प्रकाशित मिति : २१ असार २०८३, आइतबार

ग्रिन कार्डवाहकले अमेरिकाबाहिर जाने वा फर्कने क्रममा आवश्यक कागजात र पालना गर्नुपर्ने नियमबारे यूएससीआईएसले प्रस्ट पारेको छ । यूएससीआईएसले अमेरिकाबाहिरको यात्रा एक वर्षभन्दा लामो भएमा के गर्ने, विदेशमा रहँदा ग्रिन कार्ड हराएमा के गर्नेलगायतका विवरण प्रस्ट पारेको हो ।
अमेरिकाबाहिर यात्रा गर्न कुन कागजात आवश्यक पर्छ ?
सामान्यतया विदेश यात्रा गर्न तपाईंले आफ्नो नागरिकता भएको देशको राहदानी वा शरणार्थी यात्रा कागजात प्रस्तुत गर्नुपर्ने हुन्छ । साथै विदेशी राष्ट्रको भिसालगायत आफ्नै प्रवेश–निकासका आवश्यकताहरू पनि हुन सक्छन् । विदेशी प्रवेश र निकाससम्बन्धी जानकारीका लागि अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको वेबसाइट हेर्नुहोस् ।
अमेरिकामा पुनः प्रवेशका लागि कुन कागजात चाहिन्छ ?
अस्थायी विदेश यात्रापछि अमेरिका फर्कन चाहनुहुन्छ भने तपाईंले वैध र म्याद नसकिएको ग्रिन कार्ड प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रवेशबिन्दुमा आइपुग्दा अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी)का अधिकारीले तपाईंको स्थायी आवासीय कार्ड र तपाईंले प्रस्तुत गरेका अन्य परिचयपत्र (जस्तै– राहदानी, विदेशी राष्ट्रिय परिचयपत्र वा अमेरिकी चालक अनुमतिपत्र)को समीक्षा गर्नेछन् । त्यसपछि उनीहरूले तपाईं अमेरिका प्रवेश गर्न योग्य हुनुहुन्छ कि होइन भन्ने निर्णय गर्नेछन् । यससम्बन्धी थप जानकारीका लागि अमेरिकी कस्टम्स एन्ड बर्डर प्रोटेक्सनको वेबसाइट हेर्नुहोस् ।
के अमेरिकाबाहिरको यात्राले मेरो स्थायी बासिन्दा स्थिति असर पार्छ ?
ग्रिन कार्डवाहकहरू अमेरिकाबाहिर यात्रा गर्न स्वतन्त्र छन् । सामान्यतया छोटो वा अस्थायी यात्रा गर्दा तपाईंको स्थायी बासिन्दा स्थिति प्रभावित हुँदैन । तर, यदि तपाईंले अमेरिकालाई आफ्नो स्थायी घर बनाउने इच्छा नदेखाउनुभयो भने तपाईंले आफ्नो स्थायी बासिन्दा स्थिति त्यागेको मानिन सक्छ ।
सामान्यतया एक वर्षभन्दा बढी समय अमेरिकाबाहिर बस्दा यस्तो शंका उठ्न सक्छ । तर, एक वर्षभन्दा कमको यात्रामा पनि यदि प्रमाणबाट अमेरिकामा स्थायी बसोबास गर्ने मनसाय नरहेको देखियो भने स्थिति त्यागिएको ठहरिन सक्छ । अधिकारीहरूले तपाईंको पारिवारिक, सामुदायिक र व्यावसायिक सम्बन्ध, अमेरिकी रोजगारी स्थिति, आयकर तिरेको÷नतिरेको, अमेरिकी बैंक खाता, सम्पत्ति, ठेगाना वा चालक अनुमति रहेको जस्ता प्रमाण हेरेर निर्णय गर्न सक्छन् ।
यदि विदेश यात्रा एक वर्षभन्दा बढीको छ भने के गर्ने ?
यदि तपाईं एक वर्षभन्दा बढी समयका लागि अमेरिकाबाहिर रहनुहुने योजना बनाइरहनुभएको छ भने प्रस्थानअघि फर्म आई–१३१ मार्फत पुनः प्रवेश अनुमतिपत्र (री–इन्ट्री परमिट)का लागि आवेदन दिनु उपयुक्त हुन्छ । यस्तो अनुमति प्राप्त गरेपछि यसको म्यादभित्र अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट ‘रिटर्निङ रेजिडेन्ट भिसा’ नलिई अमेरिका फर्कन आवेदन दिन सक्नुहुन्छ ।
तर, यो अनुमति अमेरिका पुनः प्रवेशको स्वतः ग्यारेन्टी होइन । तपाईं अझै पनि प्रवेशका लागि योग्य हुनुहुन्छ कि होइन भन्ने निर्णय भन्सार तथा सीमा सुरक्षा अधिकारीले गर्नेछन् । यो कागजातले भने अमेरिकामा स्थायी रूपमा बस्ने तपाईंको मनसाय पुष्टि गर्न मद्दत गर्छ । थप जानकारीका लागि यूएससीआईएसको ‘ट्राभल डकुमेन्ट’ पृष्ठ हेर्नुहोस् ।
यदि तपाईं दुई वर्षभन्दा बढी समय बाहिर रहनुभयो भने प्राप्त पुनः प्रवेश अनुमति म्याद समाप्त हुनेछ । यस्तो अवस्थामा नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा रिटर्निङ रेजिडेन्ट भिसाका लागि आवेदन दिनु सिफारिस गरिन्छ । यो भिसा पाउन तपाईंले आप्रवासी भिसाको योग्यता र स्वास्थ्य परीक्षणका आवश्यकताहरू पूरा गर्नुपर्ने हुन्छ । अमेरिकी सशस्त्र बलका सदस्य वा सरकारी कर्मचारीका परिवार (पति–पत्नी वा सन्तान)का हकमा केही छुट व्यवस्था छन् ।
थप रूपमा ६ महिना वा सोभन्दा बढीको अनुपस्थितिले अमेरिकी नागरिकता आवेदनका लागि आवश्यक ‘निरन्तर बसोबास’ अवधिमा असर पार्न सक्छ । यदि तपाईं एक वर्ष वा सोभन्दा बढी समयका लागि बाहिर रहनुहुन्छ र नागरिकता आवेदन प्रयोजनका लागि निरन्तर बसोबास कायम राख्न चाहनुहुन्छ भने फर्म एन–४७० भर्न सक्नुहुन्छ ।
विदेशमा रहँदा ग्रिन कार्ड वा पुनः प्रवेश अनुमति हराएमा के गर्ने ?
यदि विदेशमा रहँदा तपाईंको ग्रिन कार्ड वा पुनः प्रवेश अनुमति हरायो, चोरी भयो वा नष्ट भयो भने तपाईंले फर्म आई–१३१ए भर्नुपर्ने हुन्छ । यस कागजातले एयरलाइन्स वा अन्य यातायात प्रदायकलाई कानुनी स्थायी बासिन्दालाई जरिबानाबिना अमेरिकातर्फ लैजान अनुमति दिन्छ ।
स्रोत : यूएससीआईएस
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)