर्राष्ट्रिय विमानस्थल खाली गराउनु परेको थियो भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी मिसाइल र ड्रोनले पटक-पटक प्रहार गरेका छन्।

उडानहरू रद्द हुने र हवाइ क्षेत्र समय-समयमा बन्द हुने भएकाले यात्रुहरूलाई यात्रामा बाधा पुग्न सक्ने विदेश मन्त्रालयले जनाएको छ। साथै इरान समर्थक समूहहरूले विश्वका अन्य भागमा रहेका अमेरिकी हित, नियोग वा नागरिकहरूलाई निशाना बनाउन सक्ने खतरा औंल्याइएको छ।

विदेश मन्त्रालयले विदेशमा रहेका आफ्ना नागरिकहरूलाई निकटतम अमेरिकी दूतावास वा महावाणिज्य दूतावासमा स्मार्ट ट्राभल इनरोलमेन्ट प्रोग्राम मार्फत दर्ता भई आपतकालीन अपडेटहरू प्राप्त गर्न आह्वान गरेको छ।





Source link

Leave a Comment